१२ भदौ, दाङ । प्रा.डा. विश्वनाथ यादव राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङका रेक्टर हुन् । उनलाई ‘पोषण गृह कब्जा गरेर बसेको’ र प्रतिष्ठानविरुद्धको आन्दोलनलाई समर्थन गरेको आरोप छ । यसअघि उपकुलपति प्रा.डा. संगिता भण्डारी आफैंले अनलाइनखबरसँगको अन्तर्वार्तामा यादवमाथि यस्तो आरोप लगाएकी थिइन् ।
उपकुलपतिपछिको दोस्रो वरियतामा रहेका यादव भने भण्डारीको आरोप स्वीकार गर्न तयार छैनन् । प्रतिष्ठानले भनेको ठाउँमा नै आफू बसेको, तर बदनाम गराउन गलत हल्ला फैलाइएको उनको दाबी छ ।
भण्डारी पैसा खुवाएर उपकुलपतिमा नियुक्त भएको र अहिले त्यही पैसा उठाउने काम गरिरहेको यादवको आरोप छ । उपकुलपति भण्डारीबाट आफू पीडित भएको बताउँदै उनले भने, ‘मेरो किचनका सामानसमेत म नभएका बेला चोरको शैलीमा उठाएर लैजानुभयो । मानसिक यातना सहेर, पीडित भएर बसिराछु । उहाँले जे-जे भन्यो, त्यही नमानेको सजायँ भोगिरहेको छु ।’
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको अवस्था र उपकुलपति भण्डारीको कार्यशैलीबारे रेक्टर यादवसँग गरिएको कुराकानी :
विरामीको उपचार गर्ने संस्थालाई तपाईंहरुले उल्टै बिरामी बनाइदिनुभयो, किन ?
कारण ठूलो पनि छैन, सानै छ । तर, एउटै व्यक्तिको जिद्दीले, एउटै व्यक्तिको उत्पीडनले, रुढीवादी सोचले, टर्चरले गर्दा हाम्रा डाक्टरसाबहरु राजीनामा दिन बाध्य हुनुभयो । यो बडो दुःखलाग्दो कुरा हो ।
एउटै व्यक्ति भन्नाले ?
हाम्रो यहाँको भीसी (संगीता भण्डारी) । नेपालमा जोसुकै पावरमा आवस्, उहाँ आफ्नो जिद्दीबाट पछि हट्नुहुन्न । उहाँजस्तो खराब भीसी मैले देखेको छैन । उहाँ जहाँजहाँ जानुभएको छ, त्यहाँ त्यहाँ समस्या खडा भएको छ । पाटनमा पनि समस्या पार्दिनुभयो । बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि कारबाहीमा पर्नुभएको हो । उहाँ भएको संस्था सामान्य तरिकाले कहीँ पनि चलेको छैन ।
व्यक्तिलाई आरोप लगाएर मात्र हुन्छ र ? त्यसको आधार र प्रमाण के छ ?
उहाँकै कारण प्रतिष्ठानमा भ्रष्टाचार र अनियमितता मौलाएको कुरा संसदीय छानविन समितिले र बुर्लाकोटी संयोजकत्वमा मन्त्रालयले गरेको छानविनले डेढ-दुई महिना अगाडि ठहर गरेको छ नि । पत्रपत्रिकाहरुमा पनि समाचार आइरहेका छन् ।
यो सब परिस्थिति आउनुमा पदाधिकारीको नाताले तपाईं पनि त जिम्मेवार हुनुहुन्न ?
