मंसिर १० गते बाराको निजगढस्थित सहिद हिरालाल रंगशालामा नेकपा प्रदेश नं २ ले आमसभा राख्यो । कार्यक्रम पूर्णतः राजनीतिक भएता पनि ‘प्रदेश नं २ अन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाहरुको प्रभावकारी कार्यान्वयनका लागि’ भनेर सभा राखिएको थियो । विभिन्न जिल्लाबाट ठूलो संख्यामा नेता–कार्यकर्ता पुगे । सभाको राम्रै प्रचार–प्रसार गरिएको थियो ।
नेकपाका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड आउने भएपछि कार्यकर्ताको भीड लाग्नु स्वाभाविक हो । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल र नेकपाका महासचिव विष्णु पौडेल पनि कार्यक्रममा झुल्किए ।
राष्ट्रिय गौरवको अयोजनाको प्रगतिबारे जनतालाई जानकारी गराउने उद्देश्यले कार्यक्रम राख्नु सकारात्मक नै थियो । तर, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख ओम शर्मा र राष्ट्रपति चुरे संरक्षण कार्यक्रमका वीरेन्द्र यादवबाहेक अरु आयोजनाका हाकिमहरु त्यहाँ उपस्थित भएनन् । दुवैको भाषणमा नेकपाका कार्यकर्ताकै जस्तो गन्ध आयो ।
प्रदेश नं २ मा निजगढ–काठमाण्डौं द्रुतमार्ग, हुलाकी राजमार्ग, दोस्रो अन्र्तराष्ट्रिय विमानस्थल, पूर्व–पश्चिम रेलमार्ग, राष्ट्रपति चुरे संरक्षण कार्यक्रम र सुनकोशी–कमला डाईभर्सनलाई राष्ट्रिय गौरवको आयोजना भनिएको छ ।
शुरुमा नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साहले बोले । उनले आफ्नै पार्टीका नेताहरुलाई प्रश्नै प्रश्न गरे । फास्ट ट्रयाक कहिले बन्छ ? अन्तरराष्ट्रिय विमानस्थल निर्माणमा ढिलाइ किन ? हुलाकी सडक किन बनेन ? १२ मिटर चौडा हुलाकी राष्ट्रिय मार्ग हुन्छ ? हुलाकी सडकमा अलपत्र रहेका पुलहरु बन्छन् कि बन्दैनन् ? चुरे संरक्षणमा के भइरहेको छ ? चुरेबाट बग्ने नदी किन तराई–मधेसका लागि अभिशाप बनेको छ ? कोशीको पानी प्रदेश नं २ मा आउँछ कि आउँदैन ? नारायणी सिंचाईको नहर मात्रै हेरेर कहिलेसम्म बस्ने ? वीरगञ्ज र जनकपुर कहिले राम्रो सहर बन्छ ? निजगढ अनि मिर्चैया कहिले स्मार्ट सिटी हुन्छ ? प्रदेश नं २ को शिक्षा र स्वास्थ्य किन पछाडि छ ? यहाँ भ्रष्टाचारको अन्त्य कहिले हुन्छ ? जनताले गर्नुपर्ने के हो ? आदि इत्यादि ।
कार्यक्रममा विभागीय मन्त्रीहरुलाई समेत आमन्त्रित गरिएको थियो । उनीहरु नआएपछि उनले कोही व्यस्तताले त कोही जनतालाई जवाफ दिन नसक्ने भएर नआएको भनी साहले व्यंग्य पनि गरे । मन्त्री हेरफेरको सन्दर्भमा उनले दिएको अभिव्यक्ति अझै पनि चर्चामा छ ।
प्रभु साहले सोधेका प्रश्न स्वभाविकरुपमा जनताका प्रश्न हुन्, त्यसमा विमति राख्नुपर्ने छैन । तर, यो कुरा स्पष्ट देखिन्छ कि उनले जनताको सामु प्रश्न गरेर तालीमात्रै बटुल्न खोजेका हुन् । किनभने, उनी नेकपा प्रदेश नं २ का संयोजक रहेकाले उत्तर दिने व्यक्ति हुन् । साहले सार्वजनिक मञ्चमा प्रश्न गरेर नाटक गर्ने होइन, उनले त सरकार र पार्टीलाई नयाँ विकासका योजना ल्याउन दबाव दिने हो ।
साहपछि भाषण गर्ने नेकपाका नेताले उनले सोधेका प्रश्नको चित्तबुझ्ने जवाफ दिए त ?
अलि धेरै बोलेका नेकपा महासचिव विष्णु पौडेलले राष्ट्रिय गौरवका आयोजना सुन्न र सुनाउन मात्रै होइन, कार्यान्वयनका लागि हो भने । उनले अन्तरराष्ट्रिय विमानस्थल स्वीटजरल्याण्डको जुरिच कम्पनीले बनाउने, सुनकोशी–मरिन–वागमती सिँचाई अयोजनाको डीपीआर तयार भएको, सुनकोशी–कमला डाइभर्सन, हुलाकी राजमार्ग निर्धारित समयमै बन्ने र पूर्व–पश्चिम राजमार्गलाई एक्सप्रेस हाइवेका रुपमा विस्तार गरिने कुराहरु राखे ।
त्यसपछि फास्ट ट्रायकका बारेमा अलि बढी जानकारी दिएका उपप्रधानमन्त्री तथा रक्षामन्त्री पोखरेलले अधिकांश कुरा दोहोर्याए । पूर्व –पश्चिम रेलमार्ग र उत्तर–दक्षिण रेलमार्ग बनाउन लागेको पोखरेलले पुरानै कुरा सुनाए ।
‘अब ७५३ वटा सरकार छन् सिंहदरबारतिर मात्रै नहेर्नुहोला । प्रदेशले कुनै काम गरेन भने संघीय सरकारले गर्छ’ मन्त्री पोखरेलले आश्वासन दिए । त्यतिमात्रै होइन, उनले विकासका काममा कमिसन खोज्ने मन्त्री नै भए पनि कठालो समात्न र भ्रष्टाचारविरुद्ध बोल्न आह्वान गरे । जब कि उनी आफैं सरकारमा छन् । ५० प्रतिशतसम्म कमिशन लिएको जानकारी पाएपछि छानवीन गर्नुपर्ने होइन र ? किन टुलुटुलु हेरेर बसेको ?
