Looking For Anything Specific?

Header Ads

होमस्टेले बदलियो बोटे समुदायको जीवन

२० जेठ, चितवन । चितवनको माडी नगरपालिका-१ की रिता बोटे हिजोआज गाउँमा नै खोलिएको होमस्टेमा व्यस्त हुन्छिन् । होमस्टेमा आउने पाहुनालाई स्वागत/सत्कार गर्ने, पकाउने, खुवाउने जस्ता काममा उनको समय बित्ने गरेको छ । २०७७ सालमा गाउँमा नै ‘बोटे सामुदायिक होमस्टे’ खोलेपछि उनी सहितका महिलाहरूको दैनिकी अहिले फेरिएको छ ।

गाउँमा होमस्टे खुल्नुभन्दा अगाडिसम्म उनको दैनिकी हुन्थ्यो, गुजारा चलाउनका लागि माछा मार्न जाने, जंगलमा घाँस-दाउरा खोज्ने र निहुरो टिप्ने । त्यसरी परिवार सहितको जीवन चलाउन धौ-धौ थियो । त्यसमाथि लघुवित्तको ऋणको बोझ थियो । होमस्टे खुलेपछि खान-लाउन त पुगेको छ नै ऋणको बोझ पनि कम भएको उनी बताउँछिन् ।

‘पहिले त राम्रोसँग एक जोर लुगा लगाउन पनि मुस्किल थियो’ उनी विगत सम्भिmन्छिन्, ‘मारेर ल्याएको माछा अन्तै बेच्नुपर्थ्यो, हामी खोले खाएरै बस्थ्यौं, अहिले त अर्को जीवन पाएजस्तो भएको छ, लघुवित्तको ऋण पनि घटाएकी छु ।’

उमेरले ५० पुगेकी फूलमाया बोटेको जीवनमा पनि होमस्टेले परिवर्तन ल्याएको छ । पहिला दैनिक घाँस-दाउरा र माछा मार्न जाने फूलमाया अहिले गाउँमा आउने पाहुनाहरूको स्वागत र सत्कारमा जुट्ने गर्छिन् ।

होमस्टे सञ्चालनबाट आएको रकमले जीवनमा थोरै भए पनि परिवर्तन ल्याएको छ । ‘होमस्टेबाट हुने आयआर्जनले छोराछोरीलाई विद्यालय पढाउने, घरव्यवहार चलाउने जस्ता काममा धेरै सजिलो भएको छ’, फूलमाया भन्छिन् ।

आर्थिक उपार्जनसँगै संस्कृति संरक्षण

माडीको रिउ नदी तरेपछि मूल सडकको सेरुवा गेटबाट १५०० मिटरको दूरीमा पश्चिमतर्फ लागेपछि बोटे सामुदायिक होमस्टे पुगिन्छ । होमस्टे बनाउन माडी नगरपालिका, पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समिति, तराई भूपरिधि कार्यक्रम (ताल) ले आर्थिक सहयोग गरेका छन् । १० लाखभन्दा बढी खर्च गरेर सुविधासम्पन्न दुई कोठाको होमस्टे बनाइएको छ । सो क्षेत्रमा १२ वटा होमस्टे छन् जहाँ एक रातमा ६० जनासम्म अटाउन सक्छन् ।

होमस्टेमा आउने पर्यटकलाई उनीहरूले आफ्नो संस्कृति अनुसार ‘बिन्ती बाटी’ (बोटे समुदायमा आफूभन्दा ठूला मान्यजन तथा पाहुनालाई गरिने सम्मान) गरेर स्वागत गर्दछन् । टीका र फूल दिएर स्वागत गर्दै बाँसैबाँसले बनाइएको सामुदायिक भवनमा लगेर राख्छन् ।

माछामा नै आश्रति रहेर जीविकोपार्जन गर्ने समुदाय भएकै कारण पर्यटकहरूलाई सुरुमा माछाको चोखा -अचार) र छ्याङ्ग दिएर स्वागत गर्छन् । बस्ने होमस्टेहरूसम्म पाहुनालाई लैजान्छन् । होमस्टेको एक रात बसेको ६०० रुपैयाँ र मासु सहितको खानाको ३०० रुपैयाँ लिने गरिन्छ । पाहुनालाई हाँसका विभिन्न परिकारका साथै स्थानीय उत्पादनहरू साग, निहुरोको तरकारी, माछाको आचार, घोंगी, बाँसको तामाको चोखा जस्ता स्थानीय र आफ्नो जातिसँग जोडिएका परिकारहरू खुवाउने गर्दछन् ।

होमस्टेमा बसेका पाहुनालाई मनोरञ्जन दिन नाचगान लगायत सांस्कृतिक कार्यक्रम हुन्छ । सोहोर्ना, जगिया, गोलेनी, सोल्टी-सोलोटना, सोरठी, मारुनी लगायतका कला र नाचहरू प्रदर्शन गरिन्छ । यीमध्ये जगिया, सोहोर्ना, गोलेनी बोटे समुदायको परम्परागत संस्कृति झल्कने नाच हुन् । पाहुनाका लागि सांस्कृतिक प्रस्तुति दिनका लागि अलग्गै १५/२० जनाको टिम नै बनाइएको छ । सांस्कृतिक कार्यक्रम हेर्नका लागि एउटा समूहले तीन हजार रुपैयाँ बुझाउनुपर्दछ । होमस्टे खुलेपछि बोटेको लोपोन्मुख संस्कृति संरक्षणमा टेवा पुगेको कोषाध्यक्ष जगनारायण बोटे बताउँछन् ।

