Looking For Anything Specific?

Header Ads

बच्चालाई कसरी सिकाउने ? नेपाली आमाबुबाले नर्वेबाट सिकौं

१५ वैशाख, ओस्लो । नर्वेमा विद्यार्थी लिन वा पुर्‍याउन स्कुलले गाडी पठाउँदैन । बच्चाहरु आफैं जान्छन् । किन्डरगार्डेनका बच्चाहरुलाई चाहिँ अभिभावक आफैंले पुर्‍याउने र ल्याउने गर्नुपर्छ ।

यसको खास कारण बच्चालाई मानसिकरुपमा असर नपरोस् भनेर हो । बुबाआमाले स्कुल वा किन्डरगार्डेनसम्म पुर्‍याउँदा बच्चाहरु आफू सुरक्षित महसुस गर्छन् र उनीहरुको सिकाइ राम्रो हुँदै जान्छ भन्ने बुझाइ छ ।

नर्वे सरकारले कसैका बच्चा पहिलोपटक किन्डरगार्डेन जाँदैछन् भने तीन दिनसम्म अभिभावकलाई तलवी विदा दिन्छ । तीन दिनसम्म अभिभावक किन्डरगार्डेनमै गएर बच्चा र बच्चाको शिक्षिकासँग बस्ने तथा खेल्ने गर्न पाउँछन । उक्त तीन दिनसम्म शिक्षिकासँग घुलमिल भएर बच्चाले नजिक ठानिसक्ने मान्यता छ ।

यद्यपि, उक्त तीनदिनमा बच्चा घुलमिल नभएमा आमाबुबामध्ये एकजनाले आवश्यकताअनुसार एक महिनासम्म किन्डरगार्डेन जान पाउँछन् । त्यस्तो बेलामा कामबाट कम्पनीले पनि विदा दिनुपर्छ ।

नर्वेमा बिहान–बेलुकाको समयमा बस्तीका सडकमा स–साना बच्चाहरु डोर्‍याउँदै हिँड्नेहरु बाक्लै भेटिन्छ । मध्य जाडो याममा पनि हिउँमा बच्चाहरुलाई बुबाआमाले हिँडाउँदै हुन्छन् । कतिपयले साइकलको पछाडि राखेर पनि बच्चालाई किन्डरगार्डेन आउने–जाने गराउँछन् । थोरै मात्रैले निजी गाडीमा राखेर बच्चालाई ल्याउने –पुर्‍याउने गर्छन् ।

नर्वेमा निजी गाडी प्रयोग गर्नेको संख्या निकै कम छ । निजीभन्दा सार्वजनिक गाडी प्रयोग गराउने नीति नर्वे सरकारको छ । स्कुले उमेरका बच्चाहरु पनि सार्वजनिक गाडीमार्फतै स्कुल आवत–जावत गर्छन् ।

ट्रेन, बसमा होस् वा भित्री सडकमा स–साना बच्चाहरु झोला बोकेर स्कुल गैरहेको दृश्य कम्ता रहरलाग्दो हुँदैन । तर, यो दृश्य यसपटक भने गर्मीयाम सुरु हुनै लाग्दा खासै देखिएन । संसारभर फैलिएको कोरोना माहामारीले गर्दा नर्वेका शैक्षिक संस्थाहरु मार्चको १३ देखि बन्द हुने पुगे ।

नर्वेले कोरोना नियन्त्रणका लागि भन्दै बढी भिडभाड हुने ठाउँहरु मार्च १३ गतेबाट (शैक्षिक संस्था, रेस्टुरेन्ट, पव, बार लगायत) बन्द गर्‍यो । नर्वेमा लकडाउन भनिए पनि पूर्णरुपमा भने थिएन । कार्यालयहरु खुला नै रहे । सम्भव भएसम्म घरबाट काम गर्न भनियो । सार्वजनिक यातायात यथावत अवस्थामा सञ्चालन भैरहे । खाद्यान्न पसलदेखि अन्य पसलहरु पनि केही मापदण्ड अपनाएर खुलिरहे ।

बन्द रहेका शैक्षिक संस्थालाई पनि नर्वेले अप्रिल २० बाट क्रमिक रुपमा खुलाउन थालेको छ । पहिलो चरणमा किन्डरगार्डेन खोलेको छ । २७ मार्चबाट १–४ कक्षा सम्मका स्कुलहरु सञ्चालन गर्ने तयारीमा छ । विश्वविद्यालयका कक्षा पनि सञ्चालन गर्ने योजना नर्वेको छ ।

