१० वैशाख, बेनी । म्याग्दीस्थित धवलागिरि हिमालमा एक जना भरिया बेपत्ता भएका छन् भने दुई जनाको सकुशल उद्धार गरिएको छ ।
आठ हजार एक सय ६७ मिटर अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिकाको वडा नं ४ मा अवस्थित छ । धवलागिरि आधार शिविरमा आरोहीको सामान पुर्याएर फर्कने क्रममा शुक्रबार साँझ उनीहरू हिउँ पहिरोमा पुरिएका थिए ।
बेपत्ताको खोजीका लागि शनिबार हेलिकोप्टरमार्फत धवलागिरि आधार शिविर पुगेर फर्किएका म्याग्दी दानाका इन्द्रसिंह शेरचनका अनुसार सोलुखुम्बुको सोलदूधकुण्ड नगरपालिका–१ नुथला फुलेली गाउँका २० वर्षीय अमृत राई बेपत्ता भएका हुन् ।
अमृतसँगै बेपत्ता भएका सोही ठाउँका धिरज राई र अर्जुन राईको शनिबार शेर्पाहरूको टोलीले सकुशल उद्धार गरेर इटली आधार शिविरमा पुर्याइएको शेरचनले जानकारी दिए ।
उनीहरू सेभेन समिट ट्रेक काठमाडौँबाट भरियाका रूपमा आधार शिविरमा आएका थिए । उनीहरू जापानिज आधार शिविर नजिकै हिउँपहिरोमा परेका थिए ।
source https://www.onlinekhabar.com/2023/04/1296280
0 Comments