मैले त समस्या समाधानको पहल गरिरहेको छु । सम्पूर्ण डाक्टरहरु काममा फिर्ता भएर विरामीको सेवा गर्नुपर्छ भनेको छु । तर अहिले पनि राणाशाही, तानाशाही, रुढिवादी सोच उहाँको दिमागबाट हटेको छैन ।
यो पनि पढ्नुहोस राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका ९ डाक्टर बर्खास्तसद्दाम हुसेनको जस्तो विचारको मान्छे हो उहाँ । अहिले पनि कर्मचारीहरुलाई पेलेर काम लगाउँछु भन्ने सोचले पनि संस्था चल्छ र ? आफ्ना विरोधीहरुलाई पनि खुुसी बनाएर काम लिन सक्ने पो सही नेतृत्व हो । डर धम्की देखाएर, त्रासमा राखेर पनि संस्था चल्छ र अब ? देशमा राणाशासन सकिएर, राजतन्त्र सकिएर, लोकतान्त्रिक गणतन्त्र आएको कुरा उहाँले बुझ्नुपर्दैन ?
राम्रोसँग प्रशासन चलाउन त कठोर पनि बन्नुपर्छ, होइन र ?
राम्रो हुने भए त राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बन्द हुने स्थितिमा किन पुग्थ्यो ? किन उहाँविरुद्ध सबै डाक्टर, दाङका जनता, जनप्रतिनिधि उत्रिन्थे ? दाङकै सांसदहरुले दिनदिनै संसदमा भीसीको कारण प्रतिष्ठान बिग्रियो किन भन्थे ? ५०-६० जना मान्छे आएर ज्ञापनपत्र बुझाउँदै छिटो राजीनामा दिनुस् भनेको कुरा पनि तपाईंलाई थाहै छ होला ।
यो पनि पढ्नुहोस ‘आन्दोलनको तरिकै भएन, डराएर पद छाड्दिनँ’तपाईं प्रतिष्ठानमा आएको कति भयो ?
म आएको सात महिना भयो ।
तपाईं आफैं पोष्टमार्टम विशेषज्ञ पनि हुनुहुन्छ, प्रतिष्ठानमा पोष्टमार्टम सेवा बन्द हुँदा तपाईंले के गर्नुभयो ?
म डाक्टर भएर काम गर्न आएको हो र ? पदाधिकारी भएर काम गर्न आएको हुँ । मेरा आफ्नै जिम्मेवारीहरु छन् । पोष्टमार्टम गर्ने त थिए नि, तर कामै गर्न दिइएन । सबैलाई राजीनामा दिन बाध्य पारियो । धम्काउने, थर्काउने, स्पष्टीकरण सोध्ने, घरघरमा पुगेर अवकास पत्र दिने काम गरियो ।
बिरामीको उपचार गर्ने डाक्टर नै मानसिक तनावमा परेपछि कसरी काम गर्न सक्छ ? त्यही भएर सबै डाक्टरहरुले सामूहिक राजीनामा दिए । पोष्टमार्टम सेवासमेत बन्द भयो । बालबालिकाको उपचार सेवा बन्द भयो । प्रसूति सेवा पनि छैन ।
यो पनि पढ्नुहोस राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टरहरुद्वारा सामूहिक राजीनामाबालबालिकाको उपचार गर्ने पोषण गृह नै तपाईंले कब्जा गरेर बसिदिनुभयो रे नि त ?
