१९ जेठ, काठमाडौं । टिमका अन्य खेलाडीले भन्दा भिन्दै जर्सी लगाएर कोर्टभित्र सबैभन्दा व्यस्त रहने सलिना श्रेष्ठको खेल हेर्दा जो–कोहीलाई लाग्न सक्छ– कति सानी खेलाडी !
भलिबलमा उचाइको फाइदा धेरै हुन्छ । ४ फिट ७ इन्चकी सलिना औसत नेपालीभन्दा होची छिन् । तर, उनी नेपाल भलिबलमा सबैभन्दा सफलमध्येमा पर्छिन् । पाँचवर्षे अन्तर्राष्ट्रिय करिअरमा दुई उपाधि जितिसकेकी छन् । १३औं दक्षिण एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक जित्दा टिमकी मुख्य खेलाडीमध्येकी हुन् ।
हालै सम्पन्न काभा वुमन्स च्यालेन्ज कप भलिबलको सेमिफाइनलमा काजकस्तानसँग पराजित भएपछि नेपाल टिम अन्तर्राष्ट्रिय उपाधिमा ह्याट्रिक गर्न असफल रह्यो । उज्वेकिस्तानलाई हराएर ८ टिम सम्मिलित प्रतियोगितामा तेस्रो भएको नेपालका लागि व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट लिबेरोको पुरस्कार सलिनाले पाइन् । अर्थात् आफ्नो पोजिसनमा ७ टिमका खेलाडीलाई पछि पारिन् ।
त्यसो त पुस २०७८ मा काभा सिनियर वुमन्स सेन्ट्रल जोन भलिबल प्रतियोगिताको उपाधि दोस्रोपल्ट जित्दा पनि व्यक्तिगत विधामा सलिनाले सर्वोत्कृष्ट पुरस्कार पाइसकेकी थिइन् । तर, घरेलु माहोलमा पाएको व्यक्तिगत सफलताको खुसी अर्कै ।
‘यो पटक आफ्नै देशमा पुरस्कार जित्दा एकदमै रमाइलो लाग्यो’ सलिना भन्छिन्, ‘अलिअलि आश गरिरहेकी थिएँ । ८ देशबाट उत्कृष्ट लिबेरो पाउँदा योभन्दा गर्वको क्षण के होला र !’
सेन्ट्रल एसियन भलिबल संघले गर्ने यसअघिका दुई प्रतियोगिता जितेको नेपाली टिमसँग यसपल्ट धेरै अपेक्षा थियो । अघिल्ला प्रतियोगिताको तुलनामा यसपल्ट बलिया विपक्षी (भारत र काजकस्तान) थिए । उपाधि जित्न नसकेको अफसोच सलिनालाई पनि लागेको छ । तर, नेपाल टिमले आफ्नो क्षमता अनुसार खेलेकोमा उनी सन्तुष्ट छिन् ।
नेपालले यो प्रतियोगितामा आफ्नो परम्परागत कमजोरीका रूपमा रहेको डिफेन्समा उच्चस्तरको प्रदर्शन गर्न सफल रह्यो । रक्षापंक्तिमा सबैभन्दा महत्वपूर्ण भूमिका लिबेरोको हुन्छ । ब्याक कोर्टमा बसेर सर्भिसदेखि स्पाइक रिसिभको क्षमताले समग्र खेलको लय तय गर्छ ।
‘हामीले एकअर्कालाई सहजताका साथ बुझ्न सक्नुपर्छ । हरेक इशारा तत्कालै बुझेर समन्वय गर्न सहज हुनुपर्छ’ सलिना भन्छिन्, ‘हामीले डिफेन्स, ब्लक र सर्भिसमा अझै सुधार गर्न सक्छौं ।’
नेपालले यो प्रतियोगिताका लागि बेल्जियन प्रशिक्षक जान डी ब्रान्टसँग सम्झौता गरी झण्डै तीन महिनाको प्रशिक्षण गरेको थियो । तर, प्रतियोगिताअघि आफ्नो परीक्षण गर्न पाएको थिएन । सुरुवाती दुई खेलमा किर्गिस्तान र बंगलादेशमाथि सहज विजय हासिल गरेको नेपाल समूहको अन्तिम खेलमा भारतसँग ३–१ को सेटमा निराश बन्यो ।
हामीले प्रशिक्षण अघि भारतसँग यत्तिको प्रतिस्पर्धात्मक खेल खेल्छौं भनेर सोचेकै थिएनौं’ नयाँ प्रशिक्षकको आगमनले टिम थप बलियो बनेको दृष्टान्त दिंदै सलिना भन्छिन्, ‘हामीले स्पाइक, सर्भिस अन टार्गेट, ब्लकिङ पोजिसनमा एकदमै राम्रो गरेका छौं । सरको प्रशिक्षणमा एसियाडसम्म टिम थप बलियो हुनेछ ।’