किन्डरगार्डेन खुलेसँगै स–साना विद्यार्थीहरु किन्डरगार्डेन फर्किसकेका छन् । किन्डरगार्डेनमा भर्ना भएका बालबालिकालाई अनिर्वाय आउनैपर्ने भनिएको छैन । घरमा विरामी, परिवारका सदस्य दीर्घरोगी वा वृद्धवृद्धा छन् भने त्यस्ता बालबालिकालाई पनि घरमै राख्न भनिएको छ । विद्यालय फर्केका बालबालिकालाई पहिले भन्दा फरक मापदण्ड तय गरिएको छ ।

नर्वेको बर्गेनस्थित एक अस्पतालमा कार्यरत नेपाली चिकित्सक डा. सञ्जय अर्यालका अनुसार किन्डरगार्डेन जाने उमेर समुहका बालबालिकाहरुमा संक्रमणको जोखिम कम हुन्छ । निश्चिित मापदण्ड तय गरेर गर्दा जोखिम झन न्यून हुन्छ ।

घरमा बस्दा भन्दा किडरगार्डेन जाँदा मानसिकरुपमा बच्चाहरुको मनोबल उच्च हुने भएकाले सरकारले यो निर्णय गरेको हो । नर्वेमा ६ वर्षभन्दा कम उमेर समूहका बालबालिकालाई किन्डरगार्डेन भर्ना गरिन्छ ।

डा. अर्यालका अनुसार ट्रायलको रुपमा पहिलो चरणमा किन्डरगार्डेन खुला गरेको हो । त्यसको नतिजा कस्तो आउँछ, त्यसपछि अन्य निर्णयहरु गर्न सहज हुने नर्वे सरकारको सोच रहेको डा. अर्यालले बताए ।

नर्वेमा अध्ययन तरिका भिन्न छ । चार कक्षासम्म कुनै किताब घोकाउने, जाँच लिने गरिँदैन । व्यवहारिक शिक्षा सिकाइन्छ । व्यवहारिक शिक्षाले बच्चाहरुलाई परिपक्क बनाउने मान्यता नर्वेको छ ।

नर्वेमा १८ वर्षपछि धेरैले बुबाआमा छोडेर बस्छन् । छोड्नैपर्ने बाध्यताकारी व्यवस्था भने होइन । यद्यपि त्योबेलासम्म अधिकांशहरु काम थालेर आत्मानिर्भर बनिसकेका हुन्छन् ।

संक्रमणबाट जोगाउन कस्तो छ सुरक्षा ?

नर्वेको एक किन्डरगार्डेनकी नेपाली शिक्षिका सुशीला कट्टेलका अनुसार नर्वेमा बालबालिकालाई संक्रमणबाट जोगाउन किन्डरगार्डेन तथा स्कुलले विशेष व्यवस्था गरेका छन् । विशेष गरी सरसफाई र व्यक्तिगत दुरी कायममा ध्यान दिएका छन् । सरकारले दिएका मापदण्डलाई पूर्णरुपमा पालना छ ।

किन्डरगार्डेनमा एकजना शिक्षक/शिक्षिकाको मातहतमा ३ वर्षसम्मका तीनजना बच्चा हुन्छन् । ३–६ वर्षसम्मका बच्चा छन् भने एक शिक्षकले बढीमा ६ जनासम्मको रेखदेख गर्नुपर्छ । शारीरिकरुपमा अशक्त बच्चाको हकमा भने एक बच्चासँग एक शिक्षकको व्यवस्था अनिर्वाय छ । कोरोनाका कारणले अहिले यो नियम समुदाय अनुसार फेरिएको छ ।

एकजना शिक्षकसँग रहेका बच्चाहरुको सम्पर्क अरु शिक्षक र बच्चाहरुसँग रहँदैन । खेल्ने ठाउँ र कोठाहरु छुट्टै व्यवस्था गरिएको छ । बच्चाअनुसार छुटटै खेलौनाको व्यवस्था छ । एउटा समूहले प्रयोग गरेका खेलौना अर्को समूहले खेलाउन पाउँदैन । खेलौनालाई पनि धोइरहनुपर्दछ । हात धुने र एन्टीव्याक प्रयोगमा नै प्राथमिकता दिइएको छ । शिक्षिका कटेलका अनुसार कुनै कुरा छोएपछि वा खेलाएपछि भने हात धुने तथा एन्टीव्याक प्रयोगमा अनिवार्य गर्नपर्छ ।

