अब हाम्रो गाउँमा निर्वाचनको चहलपहल शुरु भएको देखिन्छ । पाँच वर्ष पहिले देखिएका ती पुराना र केही नयाँ अनुहारहरू देखिन थालेका छन् । घरघरमा को कति उमेरका छन् अनि मतदाता नामावलीमा को कसको नाम छ भनेर हिसाबकिताब भइरहेको छ । सबैले यो टोलमा यति भोट र उति भोट भनेर औंला भाँचेका छन् ।
हिजो जस्तै फेरि पनि ती र त्यस्तै आश्वासनका पोकाहरू बाँड्दै छन् । पाँच वर्ष पहिले गाउँमा यही चुनावका निहुँले मान्छेहरू आवतजावत गरेका थिए, त्यसपछि सुनसान भएको गाउँ बल्ल त्यस्तै रमाइलो देखिँदै छ । दिनभरजसो गाउँमा भएका युवापुस्ता चौताराको भट्टि पसलमा जम्मा हुन्छन्। कतिपयले त करिब एक महिना घरबाहिर मिठोमसिनो, चोक्टाचाक्टी र झोलझालले मुख फेरेरे गाउँका मतदातालाई किनबेच गरी ठेक्का नै लिन्छन् रे ।
आजसम्म धेरै पटक यस्ता आवधिक निर्वाचन भए । धेरै पटक मतदानमा सहभागी पनि भइयो। धेरैलाई जिताइयो तर आफूले कहिले जित्न सकिएन । कहिले यो सबैभन्दा राम्रो दल भनेर मतदान गरियो, कहिले यो सबैभन्दा राम्रो व्यक्ति भनेर मतदान गरियो, जसलाई मतदान गरियो त्यसले जित्यो । भोट चाहिँ खेर गएन तर जनताको भोटको उपलब्धि खासै हुन सकेन । जनता भोट हाल्ने र जिताउने मेसिन जस्ता भएका छन् । जब चुनाव नजिक आउँछ अनि उम्मेदवारहरू दिनै पिच्छे आउँछन् । जब चुनावमा जित्छन् उनीहरूको मुहार हेर्न अर्को निर्वाचन कुर्नुपर्छ ।
अघिल्लो निर्वाचनमा गाउँ गाउँमा सिंहदरवार बनाउने हो भनेर भोट मागेका हुन् । खै पाँच वर्ष बित्यो, पारी त्यो डाँडोमा एउटा झ्याल र ढोकाबिनाको एउटा तिनतले घर उभ्याएका छन् । त्यो के हेर्न बनाइएको हो, थाहा छैन।गाउँगाउँमा सिहदरवार भन्थे सायद, त्यही रहेछ कि !
गाउँको माझबाट मोटरबाटो ल्याउने भनेर एक–दुई महिना डोजर घुमाए तर बर्खा लागेसँगै पहिरो जानाले धेरै घर र खेतबारी जोखिममा छन् । घर नजिकै रहेको कुवाको पानी सुकेर पानी लिन एक घन्टा टाढा जानुपर्छ । पाइप ल्याएर दुई-चार महिना गाउँमा नबिछ्याइएको पनि होइन तर मुहानमा पहिरो जानाले पाइपको पानी चाख्न पाइएन ।
अहिले ती पाइपका टुक्राहरूलाई केटाकेटीले खेलौना बनाएका छन् । विकास त खुब आउने भयो भनेको त यसो दुई-चार दिन चुस्स आयो, चमाकचुमुक गर्यो, धेरैका घरबारीलाई पहिरोले धरापमा पारिदियो । राम्रो गर्छ कि भनेको त बिगारेर पो गयो ।
केही वर्ष पहिलेसम्म हाम्रो गाउँको पारीपट्टि घना जङ्गल थियो । वन्यजन्तु र जडिबुटी प्रशस्तै पाइन्थ्यो, तर गतसाल त्यही जङ्गल हुँदै मोटर बाटो लगेर विकासे डोजर लगाउँदा यसपालिको बाढी र पहिरोले जङ्गलमात्र होइन जङ्गलको पुछारमा रहेको खेत पनि बगाइदियो । अहिले न जङ्गल, न मोटरबाटो र न खेत नै छ ।
गाउँको बीचमा रहेको स्कुल गाउँलेकै सक्रियतामा सल्लिपिलरले छाएर बनाइएको थियो, गत फागुनमा आएको हुरीले सबै उडाइदिएको छ । सबै जनता गएर गाउँपालिकामा गएर अनुरोध गरेपछि यसपालिको बजेटले स्कुलको आधा पाखो छाहिएको छ भने आधा पाखो पानी पसेर भत्किन लागेको छ ।
सरकारले नि:शुल्क दिएको पाठ्यपुस्तक वैशाखमा पाउनुपर्नेमा कार्तिकमा एक तिहाइ विद्यार्थीलाई पुग्ने गरी आएका थिए । कोरोनाका कारण स्कुल जान नसकेर विद्यार्थीहरू स्कुल र पुस्तक नै नदेखी परीक्षा दिए तर पनि गज्जबको कुरा विद्यार्थीले ए प्लस सहितको आकर्षक प्रमाणपत्र चाहिँ पाएछन् ।
हाम्रो गाउँमा यस्ता थुप्रै समाचारहरू छन् । विकृति र विसंगतिले गाडेको जरोको फैलावट व्यापक हुँदैछ । सामाजिक, आर्थिक, जातीय,लैङ्गिक विभेदहरू यथावत नै छन् । जनप्रतिनिधिहरूले विकास र समृद्धिका ठूल्ठूला भाषण मात्र गर्छन् तर व्यवहार र कार्यान्वयन पक्षमा केही उल्लेखनीय उपलब्धि हुन सकेका छैनन् । गाउँमा चेलीबेटीहरू सुरक्षित हुन सकेका छैनन् । न्याय निसाफ कसैले पाउन सक्दैन।
