११ कात्तिक, काठमाडौं । पशुपतिस्थित आर्यघाट । बिहानै भए पनि मन्दिर छिर्ने मुख्य गेटदेखि आर्यघाटसम्म मानिसहरुको चहल-पहल चर्को छ । घाटको पारिपट्टी बसेर एक हुल केटाहरु चुरोटको धुवा उडाइरहेका छन् । तल आर्यघाटमा केही लासहरु धुँवा बनेर उडिरहेका छन् । मन्दिर परिसरमै बसेर बाबाजीहरु ‘जय शम्भो’ भनिरहेका छन् । फूल बेच्नेहरु फूल बेचिरहेका छन् । भिख माग्नहेरु कचौरा थापिरहेकै छन् । मन्दिरमा पूजा गर्नेहरूको लाइन उस्तै छ । मन्दिर परिसरमा मानिसहरुको आउने-जाने क्रम जारी छ ।
मन्दिरको घण्टी, शवबाहन सवारीको आवाज र चिता नजिकै बसेर रोइरहेका मानिसहरुको मिश्रित आवाज अनौठो सुनिन्छ । त्यो अनौठो परिवेशमा अनेकथरि पात्रहरु छन् । कथाहरु अनेक थरी छन् ।
यो कथा भने रामबहादुर न्यौपानेको हो । उनले पशुपति क्षेत्रमै सडकमा छाडा छोडिएका २ सयवटा गाईवस्तुहरु पालिरहेका छन् ।
गौशाला चोकबाट पशुपति मन्दिरतिर ५ मिनेट पैदल हिँडेपछि पूजाको सामाग्री बेच्ने पसलहरु आउँछन् । पसलको लाइनबाट देव्रेतिर छिर्नासाथ नन्दी सेवा आश्रमको बोर्ड देखिन्छ । गेटबाट भित्र छिर्नासाथ बाहिरी संसार ओझेल पर्छ । आश्रममा शान्तसँग घाँस चपाइरहेका गाई देखिन्छन् । यही हो नन्दी सेवा आश्रम, जहाँ सडकबाट उठाएका गाईहरुलाई आश्रय दिइएको छ ।
त्यहाँ गाईहरु राख्ने चारवटा क्षेत्रहरु छन् । सामान्य गाईहरु एकापट्टी छन् । अर्को क्षेत्रमा भर्खरै सडकबाट उद्धार गरेर ल्याइएका बिरामी गाईहरु छन् । त्यसकै एकातिर बाच्छाबाच्छी राखिएका छन् । अर्कोतिरको क्षेत्रमा शारीरिक रुपमा बलिया साँढेहरुलाई छुट्याइएको छ ।
गाईहरु राखिएको ठाउँ अत्यन्तै व्यवस्थित छ । झट्ट हेर्दा कुनै आधुनिक व्यावसायिक गाईफार्म जस्तो देखिन्छ । तर, यो कुनै व्यावसायिक गाई फार्म भने हैन । यी गाई व्यापारिक प्रयोजनका लागि नभएर उद्धार गरेर सेवा गर्न पालिएको हो ।
नन्दी सेवा आश्रममा एकजना अधवैंसे मानिस पानी हाल्दै गाईको सफाइ गरिरहेको देखिन्छन् । उनी गाईलाई अनेक नाम लिँदै बोलाउँछन् । खुट्टामा पानी हालिदिन्छन् । झुत्रोले ढाडको मयल मिच्दै पखालिदिन्छन् । उनी नै हुन् रामबहादुर जो, आफूलाई ‘गोपाल’ भन्न रुचाउँछन् ।
‘माली यता आइज, सफा भएर बस्नु पर्दैन ?’
‘पार्वती यता आइज तिम्ले चाहिँ नुहाउनु पर्दैन ?’
‘काले नुहाउनुपर्छ भनेर पर भागेको ?’
