यति बेला मुलुकमा स्थानीय तहको निर्वाचनको रौनक छाएको छ । स्थानीय तहमा उम्मेदवार बन्न इच्छुक व्यक्तिहरू पार्टीभित्र टिकटको लागि प्रयत्नशील छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उम्मेदवारहरू छनौटलाई तिब्रता दिएको छ । सरकारमा आबद्ध दलहरू गठबन्धन गर्ने गृहकार्यमा छन् । बालेन शाहजस्ता युवाहरू काठमाडौँ महानगरको मेयर पदमा प्रतिस्पर्धा गर्न मैदानमा उत्रिएका छन् ।
हालै एउटा अन्तर्वार्तामा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले आफू नगरपालिकाको मेयर उठ्न तयार रहेको अभिव्यक्ति दिए । नेपाल जस्तो सोपानक्रममा अडिएको समाजमा प्रधानमन्त्री भइसकेको अरू कुनै व्यक्तिले मेयर उठ्छु भनेर हालसम्म भनेका छैनन् ।
बाबुराम भट्टराईको अन्तर्वाता हेरेपश्चात् अलि खुला दिमागले काठमाडौँको मेयरको सम्भावित उम्मेदवार खोजी गर्न थाले । यसै क्रममा भेटिएको नाम हो, गगन थापा । आज पनि नेपाली राजनीतिमा युवा वर्गलाई संबोधन गर्दा गगन पुस्ता भनिन्छ । गगन थापा एउटा पात्र मात्र नभई प्रवृत्ति पनि हो, जसले मूलप्रवाहको राजनीतिक दलको नेतृत्वमा जबर्जस्त युवा पुस्ताको उपस्थिति संभव गराएको छ ।
हुन त म चाहन्छु, उमेरले ४५ चल्दै गरेका गगन अबको निर्वाचनपछि नेपालको प्रधानमन्त्री बनून् । युवा जनसंख्याको बाहुल्य रहेको देशमा ती नवजवानहरूको भावनाको प्रतिनिधित्व गरून् । रोजगारीका अवसरहरू सिर्जना गरून् । औद्योगिक वातावरण निर्माण गरून् । विदेशी लगानी, पूँजी र प्रविधि भित्र्याउन । शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाको प्रत्याभूति गरून् । सबल पूर्वाधारहरू निर्माण गरून् ।
तर अहिलेको राजनीतिक परिदृश्य नियाल्दा तत्काल देउवा, दाहाल र ओलीभन्दा तल्लो पुस्तामा प्रधानमन्त्री पद आउने देखिदैन । कुनै पनि राजनीतिक दलको एकल बहुमत नआएर सरकार अस्थिर पो बन्ने हो कि भन्ने आंशका र अनुमानहरू पनि छन् ।
यदि गगन काठमाडौँ महानगरपालिकाको मेयर निर्वाचित भए भने उनलाई पूर्ण कार्यकाल अर्थात् ५ वर्ष काम गर्नबाट कसैले बञ्चित गर्न सक्ने छैन । ५ वर्षमा थालनी गरेका धेरैजसो कामहरूले नतिजा दिनेछन् । योजनाबद्ध ढंगले पञ्चवर्षीय कामहरू गर्न मिल्नेछ ।
त्यस्तो परिस्थितिमा गगन कुनै एउटा विभागीय मन्त्री बन्ने, केही राम्रा कामहरूको थालनी गर्ने, ती कामहरूको पूर्ण नतिजा नआउँदै सरकारबाट बाहिरिनुपर्ने हुन सक्दछ ।
यदि गगन काठमाडौँ महानगरपालिकाको मेयर निर्वाचित भए भने उनलाई पूर्ण कार्यकाल अर्थात् ५ वर्ष काम गर्नबाट कसैले बञ्चित गर्न सक्ने छैन । ५ वर्षमा थालनी गरेका धेरैजसो कामहरूले नतिजा दिनेछन् । योजनाबद्ध ढंगले पञ्चवर्षीय कामहरू गर्न मिल्नेछ ।
