१५ भदौ, काठमाडौं । रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीले शनिबार अपराह्न जावलाखेलको स्टाफ कलेजमा एउटा अन्तरक्रिया आयोजना गर्यो । ‘साझा नीति बहस’ को पहिलो श्रृंखलाका रूपमा आयोजित अन्तरक्रियात्मक कार्यक्रमको विषय थियो– ‘समृद्धि कस्तो र कसरी ?’
‘कैयौं देशहरुमा राष्ट्रिय सुरक्षा र कूटनीतिको विषय पार्टीगत स्वार्थभन्दा माथि रहन्छ’ कार्यक्रमको सुरुमा बोलेका झापा पार्टीका संयोजक रविन्द्र मिश्रले भने, ‘अब नेपालको परिप्रेक्ष्यमा पनि विकास र समृद्धिको मुद्दामा पार्टीगत हित र सीमाभन्दा माथि रहनुपर्छ भन्ने हाम्रो मान्यता हो ।’
विकास र समृद्धिको मुद्दामा दलहरुवीच साझा धारणा खोज्ने उद्देश्यले आयोजना गरिएको अन्तरक्रियाका पाहुना थिए– पूर्वअर्थमन्त्रीद्वय डा. रामशरण महत र सुरेन्द्र पाण्डे । साथमा थिइन् राष्ट्रिय योजना आयोगकी पूर्वसदस्य एवं राष्ट्रियसभा सदस्य डा. विमला पौडेल ।
कार्यक्रममा प्रमुख वक्ताका रुपमा वरिष्ठ पत्रकार कनकमणि दीक्षितलाई निम्त्याइएको थियो । दीक्षितले नेपालमा समृद्धिको खाका कस्तो हुनुपर्छ र कसरी प्राप्त गर्ने भन्ने खाका प्रस्तुत गरे ।
समृद्धिको साझा सूत्रहरु खोज्ने भनिए पनि कार्यक्रममा समृद्धिका शत्रुहरु खोज्ने प्रयास बढी देखियो । कांग्रेस नेता महत आफ्नो सरकारका पालामा भएका कामको बचाऊ तिर लागे भने नेकपा नेता पाण्डे समाजवादको विश्लेषण र व्याख्यातिर लागे । नेपालको समृद्धिको सूत्र के हो भन्ने स्पष्ट विचार नेताहरुबाट खासै आउन नसकेको एक सहभागीले बताए ।
तर, पत्रकार कनकमणि दीक्षितले भने केही व्यवस्थित ढंगले आफ्ना विचारहरु प्रस्तुत गरेका थिए ।
हरेक ९ महिनामा चिलाउन थाल्छ !
दीक्षितले समृद्धिको यात्राका लागि केही आधारहरु पस्कने प्रयास गरे । जस्तो– उनले धर्मनिरपेक्षता, संघीयता, समावेशी प्रणाली र गणतन्त्रलाई यताउता गर्न खोजियो भने समृद्धिको यात्रा अवरुद्ध हुने बताए ।
‘संविधानको जुन संरचना छ, धर्म निरपेक्षता, संघीयता, समावेशिता र गणतन्त्र, यसलाई अहिले माथि–तल गर्न थाल्यौं भने तपाई बुझ्नोस्, नेपालमा के– के हुन्छ, के– के हुन्छ’ दीक्षितले भने, ‘एउटा ठूलो दलको महामन्त्रीले समेत यसको खिलाफमा बोलिसक्नुभयो । कतिपय नेताहरुले त आफैंले सही गरेको संविधानको अपनत्व लिन सक्नुभएको छैन, तपाई–हामीले यसको अपनत्व लिऔं ।’
नेपालमा १० वर्षे संक्रमणकालको अस्थिरताले गर्दा हरेक ९ महिनामा सरकार फेरिए हुन्थ्यो जस्तो खसखस लाग्ने गरेको बताउँदै उनले अर्को चुनावसम्म पर्खन र चुनावको तयारीमा लाग्न विपक्षीहरुलाई सुझावसमेत दिए ।
उनले अगाडि भने, ‘हरेक नौमहिनातिर हामीलाई उकुसमुकुस हुन थाल्छ, कि यो सरकार गइदिए पनि हुन्थ्यो’ दीक्षितले भने, ‘यो हरेक नौमहिनातिर हामीलाई उकुसमुकुस हुन थाल्छ, हामीलाई हरेक नौ महिनामा यो जेनेटिक प्रोग्रामजस्तै भइसक्यो ।’