उनी मानिससँगझैं गाईहरुसँग संवाद गरिरहेका छन् । उनका क्रियाकलाप देख्दा लाग्छ, उनी गाईको भाषा बुझ्छन् र गाईले उनको ।
गाईसँग संवाद गर्दै उनले सफाइको काम सके ।
‘यिनीहरु मान्छे भन्दा बुझ्झकी छन्, जे भने पनि मान्छन्,’ अनलाइनखबरसँग कुराकानी सुरु गर्दै न्यौपानेले भने, ‘यस्तै छ गोठालो जिन्दगी । गोबर गनायो भनेर घिन नमान्नु है ।’
यति भन्दै उनले आफ्नो रोयल इन्फिल्ड बाइक निकाले । त्यो बाइकमा चारपांग्रे ट्रली जोडे । ‘मठमन्दिर तथा गाईबाच्छा बचाउ अभियान’को टिसर्ट लगाए । बाइकमा दुई जना मानिस हालेर त्यहाँबाट निस्किए ।
गौशाला, सिनामंगल हुँदै कोटेश्वर नपुग्दै देब्रेपट्टी सरस्वती युवा क्लबले संरक्षण गरेको बगैंचा देखियो । त्यहाँ एउटा सानो बाच्छो चरिरहेको थियो । त्यो एक्लो बाच्छोलाई देखेपछि रामबहादुरले बाइक रोके ।
उनले बाच्छोतिर हेर्दै भने, ‘ल हेर्नुस् त मान्छेको बुद्धि, यस्तो पानी नपाउने ठाउँमा यो बाच्छो कति दिन बाँच्ला ? अनि कुकुरको खान्की हुँदैन त यो ?’
त्यसपछि उनी बाच्छोलाई ट्रलीमा हालेर गौशाला फर्किए ।
गौशालामा ल्याएर ‘भ्याक्सिन दिए । अनि सफा ठाउँमा राखेर त्यहाँ काम गर्नेहरुलाई निर्देशन दिए, ‘यसलाई पानी, खाना यतै दिनू, रोग अरुलाई सर्न सक्छ, एक सातासम्म उता (समूहमा) नमिसाउनु। ‘
उनलाई त्यहाँ बसिरहन फुर्सद भएन । काभ्रेमा पनि यस्तै उद्धार गरेर गाईफार्म चलाएको जानकारी दिँदै ‘बाँकी कुरा अर्को दिन सुनाउँला’ भन्दै त्यहाँबाट निस्किए ।
****
अर्को दिन गौशाला पुग्दा उनको गाई संवाद चलिरहेको थियो ।
उपचार गर्न डाक्टर आएका थिए । डाक्टरले गाईहरुको घाउचोट सफा गरे । भ्याक्सिन लगाउनुपर्नेलाई लगाइदिए । घाँस, खोले, पानी खुवाएपछि र सरसफाइ सकेपछि रामबहादुर हामीसँग गफिन थाले ।
१४ वर्षअघिसम्म उनको जिन्दगी सामान्य थियो । जागिर खान्थे । अफिस जान्थे । अरु कुरा सोच्ने फुर्सद हुन्नथ्यो । जिन्दगी रमाइलैसँग चलिरहेको थियो ।
अफिस आउँदा जाँदा सडकमा गाईहरुलाई गाडीले हानेको देख्थे । कतिपय ठाउँमा कुकुरको झुण्डले बिरामी गाईहरु लखेटिरहेको हुन्थेे । भर्खरै जन्मिएका बाच्छाहरु सडकमा बिजोक अवस्थामा देखिन्थे । त्यस्तो देख्दा रामबहादुरको कन्पारो तात्थ्यो । त्यसरी बिजोग पारेर छोड्ने मान्छेलाई मनमनै गाली गर्थे।
उनी आफैंलाई प्रश्न गर्थे- एक मानो दूध बचाउन भर्खरै जन्मेको बाच्छालाई सडकमा छाडेर के गर्दैछ मान्छे ?
‘जीवनभर दूध खाएको गाईलाई बुढो भएपछि सडकमा छोड्न कहाँबाट हिम्मत आउँछ मान्छेलाई ?’
