Looking For Anything Specific?

Header Ads

ईश्वरबल्लभको अधुरो सपना

आयामेली त्रिमूर्तिर्मध्ये एक ईश्वरवल्लभलाई मैले ०३६ सालमा दीपज्योति मासिक पत्रिकाका लागि अन्तरवार्ता लिने सिलसिलामा पहिलोपल्ट उनकै तत्कालीन अफिस परिवार नियोजन संघको कार्यालयमा भेटेको हुँ । त्यतिवेला परिवार नियोजन संघको अफिस राष्ट्रिय नाचघरको उत्तरपटि्टको एटटा भवनमा थियो ।

ईश्वरवल्लभको कोठा भर्‍याङमाथि थियो । सोधखोज गर्दै म त्यहाँ पुगेको थिएँ । उनी पहिलो भेटमै आत्मीय लागे । चिया खुवाए र तत्कालै ‘एउटा शहरको किनारामा’ कविता सङ्ग्रह हस्ताक्षर गरेर उपहार पनि दिए । अनि साँझ राष्ट्रिय नाचघरको मूलगेटमा भेट्ने र कतै बसेर अन्तरवार्ता गर्ने सल्लाह भयो ।

साँझ उनी अफिस छुटेर आउँदा म राष्ट्रिय नाचघरको गेटमा कुरिरहेको थिएँ ।

उनले असन कमलाक्षीको एउटा मम दोकानमा लगे । मैले अन्तरवार्ता लिएँ । उनले दुईप्लेट मम र त्यतिखेर बजारमा पाइने उनको प्रिय ब्राण्ड “क्लियोपाट्रा” एक क्वार्टर पनि मगाए । अन्तरवार्ता सकिँदा मम र क्लियोपाट्राको क्वार्टर पनि सकिइसकेको थियो ।

त्यो अन्तरवार्ता दीपज्योति मासिकमा छापियो, ‘दालभातले अवकाश दिएका बेला लेख्ने कवि’ शीर्षकमा ।

त्यतिबेला भर्खरै बहुदलको पक्षमा सडक कविता क्रान्ति सम्पन्न भएको थियो र म त्यसमा संलग्न थिएँ । उनलाई सडक कविता क्रान्तिको विषयमा प्रश्न गर्दा उनले ‘म कवितालाई सडकभन्दा माथि उठाउन चाहन्छु’ भन्ने जवाफ दिएका थिए । त्यो जवाफ विवादास्पद भयो र त्यही जवाफका कारण उनी सडक कविता क्रान्ति विरोधीका रुपमा दर्ता भए ।

तर, हाम्रो सम्वन्ध भने त्यो अन्तरवार्तापछि प्रगाढ भयो । हामी नियमित भेटघाट गर्ने भयौं ।

मैले उनको ‘आगोका फूलहरु हुन्, आगोका फूलहरु होइनन्’ कविता सङ्ग्रह पढिसकेको थिएँ । उनले उपहारमा दिएको ‘एउटा शहरको किनारामा’ पनि पढिसकेको थिएँ । उनका कविता कठोर हुन्थे, बुझ्नै कठिन । तर पनि त्यो पढ्दा बेग्लैखालको मज्जा आउँथ्यो ।

दार्जीलिङमा शुरु भएको तेश्रो आयाम अर्थात् आयामेली आन्दोलनका त्रिमूर्तिमध्ये ईश्वरवल्लभ एक भए पनि उनी अब आयामेली आन्दोलनको आयु सकिएको कुरा गर्थे । बैरागी काईंला धुलाबारीमा चूपचाप बसेका थिए । दार्जीलिङबाट ईन्द्रबहादुर राई भने लीला लेखनको जोरजाम गर्दै थिए । त्यही छेकोमा ईश्वर वल्लभले काठमाडौंवाट ‘आठौं दशक’ भन्ने साहित्यिक आन्दोलन गर्ने कुरा उठाएका थिए । तर, उनी एक्लै थिए, सहयात्री थिएनन् र उनलाई पछ्याउनेहरु पनि थिएनन् । त्यसैले उनको त्यो ‘आठौं दशक’ को परिकल्पनाले सफलिभूत हुने अवसर पाएन ।

