Looking For Anything Specific?

Header Ads

के महिलाहरुको दिमाग पुरुषको भन्दा भिन्दै हुन्छ ?

कग्निटिभ न्यूरो साइन्टिस्ट गिना रिप्पनको जिन्दगीमा सन् १९८६ जून महिना सबैभन्दा अविस्मरणीय छ । त्यो दिन उनले छोरीलाई जन्म दिएकी थिइन् । र, त्यो त्यहि दिन थियो, चर्चित फुटबलर गेरी लिनेकारले पुरुषहरुको फुटबल वल्र्ड कपमा ह्याटि्रक गरेका ।

त्यो रातरिप्पनको वार्डमा ९ जना बच्चा जन्मिएका थिए । रुँदै गरेका सबै बच्चाहरुलाई पालै-पालो उनीहरुको आमाहरुलाई सुम्पिँदै थिए ।

जब रिप्पनलाई उनकी छोरी सुम्पिइयो, नर्सले भनिन्-‘यी बच्ची सबैभन्दा धेरै आवाज निकालेर रोएकी थिइन् । यिनकोे आवाज छोरीको जस्तो लागेन ।’

छोरी जन्मेको १० मिनेट पनि नबित्दै उनलाई महिला र पुरुषको श्रेणीमा बिभाजित गरेको देखेर रिप्पन सोचमा डुब्न थालिन् । म्हिला-पुरुषमा भेदभाव गर्ने सोच संसारभर फैलिएको छ । जब ईश्वरले दुवैलाई एक समान बनाएका छन् र मानिसहरु पनि महिला र पुरुष एउटै गाडिको दुई पाङ्ग्रा हुन भन्ने मान्यता राख्छन् ।यस्तो हुँदा-हुँदै पनि दुवै आपसमा नै फरक गर्छन् । महिला र पुरुषको सोचाइ नै सानैबाट एक-अर्कासंग भिन्दै हुन्छ ।

यो विचारलाई चुनौती दिनका लागि रिप्पनले धेरै दशकहरुबाट काम गरिरहेकी छिन् । उनको काम ‘द जेन्डर्ड ब्रेन’ नामक पुस्तकमा उल्लेख गरिएको छ ।

महिला र पुरुषको दिमाग

महिला र पुरुषको दिमागको सम्बन्धको आधार एक-अर्काबाट भिन्न हुँदैन भन्ने कुरा रिप्पन स्वयंको भनाइ छ । समाजले यसको महसुस गराउँछ । यस्तो स्थितिमा उनको किताबको शिर्षक अलि अस्पष्ट जस्तो लाग्छ । जन्मेदेखि वृद्ध हुने समयसम्म हाम्रो बानी, व्यवहार, गतिविधि र सोच- विचारको तरिकालाई आधार बनाएर महिला र पुरुषको दिमागको आधार नै फरक छ भन्ने मानिँदै आएको छ ।

रिप्प्ानलाई अहिले सन् २०१९ मा पनि हामी त्यस्ता भ्रामक सोचलाई अगाडि बढाइ रहेकोमा धेरै दुःख लाग्छ । आजको दिनमा पनि लैंगिक भेदभाव जारी छ । हो, त्यसको रंग-रुपमा भने परिर्वतन भएको छ ।

करिव दुई सय वर्षदेखि हामी महिलाको दिमाग पुरुषको भन्दा अलग छ भन्ने कुरा पत्ता लगाउने कोशिश गरिरहेका छौं । तर सधैं त्यसको जवाफ छैन अथवा होइन भन्ने रहेको छ । विज्ञान र टेक्नोलोजीको सहयोगले केही पुराना विचारहरु पूर्ण रुपले गलत प्रमाणित भएको छ । तर पनि समाजबाट यो फरकको अन्त्य भएको छैन ।

महिलाको मस्तिष्क पुरुषहरुको तुलनामा सानो हुन्छ भन्ने कुरा साँचो हो । महिलाको मस्तिष्कको आकार पुरुषको भन्दा करिव १० प्रतिशत सानो हुन्छ । यसैलाई आधार मानेर महिलाहरुको सोच विचार गर्ने क्षमतालाई कम मान्ने गरिन्छ ।

