Looking For Anything Specific?

Header Ads

च्छोरोल्पा पुग्नुअघि बाटोमा जे भेटिए …

१२ बजे आसपास शिकारी दोभान पुगेपछि अब रोल्वालिङ खोला तर्नुपर्ने थियो। बिजुलीको तारका आधारमा  बाटो उकालो हुने अनुमान गरेँ । अलिक अगाडिको चौतारीमा बसेर बिस्कुट र पानी खाएँ। नजिकै बासुकी नागले छहारी दिएको जस्तो पहाड देखिन्थ्यो। मैले तस्विर लिएँ।

चौतारो नजिकै फोहोर जम्मा गर्न खाडल बनाइएको थियो। खाडलको छेउछेउ ढुङ्गाको पर्खाल थियो। खाडलमा बियरका क्यानहरू, चक्लेटका खोलहरू, शक्तिबर्द्धक पेय पदार्थहरू र खोलहरू देखिए । त्यहाँ विभिन्न ब्राण्डका चुरोटका खोलहरू पनि थिए। यो चिसो ठाउँमा चुरोटले जिउ त तताउँथ्यो नै होला ? आफूले खाइएन। अनुभव नै भएन।

शिकारी दोभान : सबैथोक प्रकृति !

अलिक अगाडि बढेपछि पात झरिसकेका रुखहरू देखिए। त्यसमा लामा लामा झ्याउहरू पलाएका थिए। ढुङ्गाहरू मात्रै थिए बाटोमा। पहाड खसेर टुक्रिएका ढुङ्गाहरू माटो बन्न अझै धेरै समय लाग्छ नै। धेरै वर्ष पहिले खसेका ढुङ्गाहरू माटो भएर रुख र अन्य घाँसपात उम्रिएका होलान् ।

३ हजार ३ सय ४३ मिटर उचाइको ठाङदिङ पुग्दा दिउँसोको १ बजेको थियो। ठाङदिङमा ४-५ वटा घरहरू भेटिए। त्यहाँ मानिस भेटिएनन्। बेदिङ यहाँबाट साँढे ५ किलोमिटरको दूरीमा थियो। बाटोको छेउमा रहेको बोर्डका अनुसार बेदिङ ठाङदिङबाट ४ सय मिटर अग्लो ठाउँमा थियो। अब २ घण्टा हिंडेपछि त्यहाँ पुग्न सकिन्थ्यो। अन्य हिसाब मिलेपनि हिंडाइको हिसाब भने मेरा लागि मिल्दैनथ्यो। म बोर्डमा राखेको समयभन्दा अगाडि नै पुग्ने गरेको थिएँ।

२ बज्दा म समदर आइपुगेको थिएँ। त्यो ठाउँ नजिकै नदीको पानीको प्रवाहका जाँचका लागि मेसिन राखिएको थियो। च्छो रोल्पाका बारेमा पूर्व सूचना प्रणालीका बारेमा छलफल भएको कम्तिमा पनि २ दर्जन वर्षहरू बितिसकेका छन्। ठाङदिङभन्दा यो ठाउँ ५० मिटर उचाइमा रहेको थियो। पूर्वसुचना प्रणाली राखेको ठूलो ढुङ्गा नजिकै एउटा सानो धारा रहेछ। त्यसमा पानी आएको थिएन। धारो मर्मत गरेर बोत्तलमा पानी भरेँ । बरालिएको पानी धाराबाट खस्न लाग्यो।

समदरमा रुखमा खादाहरू बेरिएको थियो। बौद्ध धार्मिक स्थल रहेको आभास मिल्यो। तर त्यहाँ त्रिशुलहरू धेरै थिए । यो नै हाम्रो पहिचान थियो। एकै स्थानमा फरक फरक आस्थामा पूजा गर्न मिल्ने। मुक्तिनाथमा पनि एउटै शिलामा आनी र पुरोहितले पूजा गर्छन्। खोजिहेरे यस्ता ठाउँ कत्ति कत्ति !