मैले कब्जा गरेको होइन । यो त मलाई बदनाम गराउन फिँजाइएको हल्ला हो । आज डिटेलमा भन्छु ।
म दाङमा आइसकेपछि उहाँहरुले १५-१६ दिन जति होटलमा राख्नुभयो मलाई । मलाई होटलमा बसिराख्न मन लागेन । म सुगर, प्रेसरको बिरामी भएकाले खाना पनि मिलेन । त्यसपछि मलाई डेराको व्यवस्था गर्दिनुस्, आफैं पकाएर खान्छु भनें ।
मलाई रजिष्ट्रार सरले पोषणगृह छ, त्यहीँ बस्नुस् भन्नुभयो । म हेर्न आएँ । पोषण गृह लेखे पनि त्यो भवन प्रयोगमा आएको थिएन । तर मैले भोलि प्रश्न उठ्ला भनेर म यहाँ बस्दिनँ भनें । उहाँहरुले होइन, यो भवन हामीलाई हस्तान्तरण भइसकेको छ । यहाँका बच्चाहरुलाई पनि हस्पिटलमै छुट्टै वार्डको व्यवस्था गरेर राखिएको छ । पोषण गृहमा दुई-तीन जना डाक्टरहरु बसेकै छन् । एउटा अलि ठूलो कोठा रोजेर तपाईं बस्नुस्, केही फरक पर्दैन भन्नुभयो ।
मैले पछि कुनै किसिमको अप्ठ्यारो हुने, कसैले प्रश्न उठाउने नहोस् भनें । उहाँहरुले पनि उठ्दैन, यो हाम्रै बिल्डिङ हो, खाली नै छ, आरामले बस्नुस् भन्नुभयो । पछि अन्तै डेरा खोजिदिने सर्तमा केही दिनका लागि भनेर म त्यसमा बसेको हुँ । अहिले त कब्जा गरेर बसेको भनेर भ्रम छरिरहनुभएको छ ।
क्वाटरमा को को बस्नुहुन्छ ?
म एक्लै बस्छु । बस्ने राम्रो क्वाटर छैन, कसरी परिवार ल्याउने ? क्वाटरमा एउटा टिभी पनि छैन । जनावर बस्ने जस्तो कोठामा मलाई राख्या छन् । म जनावर त होइन नि, मान्छे नै हुँ ।
भीसीले चाहिँ सिंगो घर नै भाडामा लिएर बस्नुभएको छ । भाडामात्रै ४०/४५ हजार छ । घरभित्र हरेक सुविधा छन् । तल पनि टीभी छ, माथि पनि टीभी छ । वाशिङ मेसिन छ, फ्रिज, ओभन, इन्भर्टर, जेनेरेटर सबै छ । तर, मेरा लागि डेरा नै खोजिदिँदैनन् । पटक-पटक मैले पोणगृहबाट सर्छु, मलाई डेरा खोजिदिनुस्, यदि खोज्नुहुन्न भने म आफैं खोज्छु पनि भनें । तर, उहाँहरुले सुन्नुभएन । कुन दिन यहाँबाट हिँडौंजस्तो भइसक्यो ।
क्वाटरमा आफैं पकाएर खानुहुन्छ कि ? सहयोगी कोही छ ?
कहाँ सहयोगी दिनु ? किचनसमेत छैन । पहिले त तल किचन थियो, माथि म बस्थें । एक दिन त म नभएको बेलामा किचेनका सबै सामान उठाएर लगेछन् । चोरको शैलीमा ग्यास सिलिण्डर, चुल्हो, भाँडाकुँडा सबै सामान निकाले । पानी फिल्टर गर्ने अक्वा गार्डसमेत छोडेनन् ।
त्यसबेलादेखि क्वाटरको किचेनमा खान पनि बन्द भयो । कहिले होटलमा, कहिले आफन्त, साथीभाइको घरमा खान्छु । एक त सुगर, प्रेसरको बिरामी, त्यसमा पनि बाहिरको खानाले झन् बिरामी पर्न थालें ।
क्वाटरमा बस्न मन नलागेपछि प्रतिष्ठानको मुख ताकिराख्नुपर्छ र ? तपाईं आफैं डेरा खोजेर सर्न सक्नुहुन्छ नि ?
प्रतिष्ठानको सेकेण्ड म्यान भएको नाताले, पदाधिकारी भएको नाताले, मेरो बसाइको जिम्मा त प्रतिष्ठानले लिनुपर्यो नि । फेरि म दाङमा नयाँ हुँ, सबै कुरा बुझ्दैछु । त्यही भएर प्रतिष्ठानले अलिकति सुविधा दिएर डेरा खोजिदिनुपर्दैन ? उहाँहरुले प्रतिष्ठानबाटै पैसा दिएर काम गर्ने मान्छे राख्नु भएको छ । मेरोचाहिँ किचनको सामान पनि उठाएर लगिदिने ?