नर्वेमा अभिभावकले आफ्नो बच्चालाई विहान ७ः३० बजे अपरान्ह ५ बजेसम्म किन्डरगार्डेनमा बच्चा राख्न पाउँछन् । तर, संक्रमणको जोखिमको लागि नियम परिवर्तन गरिएको छ । अभिभावकले ९ः३० बजे पुरयाउनपर्छ । अभिभावक स्कुलको गेट बाहिर खुला ठाउँसम्म मात्रै बस्नपर्छ । ठीक समयमा शिक्षकहरु उपस्थित हुन्छन र बच्चाहरु लिने गर्दछन । समयभन्दा पछाडि गएमा भने बच्चाले त्यस दिनभित्र छिर्न पाउँदैन । बेलुका पनि अपरान्ह ३ बजे बच्चा लिन अभिभावक पुगिसक्नुपर्छ ।

गत डिसेम्बर १२ मा क्रिसमसको अवसरमा प्रधानमन्त्री एर्ना सोल्वेगले ओस्लोको एक किन्डरगार्डेनमा बच्चाहरुलाई केक दिँदै गरेको दृश्य ।

बच्चाहरुले के चाहान्छन् भन्ने विषयमा प्रधानमन्त्री एर्ना सोल्बेगले यसअघि बालबालिकासँग अन्तरक्रिया गरेकी थिइन् । बच्चाहरुको मनोवैज्ञानिक त्रास कम गर्न उनले बच्चाहरुको धेरै जिज्ञासाको जवाफ दिइन् । त्यस्तै किन्डरगार्डेन खुलेपछि पनि प्रधानमन्त्री सोल्बेग शिक्षक शिक्षिका तथा बालबालिकाको मनोबल बढाउन उनी राजधानी ओस्लोका केही किन्डरगार्डेन पुगेकी थिइन ।

तलबको ६ प्रतिशत शुल्क

नर्वेमा प्राय सबैले किन्डरगार्डेनमा बच्चालाई हाल्ने गर्दछन् । किन्डरगार्डेनले क्षमताभन्दा माथि बच्चाहरु राख्न पाउँदैन । आफूले रोजेको किन्डरगार्डेनमा सिट खाली भएसम्म बच्चा राख्न पाउँछन् । नर्वेमा रोजाइको किन्डरगार्डेन भन्दा घरनजिकको किन्डरकार्डेन अभिभावकको रोजाइमा पर्छ ।

बच्चाको शुल्क बुवाआमाको आम्दानी अनुसार हुन्छ । बुबाआमा दुबैले एक वर्षभरि जति कमाउँछन, त्यसको ६ प्रतिशत शुल्क तिर्नपर्छ । तर, एकभन्दा बढी बच्चा भएमा उक्त शुल्क घट्दोक्रममा हुन्छ ।

नर्वेमा पेमेन्ट अनलाइनमार्फत हुन्छ । व्यवसायीदेखि नागरिकले कति कमाउँछन् भनेर सबैकुरा छर्लङ्ग हुन्छ । कुनै व्यक्तिको मासिक वा वार्षिक आम्दानी कति छ भनेर चाहेमा जसले पनि हेर्न सक्छ । सरकारले आफ्नो वेवसाइटमार्फत सार्वजनिक गर्छ ।

स्कुल वा किन्डरगार्डेनबाट हप्तामा एकपटक घुमाउन लैजानुर्छ । जस्तो–खोला, समुद्र, जंगल, चिडियाखाना, कृषि क्षेत्र लगायतका ठाउँहरुमा बच्चाहरु घुमाउन लैजाने गरिन्छ ।

बच्चाले जस्तोसुकै मौसममा पनि बाहिर निस्कनै पर्छ । माइनस १५/२० डिग्री तापक्रम हुँदा होस् वा हिउँले बाटो छोप्दा पनि किन नहोस्, बच्चाहरुलाई घुमाउन लगिन्छ । किन्डरगार्डेन क्षेत्रमा पनि हिउँ परेकै समयमा पनि बाहिर खेलाउने गरिन्छ ।

जाडोयाममा हिउँमा र गर्मीयाममा वालुवामा बढी खेलाइन्छ । वालुवामा खेलका गतिविधि धेरै हुनाले पनि बच्चाहरु यसप्रति रुचि राख्ने किन्डरगार्डेन शिक्षिका सुशीला बताउँछिन् । यो उमेरमा बच्चालाई प्रकृतीसँग बढी घुलमिल गराईन्छ ।

अनिर्वाय कार्ययोजना

किन्डरगार्डेनमा बच्चाहरुलाई कुन समयमा केके गराउने अनिवार्य योजना बनाउनुपर्छ । वर्ष, महिना र हप्ताभरी के गराउने भनेर हप्ताको सुरुमै प्लान बनाइएको हुन्छ । यसरी बनाइएका प्लानहरु हरेपटक अभिभावकलाई पठाउनुपर्छ ।