पाहुनाहरूलाई होमस्टेबाट ५०० मिटर पर रहेको गोद्दकनाथ मन्दिर, १ किलोमिटर पर रहेको पाँचपाण्डव, डेढ किलोमिटर पर रहेको अष्टशिव लिङ्ग, ४ किलोमिटर पर रहेको परशुराम कुण्डसम्म भ्रमण गराइन्छ ।

होमस्टे संचालनमा आएसँगै स्थानीयले तरकारी खेतीसँगै कुखुरा, हाँस, बाख्रा र माछापालनलाई व्यावसायिक बनाउन थालेका छन् । गाउँमा समूह समेत गठन गरेर रकम संकलन गर्ने र व्यवसाय गर्न चाहनेहरूलाई ६ प्रतिशत ब्याजमा ऋण समेत दिने व्यवस्था गरिएको छ । ‘यसले लघुवित्तको पासोबाट जोगिन केही हदसम्म सहज भएको छ’, कार्यक्रम संयोजक प्रेम पौडेल भन्छन् ।

अन्यत्र अन्य जातिसँग मिसिएर बोटे जातिले होमस्टे चलाए पनि बोटे समुदाय मात्रै मिलेर चलाएको यो नै पहिलो होमस्टे भएको पाँचपाण्डव उपभोक्ता समूहका अध्यक्ष नारायण सापकोटा बताउँछन् । पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष समेत रहेका सापकोटाले होमस्टेका लागि उपभोक्ता समितिको तर्फबाट लोबेड, तन्ना, कुसन, डसना, पानीट्यांकी स्ट्याण्डहरू सहयोग गरेको बताए ।

तराई भूपरिधि कार्यक्रम (ताल) ले हरेक होमस्टेलाई २५ हजार रुपैयाँका दरले पसल सञ्चालनका लागि आर्थिक सहयोग समेत गरेको कार्यक्रम संयोजक प्रेम पौडेलले जानकारी दिए । तराई भूपरिधि कार्यक्रमले समूह बनाउन, होमस्टे सम्बन्धी तालिम सञ्चालन गर्न तथा आयआर्जनका पाटोमा सहयोग गरेको कार्यक्रम संयोजक प्रेम पौडेल बताउँछन् ।

दुई वर्ष अगाडिदेखि सञ्चालनमा आएको होमस्टेमा अहिलेसम्म ५ हजारभन्दा धेरै आन्तरिक तथा बाहृय पर्यटक आएको तथ्यांक छ । काठमाडौं, पोखरा, भैरहवा लगायत ठाउँबाट आन्तरिक पर्यटक र जर्मनी लगायत देशबाट करिब १०० पर्यटक आएको होमस्टेका कोषाध्यक्ष जगनारायण बोटेले जानकारी दिए । होमस्टेबाट दुई वर्षमा ५ लाखभन्दा बढी आम्दानी भएको उनले जानकारी दिए ।

जंगल माथिको निर्भरता हटाउन ल्याइएको अवधारणा

चितवन राष्ट्रिय निकुञ्ज नजिकै रहेको यो बस्तीमा बर्सेनि जंगली जनावरले स्थानीयहरूले लगाएका खेतीबाली खाएर नष्ट गर्ने, घर भत्काउने मात्रै हैन, मान्छे समेत मार्ने गरेको थियो । त्यसले गर्दा जंगली जनावर र मानवबीच द्वन्द्व बढ्दै जाने अवस्था आयो । बढ्दो मानव वन्यजन्तु बीचको द्वन्द्वलाई घटाउन होमस्टेको अवधारणा ल्याइएको पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष नारायण सापकोटा बताउँछन् । ‘जंगलमाथिको निर्भरतामा कमी ल्याउन र जनधनको क्षतिलाई कम गराउने उद्देश्य राखेर यो होमस्टेको अवधारणा ल्याएका थियौं, एकहदसम्म यो सफल पनि भएको छ’ अध्यक्ष सापकोटा भन्छन्, ‘बोटे जातिको हराउन लागेको संस्कृतिको संरक्षण र जगेर्ना समेत यसले गराएको छ ।’

होमस्टे सञ्चालनपछि स्थानीय महिलाको नेतृत्व र क्षमता विकास समेत भएको छ । ‘पहिला कोही नौलो मान्छे गाउँमा देख्ने वित्तिकै महिलाहरू घरभित्र लुक्थे, बोल्न डराउँथे, तर अहिले खुलेर बिन्तीबाटी गरेर स्वागत गर्ने भएका छन्’ अध्यक्ष सापकोटा भन्छन्, ‘खुलेर कुरा गर्ने, आफ्ना विचारहरू राख्ने, तर्क गर्ने अवस्थामा आएका छन्, उनीहरूको जीवनमा ठूलो परिवर्तन आएको देख्छु, हामी खुसी छौं ।’

यहाँका महिलाहरू अहिले वनजंगल र वन्यजन्तु संरक्षणको अभियानमा समेत लागेका छन् । केही बर्ष अगाडि रीता बोटेका ससुरा शुक्रबहादुर बोटेलाई गैंडाले हानेर गम्भीर घाइते बनायो । उपचारमा ठूलो रकम खर्च पनि भयो । तर रीताको गैंडा सहितका जंगली जनावरप्रति कुनै रिसभाव छैन । उनी गैंडा संरक्षणको अभियानमा आफैं लाग्ने गरेकी छिन् । ‘यो क्षेत्रमा जंगली जनावरबाट पीडित नबनेको सायदै घर होला, तर पनि उनीहरूले संरक्षणमा टेवा दिएका छन्’ मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुंगाना भन्छन्, ‘जंगलमाथिको परनिर्भरता कम गरेपछि द्वन्द्व पनि घट्दै गएको अनुभव भएको छ ।’



source https://www.onlinekhabar.com/2023/06/1316947

Post a Comment

0 Comments