त्यहीबीच जीवन आचार्यको सम्पादन र रामेश्वर मानन्धरको प्रकाशनमा ‘आकुञ्चन’ नामक साहित्यिक पत्रिकाको शुरुवात भयो २०३६ सालमा ।

रामेश्वर मानन्धर काठमाडौंमा तत्कालीन समयमा निकै लोकप्रिय ममचा रेष्टुरेण्ट ‘ओके ममचा रेष्टुँरा’ का सञ्चालक थिए । एक दिन ईश्वरबल्लभले मलाई त्यस रेष्टुँरामा लगे । म कहिले काहीँ त्यहाँ ममचा खान जाने हुनाले परिचित रेष्टुँरा नै थियो । रामेश्वरले खाजा र ममचा अनि क्लियोपेट्राको क्वार्टरले स्वागत गरे ।

हामी त्यहाँबाट फर्कियौं । म कालिमाटीमा बस्थें, ईश्वरबल्लभ थापाथली कुरिया गाउँमा । हामी हिँड्दै त्रिपुरेश्वर आयौं । त्यतिबेला म त्रिपुरेश्वरमा अवस्थित त्रिभुवन विश्वविद्यालयको केन्द्रीय कार्यालयमा काम गर्थें र त्रिपुरेश्वरको ट्रलीबस अफिसको छेउमा रहेको राम दाइको होटलमा बिहानको चिया, दिउँसो खाजा र साँझको खाना खाने गर्थें । त्यहाँ उधारो चल्थ्यो । मैले ईश्वरबल्लभलाई भनें, ‘दाइ, म त यहाँ भात खाने गर्छु, तपाईं पनि खाउँ ?’

गोविन्द गिरी प्रेरणा

‘हुन्छ भाइ ।’ उनले भने ।

हामीले खाना खायौं र छुट्टियौं ।

त्यो दिन शुरु भएको ओके ममचा रेष्टुँरामा उनले रामेश्वरको सौजन्यमा ममचा र रक्सी खुवाउने अनि मैले राम दाइको होटलमा भात खुवाउने क्रम झण्डै ६ महिनाभन्दा बढी चल्यो । मलाई छक्क लाग्थ्यो, घर परिवार भएका ईश्वरबल्लभले त्यसरी मसँग किन भात खाइरहे ? न मैले सोधें, न उनले बताए । यो रहस्य रहस्यकै गर्भमा रहृयो सदासदाका लागि ।

छक्क त रामेश्वर मानन्धरदेखि पो मान्नुपर्ने थियो, ‘आकुञ्चन’ पत्रिकाको संरक्षक भइदिएवापत हरेक दिन त्यसरी आतिथ्य गरेर ऋणमोचन गरिरहे उनले ।

एक दिन ईश्वरवल्लभलाई हृदयाघात भयो । उनी केही दिन वीर अस्पतालमा भर्ना हुनुपर्‍यो । त्यसको केही समयपछि उनलाई परिवार नियोजन संघको जागिरबाट अवकाश दिइयो । यो बडो दुःखदायी अवस्था थियो । पछि राष्ट्रिय योजना आयोगमा उनले जागिर पाए । तर, साहित्यकार लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री भएकै केही दिनमा उनको जागिर त्यहाँबाट पनि गयो । उनी सँगसँगै जीवन आचार्यको पनि जागिर गयो । यो कुरा लोकेन्द्रवहादुर चन्दलाई सिर्जनशील साहित्य समाजले गरेको स्वागत समारोहमा जानकारी गराइएको थियो । तर, मिष्टर क्लिन उपनाम पाएका प्रधानमन्त्री चन्दले उनीहरुको जागिर थमौती गर्न सकेनन् ।

ईश्वरबल्लभले रुपरेखा मासिकमा ‘बल्लभ र नयाँ प्रतिभा’ नामक एक स्तम्भ शुरु गरेका थिए । उनले नयाँ पुस्ताका कविको परिचयसहित तिनका केही कविता सो स्तम्भमा प्रस्तुत गर्थे । त्यो युवा पुस्तामा आकर्षण र चर्चाको विषय भएको थियो । धेरै युवा पुस्ताका कविहरु त्यस स्तम्भमा देखा पर्न लालायित थिए । तर, केही कविहरुलाई प्रस्तुत गरेपछि सो स्तम्भ निरन्तर हुन सकेन ।

