१४ भदौ, काठमाडौं । पर्साको कालिकामाई– ५ मा खुर्पा प्रहार गरेर ३२ साउनमा मुक्तिनारायण राउत कुर्मीले श्रीमती संगीतादेवीको हत्या गरे । मादक पदार्थ सेवन गरेका राउतले सामान्य विवादमा श्रीमतीको घाँटी रेटेको प्रहरी बताउँछ ।
झापाको कमल गाउँपालिका–१ का प्रकाश थापाले ४ साउनमा चिरपट प्रहार गरेर ७० वर्षीय बुबा सूर्यबहादुर थापाको हत्या गरे । बुबाछोराबीच सामान्य विषयमा झगडा हुँदा घटना भएको झापाका प्रहरी प्रमुख दिनेशराज मैनाली बताउँछन् ।
पोखरामा १ असारदेखि हराइरहेकी लक्ष्मी परियारको शव २५ दिनपछि कर्कले जंगलमा भेटियो । प्रहरी अनुसन्धानपछि १ साउनमा घटनामा संलग्न भएको लक्ष्मीका पति ३५ वर्षीय रमेश नेपालीसहित चारजना पक्राउ परे । कास्की प्रहरीका अनुसार हत्याको कारण सालीसँग रहेको अवैध सम्बन्धबारे लक्ष्मीले चाल पाउनु थियो ।
पछिल्ला यी तीन घटनाले समाजमा अपराधिक मनोवृत्ति कुन हदसम्म मौलाएको छ भन्ने देखाउँछ । पर्सामा ३५ वर्षीया संगीतालाई श्रीमानले घाँटी रेट्नुको कारण मादक पदार्थ मात्र हुनसक्ला ? जन्म दिने बुबाको ज्यान लिन एउटा छोरा किन पछि परेनन् ? उमेरले उत्तरार्द्धमा पुगिसकेका पोखराका रमेशले सालीसँग किन अवैध सम्बन्ध राखे ? हत्या मानिसका लगि किन सहज बन्दै गइरहेको छ ?
यो अपराध र समाजशास्त्रीहरुका लागि पनि खोजीको विषय होला । तर, यिनै तीन घटना पछिल्लो समय समाजमा बढ्दो अपराध श्रृंखलालाई बुझाउन पर्याप्त छन् ।
प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागको तथ्यांकअनुसार आर्थिक वर्ष आर्थिक वर्ष ०७५/०७६ मा ९.५ प्रतिशतले अपराध बढेको देखिएको छ । हत्या, आर्थिक अपराध र बालबालिका तथा जबरजस्तीकरणी सम्बन्धी अपराध ह्वात्तै बढेको देखिएको छ भने अझ गम्भीर पाटो अपराधमा नातेदारकै संलग्नता देखिने क्रम पनि बढ्दो छ ।
तथ्यांक अनुसार सार्वजनिक अपराध भने ३ हजार २ सय ६५ ले घटेको देखिएको छ ।
पहिले गुण्डागर्दी, अहिले साइबर क्राइम
प्रहरी तथ्यांकले अपराधको प्रवृत्ति पनि पछिल्लो वर्षमा फेरिँदै गएको देखाउँछ ।
‘अहिले पहिलेको जस्तो गुन्डागर्दी देखिँदैन भने विद्युतीय र आर्थिक अपराध बढेर गएको देखिन्छ’, केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उमेशराज जोशी भन्छन्, ‘यो प्रविधिको विकासले ल्याएको सजतासँगै भित्रिएको चुनौति पनि हो ।’
जोशीका अनुसार पाँच वर्षअघि आर्थिक वर्ष ०७१/०७२ मा विद्युतीय कसूर तथा साइबर अपराधमा ३५ वटा मुद्दा दर्ता भएका थिए । आर्थिक वर्ष आर्थिक वर्ष ०७५/०७६ मा यो संख्या बढेर १६७ पुगेको छ ।
बैंकिङ कसूर सम्बन्धी अपराधमा पनि यो आर्थिक वर्ष मुद्दा दर्ता संख्या ह्वात्तै बढेर गएको देखिन्छ । आर्थिक वर्ष ०७१/०७२ मा २६ वटा मात्रै बैंकिङ कसूर सम्बन्धी मुद्दा दर्ता भएकोमा अहिले ३ हजार १ सय ६७ मुद्दा दर्ता भएको एसएसपी जोशी बताउँछन् ।
महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुका प्रमुख सहकुलबहादुर थापा भने गुण्डागर्दी घट्नु र सामाजिक अपराध बढ्नुलाई जोडेर हेर्न नसकिने बताउँछन् । ‘अहिलेको टे«ण्डले यस्तो देखाए पनि दुवै विषय फरक हुन्’, एसएसपी थापा भन्छन् ।
अपराधीविरुद्ध प्रहरीको कानूनी कठोरताका कारण गुण्डागर्दी घटेको थापाको दाबी छ । ‘सामाजिक अपराध चाहिँ प्रहरीले चाहेर मात्रै कम हुँदैन । यसमा समाजका हरेक वर्ग जोडिन्छन्’, एसएसपी थापा भन्छन्, ‘यद्यपि, प्रहरीले चेतनामूलक कार्य पनि गरिरहेकै हुन्छ ।’
बढ्दो विद्युतीय अपराधको दरलाई लक्षित गरेर सरकारले साइबर अपराध ब्युरो पनि यसै वर्षदेखि स्थापना गरेको छ । ब्युरोका एसएसपी नविन्द अर्याल भन्छन्, ‘अहिले हरेक किसिमका कसूरमा साइबर अपराध पनि जोडिएर आउने गरेको छ । मानव बेचबिखनदेखि पेडोफाइलका केशसम्ममा साइबर जोडिएर आएका छन् ।’
उनका अनुसार साइबर अपराध बढ्नुमा इन्टरनेटको सहज पुहँचले पनि भूमिका खेलेको छ । ‘अहिले मुलुकको कुल जनसंख्या मध्ये ६४ प्रतिशतभन्दा बढी इन्टरनेटको पहुँचमा छ भने ९८ प्रतिशतसँग स्मार्ट फोन छ’, उनले अनलाइनखबरसँग भने, ‘त्यसैले सामान्य आवेगमा अरुको मान, प्रतिष्ठामा आघात पुर्याउने र चरित्र हत्या गर्ने माध्यम सामाजिक सञ्जाल बन्दै गएको छ ।’
उनले विद्युतीय अपराधको विविध आयाम भए पनि नेपाली समाजको परिप्रेक्ष्यमा फेसबुक, इमो, ह्वाटस एप जस्ता सामाजिक सञ्जाल जोडिएका अपराधलाई साइबर अपराधको पर्याय मान्न थालिएको बताए ।
‘कतिपय अज्ञानताका कारण विद्युतीय अपराधमा संलग्न हुने गरेका देखिन्छन् भने धेरैले रिसिबी साध्ने हतियार बनाइरहेका छन्’, उनी भन्छन् ।
यो पनि पढ्नुहोस अपहरण र फिरौती : १० वर्षे द्वन्द्वले फैलाएको अपराधअपराध संहिताका कारण मुद्दा दर्ता बढ्योः प्रहरी
प्रहरीको अपराध अनुसन्धान विभाग (सीआईडी) का प्रमुख पिताम्बर अधिकारी गत वर्ष १ भदौदेखि जारी मुलुकी अपराध संहितामा भएको बृहत व्यवस्थाका कारण पनि मुद्दा दर्ता संख्या बढेको बताउँछन् ।
‘नयाँ कानूनले कसूरको व्याख्यालाई फराकिलो बनाएको छ । जस्तैः आत्महत्याको घटनामा दुरुत्साहनको व्यवस्था छ, पहिले सार्वजनिक अपराध भनिन्थ्यो, अहिले त्यसअन्तरगत पनि ७/८ वटा व्यवस्था छ’, प्रहरी नायब महानिरीक्षक (डीआईजी) पिताम्बर अधिकारी भन्छन्, ‘यो कानून व्यापक छ । अझै हामी अप्टिमम अभ्यासमा पुगिसकेका छैनौं ।’
आर्थिक अपराध वृद्धि भएको देखिनुमा चाहिँ चेक बाउन्सका मुद्दा हेर्ने अधिकार प्रहरीलाई दिइनु पनि भएको देखिने प्रहरी अधिकृत बताउँछन् । ‘बैंकिङ कसूर अदालतबाट हेर्ने कि प्रहरीले भन्ने चर्चा भइरहन्छ, केही अघि अदालतले दिएको एउटा आदेशसँगै अहिले फेरि आर्थिक अपराधमा मुद्दा दर्ता संख्या घटेको छ’, एक अनुसन्धान अधिकृत भन्छन् ।
