हामीलाई अनावश्यक विषयमा हुने तनावले नै धेरै शारीरिक एवं मानसिक समस्या निम्तिने गर्छ । साइकोसिस जस्ता जटिल मानसिक समस्याको पहिलो खुडि्कलो तनाव नै हो । शारीरिक रुपमा पनि तनावले फाइदा गर्ने कमै समय होला । तर, हाडवर्ड विश्वविद्यालयले गरेको एक अध्ययनले तनाव मानिसको जीवनमा कमजोरीको रुपमा मात्रै नभएर शक्तिको रुपमा समेत प्रस्तुत हुने देखाएको छ ।
जागिरे जीवनमा सानासाना समस्याले पनि तनाव बढ्ने गर्छ । तनाव एक किसिमको मानसिक कमजोरी हो । यो एकप्रकारको स्वास्थ्य समस्या पनि हो । धेरै मानिसहरु तीब्र तनावकाबीच पनि उन्नतशील जीवन बिताइरहेका हुन्छन् । यो कसरी सम्भव भयो ? समयमा अफिस नपुग्दा छुट्टै किसिमको तनाव हुन्छ भने अफिस पुगेपछि काममा अर्कै किसिमको समस्या हुन्छ ।
तर, कसरी तनावलाई शक्तिमा बदल्न सकिन्छ ? यो विषयमा सन् २०१२ मा विस्कोनसिन म्याडिसन विश्वविद्यालयले एक अध्ययन गरेको थियो । जसमा कूल २८०० मानिसहरु कथित तनावबाट ग्रसित थिए । उनीहरुलाई अध्ययनकर्ताले दुई किसिमको प्रश्न सोधेका थिए ।
अध्ययनकर्ताले सोधेको प्रश्न मध्ये पहिलो प्रश्न थियो ‘पछिल्लो १२ महिनामा तपाईंलाई कस्तो अनुभव (तनाव) भयो ?’ यो प्रश्नमा ४ वटा विकल्पहरु दिईएको थियो । पहिलो धेरै तनाव, दोस्रोमा मध्यम स्तरको तनाव, तेस्रोमा सम्बन्धमा थोरै तनाव र चौथोमा प्रायः तनाव नै भएन । त्यस्तै, दोस्रो प्रश्न थियो ‘तनावका कारण स्वास्थ्यमा कत्तिको असर पर्यो ?’ त्यसको पनि पहिलो एकदमै धेरै, दोस्रोमा एकदमै कम, तेस्रोमा मुस्किलले थोरै र चौथोमा हुँदै भएन भन्ने विकल्प थियो ।
वर्षसम्म लगाएर गरिएको यो अध्ययनमा नतीजा भने सबैलाई आश्चर्य चकित पार्ने खालको आएको छ । यो अध्ययनको नतिजा अनुसार तनाव लिने मानिसको अकाल मृत्यु हुने हाम्रो बुझाई पनि भ्रम हो भन्ने सावित गरेको छ । तर, त्यसको लागि हामीले तनावलाई शक्तिमा बदल्न भने सक्नुपर्छ ।
आफ्नो धारणा बदलौं
धेरै तनावहरु हाम्रो धारणाका कारण पनि नोक्सानदायक हुने गर्छ । तनावको सम्बन्ध दिमाग र शरीरसँग समेत जोडिएको हुन्छ । तनावलाई नोक्सानदायक रुपमा हेर्दा यो नोक्सानीको उपज हो भने यसलाई सकारात्मक रुपमा हेर्दा कठिनाई हटाउने उर्जा पनि हो । यहाँ तनावको बारेमा भिन्न भिन्न किसिमको विचारहरु आउने गर्छन् । तर, एक अध्ययनले भने यसको सकारात्मक पक्षलाई पनि केलाएको छ ।