तर, उनी नयाँ पुस्ताका धेरै कविहरुलाई त्यसमा प्रस्तुत गर्न चाहन्थे । त्यतिबेला प्रस्तुत गर्न चाहेका कविहरुलाई दशकौंपछि दुबसु क्षेत्रीको सम्पादनमा निस्कन थालेको ‘समकालीन नेपाली साहित्य’ पत्रिकामा निरन्तरता दिइएको थियो । त्यो क्रम उनको जीवनकालमा चलिरहेको थियो ।

त्यस्तै उनले अमेरिकाबाट प्रकाशित हुने ‘विश्व परिक्रमा’ पाक्षिक अखबारमा पनि स्तम्भ लेखन गर्दै थिए । विधान आचार्य र ईश्वरबल्लभ एक ताक एउटा साप्ताहिक अखबारमा स्तम्भ लेखकका रुपमा पनि काम गर्थे ।

वास्तवमा ईश्वरबल्लभको जीवन वाल्यकालदेखि नै विसङ्गतिपूर्ण रह्यो ।

उनी सानो छँदा नै उनकी आमाले कालिमाटीस्थित निवासमा सेरिएर आत्महत्या गरेकी थिइन् । उनले आमाको रगतको फाल्सा हातले सोहोरेको दुर्दान्त कथा बताउने गर्थे । त्यही दृश्यको शब्दीकरण थियो उनको ‘मेरी आमाले आत्महत्या गरेको देश’ कविता ।

त्यो कविता ईश्वरबल्लभको जीवनसँग गाँसिएको थियो । आमाको आत्महत्यासँग गाँसिएको थियो । एउटा असहनीय पीडाको प्रकटीकरण थियो ।

ईश्वरबल्लभका पिता खाँटी ब्राह्मण पण्डित मुरलिधर भट्टराई थिए भने आमा नेवारनी थिइन् राममाया ।

साहित्य समूह बिराटनगरले २०३८ साल शनिबार आयोजना गरेको ‘विराट साहित्य सम्मेलन’ मा आयामेली आन्दोलनका तीनैजना साहित्यकार ईन्द्रवहादुर राई, वैरागी काईंला र ईश्वरवल्लभ एकसाथ उपस्थित भएका थिए । तर, ईश्वरवल्लभ किन हो कुन्नि अरु दुईसँग नजिक हुन वा आत्मीय रुपमा रहन चाहेनन् । जबकि ईन्द्रबहादुर राई र बैरागी काईंलावीच भने सहोदर दाइभाइको जस्तो सम्वन्ध थियो ।

धुलाबारी झापामा आयामेली आन्दोलनको २५ वर्ष अर्थात् रजत जयन्ती धुमधामका साथ मनाइएको थियो । बैरागी काईंला झापामै थिए । ईन्द्रबहादुर राई दार्जीलिङबाट समारोहमा सरिक हुन आए । तर, ईश्वरवल्लभ सञ्चो नभएको भन्दै त्यस कार्यक्रममा भाग लिन गएनन् । उनको आफ्नै प्रकारको स्वाभाव थियो ।

काठमाडौंमा एउटा गतिलो साहित्यिक संस्थाको जरुरी महसुस गरियो र त्यसको स्थापनाका लागि जुटे तुलसी दिवस, क्षेत्रप्रताप अधिकारी, नगेन्द्रराज शर्मा, हेम हमाल आदि । त्यसका अनेकन बैठकहरु भए । धेरैजसो तुलसी दिवसको निवास चाकुपाटमा । लामो र निकै गहन छलफल पछि ‘सिर्जनशील साहित्यिक समाज’ नामाकरण गरियो ।

