साउनको महिना छ । भक्ति आरधानाको महिना हो । यतिबेला तपाईं मठमन्दिर धाउनुहुन्छ, पूजापाठ गर्नुहुन्छ । यावत् विधी सम्पन्न गरिरहँदा तपाईंले आफ्नो बालबच्चालाई सम्झनुहुन्छ ?
सायदै तपाईं यी कुरामा आफ्ना बालबच्चालाई संलग्न गराउनुहुनेछ । आफुसँगै पूजापाठ गरेमा, प्रार्थना गरेमा उनीहरुको पढ्ने समय बर्बाद हुन्छ भन्ने तपाईंलाई लाग्न सक्छ । तपाईंसँगै बच्चा पनि मन्दिर जान चाहन्छन्, पूजापाठ गर्न चाहन्छन्, आरती गर्न चाहन्छन् । यद्यपी तपाईंले उनीहरुलाई त्यसमा अनुमति दिनुहुन्न । भन्नुहुनेछ, अहिले तिम्रो उमेर भएको छैन । अर्थात तिमीले यी सबै गर्नुको कुनै फाइदा छैन ।
बालबालिकालाई हामीले सानै उमेरदेखि पारिवारिक संस्कारमा अभ्यस्त गराउनुपर्छ । पूजापाठ गर्नु, मठ-मन्दिर धाउनु, धुपबात्ती बाल्नु हाम्रो पारिवारिक संस्कारकै एक अंश हुन् । यी कुरामा पनि हामीले बालबालिकालाई अभ्यस्त गराउनुपर्छ । आखिर बालबालिकाले पूजापाठ गर्दैमा के हुन्छ ?
उनीहरुले आफ्नो परिवारको संस्कारलाई बुझ्छन् । यसभन्दा बढी चाहि उनीहरु स्वयम् पनि पूजापाठ, भक्तिभावबाट प्रत्यक्ष लाभान्वित हुनेछन् ।
पूजापाठ गर्नु भनेको मन शुद्धिकरण गर्ने विधी हुन् । पूजापाठ गरिरहँदा हामी कसैप्रति समर्पित, कृतज्ञ हुने गर्छौं । यसबेला हाम्रो मनमा नकारात्मक भाव आउँदैन । यो एक विधी हो । यही विधीमा हामीले आफ्नो बालबालिकालाई पनि अभ्यस्त गराउन सकिन्छ । यसले उनीहरुमा भक्ति भावको पनि विकास हुन्छ । आफुभन्दा ठूला, गन्यमान्य मान्छेप्रति श्रद्धा गर्न सिक्छन् ।
पूजापाठ गर्नुअघि शरीर शुद्धिकरण गरिन्छ । नुहाउने, सरसफाई गर्ने, शुद्ध खानेकुरा मात्र सेवन गर्ने । यी कुराले पनि उनीहरुलाई अनुशासित जीवनमा अभ्यस्त बनाउँछ ।
पूजापाठ गर्ने विशेष विधी एवं तौर तरिका हुन्छन् । घुँडा टेकेर बस्ने, हात जोडेर नमस्कार गर्ने, आँखा बन्द गर्ने । यी शारीरिक क्रिया पनि मनको शुद्धिकरणसँग सम्बन्धित छन् । पूजापाठ गरिरहँदा तपाईंका बच्चाले यी सबै कुरा सिकिरहेका हुन्छन् ।
बालबालिकालाई तपाईंले मन्दिर जान प्रेरित गर्न सक्नुहुनेछ । उनीहरु मन्दिर जानेछन्, त्यहाँको माहौल हेर्नेछन् । पूजापाठ गरेको, धुपबात्ती बालेको देखेर उनीहरुमा कौतुहलता पैदा हुनेछ । आखिर किन यी विधी गरिन्छ ? यसबाट के लाभ हुन्छ ? उनीहरु आफै पनि जान्न उत्सुक रहन्छन् । यतिबेला मन्दिर धाउनु, पूजापाठ गर्नुको महत्व र फाइदाबारे तपाईंले वैज्ञानिक जवाफ दिन आवश्यक छ ।
किन पूजापाठ ?
मन्दिर धाउनु, पूजापाठ गर्नु, धुपबत्ती बाल्नु, प्रार्थना गर्नु । यी सबै काम हामीलाई आडम्बर लाग्छ । ढोंग लाग्छ । पुरातन सोंच लाग्छ । आफुलाई आधुनिक र शिक्षित वर्गमा राख्ने हामी पूजापाठ गर्नु, मन्दिर धाउनु आवश्यक ठान्दैनौं । जबकी यी सबै विधी-विधान गर्नुको वैज्ञानिक महत्व छ । किन मन्दिर धाउने, किन पूजापाठ गर्ने ? यी कुरालाई ठाडै अस्विकार गर्नुभन्दा यसभित्रको महत्व र अर्थलाई बुझ्न जरुरी हुन्छ ।
मन्दिर धाउनु, पूजापाठ गर्नु भनेको मनलाई शान्त तुल्याउनु हो । मनलाई शुद्ध तुल्याउनु हो । मनलाई सकारात्मक तुल्याउनु हो । मनलाई कृतज्ञ तुल्याउनु हो । जब मनलाई शुद्ध गरेर यस किसिमको सकारात्मक भावहरु पैदा गर्नुहुनेछ, तपाईंमा धार्मिक प्रवृत्ति विकास हुनेछ । धार्मिक प्रवृत्ति भनेको देखावटी रुपमा भगवानको भक्ति गर्ने होइन, उनमा मानविय भावनाको विकास हुनु हो । दया, प्रेम, करुणा जाग्नु हो । सकारात्मक दृष्टिकोण बन्नु हो । शान्त एवं सौम्य स्थितीमा रहनु हो ।
source https://www.onlinekhabar.com/2019/08/784993
0 Comments