गाउँका अधिकांश घरमा जेष्ठ नागरिक मात्र छन् । पाँच–सात महिना भयो गाउँपालिकामा कर्मचारी नहुँदा सरकारले दिने भत्ता पनि पाउन सकेका छैनन् । प्रायः सबै घरका छोराछोरी विदेश छन् । विदेसिएका छोराछोरीको पनि कसैले जागिर नपाएर र कोही बिरामी परेर जागिर नहुनाले घर बुवाआमालाई पैसा पठाइ दिन सकेका छैनन् । गाउँमा भएका अलिअलि खेतबारी पनि बाँझै छन् ।
गाउँमा प्राथमिक उपचारको लागि स्वास्थ्य चौकी छैन । बिरामी परियो भने दुई घन्टा टाढा रहेको स्वास्थ्य चौकीमा जानुपर्छ तर स्वास्थ्यकर्मी वर्षको दुईपटक आउँछन्, दुई हप्ता नहुँदै फर्कन्छन् । औषधि केही पनि पाइँदैन । गाउँमा बिजुली बत्ति ल्याउने भनेर पोलहरू गाडेको तीन वर्ष भयो केही पोलहरू त पहिरोले बगाइदिई पनि सक्यो ।
बहुदल आएपछि के के न गर्छौं भन्थे, नेताले शहरमा महल बनाएछन् । राजा फालौँ गणतन्त्र ल्याऔँ भनेर दश वर्षे जनयुद्ध भयो, गाउँका युवाहरू जनसेना बनेर लड्न गए, कोही घाइते बनेर फर्के, कोही अझै फर्केका छैनन् भने कोही शहादत भए । जनयुद्ध र जनआन्दोलनको परिणाम स्वरुप गणतन्त्र पनि आयो ।
गणतन्त्रको परिणाम भनेको तिनै नेताका नजिकका झोले र टीकेहरू नै सङ्घीयताको नामकरण गरी पुनः भुरे टाकुरे राजा बने र विकासको नाममा झन विनाश गरी डोजरे विकास गरे । नेपालको संविधानले आत्मसात गरेको समाजवाद उन्मुख समाज भन्ने कुरा त्यही निर्जीव कागजमा सीमित देखिन्छ । जनताका सामान्यभन्दा पनि सामान्य आधारभूत आवश्यकताहरू पुरा हुन सकेका छैनन् । नेताले भोटमात्र देखेका छन् तर जनताका दु:ख र पीडा देख्न सकेनन् ।
हाम्रो गाउँमा पटक पटक नेताले चुनाव जिते तर जनताले कहिल्यै जित्न सकेनन् । हामीलाई खास जनताले जित्ने चुनाव चाहिएको थियो । चुनावको बेला मात्र देखिने नेता होइन, दिनरात नभनी जनताको सुख दु:खमा साथ दिने नेता चाहिएको छ ।
कनिका छरे सरि बजेट छरेर उपलब्धि बिहीन योजनामा खर्च गर्ने भ्रष्टाचारी र पदलोलुप जनप्रतिनिधि चुन्ने चुनावको हामीलाई के औचित्य छ र ! जनताका आधारभूत आवश्यकताहरू पूरा गर्न सक्ने जनप्रतिनिधिले जिते भने मात्र चुनाव र भोटको औचित्य हुन्छ । हामी अब मतदातालाई मेसिन बनाउने जनप्रतिनिधिप्रति होशियार हुनु पर्नेछ ।
जनताको लागि काम गर्छु भनेर धेरैले कसम खाए तर गर्न सकेनन् । सुनिन्छ, कतिपय स्थानीय निकायका जनप्रतिनिधिले असाध्यै राम्रो काम गरेका छन् रे तर हामी त त्यही केही रे मा चित्त बुझाउनु परेको छ । हामीले जनप्रतिनिधिसँग मागेको भनेको अरु केही होइनन् त्यही विद्यालय, स्वास्थ्य चौकी, खानेपानी, मोटर बाटो, बिजुली, सिँचाइ, रोजगारी,सुव्यवस्था आदि त हुन् नि ।
अब हामी नारा र भाषणले अघाइ सक्यौं । हामीलाई शान्ति, सुव्यवस्था र अमनचैन चाहिएको छ । गाउँ गाउँमा रोजगारको अवसर दिलाउने प्रतिनिधि चाहिएको छ । कृषिलाई निर्वाहमुखी मात्र नभएर व्यवसायमुखी बनाउनको लागि आधुनिक कृषिप्रणाली अपनाउन योजना बनाउने र कार्यान्वयन गर्ने जनप्रतिनिधि चाहिएको छ ।
जनताप्रति उत्तरदायित्व बोध गर्ने जनप्रतिनिधि चाहिएको छ । हामीलाई हामीले नै जितेको अनुभूति हुने जनप्रतिनिधि चाहिएको छ । अब हामीलाई जनताले जित्ने चुनाव चाहिएको छ । अबको चुनावमा अनुशासित, इमान्दार, निष्ठावान र त्यागी उम्मेदवारलाई हामी खोजेका छौँ । हाम्रा गाउँको समाचार यस्तै छ, तपाईंहरूको कस्तो छ नि !
(भर्जिनिया, अमेरिका)
source https://www.onlinekhabar.com/2022/04/1109724
0 Comments