सहजै र छिटो धन कमाउने आकांक्षाका कारण पनि आर्थिक अपराध बढेको प्रहरी अधिकृतहरु बताउँछन् । प्रहरीको अपराध नियन्त्रण संयन्त्र चाहिँ कस्तो छ ? १० साउनमा भएको सम्पादकसँगको छलफलमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल ७२.८ प्रतिशत अपराधको अनुसन्धानमा प्रहरीले सफलता प्राप्त गरेको दाबी गरेका थिए ।
डीआईजी अधिकारी अपराधको प्रवृत्ति विश्लेषण गरेर सोही अनुरुप योजना बनाइने गरिएको बताउँछन् । ‘प्रहरी प्रधान कार्यालयदेखि जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयमा समेत निश्चित अवधिको अपराध प्रवृत्तिको विश्लेषण गरिन्छ’, उनले भने, ‘सोही अनुरुप आन्तरिक नीति बन्छन् र बढ्दो क्रममा रहेका अपराधलाई न्यूनिकरणका लागि कार्यक्रम ल्याउने गरेका छौं ।’
प्रहरीले अपराध न्यूनिकरण र रिपोर्टिङ वृद्धिका लागि समुदाय–प्रहरी साझेदारी अभियान पनि सञ्चालन गरिरहेको प्रहरी प्रवक्ता जोशी बताउँछन् ।
यो पनि पढ्नुहोस अपराधमा बर्दीधारी : भगौडादेखि बहालवालासम्मपरिवारभित्रै अपराधी
निर्मला हत्या प्रकरण जस्ता बहुचर्चित घटनाका दोषी पत्ता लगाउन नसक्दा पनि अपराधिक मनोवृत्तिका मानिसले टाउको उठाउने ठाउँ पाएका छन् ।
‘यौन जोडिएका अपराधमा चाहिँ त्यति धेरै होइन, संगठित प्रकृतिका अपराधमा चाहिँ अभियुक्त नसमातिँदा अपराधको श्रृंखला नै चल्ने गरेका देखिन्छ’, प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृत भन्छन् । कतिपय जिल्ला र क्षेत्रमा प्रहरी प्रमुखको कडाइ र विगतको कार्यशैलीले पनि अपराध न्यूनीकरणमा टेवा पुर्याउने गरेको देखिन्छ ।
‘नेपाल प्रहरीको सूचना र अनुसन्धान गर्ने क्षमतालाई नमूना मानिँदै आएको छ’, समाजशास्त्री कैलाशनाथ प्याकुरेल भन्छन्, ‘तर, कतिपय घटनामा बाध्यता वा दबाबले न्याय निरुपण ढिलो हुँदा अपराधीको मनोबल बढिरहेको छ ।’
तर, पूर्वडीआईजी हेमन्त मल्ल ठकुरी भने अपराधका किसिम अनुसार वृद्धि हुनुपछाडिका कारण पनि फरक देखिने बताउँछन् । ‘हरेक अपराधको आ–आफ्नो नेचर र प्याटर्न हुन्छ, सबैलाई एकैठाउँमा राखेर हेर्न मिल्दैन’, उनी भन्छन्, ‘कतिपय सम्बन्धित व्यक्तिसँग जोडिन्छन् भने कतिपय समाजसँग पनि जोडिन्छन् ।’
ठकुरी रिपोर्टिङ बढेको कारण मात्रै अपराध बढेको भन्ने प्रहरीको पुरानै तर्कलाई भने समर्थन गर्दैनन् । उनी भन्छन्, ‘०४६ सालदेखि अहिलेसम्म रिपोर्टिङ बढेको भनेर मात्र हुँदैन । अब गम्भिर अध्ययन जरुरी छ ।’
प्रहरीका लागि टाउको दुखाइको विषय बढेको जबरजस्तीकरणी सम्बन्धी अपराधको दर आर्थिक वर्ष २०७५/०७६ मा ५० प्रतिशतले बढेको देखिन्छ । आर्थिक वर्ष ०७४/०७५ मा १ हजार ४८० बलात्कारका घटना प्रहरीमा दर्ता भए भने यो वर्ष २ हजार २ सय ३३ मुद्दा दर्ता भएको तथ्यांकले देखाउँछ ।