‘हप्ताभरिमा बच्चालाई कस्ता खेलौनासँग के र कसरी खेलाउनेदेखि बच्चाले त्यसबाट सिक्नसक्ने सम्भावनासमेत निक्र्योल गरेर प्लान बनाउनपर्छ,’ शिक्षिका कट्टेल भन्छिन, ‘बच्चासँग जति नै खेलाउन भए पनि ती खेलौनासँग कसरी खेल्ने र त्यसबाट के सिक्ने पत्ता लगाउन सकिएन भने खेलको उद्देश्य प्राप्त गर्न सकिँदैन ।’

बच्चाले खेलिरहँदा शिक्षक/शिक्षिकाले उनिहरुको हरेक गतिविधिको टिपोट गर्नुपर्ने हुन्छ । बच्चालाई आवश्यकता अनुसार कहिले समूहमा त कहिले एकजनामात्र राखेर निरीक्षण गर्ने गरिन्छ र यहीअनुसार अन्य योजनाहरु बनाउने गरिन्छ ।

नर्वेमा किन्डरगार्डेनमा भने खेलौनासँग खेलाएरै ज्ञान लिने गरिन्छ । नर्वेमा किन्डरगार्डेन उमेर सकिँदासम्म बच्चाले कुनै किताब पढेको हुँदैन । तर, धेरै व्यवहारिक ज्ञान पाइसकेको हुन्छ । यहाँ किन्डरगार्डेनमा मात्रै होइन, घरमा पनि सिकाइ धेरै हुन्छ । घरमा खेलौना राखेर बच्चासँग आवश्यक समय बिताउने गर्छन् नर्वेजियनहरु ।

किन्डरगार्डेन शिक्षक बन्न तीन वर्षीय कोर्स

किन्डर गार्डेनमा काम गर्नेहरुमा महिला भन्दा पुरुषको संख्या कम छ । नेपालमा सरकारी जागिरमा जस्तो नर्वेमा पुरुषका लागि कोटा व्यवस्था गरिन्छ । नर्वेमा एउटा स्कुलले तीन जना शिक्षक राख्दा गर्दा एकजना पुरुष हुनुपर्ने नियम छ ।

किन्डरगार्डेन शिक्षक बन्न पनि छुटटै कोर्स पढेको हुनुपर्छ । किन्डरगार्डेनका लागि तीन वर्षको विश्वविद्यालय कोर्स अध्ययनपछि मात्रै शिक्षक शिक्षिका बन्न पाइन्छ ।

नर्वेमा लैंगिक विभेद छैन । महिलाको स्तर निकै माथि छ । धेरै संघसंस्थाको प्रमुखमा महिला भेटिन्छ । सबैमा सम्मान व्यवहार गरिन्छ, बच्चादेखि वृद्धसम्मलाई । कामदारदेखि मालिकसम्म । यस्ता कुराहरु नर्वेमा किन्डरगार्डेनमै सिकिसकेका हुन्छन् । किन्डरगार्डेनका बच्चालाई समेत सोही व्यवहार लागुहुन्छ ।

किन्डरगार्डेन शिक्षिका कट्टेलका अनुसार बच्चाले गरिरहेको कुनै काम आफ्नो कारणले बिग्रिएमा बच्चासँग माफी माग्नैपर्छ । ‘हामीले जस्तो व्यवहार गर्‍यो, बच्चाले पनि त्यही व्यवहार त गर्ने हो,’ उनले भनिन, ‘अनि, हामीले शिक्षिका वा अभिभावक हो भन्दैमा माफी नमागेर हुन्छ त ?’

बच्चाले गरिरहेको काममा पनि सहयोग गरिदिनुपर्छ । सहयोग गर्दा बच्चामा पनि सम्मान र सहयोगी भावना विकास हुन्छ ।

ख्याल गरौं बच्चाको चाहना

कुनै बच्चाले खेलाउन लागिएको खेलप्रति रुचि देखाएन भने त्यो बच्चालाई उसको रुचिअनुसारको खेल खेलाउनुपर्छ । खेलको उद्देश्य प्राप्त भएन भने कुन विधि उपयुक्त हुन्छ भनेर अन्य फरक तरिकाले सिकाइको प्रयास गरिन्छ । तीनमध्ये दुई बच्चाले खेले भन्दैमा रुची नभएको एक बच्चालाई वेवास्ता गर्न नमिल्ने शिक्षिका कट्टेल बताउँछिन् ।

