१५ साउन, काठमाडौं । नुवाकोट र रौतहटका वडा कार्यालयमा अज्ञात समूहले बम विस्फोट तथा आगजनी गरेका छन् ।
नुवाकोटको ककनी गाउँपालिका–१ को वडा कार्यालयमा अज्ञात समूहले गएराति बम विस्फोट गराएका हुन् । विस्फोटबाट वडा कार्यालयका महत्त्वपूर्ण उपकरण तथा कागजपत्र जलेका छन् ।
गाउँपालिकाकी उपाध्यक्ष सीता खतिवडा लामाले बम विस्फोट भएको पुष्टि गर्दै वडा कार्यालयमा रहेका कागजपत्र, कम्प्युटरलगायतका महत्त्वपूर्ण सामग्री जलेको जानकारी दिइन् ।
बम विस्फोटमा विप्लव समूह संलग्न रहेको अनुमान गरिए पनि यो समूहले अहिलेसम्म यसको जिम्ममा लिएको छैन ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
त्यसैगरी, विप्लव समूहको बन्दको पूर्वसन्ध्यामा रौतहटको एक वडा कार्यालयमा पनि आगजनी भएको छ । चन्दपुर नगरपालिकाको गैंडाटारमा रहेको वडा कार्यालयमा गएराति १ बजे अज्ञात समूहले आगजनी गरेको हो ।
आगजनीबाट फर्निचर, कम्प्युटर, प्रिन्टरलगायतका सामान जलेर नष्ट भएका छन् ।
नुवाकोटमा जस्तै रौतहटमा पनि आगजनी गर्ने पक्षले अहिलेसम्म जिम्मा लिएको छैन ।
source https://www.onlinekhabar.com/2019/07/784598
0 Comments