उहाँहरु त जतिसक्यो चाँडो यो यहाँबाट भागे हुन्थ्यो भन्ने चाहानुहुन्छ । यो संकेत मैले चार महिना अगाडि नै पाइसकेको थिएँ । तर पनि मलाई सरकारले प्रतिष्ठान बनाउन भनेर दाङ पठाएकाले यी सब दुःख झेलेर, मानसिक यातना सहेर, पीडित भएर बसिराछु । उहाँले जे-जे भन्यो त्यही नमानेको सजायँ भोगिरहेको छु ।
तपाईंलाई त प्रतिष्ठानले रझेनामा डेरा खोजिदिएको थियो होइन र ? किन जानुहुन्न त त्यहाँ ?
मेरा लागि न गाडीको व्यवस्था छ, न सहयोगीको व्यवस्था छ । त्यति टाढाबाट घोराही बजारसम्म हिँडेर आउजाउ गर्न सम्भव हुन्छ ? लामो बाटो हिँड्दै अफिस आउने, अफिस सकेर फेरि हिँड्दै डेरामा जाने, खाना पकाउने, खाने गर्न सकिन्छ ? दुई-चार दिन सकिएला, तर लामो समयसम्म त सकिँदैन ।
प्रतिष्ठानका तीन-तीनवटा गाडी आफूले कब्जा गर्ने, अरुलाई छुनै नदिने अनि मलाई पैदल आउजाउ गर् भन्ने ? तपाईं आफैं भन्नुस् म ६० वर्ष पुगिसकेको मान्छेले यो घाममा दिनहुँ तीन-चार किलोमिटर पैदल आउजाउ गर्न सक्छ ? यो त व्यवहारिक भएन नि ।
उहाँहरुको उद्देश्य यसैगरी अप्ठ्यारोमा पारिराख्ने र मलाई धपाउने भन्ने छ । उहाँहरुले रझेनाको डेरामा जाऊ भनेको पनि यहाँबाट यो भागोस् भनेर हो ।
तपाईंलाई हाजिर भएदेखि नै भीसीले फरक व्यवहार गर्नुभयो कि पछि मात्र यस्तो भयो ?
एक महिनासम्म फरक व्यवहार थिएन । त्यसपछि विस्तारै फरक हुँदै गयो । उहाँले हेप्न थाल्नुभयो । त्यो कुरा मैले बुझ्दै गएँ । दोस्रो महिनासम्म पनि ठीकठीकै थियो, तर तेस्रो महिनापछि पूर्णरुपमा उहाँले फरक व्यवहार गर्न थाल्नुभयो ।
काठमाडौंमा म सहभागी हुनुपर्ने एउटा कन्फ्रेन्स थियो, त्यहाँ पनि जान दिइएन । म पोष्टमार्टम विशेषज्ञ भएकाले कहिलेकाहीँ अदालतहरुले बोलाउँछन्, तर अदालतमा पनि जान दिँदैनन् । कतै जानैपर्ने काम परेर विदा माग्दा पनि स्वीकृत नगरिदिने । आफू भने अधिकांश समय काठमाडौंमा बसिदिने । एक-डेढ महिनामात्र त भयो भीसी घोराही आएको ।
यो पनि पढ्नुहोस डाक्टरको सामूहिक राजीनामापछि आफैं विरामी जाँच्दै उपकुलपति भण्डारीएकतर्फी फरक व्यवहार त कमै हुन्छ, तपाईंमा पनि त केही कमजोरी छ होला नि त ?