वि.सं. २०६४ सालमा समानुपातिक संसद बनेका गगन २०७० र २०७४ सालमा काठमाडौँ निर्वाचन क्षेत्र नं. ४ बाट सभासद/संसद निर्वाचित भए । २०७९ सालमा पुनः निर्वाचित भएपनि यो कार्यकालमा उनी प्रधानमन्त्री बन्ने संभावना अत्यन्तै न्यून छ । पार्टीमा सबै ठिकठाक अगाडि बढ्यो भने २०८४ को निर्वाचनपछि केही आशा गर्न सकिन्छ । तसर्थ, यो पटक मेयर उठेर अर्को निर्वाचनमा सांसद बन्दा निर्वाचन क्षेत्रको नेतृत्व व्यवस्थापनमा समेत सहज होला ।
निर्वाचनमा जनताको मत परिवर्तनशील पनि हुन्छ । नेपालमा निर्वाचनको इतिहास हेर्यौ भने पनि लगातार दुई निर्वाचनमा एउटै दल पहिलो दल बनेको खासै इतिहास छैन । जस्तै, २०४८ सालमा नेपाली कांग्रेस, २०५१ मा नेकपा एमाले, २०५६ मा नेपाली कांग्रेस, २०६४ मा नेकमा माओवादी, २०७० मा नेपाली कांग्रेस र २०७४ मा नेकपा एमाले पहिलो दल बनेका हुन् ।
लगातर एउटै उम्मेदवारले एउटै निर्वाचन क्षेत्रबाट दुईभन्दा बढी पटक चुनाव जितेका पनि कमै उदाहरण छन् । मानवीय स्वाभाव पनि हो, परिवर्तन खोज्नु । त्यसैले यो पटकको संसदीय निर्वाचन नलड्दा थापालाई २०८४ को निर्वाचन जितेर मुलुकको कार्यकारी नेतृत्व सम्हाल्ने मौका प्राप्त हुन सक्दछ ।
आगामी निर्वाचनमा काठमाडौँ महानगरमा ३ लाख २ सय ४२ मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ । भुटानको नेसनल एसेम्बलीको निर्वाचनमा खसेको भोट संख्याको हाराहारी काठमाडौँ महानगरको मतदाता संख्या देखिन्छ । (सन् २०१८ को भुटानको नेसनल एसेम्बलीको प्रथम चरणमा २ लाख ९१ हजार ९८ मात्र भोट खसेको थियो, भने दोस्रो चरणमा ३ लाख १३ हजार ४ सय ७३ भोट खसेको थियो ।)
करिब १८ लाख जनसंख्या भएको बहराइनको जनसंख्याको हाराहारी मानिसहरू काठमाडौँ महानगरमा मात्र बस्ने अनुमान छ । जबकी बहराइनको अर्थतन्त्र नेपालको भन्दा धेरै ठूलो छ ।
बजेटको हिसाबले पनि काठमाडौँ महानगरपालिकाको बजेट संघका कतिपय मन्त्रालयको बजेटभन्दा बढी रहेको छ । आ.व. २०७८/०७९ को काठमाडौँ महानगरपालिकाको कुल बजेट १८.९५ अर्ब छ । सोही आ.व. मा संघका १० मन्त्रालयको बजेट काठमाडौँ महानगरको भन्दा कम छ । जसलाई निम्मानुसार प्रस्तुत गरिएको छ ।
क्र.सं. | मन्त्रालयको नाम | आ.व. २०७८/०७९ को बार्षिक बजेट रू. (अर्बमा) |
---|---|---|
१. | कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय | ०.४८ |
२. | युवा तथा खेलकूद मन्त्रालय | २.६८ |
३. | प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय | ४.०८ |
४. | परराष्ट्र मन्त्रालय | ६.७९ |
५. | सूचना तथा सञ्चार प्रविधि मन्त्रालय | ७.६८ |
६. | भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय | ७.७० |
७. | महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय | ११.५० |
८. | उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय | १३.२८ |
९. | श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय | १३.८९ |
