८ वैशाख, काठमाडौं । वेष्टइण्डिजका अलराउण्डर क्रिकेटर काएरन पोलार्डले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । उनले सन्यासको घोषणा सामाजिक सन्जालमार्फत् गरेका हुन् ।
पोलार्डले इन्स्टाग्राममा एक भिडियो पोष्ट गरेर भनेका छन्, ‘मैले सोच समझदारीका साथ अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेको छु ।’
उनले १५ वर्षसम्म वेष्टइण्डिज क्रिकेटको टी–२० र वनडे फर्म्याटमा प्रतिनिधित्व गर्न पाएकोमा गर्व महसुस भएको पनि बताएका छन् । उनले ब्रायन लाराको नेतृत्वमा सन् २००७ मा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेको स्मरण पनि गरेका छन् ।
पोलार्डले १२३ अन्तर्राष्ट्रिय एक दिवसीय (वनडे) खेलमा २ हजार ७०६ रन बनाएका छन् भने ५५ विकेट लिएका छन् । यस्तै १०१ टी-२० म्याचमा १३५.१४ को स्ट्राइक रेटबाट उनले १ हजार ५६८ रन बनाएका छन् ।
उनी अन्तिम पटक अन्तर्राष्ट्रिय म्याचमा यसै वर्षको फेब्रुअरी महिनामा भारतविरुद्ध भएको खेलमा वेष्टइण्डिजको कप्तान सम्हालेका थिए ।
पोलार्डले हाल भारतमा जारी आईपीएल क्रिकेटमा मुम्बई इण्डियन्समा प्रतिनिधित्व गर्दछन् । आईपीएलमा मुम्बई र चेन्नाई सुपरकिंग्सबीच प्रतिस्पर्धा हुनुभन्दा एक दिन अगाडि उनले सन्यासको घोषणा गरे ।
source https://www.onlinekhabar.com/2022/04/1112851
0 Comments