म उपेन्द्र यादवको नजिकको मान्छे भन्ने कुरा सायद उहाँलाई कतैबाट थाहा थियो होला । स्वास्थ्यमन्त्रीसँग सम्बन्ध भएकाले मैले प्रतिष्ठानका लागि ठूलो बजेट ल्याउन सहयोग गर्छु भन्ने उहाँको आशा थियो । धेरै बजेट आयो भने हालीमुहाली गर्न पाइन्छ भन्ने लोभ थियो उहाँलाई । तर, मैले गलत कुराको विरोध गरें । त्यसपछि उहाँले मलाई धपाउने खेल सुरु गर्नुभयो । मोटो रकम बुझाएर नियुक्ति भएको हुनाले उहाँले अहिले त्यो पैसा उठाउने काम गरिरहनुभएको छ ।
तपाईंले सिनेटमा पो यस्ता कुरा राख्ने हो त, आरोप प्रत्यारोपमा उत्रिएर हुन्छ र ?
मैले सिनेटमा पनि यहाँका सम्पूर्ण समस्या र समाधानका उपायहरु लिखित रुपमा राखेको छु । सिनेटमा मैले बोलेन भने अन्त कहाँ बोल्ने ? हाम्रो त मुख्य फोरम नै सिनेट हो ।
त्यसकारण मैले पहिले भएका छानविन प्रतिवेदन कार्यान्वयन होस्, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई धरासायी हुनबाट जोगाइयोस्, मैले राखेका समस्याहरु समाधान होस् भनेको थिएँ । मुख्य समस्या नै भीसी हो । उहाँलाई नहटाएसम्म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुधार आउँदैन ।
यो कुरा मैलेमात्र भनेको होइन, स्थानीयबासीले पनि त्यही भन्छन्, राजनीतिक दलका नेताहरुले त्यही भन्छन्, जनप्रतिनिधिहरुले त्यही भन्छन् । छानविन प्रतिवेदनहरुले पनि त्यही भनेका छन् । तर, एक्सन हुँदैन । यहाँ बस्नै मन लाग्न छाडिसक्यो । काम गर्ने वातावरण माथिबाट पनि बनाइएन ।
यो पनि पढ्नुहोस राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रारलाई दुर्व्यवहार, प्रहरीमा किटानी जाहेरीअब के गर्नुहुन्छ ? प्रतिष्ठान बनाउन भनेर आएको मान्छे सुख भएन भनेर भाग्नुहुन्छ ?
हो, म प्रतिष्ठान बनाउन भनेरै आएको हुँ । मलाई घुस चाहिँदैन, कमिसन चाहिँदैन, इज्जतका साथ पूरै चार वर्ष बस्छु भनेर आएको हुँ । तर, यहाँ राम्रो गर्छु भन्नेलाई टिक्नै दिनुहुन्न । मभन्दा अगाडि प्रोफेसर रतिन्द्र श्रेष्ठ रेक्टर बनेर आउनुभएको थियो । उहाँलाई पनि यहाँबाट धपाइएको हो । उहाँ त १५-२० दिनमै फिर्ता जानुभयो । उहाँले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यो-यो समस्या भएकाले बस्न सक्ने अवस्था रहेन भनेर प्रधानमन्त्री कार्यालयमा र मन्त्रालयमा लेखेर दिनु भएको छ । तर, केही सुनुवाइ भएन ।
मलाई सबैले मानुन्, मलाई पूजा गरुन्, मेरो चाकडी गरुन् भन्ने चाहानु हुन्छ भीसी । यतिसम्म कि म शिक्षाध्यक्ष हुँ, तर शिक्षाध्यक्षले गर्ने कुनै काम गर्न दिनुहुन्न । प्रश्नपत्र बनाउने, परीक्षा लिने, अन्तरवार्ता लिने, उत्तरपुस्तिका जाँच्नेलगायतका तमाम कामहरुको जिम्मा शिक्षाध्यक्षको हुन्छ । बढुवाको अन्तरवार्ता पनि मैले लिने हो । तर त्यो पनि मलाई नभनिकन जुनियर भाइहरुबाट गराइरहनु भएको छ । शिक्षाध्यक्षबाट हुनुपर्ने धेरै कामहरुमा मलाई सहभागी गराइँदैन ।
यो पनि पढ्नुहोस राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति र शिक्षाध्यक्षबीचको लफडा उत्कर्षमाअधिकार खोसिएको कुरा गर्नुहुन्छ, अनि कानुनी उपचार किन खोज्नुहुन्न ?