मन्दिर दर्शन सकेर बाटोमा उक्लँदा एउटा बोर्डमा मन्दिर निर्माण गर्नेहरूको नामावली थियो। ती अधिकांश शेर्पाहरू थिए, एउटा संस्था, एकजना खत्री र एकजना तामाङ बाहेक। सम्भवत बेदिङतिरका । मन्दिरको नाम छेरिङमा र गोरा महादेव थान रहेछ। यसको मर्मत सम्भारको काम रोल्वालिङ साङ्ग छोलिङ गुम्बा संरक्षण तथा व्यवस्थापन समिति रोल्वालिङले गरेको रहेछ।

मन्दिर छेवैको पुल तरेपछि डाल्डोङ हिमाल पुगिने रहेछ। यहीँबाट टासिनाम पनि पुगिने रहेछ। बेदिङ पुग्नलाई रोल्वालिङ खोला तर्नुपर्ने रैनछ। अगाडि बढ्न खोज्दा थाहा पाएँ कि लौरो बिर्सिएछ। कहाँ छुट्यो थाहा भएन । लौरोविनै अगाडि बढेँ।

चौपाया जोगाउने कि चितुवा ?

बेदिङ आइनपुग्दै भेटियो पानी नभएको खोलो । पौने तीन बजेछ । भित्तापट्टि तीन मानिसहरू बाघले खाएको चौरींको मासु काट्दै थिए। उनीहरूले भने, ‘तपाईं जानुस्, तपाईंको गन्तव्य नजिकै छ, हामीले काम सक्दा धेरै समय लाग्छ।’

सिंगटी बजारदेखि चीनको सीमासम्मै गौरीशंकर संरक्षण क्षेत्र पर्छ। नेपाल सरकारले जलवायु परिवर्तनबारे विश्वको ध्यान तान्न सगरमाथा आधारशिविर कालापत्थरमा मन्त्रीपरिषद बैठक आयोजना गरेको थियो। यही बैठकले सिन्धुपाल्चोक, दोलखा र रामेछापका हिमाली क्षेत्रमा पर्ने भूभाग समेटेर गौरीशंकर संरक्षण क्षेत्र घोषणा गरेको थियो। यो क्षेत्रमा केही समयअघि हिउँचितुवा रहेको पत्ता लागेको थियो। दुर्लभ वन्यजन्तु फेला परेपछि यहाँ संरक्षणकर्मीहरू खुशी भएका थिए। तर, उनीहरूको खुशीमा बेलाबेला चौंरीपालक किसानको आँसु मिसिने गरेको छ।

मैले अलिअलि घरहरू देख्न लागेको थिएँ। बेदिङको नजिकै पुगेको रहेछु। झोलुङ्गे पुल तरेर जाने बेलामा मलाई आफ्नै छाया गज्जब लाग्यो। मसँग दिनभरी घाम लाग्दा अगाडि पछाडि रहेर साथ दिने त यहि छाँया न थियो। मैले १-२ वटा आफ्नै छायाँको फोटो खिचें।

अलिक अगाडि पुगेपछि कुकुर भुक्यो। बेदिङ गाउँआएजस्तो लाग्यो। मैले तस्वीरमा पहिल्यै देखेको बेदिङसँग यो त कतै मिल्दैन। कुकुर भुकेको ठाउँ रोल्वालिङ साङ्ग क्षोलिङ्ग गुम्बा विद्यालय रहेछ। यहाँ कोही मानिस छन् कि भनेर बोलाएँ। विद्यार्थी रहेछन्। सुर्मुचेका होटल सञ्चालक बोलिन्द्र सर यसै विद्यालयका शिक्षक रहेछन्। विद्यार्थीहरूले बेदिङमा बास पाइने बताए। अगाडिको डिल काटेपछि त्यहाँ पुगिने पनि उनीहरूले जानकारी दिए।

विद्यालयमा भान्सेको व्यवस्था गरिएको रहेछ। अबको केही दिनमा पठनपाठन सुरु हुने विद्यार्थीले बताएका थिए। म उनीहरूसँग कुरा गरेर अगाडि बढें।

बेदिङ पुग्दा नदीको किनारमा चौंरीहरू देखें। केही तस्विरहरू पनि लिएँ। पौने चार पनि भएको रहेनछ । राष्ट्रिय प्रकृति संरक्षण कोषले धेरै ठूलो बोर्ड टाँसेको रहेछ। त्यसमा बेदिङका बारेमा जानकारी राखिएको थियो। तस्वीर खिचेपछि म चौंरीको बथानमा पुगें जहाँ भाँडा बोकेकी एक महिला भेटिइन् ।