आफ्नो प्रश्नले आफैंलाई नमज्जाको पीडा हुन्थ्यो । उकुस-मुकुस जस्तो । तर, लाचार हुनुको विकल्प थिएन । बिजोग देख्दा पनि केही गर्न सक्ने अवस्था थिएन ।
उनी एकदिन पशुपति क्षेत्रबाट ‘मर्निङ वाक’ गरेर फर्कदै थिए । किराँतेश्वर जंगल नजिकै बाच्छो कराएको सुने । आवाज पछ्याउँदै जाँदा पाखोमा बाच्छो फसेको देखे । अर्को बाच्छो बाटोमा बसेर कराइरहेको थियो । मान्छेहरुलाई बाटामा देख्दा त्यो बाच्छोले जोडले कराउँदै सहयोग माग्दोरहेछ । तर, कसैले पनि उद्धार गरेका रहेनछन् । त्यो देखेपछि त्यतिकै हिँड्न मनले मानेन । उनले बाटो हिँड्ने मानिससँग सहयोग मागे, तर कसैले टेरेनन् ।
उनले बाच्छोलाई सुम्सुमयाएर ‘चुप्पा खाँदै’ आश्वासन दिए, ‘म मानिसहरु लिएर उद्धार गर्न आउँछु ।’
त्यसपछि बाच्छो कराउन छोड्यो ।
उनी त्यहाँबाट त्यही क्षेत्रमा ड्युटीमा रहेका प्रहरी अधिकृतलाई भेट्न गए । प्रहरीले १० जना जवान पठाइदिए । बल्लतल्ल त्यो बाच्छोलाई भिरबाट निकालियो । प्रहरी जवानहरु आफ्नो बाटो लागे ।
रामबहादुर केही क्षण त्यहीँ बसे । त्यहीँबाट केही घाँस खोजेर खुवाए । तर, अलि अगाडि गएर हेर्दा त त्यो बाच्छोले उनलाई नै पछ्याइरहेको थियो । उनले फर्काउन कोसिस गर्दा पनि पछिपछि लागिरह्यो । त्यहाँ मानिसको भिड नै जम्मा भयो । उनले ती मानिसहरुलाई अनुरोध गरे- कसैको घरमा राख्ने ठाउँ छ भने लगेर पाल्नुस्, मेरो घरमा त राख्ने ठाउँ नै छैन।
मानिसहरुले जवाफ दिए- अरुले एक मुठी दूधका लागि यसरी बिजोग पारेर सडकमा छोड्छन् । हामी अरुले गरेको पाप स्याहारेर बस्न कहाँ सक्छौँ ?
उनीहरुको कुरा जायज थियो । तर, रामबहादुर ‘कन्भिन्स’ हुन सकेनन् । त्यो बाच्छो झन्-झन् पछि लागेपछि उनी भावुक भए । आँसु आयो । त्यसको थप उद्धार नगरी मन मानेन ।
‘मोटरसाइकल लिएर आउनुस् जरुरी काम छ,’ एकजना साथीलाई त्यहीँबाट फोन गरे । साथी हतारिँदै आइपुगे । बाच्छोको उद्धार गर्न लागेको देखेपछि साथीले छक्क पर्दै भने- ‘जरुरी भनेर यस्तो मजाक गर्ने ? दिमाग खुस्क्यो कि क्या हो ?’
उनी साथीको कुरा सुन्नेवाला थिएनन् । त्यो बाच्छोलाई घर लिएर गए । घर जानासाथ ललितपुरको खोकना गएर पाँच लिटर शुद्ध तोरीको तेल लिएर आए । अण्डाहरु किनेर ल्याए । अनि बाच्छोको स्याहारमा जुटे । केही दिनमा बाच्छो तगडा भयो ।
एक सातापछि उनी झिसमिसैमै मर्निङवाकमा गएका थिए । बागमती करिडोरको बाटो हुँदै जोरपाटी जाँदै गर्दा एउटा गाई सडकमा लडिरहेको देखे । नजिकै गएर हेर्दा त गाडीले हानेर क्षत-विक्षत पारेको रहेछ ।
एकाबिहानै दिमाग रन्थनियो । त्यहीँ थुचुक्क बसे । त्यो दृश्यले ठूलो पीडा दियो । मनमा अर्कै आक्रोश र तरंग फैलियो । बैचनी बढ्दै गयो ।
‘कानुन भएको देश भएको भए राष्ट्रिय जनावर गाईको यस्तो अवस्था हुन्थ्यो ।’
‘कुकुरको सेवा गर्ने संस्था छ, मान्छेको सेवा गर्ने संस्था छ । तर, राष्ट्रिय जनावर गाईको यस्तो बिजोग हुँदा त्यसको सेवा गर्ने कुनै संस्था किन छैन ?’