रिप्प्ानका अनुसार, यदि बुद्धि र विचारको सम्बन्ध यदि मस्तिष्कको आकारबाट हुने हो भने हात्ती र स्पर्म व्हेलको दिमागको आकार मानिस भन्दा धेरै ठुलो आकारको हुन्छ । उनीहरुको मानिसको जस्तो सोंच -विचार किन हुँदैन ? चर्चित वैज्ञानिक आईन्स्टाइनको मस्तिष्क सामान्य पुरुषहरुको तुलनामा सानो थियो । तर उनको सोच-विचार र बुद्धि जस्तो आज धेरै कम व्यक्तिमा मात्र हुन्छ ।

दिमागको आकारको बुद्धिसंगको सम्बन्ध

दिमागको आकारको बुद्धिसंग कुनै सम्बन्ध हुँदैन भन्ने धेरै आधारहरु छन् । तर पनि समाजमा यसलाई फरक बनाउने व्यक्तिहरुले आफ्नो तथ्यलाई बलियो बनाएका छन् ।

नक्शा पढ्ने काम पुर्ण रुपले सोच विचारमा आधारित छ । तर प्रायः यो काम पुरुषहरुलाई गर्न लगाइन्छ, किनभने पुरुषहरुले यो काम राम्रोसंग गर्न सक्छन् भन्ने मान्यता रहेको छ ।

रिप्पनको भनाई अनुसार मस्तिष्कको आकारको अन्तरलाई धेरै नै बढाई- चढाई गरेर पेश गरिएको छ । हाम्रो मस्तिष्क दुई वटा गोलार्द्धमा विभाजित छ भन्ने कुरा हामी सबैलाई थाहा नै छ । यी दुई भागको बीचमा कर्पस केलोसम हुन्छ,जसले दिमागको दुवै भागमा पुलको काम गर्छ । यसलाई इन्फर्मेसन ब्रिज अर्थात सूचनाको पुल पनि भनिन्छ । र यो बि्रज पुरुषको तुलनामा महिलाहरुमा बढि व्यापक हुन्छ ।

विज्ञानले के भन्छ ?

विज्ञानको यो खोजले महिलाहरुलाई कम क्षमता छ भन्ने सोच्नेहरुलाई ऐना देखाउन सहयोग गर्छ । प्रायः महिलाहरुमा सोच-विचार गर्ने क्षमता कम हुन्छ भनिन्छ । त्यस्तो हुनुको कारण महिलाहरुको सोचमा भावना बढि हावी हुन्छ । तर रिसर्च यी सबै कुरालाई गलत प्रमाणित गर्छ । रिप्पन आफ्नो पुस्तकमा लेख्छिन्-‘पुरुष गणित र विज्ञानको राम्रो जानकार हुन्छन् भन्ने आम धारणा रहेको छ । यी दुवै कठिन बिषयलाई उनीहरुको दिमागले धेरै बुझ्छ । त्यसैले नोबेल पुरस्कार अथवा त्यस्ता धेरै ठुला पुरस्कार जीत्नु उनीहरुको पहिलो अधिकार हो । तर यो दावी सरासर गलत हो । दशकदेखिको रिसर्चले दिमाग एकै प्रकारले काम गर्छ भन्ने कुरा प्रमाणित गरिसकेको छ । यहाँ सम्म कि महिला र पुरुषको मस्तिष्कको बनावटमा फरक पाउन पनि कठिन छ ।’

हाम्रो सोच-विचार कस्तो हुनु पर्छ भन्ने कुरा हार्मोनको ठुलो भुमिका रहेको हुन्छ । महिलाले हरेक महिना मासिक चक्र बेहोर्नु पर्छ । यो क्रममा उनीहरुको शरीरमा विभिन्न हार्मोनहरुको उतारचढाव हुन्छ । जसका कारण उनीहरु विभिन्न महत्वपुर्ण अवसरमा काम गर्न रोक लगाइन्छ ।

