Looking For Anything Specific?

Header Ads

रंगिन सहरको एउटा पुरानो पुस्तकालयसँग जोडिएको मार्मिक कथा

आफ्नो रैथाने रंग र रवाफ गुमाउँदै गएको एउटा सहर । यो सहर सूचनाप्रविधिको वैश्विक प्रभावबाट अछुतो छैन । यहाँ लाहुरे सन्ततिका पछिल्लो छिमल हाइटेक जीवनशैलीतर्फ उन्मुख हुँदैछन् ।

एकातिर आधुनिकताको कलेवरमा रंगिदै गएको सहर, अर्कोतिर पैतृक विरासतका खातिर आफ्नो जीउ-धन सुम्पिइरहेका अवकाशप्राप्त लाहुरे । यी दुईबीचको विषम घर्षणले पैदा गरेको कथा हो, उर्मी ।

निर्देशक प्रणय लिम्बूले वृत्तचित्र मार्फत यही कथा उधिनेका छन् । कथा सुरु हुन्छ, लाहुरेको सहर धरानबाट । सहरको सेरोफेरोमा विस्मृत हुँदै गइरहेको एउटा पुस्तकालय छ, ‘कवि विमल गुरुङ स्मृति पुस्तकालय ।’

बिहानको झिसमिसे । क्रमशः सहर तंग्रिदैछ । बुद्धचोक अघिल्तिरको सडकमा रिक्साहरू गुड्न थालेका छन् । दूध बेच्ने, पत्रिका बाँड्नेहरू सल्बलाउँदैछन् । यहीबेला सम्मुखको पुस्तकालयमा कुनै आकृति सुस्तरी देखापर्छ । झलमल्ल बत्ती बल्छ । अनि प्रकट हुन्छन्, पूर्णबहादुर गुरुङ ।

यस कथाका मूल पात्र उनै हुन् । अब पूर्णबहादुरको आँखाबाट हामी अतितको त्यो दुःखान्त हेर्नेछौं, जसको नाता यही पुस्तकालयसँग अभिन्न रूपले जोडिन्छ ।

त्यसअघि एकफेर पुस्तकालय चहार्नु मनासिव हुन्छ । पक्की भवनभित्र साहित्य, विज्ञान, दर्शन लगायत करिब १० हजार थान पुस्तक छन् । पुस्तकालयको मालिक भनौं वा कारिन्दा, पूर्णबहादुर हुन् । उमेरले ८० वर्ष नाघिसकेका उनी बिहान सबेरै पुस्तकालयमा पुग्छन् । उनको दैनिकी त्यहींबाट सुरु हुन्छ र अन्त्य पनि ।

पुस्तकालयमा आउनेका लागि भनेर उनले थर्मसमा तात्तातो चिया राखेका छन् । आगन्तुकलाई चिया टक्र्याउँछन् । तर, आजभोलि यहाँ को आउँछन् ?

पुस्तकका ठेली पल्टाएर धीरतापूर्वक अध्ययन गर्ने जमात छैनन् । तन्नेरी पुस्तामा पुस्तकको खास भोक छैन । युट्युब, फेसबुक, इन्स्टाग्राम, टिकटकले उनीहरूलाई सम्मोहित गरेको छ । पूर्णबहादुर भन्छन्, ‘कमसे कम दिनमा एक जना मात्र आइदिए पनि हुन्थ्यो, तर अचेल मान्छेहरू आउनै छाडे ।’

स्थानीय व्यापारीहरूको वक्रदृष्टि परिसकेको छ, पुस्तकालयमाथि । उनीहरू पूर्णबहादुरलाई फकाईफुल्याई सो भवन आफ्नो हातमा पार्ने दाउपेचमा छन् । किनभने, सहरको यो व्यस्त चोकमा एउटा डान्स बार वा रेस्टुरेन्ट चलाउन पाए मनग्ये द्रव्यलाभ लिन सकिने उनीहरूले बुझिसकेका छन् ।

तर, जीवनको उत्तरार्द्धमा पूर्णबहादुरलाई पैसाको कुनै मोह छैन । मोह छ त त्यही पुस्तकालयको, जुन उनको सन्तानको नासो हो । भोलि यो पुस्तकालय रहन्छ, रहँदैन ? पुस्तकहरू यसरी नै जतनसाथ राखिएला, नराखिएला ? यो अर्कै कुरा भो । तर, आज उनी पुस्तकालयको चौघेराबाट बाहिर निस्कन सक्दैनन् । पूर्णबहादुर भन्छन्, ‘यहाँ बस्दा आफ्नै सन्तान सँगै छु जस्तो लाग्छ । यी पुस्तकहरू छुँदा आफ्नै छोरालाई सुमसुम्याएको जस्तो लाग्छ ।’