मन मष्तिकमा प्रश्नहरु घुमिरहे ।
आफ्नै प्रश्नले दिमागमा झट्का दियो । प्रश्नको झट्का र मनको घाउले समाधान सोच्यो । हठात प्रण गरे- अब यस्ता बेवारिसे गाईलाई म पाल्छु ।
परिवारलाई आफ्नो निर्णय सुनाए । परिवारका सबै सदस्य स्तब्ध भए।
छोराछोरीले आश्चर्यमा पर्दै भने, ‘अरुका बाउले छोराछोरीका लागि घर जग्गा जोडिदिन्छन्, हाम्रो बाउको दिमाग खुस्किएको कि क्या हो ? बेवारिसे गाई पाल्ने रे !’
छोराछोरीको कुरा सुनेर उनले उग्र हुँदै जवाफ फर्काए, ‘म त्यस्तोखालको बाउ परिनँ । गाउँमा जन्मेँ, हुर्कें र तिमीहरुलाई यहाँ ल्याएर शिक्षा दिएँ । अब आफ्नालागि आफैं गर्नू ।’
उनको कुराले छोराछोरी चुप भएनन् । असम्भव कुरा नआँट्नु भनेर सम्झाए । विभिन्न बाधा अड्चन आउँछ भन्दै तर्साए । उनको भाषामा भन्दा लामो समयसम्म परिवारजनले ‘इमोसनल अत्याचार’ गरिरहे । तर, उनी आफ्नो निर्णयबाट पछि हटेनन् ।
****
न्यौपाने हरेक दिन गाईको सेवा गर्ने प्रस्ताव बोकेर विभिन्न सरकारी संस्था धाउथे । कतैबाट सकारात्मक जवाफ आउँदैनथ्यो । उनी सरकारी हाकिमलाई गएर भन्थे-‘गाईको सेवा गर्ने संस्था खोल्ने हो भने सडकका माग्ने, वृद्धवृद्धा र अपांगहरु सबैको व्यवस्थापन गर्न सकिन्छ । त्यो काम म गर्न सक्छु।
सबै हाकिमको एउटै जवाफ हुन्थ्यो – तपाईको ‘आइडिया’ त सही हो, तर हामीसँग बजेट छैन।’
उनी निराश भएर फर्किन्थे ।
‘जस्तो पर्ला त्यस्तै टर्ला’ भन्दै उनले आफैँ संस्था दर्ता गर्ने विचार गरे । साथीभाइ आफन्तले विश्वास नगर्दा सडकमा तरकारी बेच्नेहरुसँग नागरिकता माग्नुपर्यो । विभिन्न भागदौडका बीच २०६१ सालमा नन्दी सेवा आश्रम दर्ता भयो ।
संस्था दर्ता त भयो, काम कसरी गर्ने ? परिवारका सदस्यले विश्वास गरेकै थिएनन् । आफन्त र साथीभाइ पागल भन्थे । एक्लै बस्दा सोच आउँथ्यो- सबैले पागल-पागल भन्छन्, साँच्चै म पागल त भइनँ ?’
प्रश्न प्रश्नमै सीमित राखेर कर्ममा जुट्थे ।
अनेक ठाउँ धाउँदा-धाउँदा उनी निराश भइसकेका थिए । अन्तिम विकल्पका रुपमा एक दिन पशुपति क्षेत्र विकास कोष गए । त्यहाँको सदस्य सचिव डा. गोविन्द टण्डन आध्यात्मिक मानिस थिए । टण्डनले केही सहयोग गरिदिन्छन् कि भन्ने न्यौपानेको झिनो आशा थियो ।
टण्डनले प्रस्ताव सुनेपछि सोधे, ‘सक्नुहुन्छ यो काम गर्न ?’
