१४ साउन, काठमाडौं । चार वर्षअघि भारतले अघोषित नाकाबन्दी लगाउँदा नेपालमा कोलाहल मच्चियो । इन्धनदेखि तरकारीसम्मको अभाव सिर्जना भयो । त्यसबाट सरकारले पाठ सिक्ने अपेक्षा गरिएको थियो । तर, स्थिति अहिले पनि त्यही नै छ ।
नेपालको वैदेशिक व्यापार भारतीय नाकामा केन्द्रित हुँदै आएको छ । त्यसैले भारतले केही दिन नाका थुनिदियो भने नेपालीको भान्सा बन्द हुन्छ । नाकाबन्दी कालमा नेपालको वैदेशिक व्यापारमा भारतीय ‘एकाधिकार’ तोड्नुपर्ने बहस प्रारम्भ भएको थियो । उत्तरतर्फका नाकाहरु खोल्न सरकारले चुरीफुरी पनि देखायो । तर, परिस्थिति अहिले पनि फेरिएको छैन ।
आर्थिक वर्ष २०७५/७५ मा पनि नेपालको वैदेशिक व्यापार भारतीय नाकामा निर्भर देखिएको छ । कूल १५ खर्ब १५ अर्बको वैदेशिक व्यापारमध्ये चिनियाँ नाकाबाट ४२ अर्ब १२ करोडको व्यापार भयो, जुन २.७८ प्रतिशत मात्र हो । चीन र नेपाललाई जोड्ने प्रमुख व्यापारिक नाका तातोपानी बन्द भएपछि चीनसँगको व्यापार थप ओरालो लागेको देखिन्छ । अहिले चीनसँगको अधिकांश व्यापार रसुवागढी भन्सारबाट मात्र भइरहेको छ ।
यही अवधिमा भारतीय नाकाबाट १२ खर्ब ९५ अर्ब ५८ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । यो नेपालको कूल वैदेशिक व्यापारको ८५.४४ प्रतिशत हो ।
नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवाल उत्तरतर्फका नाका खोल्न, स्तरोन्नति गर्न र पूर्वाधार निर्माणलाई सरकारले प्राथमिकता नदिँदा वैदेशिक व्यापार भारतमुखी बनेको बताउँछन् ।
भारतीय र चिनियाँ नाकापछि वैदेशिक व्यापार हुने तेस्रो विन्दु काठमाडौंस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल हो । त्रिभुवन विमानस्थलबाट १ खर्ब ७८ करोड ६२ लाख रुपैयाँ अर्थात ११.७८ प्रतिशत व्यापार भएको छ ।
तातोपानी सुस्त
भूकम्पभन्दा अगाडि तातोपानी नाका वैदेशिक व्यापारको प्रमुख बिन्दुमध्ये एक थियो । भूकम्पले क्षति पुर्याएपछि यो नाका बन्द भयो । रसुवामा ढिला गरी पूर्वाधार बन्यो । अहिले रसुवागढी क्रमशः स्थापित हुने क्रममा छ ।
गत १५ जेठबाट तातोपानी औपचारिकरुपमा खुला भएको छ । तर, विभागको तथ्यांक अनुसार अघिल्लो आव ०७५/७६ मा यो नाकाबाट नगन्य व्यापार भयो । यस अवधिमा ४ करोड ८५ लाख रुपैयाँको मात्र व्यापार तातोपानी नाकाबाट भएको विभागले उल्लेख गरेको छ । नेपालतर्फको पूर्वाधार तयारी अझै पूरा नभएकाले व्यापार बढ्न नसकेको अध्यक्ष कटुवालको भनाइ छ ।
खासगरी चाडबाडको समयमा चीनबाट अधिक मात्रामा तयारी पोशाक तथा भाडावर्तन भित्रने गर्छन् । तिज, दशैं, तिहारजस्ता चाडबाड नजिक आउँदै गर्दा तातोपानी नाकाबाट हुने व्यापारले मुलुकभित्रको बजार भाउमा समेत प्रभाव पार्छ ।
कति छन् भन्सार कार्यालय ?
अहिले नेपाल र भारतको सीमामा २५ वटा मूल भन्सार कार्यालय र १ सय ३५ वटा छोटी भन्सार कार्यालय रहेका छन् । चीनसँगको सिमानामा भने ९ वटा मूल भन्सार कार्यालय रहेका छन् । तर, वैदेशिक व्यापार भने चीनमा २ वटा भन्सार विन्दु (रसुवा र तातोपानी) बाट मात्र हुने गरेको छ ।
सरकारले उत्तरतर्फका नाकालाई सुदृढ बनाउने सन्दर्भमा रसुवागढीमा एकिकृत जाँचचौकी (आइसीपी) भवन निर्माण शुरु गरेको छ । भन्सार विभागका अनुसार उक्त जाँच चौकी भवनमा भन्सार कार्यालयसहित सुरक्षा निकाय, क्वारेन्टाइन, अध्यागमन कार्यालयका छुट्टाछुट्टै डेस्क रहने गरी निर्माण थालिएको छ ।
तातोपानी नाकामा भने नेपालतर्फका पूर्वाधार निकै सुस्त गतिमा बनिरहेका छन् ।
के–के आउँछ चीनबाट ?
नेपाल अत्यावश्यक सामानका लागि भारतमा निर्भर छ । इन्धन, निर्माण सामग्री, सवारी साधन तथा खाद्यान्न, मासु र तरकारीको समेत ठूलो हिस्सा भारतबाट नेपाल आयात हुन्छ । चीनबाट भने फलफूल, तयारी पोशाक, जुत्ता, खेलौना, जिम्बु, कस्मेटिक सामान, विद्युतीय सामग्रीको आयात हुन्छ ।
निर्यातमा पनि नेपालले चीनतर्फ सानो अंशमात्र पठाउँछ । नेपालबाट चीनतर्फ मैदान, खुर्सानी, चाउचाउ, सख्खरजस्ता न्यून सामग्री चीनतर्फ जाने गरेका छन् । चिनियाँ नाकातर्फ रसुवाबाट मात्र १ अर्ब २० करोड ९६ लाख रुपैयाँको निर्यात भएको छ । यो अंश कुन निर्यातको १.२५ प्रतिशत हो । तातोपानी नाकाबाट भने यस अवधिमा एक रुपैयाँ पनि निर्यात हुन सकेन ।
source https://www.onlinekhabar.com/2019/07/784354
0 Comments