वास्तवमा त्यो संस्थाको निर्माणका लागि तुलसी दिवसको रुचि प्रवल देखिन्थ्यो । पछि साहित्यिक पत्रकार संघको काउण्टरमा जन्मेको भन्ने आरोप लागे पनि त्यसमा सत्यता थिएन । विधान बनिसकेपछि क्षेत्रप्रतापको अध्यक्षमा रुचि देखियो । तर, तुलसी दिवस आफैं अध्यक्षका लागि पूर्वतयारीमा थिए ।

चुनावका लागि चुनाव आयोग बनाउनुपर्ने भयो । यो प्रजातान्त्रिक संस्था हो भन्ने देखाउन पनि चुनाव गराउन जरुरी थियो । अत कुटनीतिक हिसाबले क्षेत्रप्रतापलाई चुनाव आयोगको प्रमुख आयुक्त बनाइयो । यसले तुलसी दिवसका लागि अध्यक्षको बाटो सफा भयो । चुनावको सूचना निस्किएपछि अचानक ईश्वरवल्लभले अध्यक्षको पदमा उम्मेदारी दिए । पिपलबोटमा जम्मा हुने, तर सिर्जनशील साहित्य समाजको निर्माणका लागि भएको पूर्वकार्य थाहा नपाउने साहित्यकारहरुले ईश्वर दाइ जस्तो कर्मठ कविले यो चुनाव नजित्ने कुरै छैन भनेर उकेरा लाइदिए ।

तुलसी दिवस पूरा प्यानलका साथ पूर्ण तयार भएर चुनावमा लागेका थिए । ईश्वरवल्लभ एक्लै ठिङ्ग अध्यक्षमा उम्मेदवार बनेका थिए, उनका अघिपछि कोही थिएनन् । अतः साह्रै थोरै, नगन्य भोट पाए र पराजित भए । उनी मनमौजी थिए, तर पनि पराजित हुनु नमज्जाकै कुरा हो । विश्वभाषा क्याम्पसमा भएको सो निर्वाचनको परिणामपछि रन्थनिँदै उनी एक्लै त्यहाँबाट निस्केका थिए ।

ईश्वरबल्लभ नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा प्राज्ञका रुपमा पुगे । तर, उनी त्यहाँ पनि सन्तुष्ट हुन सकेनन् । उनले पत्रिकाको पहिलो पृष्ठमा समाचार बन्ने बोली बोलिदिए, ‘एकेडेमी चारखाल अड्डाजस्तो छ ।’
तर विडम्वना ! त्यो उनले भनेको चारखाल अड्डामा आफ्नो कार्यकाल पूरा गर्न पाएनन् । प्रज्ञा प्रतिष्ठानको नयाँ कानून आयो र पुरानो कानूनअनुसार नियुक्त भएका सबै पदमुक्त भए । त्यसपछि पुनः उनले सो पदमा जाने मौका पाएनन् ।

ईश्वरबल्लभलाई चर्काे आर्थिक सङ्कटले घेरेको थियो । उनी सुगर, उच्च रक्तचापलगायतका रोगहरुले ग्रस्त थिए । आयस्ताको बाटो थिएन । एकेडेमीका उनी आजीवन सदस्य भएवापत भत्ता त पाउँथे, तर समयमा अर्थ मन्त्रालयबाट निकासा नहुँदा आजीवन सदस्यहरुले समयमा भुक्तानी पाउँदैनथे । नियमित प्राज्ञहरु र कार्यरत कर्मचारीहरुलाई दिइसकेपछि मात्र आजीवन सदस्यको भुक्तानीको पालो आउँथ्यो । त्यो प्राथमिकतामा पर्दैनथ्यो ।

उनलाई हेमराज ज्ञवालीले स्नेहपूर्वक कान्तिपुर दैनिकमा नियमित स्तम्भ लेखनको जिम्मेवारी दिएका थिए । त्यो स्तम्भ पनि बेलाबखत विवादित हुन्थ्यो । उनी हरेक अङ्कमा एकजना कविको केही कविता उद्धरण गर्थे स्तम्भको अन्तमा । उनलाई दाइ-दाइ भनेर फोन गर्नेहरु र उनलाई निसन्देह मनपर्ने कविका कविताका हरफ हुन्थे नै, कविताका हरफ कहिल्यै नपर्ने कविहरु उनको कुरा काट्थे ।