‘जसरी पनि सक्छु’ उनको जवाफ सुनेर टण्डनले फेरि भने, ‘यस्तो भन्नेहरु धेरै आउँछन तर ..।’
टण्डनले कुरा टुंग्याउन नपाउँदै न्यौपानेले भने, ‘अहिले मलाई सबैले पागल भनिरहेका छन्, तर म यो काम गरेरै देखाउँछु । सफल भइनँ भने कि त जोगी बन्छु, कि त मर्छु ।’
उनको कुरा सुनेर टण्डन गम्भीर भए । र, उनले पशुपति क्षेत्रमै आश्रम बनाउन जग्गा मिलाइदिए । त्यसपछि उनले त्यो ठाउँलाई गाईहरु राख्न मिल्ने आश्रयस्थल बनाए । गाई राख्ने ठाउँ पाएपछि जोश जाँगर छुट्टै पलायो । पहिलोपटक गौशाला आसपासका ३९ वटा छाडा गाईहरु ल्याएर उद्धार गरे । र, तिनीहरुको सेवामा जुटे ।
काम सुरु गरेपछि उनले थाहा पाए कि गाई पाल्ने काम त गाह्रो रहेछ । औषधिउपचार र घाँसपरालमै भएको पैसा सकियो । बाहिर सहयोग माग्दा कसैले पत्याएनन् ।
‘सकियो भने मानव सेवा गर्नेहरुलाई सहयोग गर्ने हो, जनावरलाई सेवा गरेर कहाँ सकिन्छ र ?’ सहयोग माग्न जाँदा उनले जवाफ पाउँथे, ‘कति ठूला-ठूला समाजसेवीहरुलाई त सहयोग गर्न सकिएको छैन, तपाईको के विश्वास ?’
मानिसहरुको यस्तो जवाफले मनमा चस्का पस्थ्यो । काम गर्न गाह्रो भइरहेको थियो । पागल भन्ने क्रम रोकिएको थिएन । गाई स्याहार गर्ने गोठालोलाई झट्ट हेर्दा कसले विश्वास गर्थ्यो र ?
‘पागललाई देख्दा मानिसहरुले कस्तो व्यवहार गर्छन् ? त्यतिबेला मलाई त्यस्तै व्यवहार गर्थे,’ पुराना दिन सम्झिँदै न्यौपाने भन्छन्,’तर यस्तो काममा हात हालेँ भनेर पश्चाताप कहिल्यै लागेन।’
****
‘गोपाल’ बनेकोमा पश्चाताप नलागे पनि न्यौपाने एकचोटि निराश भएका थिए । सहयोग नजुट्दा काम गर्न नसक्ने अवस्था आइसकेको थियो । गाईहरु भेला पारेर भोकै मार्दा झन् ठूलो पाप लाग्ने डर थियो । गाईलाई खुवाउनका लागि बिक्री नभएका ओइलिएका तरकारी, फलफूलदेखि होटलमा बचेको खाना बटुल्न आफैँ कुद्थे । घाँस परालको जोहो गर्न अनेक ठाउँ धाउनु पर्थ्यो । तैपनि कतैबाट सहयोग पाइरहेका थिएनन्।
‘परिवारले खाना पस्किएर नदिँदा र परिवारको सदस्य समेत नबोल्दा मलाई कति पीडा भयो होला ?’ पुराना दिन सम्झिँदै न्यौपाने भन्छन्,’त्योबेलाको मेरो मनस्थिति अहिले बताउन सक्दिनँ, सबैको नजरमा म पागल थिएँ …।’
यस्तो भन्दै गर्दा उनका आँखामा आँसु देखिए । गला अवरुद्ध भयो । घाँस चपाइरहेका गाईतिर हेर्दै उनी केहीबेर टोलाए । अनि भने, ‘त्यतिबेला कसैले पनि साथ नदिएपछि न्यौपाने आत्महत्या गर्न भनी घरबाट निस्किएका थिए । घरबाट जति टाढा जान्थे, त्यति नै गाईहरुको सम्झना आउँथ्यो । मन र मष्तिष्कको अन्तर्द्वन्द्वले छटपटाहट हुन्थ्यो । फेरि सोच आउँथ्यो- म मरेपछि के होला त गाईको हालत ?’
अन्तर्मनको यस्तो प्रश्नले उनले आत्महत्या गर्ने सोच त्यागे । घर फर्किएर सबै परिवारलाई भेला पारेर भने, ‘अब एक हप्तामा हेर, म जोगी बनेर यो घरमा भिख माग्न आउँछु ।’
उनले कामको अत्याधिक निराशा परिवारलाई पोखेका थिए ।
परिवारका सदस्यहरुले एकै स्वरमा भने, ‘पागल त हुनुहुन्थ्यो, अब जोगी पनि !’