तनाव शरीरको लागि नोक्सानी पुर्याउने खालको मात्रै हुन्छ कि यो फाइदाजनक पनि हुन्छ ? भन्ने सवाल धेरै आएपछि हाडवर्ड विश्वविद्यालयका अन्वेषकहरूले यसको अध्ययन सुरु गरेका थिए । सोही अध्ययनलाई आधार मानेर न्युयोर्क टाइम्सले तयार पारेको रिपोर्टले तनावले नोक्सानी मात्रै नपुर्याएर फाइदा पनि गर्ने उल्लेख गरेको हो । जसका लागि ३ किसिमको समूह तयार पारेर अध्ययन गरिएको थियो ।
जसमध्ये पहिलो समूहलाई अनुसन्धानकर्ताले केही पनि नभनेर केवल भिडियो गेम खेल्न समय दिइएका थिए । यसको अर्थ उनीहरुमा निकै कम तनावको स्थिति थियो । अर्काे समूहलाई आफ्नो मनमा रहेको तनावलाई बेवास्ता गर्ने तरिका सिकाइएको थियो । अर्थात् तनाव भएपनि त्यसलाई भुल्ने तरिका दोस्रो टोलीलाई सिकाईएको थियो । तेस्रो समूहलाई भने केवल विभिन्न किसिमका प्रश्नहरु सोधिएको थियो । यसको अर्थ उनीहरुलाई तनावको चरम सीमामा पुर्याउने प्रयास गरिएको थियो ।
यसरी गरिएको अध्ययन पछि सबैभन्दा धेरै तनाव तेस्रो पक्ष जसलाई प्रश्न सोधिएको थियो । प्रश्नका कारण तनाव बढेर उनीहरुको शारीरिक हाउभाउ नै त्यही अनुसार देखियो । मुटुुको दर सामान्यभन्दा धेरै बढ्ने, सास छिटो छिटो फेर्ने जस्ता असामान्य व्यवहार देखाए ।
त्यसपछि उनीहरुलाई तनावप्रतिको धारणा बदल्ने कोसिस गराईयो । जसमा दोस्रो समूहलाई जस्तै त्यसको बेवास्ता गर्ने, जे कारणले तनाव भएको हो । त्यसको समाधान खोज्ने जस्ता सिर्जनात्मक काममा लगाउन थालियो । उनीहरुको मानसिकतामा नै गाह्रो अवस्थामा तनावले बलियो बनाउँछ भन्ने यकीन गराईएको थियो । अन्तमा तनाव कम गर्न सिकेको समूहले नै राम्रोसँग आफूलाई सिर्जनशील काममा सहभागी गराउन सक्यो । मञ्चमा गएर भाषण दिने र पूर्ण आत्मविश्वासका साथ अरुसँग कुरा गर्ने गर्न थाल्यो । अरुको तुलनामा उनीहरू नै अधिक मुस्कुराए र अधिक शरीरको भाषाले पनि सकारात्मक संकेत गरिरहेको थियो । यो अध्ययनले कसरी शरीरको तनावी प्रतिक्रियालाई जितेर जानसक्छौं ? भन्ने खोजीको साथमा यसलाई शक्तिमा कसरी बदल्ने भन्ने उपाय समेत देखाएको छ ।
यो अध्ययनमा संलग्न स्ट्यानफोर्ड मनोवैज्ञानिक केली म्याकगोनिगल तनावलाई हटाउने उपाय निकाल्न प्रखर थिए । उनी नै कुनैपनि कुरामा हुने सही दृष्टिकोणले मानिसलाई चलाख र बलियो बनाउन सक्छ भन्ने मान्यता राख्थे । डा. म्याकगोनिगलले आफ्नो पुस्तक “द अपसाइड अफ स्ट्रेस : हृवाई स्ट्रेस इज गुड फर यु, एण्ड हाउ टुु गेट गुड एट इट ?’ मा यो सर्वेक्षणबाट साँच्चिकै तनावको बारेमा सोच्ने तरिकालाई परिवर्नन गर्दै तनावलाई व्यवस्थापन गर्नसके यसले शक्ति आर्जन गर्ने विषयलाई समेत उल्लेख गरेका छन् ।
source https://www.onlinekhabar.com/2019/11/807643
0 Comments