तर, उनी हरेक हप्ता केही न केही लेखिरहन्थे । त्यो नियमितताले उनलाई घर चलाउन वा औषधी खर्चका लागि भरथेक हुन्थ्यो ।

ईश्वरबल्भले मदन पुरस्कार पाए । साझा पुरस्कार पाए । मुक्ति पुरस्कार पाए । व्यथित सिन्धु पुरस्कार पाए । रत्नश्री स्वर्ण पदक पाए ।

उनले कविता लेखे । आलोचनात्मक लेखहरु लेखे । कथाहरु लेखे । उनले उपन्यास पनि शुरु गरेको बताएका थिए, एउटा अन्तरवार्तामा । त्यो उपन्यासको नाम ‘भगुवा’ राखेका थिए । तर, त्यो उपन्यास न पूरा भयो, न प्रकाशित नै भयो ।

ईश्वरबल्लभले कमै समीक्षा, समालोचना लेखे । तर, पारिजातको ‘शिरिषको फूल’ का बारेमा उनले रुपरेखामा लेखेको समीक्षा अप्रिय थियो । उनले लेखेका थिए, एउटा सानु पोयट्रीले भन्न सक्ने कुरा भनी हेर्ने उपन्यास शिरिषको फूल लेखिँदा फेसन त भयो-भयो, नजान्ने भर्खरैकी केटीले नसुहाउने गरी ‘स्लिवलेस ब्लाउज’ लाएकोमा काखीबाट चियाउने गरेका काखीका भुत्लाहरु जुगुप्सापूर्ण हुन्छ, त्यसको सुचारु ‘सेभिङ’ पनि भएन- एडिकोलनहरु लगाउन पनि बिर्सिए । सायद त्यस्तो फेसन भयो ।’

उनले त्यति मात्र होइन, पारिजातको उपन्यास पूरै असफल भएको दाबी पनि गरिदिए । उनको यो लेखनले पारिजातको अहममा चोट पुर्‍यायो र दुवैका वीच सम्वन्ध तिक्त भयो । कतिसम्म भने, पारिजातले मौका पाएसम्म ईश्वरवल्लभलाई शाब्दिक प्रहार गरिरहिन् आजीवन ।

कवितामा उनी कठोर देखिन्थे । उनका कविता नबुझिने कविताको कित्तामा पर्थेे । केही कविता वुझिने भए पनि ।

तर, ईश्वरबल्लभ गीतमा कोमल थिए । मायालु थिए । हृदयस्पर्शी थिए । ‘दुईटा फूल देउरालीमा..’, ‘मलाई यो जिन्दगी लाग्दछ…’, ‘हजार सपनाहरुको माया लागेर आउँछ..’ जस्ता कर्णप्रिय, सदावहार र कालजयी गीत उनकै कलमको उपहार हो ।

उनको कविताले बोल्थ्यो –

माथि आकाश हेर्नु छ
क्षितिज छुनु छ
एकजनालाई फूलको थुँगा दिनु छ ।
नजिकमा कोही छ कि छैन
यदि छ भने उसलाई बोलाउनु छ ।

तर, कसैलाई बोलाउनुअघि नै उनी आफैं अनन्त यात्रामा हिँडिदिए ।

उनले एकपल्ट मसँग भनेका थिए, ‘यदि मैले पैसा कमाएँ भने मेरी आमाले आत्महत्या गरेको त्यो कालिमाटीको घर किन्छु ।’

ईश्वरको देहावसानसँगै उनको त्यो सपना पनि सदासदाका लागि अधुरो नै रह्यो ।

गोविन्द गिरी प्रेरणाका थप लेखहरु

डिस्कोर्स : बैरागी विश्वविद्यालय
विस्मृतिमा बानिरा 
घुम्ने मेचमाथि ‘अन्धो’ कवि !
ध्रुवचन्द्र गौतम : लेख्नु र सास फेर्नु उस्तै !
काँडामा फूलेका कालीप्रसाद 
मोराश : एउटा धरोहरको विसर्जन



source https://www.onlinekhabar.com/2020/02/832925

Post a Comment

0 Comments