‘नपत्याएको होला, अब हेर्दै जाओ,’ पीडा मिश्रित आक्रोशमा उनले उनले परिवारका सदस्यलाई भने ।
नपत्याउनुपर्ने कुनै कारण थिएन । उनी ‘मुडी’ थिए । बोलेपछि गरेरै छाड्थे । उनको कुराले परिवार झस्किए । त्यसपछि सकेको सहयोग गर्ने वाचा गरे । उनलाई थोरै भए पनि सान्त्वना मिल्यो ।
यतिबेला उनी नन्दी आश्रममा बसेर एक दशकअघिका पुराना दिनहरु सम्झिरहेछन् । घटना सम्झँदा घरि भावुक देखिन्छन् त घरि मुस्कुराउँछन् पनि । कुनैबेला अनायासमै टोलाइरहन्छन् ।
****
परिवारको सदस्य उनको काममा सकारात्मक भएपछि ती दिनबाट मरेको ऊर्जा ब्युँतियो । नयाँ जोश जाँगर बोकेर उनी काममा निस्किए ।
‘त्यो बेलाको अवस्था र अहिलेको अवस्था खासै फरक छैन । काम गर्न उस्तै संघर्ष गर्नुपरेको छ…।’
न्यौपानेले यसो भन्दै गर्दा केही सम्झिएझैँ गरे। लगत्तै फोन डायल गरे । फोन उठेन । अनि हामीतिर हेर्दै भने, ‘मैले आज यहाँ पराल झार्न सकिनँ भने त गाईहरु भोकै पर्छन् । म त परालको जोहो गर्न निस्किएँ है, भोलि आउनुहोला…।’
यति भन्दै उनी नन्दी आश्रमबाट ओझेल परे ।
****
भोलिपल्ट आश्रममा पुग्दा न्यौपाने गाईलाई खानेकुरा दिँदै थिए । डुँडमा गाईको हारालुछ हेर्नलायकको थियो । न्यौपाने भन्दै थिए, ‘झगडा नगरी मिलेर खाओ है, मिलेर।’
नन्दी सेवा आश्रममा पशुपति दर्शन गर्न आउने भक्तजनहरु पुगिरहेकै हुन्छन्। कसैले गाईलाई घाँस लगिदिएका हुन्छन् त कसैले फलफूल । अहिले पनि मानिसहरु त्यसरी नै पुगिरहेका छन् । तर, यो पर्याप्त हुँदैन । हरेक दिन गाईहरुलाई कसरी खुवाउने चिन्ता भइरहेको हुन्छ । गाईलाई बचाउनकै खातिर कहिले छोरीलाई अनुरोध गरेर पराल जम्मा गर्छन् त कहिले छोरालाई भनेर पिठो ।
न्यौपानेको दैनिकी अरु मानिसको भन्दा फरक छ । उनी बिहान चार नबज्दै उठिसक्छन् । पशुपति वनकाली क्षेत्रमा मर्निङवाक गएर आउनासाथ गाईको स्याहारमा जुट्छन् । सरसफाई सकेर घाँस पराल हाल्दा १० बजिसक्छ । खोले पानी दिँदा आधा दिन ढल्कन्छ । त्यसपछि फेरि घास पराल जम्मा गर्नकै चटारो ।
आश्रममै मात्र बसिराखे गाईहरु भोकै हुन्छन् । दिनभरि यता-उता भौंतारिनुपर्छ । खानको ठेगान हुँदैन, सुत्नको उस्तै । यति गर्दागर्दै पनि चाहे जसरी काम गर्न नसकेकोमा दुःखी छन् उनी ।
‘उद्दार गरेर मात्र हुन्न, खुवाउन सकिएन भने पाप लाग्छ’ न्याैपानेको अन्तर्मनले यस्तै भनिरहन्छ ।
सरकारी कर्मचारीहरुले बोलेको नमिठो वचनले अझै मन बिझाइरहेको छ न्यौपानेको । उनले एउटा प्रसंग सम्झिए-
एक दिन उनी सरकारी कार्यालयमा सहयोग माग्न गएका थिए। त्यहाँका हाकिमले थर्काए- ‘हामी पनि जनावरलाई प्रेम गर्छौँ । घरमा कुकुर पालेका छौँ । बिरालो पालेका छौँ । हामीलाई नसिकाउनुस् जनावर प्रेम ।’
ती हाकिमको कुराले न्यौपानेको दिमाग सनक्क सन्कियो । उनी पनि के कम ? झोक्किँदै भने- ‘जनावरलाई ‘चुप्पा’ खाएर फोटो खिच्दैमा कोही जनावरप्रेमी हुँदैन । सेवक हुनुपर्छ सेवक ।’
न्यौपानेका अनुसार डेढ सय गाईलाई खुवाउन दैनिक ४० हजारको भन्दा बढी घाँस तथा पिठो खर्च हुन्छ । त्यही जुटाउन खट्दा टाउको नदुखेको दिन हुँदैन । राज्यले अब पनि सहयोग नगरे केही गर्न नसक्ने अवस्था आइसकेको सुनाउँदै उनी भन्छन्, ‘अहिलेसम्म जसोतसो चलियो, पछि के हुने हो थाहा छैन ?’