नेपालले यसपटक शारीरिक रूपमा बलिया दुई टिमसँग खेल्यो जसमा नेपालले सामान्य कमजोरी गरिरह्यो । सलिनाले पनि नेपाल टिमले सर्भिसमा गरेको कमजोरी र उचाइका कारणले बलिया टिमसँग पराजित हुनुपरेको टिप्पणी गरिन् । ‘हामीले यस पटक धेरै अंक सर्भिसबाट गुमाएका हौं । अग्लो टिमसँग खेल्दा हाम्रो ब्लक पनि राम्रो भएन’, उनले भनिन् ।
समूहको अन्तिम खेलमा भारतसँग खेल्नुअघि नै नेपाल फाइनलमा पुगिसकेको थियो । दबाबविहीन सो खेलमा नेपाली खेलाडीहरू भारतसँग खेल्नुपर्ने भनेपछि आत्तिएको महसुस सलिनाले पनि गरिन् ।
‘हामी विपक्षी भारत भन्नेबित्तिकै अलिकति नर्भस भइहाल्छौं । त्यसैले पनि हामीले पहिलो सेट असाध्यै नराम्रोसँग हार्यौं’ सलिनाले अनलाइनखबरसँगको कुराकानीमा भनिन्, ‘सुधार गर्ने कोसिस गरेका हौं, त्यसमा हामीलाई उचाइले पनि साथ दिएन ।’
लिग चरणमा भारतसँग हारेको नेपाल सेमिफाइनलमा प्रतियोगिताकै हाइ प्रोफाइल टिम काजकस्तानसँग पाँच सेटमा पराजित रह्यो । ‘काजकस्तानसँग खेल्दा हामीसँग भारतसँग खेलेको अनुभव थियो । आत्तिएका पनि थिएनौं । सामान्य कमजोरीका कारण खेल हार्यौं’, सलिनाले सुनाइन् ।
नेपाल टिम असोजमा १९औं एसियाली खेलकुदमा सहभागी हुनेछ । एसियाली खेलकुद जस्ता प्रतियोगितामा अग्ला र बलिया टिम विरुद्धको रणनीति बनाउन यो प्रतियोगिताले धेरै सहयोग पुग्ने सलिनालाई पनि लागेको छ ।
राष्ट्रिय टिमका लागि लामो प्रतीक्षा
२६ वर्षीया सलिनाले भलिबल सिक्न थालेको १४ वर्ष भयो । नेपालको महिला भलिबलमा न्यू डायमण्डलाई स्थापित बनाउनुमा सलिनाको भूमिका अहम् छ । २०६९ सालमा न्यू डायमण्डले पहिलोपल्ट एनभीए क्लब च्याम्पियनसिपको उपाधि जित्दा उनी टिममा स्थापित लिबेरो बनिसकेकी थिइन् ।
त्यसताका न्यू डायमण्डले छुट्टै पहिचानसहितको उचाइ लिएको थियो । काठमाडौं र मोफसलमा हुने प्रतियोगिताहरूमा न्यू डायमण्ड सबैभन्दा रुचाइएको टिम थियो । विभागीय टिमलाई टक्कर दिने पहिलो क्लब जन्मिएको थियो ।
घरेलु फुटबलमा लगातार बेजोड प्रदर्शनका बाबजुद सलिनाले राष्ट्रिय टिमबाट अवसर पाउन लामो प्रतीक्षा गर्नुपर्यो । २०७२ सालमा १२औं दक्षिण एसियाली खेलकुद र त्यसको अर्को वर्ष विश्व च्याम्पियनसिप छनोटका लागि बन्द प्रशिक्षणमा बोलाएर पनि टिममा स्थान बनाउन नसक्दाको पीडाले सलिनालाई ठूलो असर गरेको थियो ।
सलिनाको प्रतिभा पहिचान गरेका न्यू डायमण्डका संस्थापक तथा प्रशिक्षक कुमार राई पनि त्यो समय सलिना करिअरकै उच्च लयमा रहेको बताउँछन् । ‘२०७० देखि २०७३ सम्म त सलिनाको डिफेन्स कला देखेर सबै चकित पर्थे । उनी रोबर्ट जस्तै थिइन्, जब उनी राष्ट्रिय टिममा परिनन् उनले प्रशिक्षणमै जाँगर गर्न छोडिन्’, प्रशिक्षक राई भन्छन् ।
अघिल्ला दुई अवसरमा राष्ट्रिय टिमको ढोका खोल्न असफल हुँदा निराश बनेकी सलिनाका लागि पहिलो अन्तर्राष्ट्रिय सहभागितामै उपाधि जित्न लेखेको रहेछ । २०७६ साल उनका लागि मात्र हाइन नेपाली महिला भलिबलकै लागि एउटा स्वर्णिम समयका रूपमा रह्यो । त्यसको सदस्य बन्न पाउनुलाई सलिना पनि आफूलाई भाग्यमानी ठान्छिन् ।