यहाँ सम्म कि अमेरीकाको स्पेस पोग्राममा महिलाहरुलाई यहि आधारमा समावेश हुन दिएन । सन् १९३० मा प्री मेन्स्ट्रअल सिन्ड्रोमको धारणा उत्पन्न भएको थियो ।

आज पनि महिनावारी शुरु हुनु भन्दा पहिला महिलाहरुको शरीरमा हुने परिर्वतनको असर उनीहरुको सोच्ने र विचार गर्ने क्षमतामा पनि पर्छ भन्ने मानिसहरुको मान्यता रहेको छ ।

महिनावारी शुरु हुनुभन्दा पहिला महिलाहरुमा बढि मात्रामा एस्ट्रोजन नामक हार्मोन सक्रिय हुन्छ । र यसले महिलाहरुको सोच-विचार गर्ने शक्तिमा सकारात्मक प्रभाव पार्छ भनेर रिप्पनका विभिन्न रिसर्चहरु गरेर यी कुराहरु बताएकी छिन् ।

के महिला र पुरुषको दिमाग एक समान काम गर्छ ?

रिप्पनका अनुसार विभिन्न धारणाहरुले समाजमा गहिरो जरा गाढेका हुन्छन् । यदि ती धारणाहरुमा रिसर्च गरियो भने नतिजा ती धारणा अनुसार नै आउँछ । अनुसन्धान पनि त यही समाजको अंग हो । सामाजिक विचारले यसलाई पनि प्रभावि गर्छ । यहाँ सम्म कि स्वयं महिलाहरुका सोच पनि तीनै धारणाहरुका अनुसारको रुप लिन थाल्छन् । के कुरामा शंका छैन भने आधारभूत रुपमा हामी सबैको मस्तिष्कले उस्तै काम गर्छ । यद्यपि, अगाडि गएर त्यसले त्यसरी नै काम गर्छ, जसरी उसलाई सिकाइएको हुन्छ ।

तर, समाजले वर्षौंदेखि महिला तथा पुरुषबीच भेदभाव गर्दै आइरहेको छ । हद त के छ भने हामी बच्चाहरुलाई खेलौनासमेत उनीहरुको लिंगको आधारमा दिन्छौं । यदि कुनै बालकले गुडियासंग खेल्न थाल्यो भने उनका परिवारलाई के लाग्छ भने कतै ती बालक अर्कै दिशातर्फ त अघि बढ्न थालेका होइनन् । यही कुरा बालिकाको सन्दर्भमा पनि लागू हुन्छ ।

त्यसो त अधिकांश व्यक्तिहरुको भनाइ के हुन्छ भने खेलौनाहरुमा लिंगको भेद गर्नु हुँदैन । जबकी रिप्पनको भनाइ के छ भने बालबालिकाहरुलाई त्यस्तो खेल तथा खेलौनाहरुसंग खेलाउनु पर्छ, जसले उनीहरुको मस्तिष्कको विकास धेरै भन्दा धेरै हुन सकोस् । उनी प्रारम्भमा नै बालक तथा बालिकाको बीचको भेदभावको चक्रव्यूहमा फस्नु नहुने धारणा व्यक्त गर्छिन् । बालबालिकाहरुको प्रशिक्षण पनि कुनै भेदभाव बिना हुनु पर्दछ ।

वास्तविकता के हो भने हरेक व्यक्तिको दिमाग आधारभूत रुपमा उस्तै हुन्छ । तर, दिमागले काम गर्ने तरिका भने व्यक्तिपिच्छे फरक-फरक हुन्छ । दिमागले बालक अथवा बालिका भनेर काम गर्दैन । हाम्रो मस्तिष्कको यो काम समाज र उसलाई दिइने प्रशिक्षणबाट निर्धारण हुन्छ ।

बिबिसीबाट



source https://www.onlinekhabar.com/2019/12/816028

Post a Comment

0 Comments