१४ भदौ, धादिङ । आफूहरुलाई झुक्याएर नेत्र विक्रम चन्द नेतृत्वको समूहको गल्छी गाउँ कमिटीमा राखेको भन्दै पाँच जनाले शुक्रबार जिल्ला प्रहरी कार्यालय धादिङमा आत्मसमर्पण गरेका छन् ।
गाउँमा आएका चन्द समर्थकको कार्यक्रम हेर्न गएका बेला नाम लेखेर राखेको र आफूहरुलाई कुनै जानाकारीसमेत नभएकाले हाल आत्मसमर्पण गरेको उनीहरुले बताएका छन् ।
आत्मसमर्पण गर्नेमा गल्छी गाउँपालिका–३ मुलाबारीका ५३ वर्षीय ध्रुवप्रसाद खनाल, ४२ वर्षीय श्यामबहादुर बयलकोटी, छाँगेटारका ३३ वर्षीय विष्णुप्रसाद खतिवडा, २६ वर्षीय केशवराज खतिवडा र ३८ वर्षीय दीपेन्द्रकुमार श्रेष्ठ रहेका जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजकुमार वैदवारले बताए ।
सो समूह छाडेर आफूहरु स्वतन्त्र हुने र गाउँको विकासमा लाग्ने बताएपछि जिल्ला प्रहरी कार्यालयले प्रत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको थियो ।
source https://www.onlinekhabar.com/2019/08/792458
0 Comments