नेपालमा बालशिक्षा छ । बालशिक्षामा योजना बनाएर बच्चाको सिकाई भन्दा किताब पढाउन जोड दिइन्छ । बच्चाहरुलाई खेलको माध्यमबाट सिकाएमा त्यो सिकाइ व्यवाहरिक हुने र त्यसले किताबी ज्ञानभन्दा धेरै नजिता दिने कुरालाई ध्यान दिएको देखिँदैन ।

बालशिक्षालाई बच्चाको आधारभूत सिकाइमा जोड दिनसके प्रभावकारी हुने शिक्षिका बताउँछिन् । किताबमा भएका अक्षर चिन्दैमा बच्चाको सिकाइ भयो भन्ने कुरा नै गलत रहेको ठहर उनको छ ।

सिकाईको हकदार अभिभावक

लाग्न सक्छ, आफनो बच्चा मोबाइलमा बढी झुण्डिन्छ, बच्चा बिग्रिने भयो । त्योभन्दा अगाडि सोच्नुस कि, बच्चालाई तपाई कति समय दिनुहुन्छ ? बच्चासँग खेल्नुहुन्छ तपाई ? बच्चालाई खेलौना कतिको व्यवस्था गरिदिनुभएको छ ?

छैन भने सोच्नुस् त्यही भएर बच्चा मोवाइलमा बढी झुण्डिन्छन् अनि खास केही पनि सिक्दैनन् । बच्चाले मोवाइलबाट होइन, खेलबाट धेरै सिक्छन् । अनि, बच्चाको सिकाई प्रकृति (ढुंगा, माटो, पानी, हिउँ, जनावर, पशपंक्षि, बिरुवा, घाँस)मा पनि हुन्छ ।

त्यही भएर आफ्नो कम्तिमा एक घण्टा दैनिक घरबाहिर बच्चालाई घुमाउनु पर्छ । नर्वेमा व्यस्त जीवनको बीचमा पनि बच्चालाई समय छुट्याइन्छ । बुबाआमाले पनि नियमित घुम्न लैजान्छन् । बच्चालाई खेल र सिकाईमा व्यस्त बनाउँदा बच्चाले नराम्रा बानी सिक्न पाउँदैन । नराम्रो बानी भए पनि बच्चालाई कुटेर हैन तपाइआफु बच्चासँग व्यस्त हुनुभयो भने जस्तोसुकै बानी पनि छुटाउन सकिन्छ ।

सानो उमेरको बच्चालाई कुन कुरा खतरनाक छ भन्ने बुझ्दैनन् । यस्तो काम गर्दा यसले यस्तो यस्तो खराब गर्छ भन्ने कुरा बच्चालाई सम्झाइरहनु पर्छ । यो कुरामा सबै दायित्व परिवारका सदस्यको हुन्छ ।

एकपटक भनेको कुरा बच्चाले विर्सन सक्छन्, त्यसैले पटक पटक सम्झाइरहनु पर्छ । तपाइहरु बच्चासँग खुसी हुनुहुन्छ भन्ने कुरा बच्चासँग देखाउनपर्ने नर्वेजियनहरुको ठहर छ ।

घरमा आमाको समय नहुँदा बुवाको समय हुन्छ । आमा वा बुवा जो सुकैले पनि बच्चासँग खेल्नुभयो भने उनिहरुले तपाइलाइ साथी सोच्छन । बुवाआमासँग सम्बन्ध प्रगाढ बन्दै जान्छ ।

तपाईले बच्चासँग जति धेरै समय बिताउनुहुन्छ, यसले बच्चाको सिकाईमा हौसला थपिन्छ । बच्चा जन्मँदा कम्तिमा तीन महिना बुबाले अनिर्वाय लिनुपर्छ । बाँकी नौ महिना भने आमा वा बुबाले जसले लिएपनि पाइन्छ ।

बच्चाको सिकाइको लागि अभिभावकहरु बच्चा लिएर पार्क, नदी, समुन्द्र, बजार, सार्वजनिक यातायात लगायतमा पुगेको दृश्यमा नर्वेमा निकै देखिन्छ । हिउँ परेको समयमा बच्चालाई हिउँसँगै खेलाइरहेका हुन्छन । बच्चाको सिकाइमा नर्वेजियनहरु तथा युरोपीयनहरु विभिन्न क्रियाकलप गर्नगराउन माहिर हुन्छन् । तसर्थ पनि यहाँका बच्चाहरु निकै चलाख हुन्छन । १५/१६ वर्षकै उमेरबाट छुट्टै बसेर काम गर्न थालिसकेका हुन्छन् ।



source https://www.onlinekhabar.com/2020/04/858675

Post a Comment

0 Comments