पछि बोल्नेले बोल्नै पर्दैन भनेजस्तै प्रचण्डले खासै बोलेनन् । भोलिपल्ट उपचुनावको प्रचार–प्रसारको अन्तिम दिन, प्रचण्ड काठमाण्डौं जान हतारिएका थिए । मधेससँग मेरो लभ परेको छ भन्दै आएका प्रचण्डले यसपटक लभरलाई दुःख दिने विरुद्ध अनशन नै बस्नु परे पनि बस्छु भने । जबकि उनकै पार्टीको सरकार छ, पार्टीको अध्यक्ष उनी आफैं छन् ।
यस्ता शक्तिशाली नेताले समेत ठेकेदारलाई कारवाही गर्न सक्दैनन्, कमिशन लिएर विकासको रकम कुम्ल्याउनेहरुलाई कारवाही गर्न सक्दैनन् र अनसन बस्छु भन्छन् भने जनताले कोबाट आश गर्ने ?
अझ उदेकलाग्दो कुरा !
लाल बकैयादेखि दक्षिणतर्फ रहेको रंगशालामा कार्यक्रम राखिएको थियो । छेउमै क्रसर उद्योग छ । लालबकैया त्यही नदी हो, जहाँ स्थानीय सरकार आएपछि पनि ढुंगा, गिट्टी, बालुवाको उत्खनन् व्यवस्थित हुन सकेको छैन । त्यहाँ त्यो जरुरी विषय हो । तर, त्यसबारेमा कसैले केही बोलेनन् ।
नेताका पछि अब जनताका कुरा पनि थोरै गरौं ।
कार्यक्रमस्थलमा जान नेता–कार्यकर्ताले प्रयोग गरेका गाडी नेपाली नम्बर प्लेटका भन्दा बढी भारतीय थिए । सभामा बोतल बन्द पानी वितरण गरिएको थियो । कसैले भोक मेटाउन चाउचाउ पनि खाए । कार्यक्रम सकिएपछि चौरभरि पानीका बोतल र प्लाष्टिक छरिए । भोलिपल्ट सफा गरियो होला, तर यो पाराले कसरी हामीले मुलुकलाई समृद्ध बनाउन सक्छौं ?
सधैं नेताका भाषण सुन्ने, आश्वासनका पोका बटुल्ने अनि रमाउने । जनताले अब प्रश्न आफैंलाई गर्न सक्नुपर्छ । सँगसँगै आफ्नो व्यवहारमा परिवर्तन ल्याउनुपर्छ । पहिलाको जस्तो अवस्था अहिले छैन । नेताले बोलेका हरेक भाषणको रकर्ड भेट्न सकिन्छ । तपाईले बोलेका कुरा कहिले हुन्छ पूरा हुन्छन् ? प्रश्न गर्न सक्नुपर्छ । औंला ठड्याउन सक्नुपर्छ । सँगसँगै प्रश्न गर्ने हैसियत आफूले पनि बनाउनुपर्छ । पानी खाएर जथाभावी बोतल फालेर अरुलाई प्रश्न गर्न त लाज लाग्ला नि हैन र ?
अझ त्यहाँ सहभागीहरुले प्रभु साहले नै लेखेको गरिब किसानका दुःखका गीतको नाटकीय रुपान्तरण पनि हेरेका थिए ।
प्राध्यापक आरपी मिश्र ‘ग्रामीण विकास भनेको ग्रामिण समुदायको चाहना अनुसार आर्थिक, सामाजिक, प्राविधिक र प्राकृतिक वातावरणमा परिवर्तन ल्याउनु हो’ भन्छन् । यसको अर्थ विकास समुदायको चाहना अनुसार हुनुपर्छ ।
कार्यक्रमस्थलमा वितरण गरिएको पर्चामा पनि त्यो कुरा उल्लेख छ । ‘राष्ट्रिय गौरवको आयोजना छिटो सम्पन्न गर्न दबाव सिर्जना गरौं, प्रदेश नं २ को विकास र समृद्धिको यात्रालाई छिटो सफल पारौं ।’
त्यसको तेस्रो अनुच्छेदमा लेखिएको छ ‘यस क्षेत्रको पुरानो वैभव फर्काउन पुरानो शैली र गतिले पुग्दैन, नयाँ सोच र शैली अपनाउनुपर्छ । हिजोको शासन व्यवस्था र शासकसमेत बदलिसकेको यस घडीमा हामीले हाम्रो सोच बदल्नैपर्छ । विकास र समृद्धिको लडाई मात्र शासक (नेतृत्व) ले मात्रै पूरा गर्न सक्दैन, यसमा तपाई–हामी सहभागी हुनैपर्छ ।’
कुरा पर्चामा सीमित, तर व्यवहारमा खै ? अब परिवर्तन अरुबाट खोज्ने होइन, आफैंबाट शुरु गर्नुपर्ने बेला आएको छ । फोस्रा आश्वासन र भाषण सुन्ने सुनाउने भन्दा बढी समय अब जनसहभागितामा योजना निर्माण र कार्यान्वयनमा खर्च गर्ने हो पो कि ?
source https://www.onlinekhabar.com/2019/11/815032
0 Comments