फ्ल्यासब्याक : लाहुरेको निसानी

उबेला ।

धरान अर्कै थियो । लाहुरेको रवाफले चम्किएको । तर, यो सप्तरंगी सहरको अर्को पाटो निक्खर अँध्यारोे थियो । त्यो अँध्यारो साम्राज्यमा लागूऔषध, ग्याङ फाइटको विरक्तलाग्दो शृंखला जारी थियो । लाहुरेका कति छोराछोरी त्यही भुमरीमा फसिरहेका थिए ।

उनीहरूका लागि मनलाग्दी खर्च गर्न पुगिसरी पैसा थियो । तर, मार्गदर्शन गर्न आमाबुवाको सामीप्य र स्पर्श थिएन । त्यसैले उनीहरू होस्टलमा राखिन्थे । होस्टलबाटै कुसंगत र कुलतमा पुग्थे । विमल गुरुङ कसरी अपवाद हुनसक्थे ?

लाहुरे बुवाको एक्लो छोरो । अभाव थिएन । दुःख थिएन । उनी कुलतमा फसे र झै-झगडामा लागे । अन्ततः १० कक्षामा पढ्दै गर्दा विद्यालयले उनलाई निष्कासन गरिदियो । यसरी लाखापाखा लगाइएपछि एउटा किशोरको जीवन के हुन्छ ? सायद नर्कमय । तर, उनको हकमा फरक भइदियो ।

विमलमा फरक गुण वा क्षमता थियो । कविता लेख्थे, परिपक्व शैलीमा । पुस्तकमा विछट्टैको लगाव थियो । अन्ततः उनलाई लागूऔषधबाट मुक्त गर्ने ओखति बन्यो, साहित्य सिर्जना । खोजीखोजी पुस्तक पढ्न थाले । दौंतरीसँग मिलेर भित्ते पत्रिका निकाल्न थाले । र, आफ्नै बलबुतामा सानो पुस्तकालय स्थापना गरे ।

साहित्यमा चाख भएका किशोरहरू स्वतस्फूर्त गोलबद्ध हुन थाले । विमलले नै यसको मेलोमेसो मिलाइरहे । कविता लेख्ने, पढ्नेहरूका लागि उनले सानो ठाउँ बनाए, ‘बुद्ध वाचनालय ।’

पछि विमल काठमाडौं आए र पत्रकारिता गर्न थाले । ‘दृष्टि साप्ताहिक’मा उनी लेख-रचनाका साथै समाचार लेख्थे । यससँगै उनमा विद्रोह चेत पनि हुर्कंदै थियो । बुवा पूर्णबहादुर लाहुरमा कम्युनिस्ट विरुद्ध लड्दै थिए । यता छोरा भने कार्ल माक्र्स, एगेल्सहरूलाई पढ्दै थिए ।

पूर्णबहादुरको जीवनमा अरू कुरा त ठिकठाक थियो । भनौं उनी परिपूर्ण थिए । घर थियो, जायजेथा थियो, जागिर थियो, परिवार थियो ।

२०२० सालमा बि्रटिश सेनामा भर्ना भएका थिए उनी । १६ वर्ष गोला र बारुदसँग खेले अनि पेन्सन पकाएर नेपाल फर्किए । जोश र जाँगर शिथिल भइसकेको थिएन । फेरि उनी ब्रुनाई हान्निए, सेक्युरिटी गार्डको रूपमा । यो २०३६ सालको कुरा हो ।

जीवनभर बिझाउने त्यो दुःखान्त

२०४८ साल ।

चुनावी सारगर्मी बढ्दै थियो, मुलुकमा । निर्वाचनकै लागि मान्छेहरू आफ्नो थातथलो र्फकने क्रम जारी थियो । काठमाडौंमा बसोवास गरिरहेका पूर्णबहादुरको परिवार पनि धरान र्फकने सुरसारमा थिए । बिदामा नेपाल आएका पूर्णबहादुर भने ब्रुनाई र्फकंदै थिए ।

