Looking For Anything Specific?

Header Ads

कृष्णनगर घटनाका पीडितलाई राहत र दोषीलाई कारवाही गर्न राप्रपाको माग

१६ कात्तिक, काठमाडौं । लक्ष्मीपुजाको मूर्ति विसर्जनका क्रममा एक जनाको ज्यान जाने गरी कपिलवस्तुकाे कृष्णनगरमा भएको घटनाप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले दुःख व्यक्त गरेको छ । घटनाबारे अनुसन्धान गरी दोषीमाथि कारवाही गर्न र पीडित परिवारलाई क्षतिपूर्ति दिन पनि राप्रपाले सरकारसमक्ष माग गरेको छ ।

राप्रपाले शनिबार एक विज्ञप्ति जारी गर्दै सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेको हो ।

‘मूर्ति विसर्जनका क्रममा बाटोको सामान्य विवाद सामान्यीकरण गर्नुको सट्टा स्थानीय प्रशासनले कर्फ्यु लगाउने र दमन गर्ने कार्य गरेबाट एक निर्दोष व्यक्तिको ज्यान गएको घटनाप्रति राप्रपा दुःख प्रकट गर्दछ’, राप्रपा प्रवक्ता सुशीलकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘घटनाको सत्य–तथ्य पत्ता लगाइ दोषीलाई कारबाही गर्न तथा पीडितलाई राहत र क्षतिपूर्ति दिन राप्रपा सरकारसँग माग गर्दछ ।’

परस्पर सामाजिक एवं सांस्कृतिक सद्भाव कायम राख्न सबै वर्ग र समुदायसँग राप्रपा अपिल पनि गरेको छ ।

बुधबार लक्ष्मीपूजाको मूर्ति विसर्जनको क्रममा कृष्णनगरमा विवाद भएको थियो । प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर कृष्णनगरमा व्यवसाय गर्दै आएका २० वर्षीय सुरजकुमार पाण्डेका ज्यान गएको थियो । अवस्था तनावग्रस्त बनेपछि प्रशासनले बिहीबार बिहानदेखि कृष्णनगरमा कर्फ्यु लगाएको थियो । दुवै पक्षबीच सहमति जुटेपछि शनिबार बिहानदेखि कर्फ्यु हटेको छ भने कृष्णनगर पूर्ववत् अवस्थामा फर्किएको छ ।



source https://www.onlinekhabar.com/2019/11/807945

Post a Comment

0 Comments