निराशाको कारण ‘हेल्लो सरकार’ पनि
उनी निराश हुनुपर्ने कारणहरु धेरै छन् । तीमध्ये हेल्लो सरकारको फोन पनि एक हो । सामाजिक सञ्जाल फेसबुक तथा टि्वटरबाट नागरिकहरुले सडकमा अलपत्र परेका गाईहरुको अवस्था हेल्लो सरकारलाई जानकारी दिन्छन् । हेल्लो सरकारले त्यस्तो अवस्थामा न्यौपानेलाई सम्पर्क गर्छ । न्यौपानेले आफूले सकेसम्म र भ्याएसम्म उद्धार गरेकै छन् । तर, राख्न र खुवाउन खर्च अभावले कतिपय अवस्था उद्धार सम्भव हुन्न ।
एक दिन हेल्लो सरकारको फोनले सीमा नाघ्यो । दिक्क हुँदै फोन गर्ने कर्मचारीलाई झपारे,’सबै बेवारिसे गाईको जिम्मा मैले मात्र लिएको छु र ? सरकारले केही गर्नुपर्दैन ?’
त्यसपछि हेल्लो सरकारले उनलाई सम्पर्क गर्न छाडेको छ ।
न्यौपाने खुशी हुनुपर्ने कारणहरु पनि छन् । सबैभन्दा महत्वपूर्ण कारण हो, आत्मसन्तुष्टि । जतिसुकै बाधा र अड्चन आए पनि उनी सन्तुष्ट छन् । मैला लुगा लगाएर गोबर सोहोर्दा खुशी मिल्छ । रातमा मस्त निदाउन सकेका छन् । भन्छन्, ‘पशुपतिको शरणमा छु । मरी लानु के छ र भन्ने भाव जागृत भएको छ । खुशी यसमै छ ।’
न्यौपानेले गत पुसमा ‘साइनिङ वर्ड कम्पासन’ नामक अवार्ड पाए । उक्त अवार्ड जित्दा उनले ३० हजार अमेरिकी डलर हात पारेका थिए । खर्च अभावमा गुज्रिरहेका न्यौपानेका लागि यो रकम चानचुने थिएन । उनले सबै रकम गाईहरुको सेवामा खर्चिए । उनी भन्छन्, ‘नेपालमा मेरो काम नदेखे पनि विदेशीहरुले देखेका रहेछन्, खुशी लाग्यो । अझै काम गर्न ऊर्जा मिल्यो ।’
न्यौपानेले गाईको उद्धार मात्र गरेका छैनन् । आफन्त गुमाएर सडकमा बिचल्ली परेकाहरुलाई त्यहाँ काम पनि दिएका छन् । उनीहरुको सहयोगले पनि काम गर्न सजिलो भएको छ । घाँस दिनेदेखि सरसफाइ गर्ने काममा उनीहरुले सघाउँछन् । सडकमा अलपत्र परेका गाईवस्तु लिन पनि उनीहरूसँगै जान्छन् । उनीहरु एकअर्काका लागि सहारा बनेका छन् । न्यौपाने भन्छन्, ‘म सडकमा बेवारिसे भएका जनावरहरु मात्र होइन, मानिसहरुको पनि उद्धार गर्न चाहन्छु । र, यो सम्भव पनि छ ।’
यसो भन्दै उनी गाईलाई मकै हाल्नतिर लागे ।
तस्वीर तथा भिडियोः चन्द्रबहादुर आले/अनलाइनखबर
source https://www.onlinekhabar.com/2019/10/806929
0 Comments