२२ चैत, काठमाडौं । मानवअधिकार तथा शान्ति समाजले हालै स्वास्थ्य सामग्री खरिदमा व्यापक भ्रष्टाचार भएको तथ्य बाहिर आएकाले छानबिन गरी मूल दोषीमाथि कारबाही गर्न सरकारसँग माग गरेको छ ।
समाजका महासचिव सुशील बस्नेतले शुक्रबार एक विज्ञप्ति जारी गर्दै यसबारे छानबिन गर्न माग गरेको हो ।
यसप्रतिको उदासीनताले सरकारको उच्च नेतृत्वमाथि नै प्रश्न उठ्ने भएकाले त्यसबारे प्रष्ट पार्न भनेको छ ।
केही अनलाइन बन्द गर्ने सरकारको निर्णयप्रति पनि समाजले असन्तुष्टि जनाएको छ । बन्द गर्ने कदम अस्वभाविक भएकाले कानूनसम्मत ढंगले कारबाहीको दायरामा ल्याउन समाजले सुझाएको छ ।
दक्षिणी सीमानामा अलपत्र परेका सयौँ नेपालीलाई स्वदेश प्रवेश गर्न नदिएको घटनाको पनि समाजले निन्दा गरेको छ । यस्तो नीतिलाई तत्काल सच्याउन आग्रह गर्दै सीमानामा अलपत्र परेका नागरिकलाई तत्काल देश प्रवेश गराई क्वारेन्टाइनमा राख्नेलगायत आवश्यक उपचारको व्यवस्था गर्न समाजले सरकारसँग आग्रह गरेको छ ।
कोभिड १९ परीक्षणको दायरालाई व्यापकरुपमा विस्तार गर्न र त्यस्तो परीक्षण सबैतिर निःशुल्क हुने गरी सुनिश्चित गर्न, विपन्न वर्गलाई यथोचित राहत उपलब्ध गराउन र आम नागरिकलाई सुपथ मूल्यमा सहज तवरमा जीवन यापन गर्ने सामग्री उपलब्ध गराउने व्यवस्था गर्न पनि समाजले सरकारको ध्यानाकर्षण गराएको छ ।
देशभरका निजीलगायत सम्पूर्ण स्वास्थ्य संस्था अनिवार्यरुपमा सञ्चालन गर्न, स्वास्थ्यकर्मीलाई आवश्यक सुरक्षात्मक वस्त्र, औजार उपलब्ध गराउन, स्वास्थ्यकर्मीको मनोबल बढाएर प्रोत्साहन गर्न समाजले सरकारसमक्ष आग्रह गरेको छ ।
लकडाउनका दौरान नागरिकको मनोवल उच्च बनाउन विद्युतीय सञ्चारमाध्यममार्फत योग, ध्यान प्राणायामजस्ता कार्यक्रमको विस्तारमा जोड दिन पनि समाजले सम्बन्धित सबैसँग आह्वान गरेको छ ।
source https://www.onlinekhabar.com/2020/04/851045
0 Comments