कोर्टमा गएँ भने त मैले न्याय पाउँछु नै । तर, म गएको छैन । म आन्तरिकरुपमै मिलोस् भन्ने चाहेर सबै सहेर बसिरहेको छु । तर, भीसीको व्यवहारले मिल्ला जस्तो संकेत देखेको छैन । सरकारको, प्रतिष्ठानको नियम कानुन एकातिर छ, उहाँको मनको नियम कानुन अर्कोतिर छ । भर्खरै गरिएको नियुक्तिले पनि त्यो कुरालाई पुष्टि गर्छ ।
कस्तो नियुक्ति ?
यहाँ भर्खरै एकजनालाई डीन र एकजनालाई डाइरेक्टर बनाइएको छ । डिनका लागि प्रोफेसर हुनुपर्छ र प्रोफेसर भइकन पनि ६ वर्षको अनुभव चाहिन्छ । अनि डाइरेक्टर हुनका लागि पनि एसोसियट प्रोफेसर वा प्रोफेसर भएको ६ वर्षको अनुभव चाहिन्छ । तर, योग्यता नपुगेका डाक्टरलाई डिन र प्रोफेसर नियुक्त गरियो ।
अस्तिको मिटिङमै मैले योग्यता नपुगेको व्यक्तिलाई किन नियुक्ति दिनुभयो भनेर भनिदिएँ । म्याडमले के भन्नुभयो भने, यस्ता कुरा गर्नु हुन्छ भने म यो मिटिङमा बस्दिनँ, जान्छु भनेर उठ्नुभयो ।
अस्पताल कसरी खुलाउने भन्ने विषयमा छलफल गर्न बोलाइएको बैठकमा तपाईंले नियुक्तिको कुरा गर्दिनु हुन्छ अनि कसरी हुन्छ त ?
तपाईंले भनेको कुरा एकदम ठीक हो । अरुले अस्पताल बन्दको अवस्था छ, त्यतातिर छलफल गरौं, यो विषयमा अहिले प्रवेश नगरौं भन्नुभयो । मैले पनि हुन्छ, छलफल गरौं भनें ।
तर, अस्पताल बन्द हुने स्थिति किन आयो त ? किन डाक्टरहरु सबैले राजीनामा दिए ? भन्ने प्रश्नको उत्तर खोज्दै जाने हो भने त फेरि उत्तर त त्यही आउँछ, भीसीकै कारणले । उहाँकै गलत कार्यशैलीको कारणले गलत परिणाम आइरहेको छ ।
अनि बैठकमा अस्पताल खुलाउने विषयमा सहमति वा निर्णय केही भयो ?
बैठकमा अस्पताल व्यवस्थापन समिति, नागरिक समाजका प्रतिनिधि सबै आउनु भाथ्यो । उहाँहरु सबैले यो परिस्थिति आउनुहुँदैनथ्यो । डाक्टरहरुले के गरे, के गरेनन् भनेर मानिसहरुले हेर्दैनन् । मानिसहरुले म्यानेजमेन्टलाई हेर्छन् । नेतृत्वको कारण यस्तो अवस्था आयो, जनताले छिटो उपचार सेवा पाउने वातावरण बनाउनुपर्यो भन्ने कुरा भयो ।
यो पनि पढ्नुहोस राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई खेल मैदान नबनाउन प्रधानमन्त्रीको चेतावनीsource https://www.onlinekhabar.com/2019/08/791922
0 Comments