२०४८ साल वैशाख २४ गते । धरानलाई गन्तव्य बनाएर पूर्णबहादुरका श्रीमती, साली र छोरो विमल काठमाडौंबाट बस चढे । तर, उनीहरू सकुशल धरान आइपुग्न पाएनन् । धादिङको जुगेपानीमा बस दुर्घटना भयो । १९ वषर्ीय छोरो विमलको दुर्घटनास्थलमै मृत्यु भयो ।

पत्रपत्रिकामा बस दुर्घटनाको समाचार सनसनी फैलियो । पूर्णबहादुरले ब्रुनाईमा नै यो दुखद खबर सुने । लगत्तै उनी घर फर्किए । श्रीमती र साली त जीवित थिए । तर, एक्लो छोरो विमल भने उनको संसारबाट सधैंका लागि खोसियो । अनि खोसियो, जीवनका आकांक्षा र सपना पनि । खोसियो, खुसी र उमंग पनि ।

शोक बदलियो सिर्जनामा

छोरोको मृत्युले कुन आमाबुवाको छाती चिरिंदैन ? कुन आमाबुवाको मन रुँदैन ? कुन बुवाआमाको स्वाद र सपना खोसिंदैन ? कुन बुवाआमाको जीवनको लय बिग्रदैन ?

तर, पूर्णबहादुरले मन बलियो बनाए । उनी विरक्तिएनन् । बरु, उनै छोराको खातिर केही गर्ने प्रण गरे ।

छोरो साहित्यानुरागी । पुस्तकप्रति उनको गहिरो लगाव थियो । त्यसैले त लाहुरेको एक्लो छोरोले घरभरी पुस्तक थुपारेका थिए । काठमाडौं र धरानमा दुवैतिर घर थियो । अनि दुवैतिर छोरो विमलले पुस्तक संकलन गरेका थिए ।

पूर्णबहादुरले ती सबै पुस्तकलाई जतनसाथ एकत्रित गरे । अनि धरानमै एउटा भवन बनाए र त्यसमा पुस्तकको थुप्रै लगाए । यसरी तयार भयो, कवि विमल गुरुङ पुस्तकालय ।

यतिबेला हजारौं थान पुस्तकले भरिभराउ छ, पुस्तकालय । ५० लाख रुपैयाँको अक्षयकोष खडा गरेका छन् । त्यही रकमबाट बर्सेनि कविता प्रतियोगिता गरिन्छ । सुरुवाती दिनमा पूर्णबहादुरले साहित्यिक पत्रिका पनि प्रकाशित गरे, जुन उनको छोरोले सुरु गरेका थिए । ‘इँटा’ नामक उक्त पत्रिका सात अंकसम्म प्रकाशित भयो । त्यसैगरी दुई वटा कविता संग्रह पनि प्रकाशित गरे ।

लाहुर जाँदा पूर्णबहादुरले लेखपढ गरेकै थिएनन् । तर, यतिबेला उनी आफ्ना छोरा-नाति पुस्तालाई पढ्नका लागि प्रेरित गरिरहन्छन् । उनी भनिरहेका हुन्छन्, ‘दिनमा एक जना मात्र आएर पढिदिए पनि हुन्थ्यो ।’

‘उर्मि’ पूर्णबहादुरको अपूर्ण जीवनकथा

आधुनिक सहरबाट विस्मृत हुँदै गएको, त्यो पुस्तकालय । ती पूर्णबहादुर । अनि कवि विमल । बुद्धचोकबाट दिनहुँ सयौं पाइला ओहोर-दोहोर गर्छन् । तर, कसैको आँखा पर्दैन त्यो पुस्तकालयमा ।

यसले आफ्नो गर्भमा कति मार्मिक कथा समेटेर बसेको छ धेरैलाई थाहा पत्तो छैन । यसरी करिब ओझेल परिसकेको एउटा कथाको उत्खनन गरेका छन्, निर्देशक प्रणय लिम्बूले ।

अवकाश जीवन विताइरहेका एक लाहुरे, जो जीवनको करिब उत्तरार्द्धमा छन् । दुःख र वियोगले उनको छाती चिराचिरा बनाएको छ । तर, उनी आफ्नो पीडा लुकाएर प्रेरणादायी जीवन बाँच्ने यत्नमा छन् । उनी जति बाँचेका छन्, त्यही पुस्तकालयका खातिर बाँचेका छन् । किनकि त्यो पुस्तकालय आफैंमा एक खुला पाना हो, जसले समयले गुमाएको धेरै कुरा भनिरहेको छ ।



source https://www.onlinekhabar.com/2022/04/1118410

Post a Comment

0 Comments