काभा सेन्ट्रल जोन सिनियर वुमन्स भलिबल प्रतियोगिताका लागि नेपाल भलिबल संघले टिममा व्यापक फेरबदल गर्यो । युवा खेलाडीले अवसर पाए । २०७६ असोजमा बंगलादेशमा भएको प्रतियोगिताका लागि नेपाल टिममा एक मात्र लिबेरो थिइन्– सलिना ।
‘पहिलो पटक राष्ट्रिय टिमका लागि खेल्दै गर्दा एक्लै छु, सक्दिनँ कि भन्ने थियो तर कोर्टमा छिरेपछि त्यस्तो अनुभव भएन’, उनले भनिन् ।
चार वर्ष कुरेपछि पाएको अवसरमा उनले आफूलाई प्रमाणित गरिन् । नेपाल टिमले पनि पहिलोपल्ट अन्तर्राष्ट्रिय उपाधि जित्यो । त्यसपछि सलिनाका लागि पनि राष्ट्रिय टिममा नियमित स्थान बन्यो । दुई महिनापछि १३औं दक्षिण एसियाली खेलकुदमा नेपाललाई घरेलु भूमिमा ऐतिहासिक रजत पदक दिलाउन सलिनाले आफ्नो पोजिसनबाट निर्णायक भूमिका खेलिन् ।
पुस, २०७८ मा सलिना सम्मिलित नेपाली टिमले सेन्ट्रल जोन भलिबलको उपाधि लगातार दोस्रोपल्ट जित्दा सलिना उत्कृष्ट लिबेरो समेत बनेकी थिइन् । राष्ट्रिय टिमबाट खेल्न थालेको चार वर्ष भयो । अहिलेसम्म उनलाई चुनौती दिनसक्ने लिबेरो नेपाल भलिबलमा देखिएको छैन ।
घरेलु भलिबलमा न्यू डायमण्ड र राष्ट्रिय टिमकी निर्विकल्प लिबेरोको तीव्रता र बललाई बुझ्न सक्ने क्षमताले सलिनालाई लगातार सफल बनाइरहेको छ । ‘भलिबलमा उचाइ मात्र पनि सबैथोक होइन । सीप र कलाबाट पनि आफूलाई अलग देखाउन सकिन्छ’, सलिना भन्छिन् ।
न्यू डायमण्डको संरक्षण, कुमार राईको हेरचाह
महिला भलिबल खेलाडी उत्पादनमा पछिल्लो एक दशकदेखि सबैभन्दा सफल नाम हो– कुमार राई । न्यू डायमण्ड स्पोर्टस् क्लबमार्फत प्रतिभा पहिचान, संरक्षण र उत्पादनमा राईको योगदान अहिलेको राष्ट्रिय टिममै देख्न सकिन्छ ।
राईले विगतमा रमिला तण्डुकार, रेश्मा भण्डारीदेखि अहिलेको राष्ट्रिय टिममा रहेका प्रतिभा माली, प्रगति नाथ, रिमा कुँवर र सलिना समेत गरी थुप्रै खेलाडीको करिअर उज्ज्वल पारेका छन् ।
२ कक्षादेखि घर नजिकैको न्यू डायमण्ड एकेडेमी, नैकापमा पढ्न थालेकी सलिनालाई उनको उचाइ र क्षमता अनुसार भलिबलमा प्रयोग गर्न राई सफल रहे ।
भलिबल सुरु गर्दा उचाइको समस्याले स्पाइक वा ब्लकमा सम्भव भएन । त्यसैले डिफेन्समै प्रयोग गरिएको थियो । ‘प्रशिक्षण थालेको केही समयमै मैले आफ्नो पोजिसनमा राम्रो खेल्न थालिसकेकी थिएँ । कुमार सरले पछि गएर तिमी राम्रो लिबेरो बन्छ्यौ भन्नुभएको थियो’, सलिना सम्झिन्छिन् ।
विद्यालय समय सकिएपछि सिनियरले भलिबल खेलेको देखेर सलिनालाई पनि भलिबलमा रुचि लागेको थियो । प्रशिक्षक राईले टिममा समावेश गरेको अर्को वर्ष २०६७ मा छैटौं ढोरपाटन महिला डबल लिग भलिबल उनको पहिलो राष्ट्रिय प्रतियोगिता हो । त्यसयता अहिलेसम्म उनले अविच्छिन्न रूपमा न्यू डायमण्डको डिफेन्स सम्हालिरहेकी छन् ।
‘उनको प्रदर्शन यति राम्रो हुन थाल्यो कि घरेलु भलिबलमा एकछत्र राज गरिरहेको एपीएफलाई पनि डिफेन्सकै भरमा जित्न सक्ने भएका थियौं’ प्रशिक्षक राई भन्छन्, ‘त्यो बेला सलिनाको हात चुम्बक जस्तो थियो । जस्तो बल पनि उठाएर सेटरसम्म पुर्याउन सक्थिन् ।’
तस्वीरहरू : विकास श्रेष्ठ, चन्द्र आले र आर्यन धिमाल ।
source https://www.onlinekhabar.com/2023/06/1316423
0 Comments