१०. | वन तथा वातावरण मन्त्रालय | १३.९९ |
स्रोतः बजेट वक्तव्य २०७८/०७९
थापाले पटक पटक आफ्नो राजनीतिक करिअरको मापन ‘कुन पदमा पुगेँ, कतिपटक सांसद, मन्त्री वा प्रधानमन्त्री भएँ’ भनेर नगर्ने सार्वजनिक अभिव्यक्ति दिने गरेका छन् । बरू आफू राजनीतिबाट रिटायर्ड हुँदै गर्दा उनका छोरीहरूले आफ्नो बुबाको विगतप्रति कस्तो अनुभूति गर्छन् र नेपाल थप समृद्ध बन्दै गएको छ भन्ने कुरामा युवा पुस्ताले विश्वास गर्छन वा गर्दैनन् भन्ने आधारमा मापन गर्ने बताउँदै आएका छन् ।
तसर्थ, थापा काठमाडौँको मेयर बनेर आगामी ५ वर्षमा यहाँको फोहोरमैला, धुलो, धुँवा, ढल र प्रदूषण व्यवस्थापन, नदीनालाको सरसफाई, सार्वजनिक यातायात प्रणालीको सुदृढीकरण, खुला क्षेत्र प्रवर्द्धन, कला र संस्कृतिको सम्बर्द्धन, सार्वजनिक शिक्षा र स्वास्थ्यको सबलीकरण, स्वच्छ पिउने पानीको प्रवन्ध लगायतको आधारभूत सहरी पूर्वाधारको विकास गर्न सके भने कैयौँ छोराछोरीहरूले उनको कर्मप्रति अवश्य गौरव गर्नेछन् ।
आम नेपाली नागरिक तथा नेपाल आउने पर्यटक सबैले फेरिएको काठमाडौँको सुखद अनुभव लिनेछन् । एउटा विदेशबाट फर्कदै गरेको युवाले सुन्दर र सफा काठमाडौँ देखेर देशमा नै केही गर्ने विश्वास बोकी घर जाने वातावरण बन्नेछ ।
अहिले उच्च राजनैतिक नेतृत्वको केन्द्रीकृत मानसिकताले संघीयतालाई नै कमजोर बनायो भन्ने आरोपहरू लागेका छन् । हुन पनि केन्द्रीकृत राज्य व्यवस्थामा लामो समयदेखि अभ्यस्त नेताहरूलाई आत्मादेखि संघीयता ग्रहण गर्न सजिलो हुने कुरा पनि भएन् । तसर्थ, गगन थापा मेयर निर्वाचित भएर एक कार्यकाल काम गरे भने त्यसपछि मुलुकको सर्वोच्च कार्यकारी पद प्रधानमन्त्रीको रूपमा मुलुकलाई हाक्न थप अनुभवी र परिपक्क बन्नेछन् । यो नेपालको राजनीतिमा एउटा अभूतपूर्व उदाहरण पनि हुनेछ ।
निर्वाचन भनेको मतदाताले आफ्नो सामर्थ्य प्रदर्शन गर्ने र राजनैतिक पार्टीहरूलाई उत्तरदायी बनाउने उपयुक्त समय पनि हो । लोकतन्त्रमा मतदातासँग नेतृत्व डराउनपर्ने अवस्था आउनुपर्दछ । यदि ठूला पार्टीहरूबाट गगन थापाजस्ता व्यक्तिहरू महानगरको मेयर पदको उम्मेदवार नबन्ने हो भने मतदाताले विकल्प खोज्न सक्दछन् ।
अन्त्यमा, लेखमा गगन थापालाई प्रतिनिधि पात्रको रूपमा उल्लेख गरिएको हो । देशैभरी स्थानीय तहमा स्पष्ट दृष्टिकोण भएका उम्मेदवारहरू हुनु जरूरी छ । अघिल्लो पटकको निर्वाचनमा स्थानीय तहको प्रमुख/अध्यक्षलाई ‘लो प्रोपाइल’ मा राखेर धेरैजसो ठूला भनिएका नेताहरूले त्यसतर्फ रूची देखाएनन् । स्थानीय तह बलियो नबनी न त संघीयता सफल हुन्छ, न त जनताले नै प्रभावकारी सेवा प्राप्त गर्दछन् । तसर्थ, यसपटकको निर्वाचनमा भिजनसहितका ‘हेभिवेट’ हरू पनि स्थानीय तहमा उम्मेदवार बनून् ।
source https://www.onlinekhabar.com/2022/04/1109726
0 Comments