बास पाइएला कि भनेर सोधें। उनले चौंरीलाई बाघले खाइदिएको बताइन। पर बाटोमा भेटिएको चौंरी उनकै जस्तो लाग्यो। पछि थाहा पाएँ उनको चौंरी घाइते भएको रहेछ। बाघको आक्रमणमा परेको त्यो चौंरी पछि मैले बथानमै देखेको थिएँ।

उनले होटल चलाउने महिला देखाइन् । होटलमा २ ओटा गिनिज बुक अफ वर्ल्ड रेकर्डका प्रमाणपत्र भित्तामा टाँसिएका थिए। एकै परिवारका ८ जनाले सगरमाथा आरोहण गरेकोमा एउटा र ४ जनाले एकैपटक सगरमाथा आरोहण गरेकोमा अर्को प्रमाणपत्र दिइएको रहेछ। ती सबैकी आमा किमजुङले मलाई होटलमा बास दिने भइन्। होटलको नाम उनकै एकजना छोरा फुर्वा तेन्जिङ शेर्पाको नाममा राखिएको थियो- फुर्वा जोशेफ लज।

मैले चुनावमा मत हाल्ने ठाउँ अघि भेटेको ठाउँ गुम्बा नभएर पुरानो स्कूल रहेछ । म पुरानो स्कुल हेर्न निस्किएँ। मंसिरमा सम्पन्न चुनावमा त्यहाँ जान प्रयास गरेको थिएँ । कर्मचारीहरूको हानथापका कारण म असफल भएँ । म बेदिङ घुम्न निस्किएँ ।

झरना जमेर फोटोमा जस्तै टक्क अडिएको थियो पानी। मैले नजिकै गएर तस्वीर लिएँ। खोलाको अलिक तलतिर परम्परागत घट्ट थियो। पानी ल्याउने डुँड, मादल र पोरा सबै काठकै। मलाई सानोमा घट्टमा बसेको याद आयो। रातभर पिठो पिंधिदिन म घट्टमा बस्थें। जुनेली रातमा कुमारहरू पारीपट्टी लाँकुरीको फेदमा बाँदर बनेर मलाई तर्साउँथे। अहिले घरघरै मिल जोडिएका छन्। ती ठूला ढुङ्गाका घट्ट, काठको डुँड, मादल र पोरा, सायद केही वर्षमा धेरैले बिर्सिसक्नेछन्।

त्यही घट्टको मुनितिर मैले एकजना महिला पानी थाप्न आएको भेटें। उनले यहाँ पहिला खाद्यान्न जिरी र लामोसाँघुबट ल्याइने गरेको जानकारी दिइन् ।

त्यस भेगको पुरानो विद्यालय बेदिङ प्राथमिक विद्यालयको बोर्ड खुइलिन लागेको थियो। २०२८ सालमा स्थापना भएको रहेछ। अहिले विद्यालय बन्द थियो। पढ्ने विद्यार्थी नपाएर होला। विद्यालयमा सामुदायिक वन र एउटा क्लबको बोर्ड थियो।

म फर्किएर होटलमा आएँ। त्यो दिन शेर्पाहरूको नववर्ष ल्होसार रहेछ । ल्होसारमा खाप्से बनाउन मैले पनि सघाएँ। भात त पकाए तर दाल पकाउन अल्छी गरे । उनीहरूको प्रस्तावअनुसार म खाप्सेसँगै दही र भात खाएर भान्साकोठा नजिकैको खाटमा सुतेँ । किनकि म सुत्ने भनिएको कोठाको साँचो हरायो बिजुली नभएको धेरै दिन भैसकेको थियो।