‘अंग्रेजीमा सेभेन इयर इच भन्ने चलचित्र छ । नेपालमा चाहिँ नाइन मन्थ इच ! ९ महिना पुगेपछि चिलाउन थाल्छ ! यो हाम्रो बानी नै भइसक्यो’ पत्रकार दीक्षितले भने, ‘यो सरकारको प्रतिरक्षा गरेको नठान्नुहोला, हामीले यो इच (चिलाइ) बाट हामी मुक्त हुनुपर्छ ।’
दीक्षितले अहिले सामाजिक सञ्जालमा दक्षिणपन्थ हावी भइरहेको बताउँदै उदार तानाशाहको खोजी गर्न बन्द गर्नुपर्ने बताए ।
अहिले नेपाली सेनाले सिभिलियन बन्न खोजिरहेको बताउँदै दीक्षितले समृद्धिका लागि सेनाको संख्या घटाएर खर्च कटौती गर्नुपर्ने बताए । त्यसैगरी विप्लवका क्रियाकलापप्रति वौद्धिक समुदायले कडारुपमा प्रस्तुत हुनुपर्ने बताए ।
यो पनि पढ्नुहोस ‘उदार तानाशाह नखोजौं, सेनाको संख्या घटाऔं’कार्यक्रममा नेपाली कांग्रेसका नेता डा. रामशरण महतले ०४८ सालपछि आफ्नो दलको सरकारले अपनाएको आर्थिक नीतिको बचाऊ गर्ने प्रयास गरे । उनले कांग्रेसको नेतृत्वकालमा देश समृद्धितर्फ अघि बढेको दाबी प्रस्तुत गरे ।
सत्तारुढ नेकपाका सांसदसमेत रहेका सुरेन्द्र पाण्डेले चाहिँ दलाल पुँजीवाद समृद्धिको बाधक बनिरहेको बताउँदै त्यसलाई परारस्त गर्नतिर लाग्नुपर्नेमा जोड दिए । पुरानो मोडेलको उदारवाद पनि विश्वमा नरहेको र सोभियत मोडेलको समाजवाद पनि असफल भएको भन्दै पाण्डेले अहिले पुँजीवाद र समाजवादवीचको दुरी छोटिएको बताए ।
अहिलेको राजनीतिक नेतृत्वमा स्तरीय सडक बनाउने सीपको खाँचो रहेको भएता पनि नेताहरुले जेलको अनुभव सुनाउने गरेको बताउँदै पाण्डेले आवश्यकता र पढाइका वीचमा तालमेल नमिलेको बताए ।
विकास मामिलाकी जानकार डा. विमला पौडेलले समृद्धि भनेर मात्र नपुग्ने बताउँदै सीमान्तीकृत समुदाय, महिला लगायतले त्यसको महसुस गर्न पाउने किसिमको समृद्धि चाहिने बताइन् ।
साझा पार्टीका नेता रविन्द्र मिश्रले राजा वीरेन्द्रको १८ वर्षे शासनमा पनि विकासको मूल नफुटेको भन्दै राजतन्त्रकालको आलोचना गरे । मिश्रले भने, ‘पञ्चायतकालमा, कतिपय साथीहरुले भनेको हामी बारम्बार सुन्छौं, राजा वीरेन्द्र एकदम असल राजा थिए । उनी असल थिए कि थिएनन्, आ–आफ्नो विश्लेषण होला । तर, राजा वीरेन्द्रका पालामा १८ वर्षसम्म एकछत्र शासन गर्दा पनि नेपालमा विकासको मूल फुटेन । त्यो समयमा संसारका अन्य देशहरुमा हेर्ने हो भने तीव्ररुपमा आर्थिक विकास भएको देखिन्छ ।’
मिश्रले अगाडि भने, ‘विकास र समृद्धि नेपालले किन हासिल गर्न सकेन ?.. कसरी र के कारणले गर्दा विकास र समृद्धि भएन ? हामीले चाहेको के हो र यो कसरी आउँछ भन्ने विषयलाई बहसमा लैजान आवश्यक छ ।’
source https://www.onlinekhabar.com/2019/09/792629
0 Comments