काठमाडौं । बाह्रैमास बहने चिसो सिरेटो, लेकाली भूगोल अनि गुराँसले ढाक्ने पाखा । अनन्तदेखि अनन्तसम्म गुराँस । यहाँको माटोमा टेकेर चारैतर्फ आँखा दौडाइरहँदा मनमा भने त्यही धुन गुञ्जिएको आभास हुन्छ, ‘म त लालीगुराँस भएछु, वनैभरि फुलिदिन्छु…।’
खासमा यहाँ वनभरि मात्र गुराँस फुल्दैन, मनभरि पनि फुल्छ । त्यसैले त गुराँसले ढकमक्क पाखापखेरा देख्दा मन पनि उमंगले हराभरा भइदिन्छ । गुराँस, त्यो पनि अनेक रंगका । नेपालमा ३३ प्रजातिका गुराँस छन् भनेर अभिलेख गरिएको छ । त्यसमध्ये तीनजुरेको माटोेमा मात्र २८ प्रजातिका गुराँस पाइँदोरहेछ । न रोप्नुपर्ने, न मलजल गर्नुपर्ने । माटो र मौसमको संयोजन मिल्नासाथ ढकमक्क फुलिदिने । कति गुणी फूल ।
गुराँससँग हाम्रो बेग्लै भावनात्मक आत्मीयता छ । विद्यालयदेखि नै ‘हाम्रो राष्ट्रिय फूल’ भनेर पढ्दै, बुझ्दै आएकाले होला, गुराँस देख्नासाथ एक किसिमको निकटता महसुस हुने । गुराँसको बखान गरेर के साध्य ?
चैत–वैशाखको मध्यतिर यहाँ गुराँसले डाँडाकाँडा ढाक्ने रहेछ । पाखैभरि ढकमक्क गुराँस फुल्दा रमितेहरुको आँखको धीत नमर्ने रहेछ । त्यसो त यस भेग गुराँस पर्यटनकै लागि कहलिएको छ । प्रकृतिको यो अनुपम सौन्दर्य नियाल्न देशभरका मान्छेहरुको ओइरो लाग्ने रहेछ ।
तीनजुरेको भूगोल आफैंमा कुनै चित्रकारको सुन्दर चित्र जस्तै । त्यसलाई थप सुशोभित गरेको छ, थरीथरीका गुराँसले । समुन्द्री सतहबाट एक हजार ५०० देखि तीन हजार ३१ मिटरसम्मको उचाइमा फैलिएको यो जंगल खासमा गुराँसको साम्राज्य रहेछ । यो उचाइबाट देखिने कञ्चनजंघा, कुम्भकर्ण, मकालुजस्ता हिमशृंखलाले आँखालाई अरु लोभ्याउँछ ।
यसपालि तीनजुरेसम्मको यात्रा त्यही समयका जुरेको थियो, जतिबेला गुराँस फुल्ने मुख्य सिजन हुन्छ । चैत अन्तिम साता तीनजुरे पुग्दा गुराँससँग साक्षात्कार गर्ने रहर भने पूर्ण रुपमा मेटिएन । त्यसअघि परेको असिना पानीले कोपिला नै झारिदिएपछि यसपालि गुराँस राम्ररी फक्रन पाएन । विगतमा जस्तो वनपाखा नै राताम्ये हुनेगरी गुराँस फुलेको देखिएन । यद्यपि रहलपहल गुराँस पनि हाम्रो लागि खास थियो ।
तस्वीर : कमल प्रसाईं
source https://www.onlinekhabar.com/2023/04/1292087
0 Comments