दर्जन सन्तानमध्ये आठ सगरमाथा चुचुरोमा

१० फागुन २०७९ । यात्राको चौथो दिनको कार्यसूचि च्छोरोल्पा पुग्ने थियो। होटलमा हिसाब गर्दा १ हजार ३ सय रूपैयाँ भएको थियो। ल्होसारको खाप्से त्यसमा समावेश थिएन। ‘त्यसको पैसा पर्दैन’ साहुनीले भनेकी थिइन् । उनका ८ सन्तान सगरमाथा चढेको प्रमाणपत्र होटलको भित्तामा अघिल्लो दिन नै देखेको थिएँ। ३ जनाले चढेका छैनन् भनेर गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सको बेवसाइटमा जानकारी राखिएको थियो। उनले मलाई १२ जना सन्तान जन्माएको बताएकी थिइन्।

त्यो ठाउँमा स्वास्थ्य समस्या आइपरे कता जाने ? मेरो प्रश्नमा उनको जवाफ थियो त्यस्तो केही त परेन।

मसँग खुजुरा पैसा थिएन। मैले बिहान चियासँग चिउरा पनि खाएको थिएँ। हजारको र पाँच सयको नोट दिएँ। २ सय फर्कँदा लिनु नि। उनको प्रस्ताव स्विकारेर म होटलबाट निस्किएँ । चिसो धेरै नै थियो । म अलिक अगाडिसम्म लौरो टेकेर गएँ। बेदिङ प्राविसम्म पुगेपछि हात ठिहिर्‍याएर लौरो त्यतै छाडें। हात ज्याकेटका गोजीमा हाल्नु नै यो बेलाको उत्तम विकल्प थियो।

अलिक अगाडि पुग्दा चौंरीहरू चरिरहेका थिए। हामी एकअर्कासँग तर्सियौं । हिंड्ने बाटो खाली भएको थियो। बेदिङ माथितिरको हिमालमा भर्खरै घामका किरण देखिएका थिए। केही फोटो खिचेर अगाडि बढें।

अगाडि बाटोमा पुग्दा घाम लागेको थियो। मैले आफ्नै छायाँको फोटो खिचें। ना गाउँ पुग्नु अघि ढुङ्गाहरूमा लुङ्दर टाँगिएको थियो। हाम्रा प्रत्येक ढुङ्गामा आस्था र विश्वास छ। त्यसै भएर लेखिएको गाइएको हुन सक्छ- यहाँ ढुङ्गा ढुङ्गामा देवताको बास छ।

ना गाउँमा पुगेपछि घाम ताप्दै आफूसँग भएको बिस्कुट र पानी खाएँ। त्यहाँ चौतारीमा बौद्ध मन्त्रहरू लेखिएका ढुङ्गा थुपारिएका थिए। अन्य कुरामा ध्यान नदिएपनि धर्मका लागि हामीले ढुङ्गामा अक्षर कोरेका छौं। आफ्नो आस्था जनाएका छौं।

ना गाउँबाट पुल तरेर पारी जानुपर्ने थियो। बाटामा चितुवाका पाइला देखेँ । नाको पुल तरेपछि यस्ता पाइला भर्खरै हिँडेजस्ता पाएँ। त्यहाँ आँखाले देख्दा नभ्याउने लामा लाम फाँट थिएँ। नजिकमा रोल्वालिङ खोला अनि फुङ्ग भएका डाँडाहरू।

अलिक माथि मैले अर्को पुल भेटें। त्यसको छेउमा दूधकुण्ड जाने बाटो भनेर लेखिएको थियो। बाटो भने मानिसहरू हिंडेको जस्तो देखिएन। म मानिस हिंडेकै चल्तिकै बाटो लागेँ।

त्यहाँ पूर्वसुचना प्रणालीको संरचना थियो। त्यसमा जोडिएको सोलार प्यानेल ब्याट्री तल्लो भेगमा माओवादी जनयुद्धमा प्रयोग भएका थिए। यता पनि कसैले प्रयोग गर्‍यो होला।

च्छो रोल्पा पुग्नै लाग्दा म एकछिन सुस्ताएँ। त्यहाँ नेपाल सरकारको भनेर हातैले लेखेको एउटा सुचना टाँसिएको थियो। त्यो सुचना हेरेर अगाडि लाग्दा म थकित थिएँ। माथिल्लो डाँडामा पुगेपछि भएको एउटा बिस्कुट खाने योजना बनाएँ।

     



source https://www.onlinekhabar.com/2023/04/1299342

Post a Comment

0 Comments