अझ गम्भिर पाटो जबरजस्तीकरणी सम्बन्धी अपराधमा अधिकांश पीडक परिवार र चिनजानकै व्यक्ति रहेको देखिन्छ । प्रहरीका अनुसार चालू आर्थिक वर्षमा दर्ता भएको जबरजस्तीकरणी सम्बन्धी मुद्दामा साथीभाइ र छिमेकीबाट २७ प्रतिशत अपराध भएको तथ्यांकले देखाउँछ ।
त्यस्तै, एकैघर परिवारबाट ४, नातेदारबाट ३, शिक्षक/मालिकबाट ३ र अन्य चिनेजानेका व्यक्तिबाट ३७ प्रतिशत जबरजस्तीकरणीका घटना भएका छन् । नचिनेको व्यक्तिबाट हुने जबरजस्तीकरणीको घटना भने २६ प्रतिशत छ ।
कर्तव्य ज्यान सम्बन्धी कसूरमा पनि परिवारकै सदस्य वा नातेदार दोषी ठहरिएका घटना ३१ प्रतिशत छन् । पछिल्लो चार वर्षको अवधिमा २२ सय हत्याका घटना भए मध्ये ६ सय ८४ वटा घटनामा आफन्त नै संलग्न पाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
यो पनि पढ्नुहोस भाडाका हत्याराः कन्ट्रयाक्ट किलिङको अन्तर्राष्ट्रिय कनेक्सनउदण्ड समाज
समाजशास्त्री प्याकुरेलका अनुसार नेपाली समाज उदण्ड बन्दै गएको छ । उनका अनुसार जनसंख्या वृद्धि, आधुनिकीकरण र शहरीकरणसँगै मानिसले आफ्नो मूल्य, मान्यतालाई भुल्दै गएको छ ।
‘यसले मानिसको जीवनशैलीमा परिवर्तन ल्याएको छ । पहिचान, लाज र डर हराउँदै गएको छ । जसले अनुशासनहीनतालाई बढाइरहेको छ’, प्याकुरेलले अनलाइनखबरसँग भने, ‘वैदेशिक रोजगारीले श्रीमान्–श्रीमतीमा ल्याएको विछोडले पनि विवाहेत्तर सम्बन्धसहितका यौन अपराधलाई बढाइरहेको छ ।’
महँगीसँगै बढ्दो आकांक्षालाई परिपूर्ती गर्ने ध्याउन्नमा मानिस गलत कार्यतिर लागि रहेको उनी बताउँछन् । ‘पहिले ताल्चा नलगाइ बाहिर निस्किन सकिने समाजमा अहिले पसलमा निस्किँदा पनि ढोका नलगाई हिँड्न सकिँदैन’, उनी भन्छन्, ‘एक हिसाबले समाजमा परिवर्तन नै छिटो भएको जस्तो पनि देखिन्छ ।’
जसले नैराश्यता, मानसिक समस्या र अपराधलाई जन्म दिइरहेको प्याकुरेलको बुझाइ छ । मनोविद् गोपाल ढकाल पनि अपराधसँग मनोवैज्ञानिक पाटो पनि जोडिएर आउने बताउँछन् ।
‘गरिबी, बेरोजगारी, राजनीतिक अस्थिरता लगायतका कारण मानिसमा फ्रस्टेसन जान्छ, जसले मानसिक रोगलाई जन्म दिन्छ’, उनले अनलाइनखबरसँग भने, ‘अहिले थुप्रैमा एन्टी सोसियल पर्सानलिटी भन्ने रोग देखिएको छ । जुन रोग लागेका विरामी सधैं अपराध गर्न उत्प्रेरित भइरहन्छन् ।’
अहिलेको समाज संक्रमणकालमा रहेको बताउँदै उनी भन्छन्, ‘राज्यसहित समाजका हरेक तह, तप्काले यस विषयमा सोच्नु जरुरी छ । किनकि, मानसिक रुपमा अस्वस्थ व्यक्तिले नै अपराध गर्ने हो ।’
निराशाले मानिसलाई मादक पदार्थको दलदलमा ठेलिरहेको छ, जसले बलात्कार र हत्या जस्ता जघन्य प्रकृतिका घटनालाई पनि बढाइरहेको छ ।
source https://www.onlinekhabar.com/2019/08/792498
0 Comments