Looking For Anything Specific?

Header Ads

टेक हबका रूपमा नेपाल

कल्पना गर्नुहोस् त बिहान उठ्दा तपाईंको फोनमा ‘ओ गुगल, मेरो आजको दैनिक खबर सुनाउ त’ भन्दा तपाईंलाई नयाँ वर्ष २०८० सालको शुभकामना दिइरहेको, आज नेपालका मुख्य समाचार र दिनभरको मौसम नेपाली भाषामै सुनाइरहेको होओस्। आवाजले बन्द गर्ने र बल्न सक्ने बत्तीहरूको बारेमा त सुन्नुभएकै होला। तर कहाँ त्यो अङ्ग्रेजी एक्सेन्ट वा लवजमा दुरुस्तै हुन सक्नु! तपाईंको आमाले ‘ओ गुगल, बत्ती बन्द गर’ भनेको आवाज पनि चिनेर बत्ती निभेको सम्झनुस्।

एकाबिहानै मानिसहरू हतार–हतार काममा गइरहेका छन्। तराईमा एसेम्ब्ली प्लान्टहरू चलिरहेका छन्। यी कारखानामा विद्युतीय चुलो, स्मार्ट मिटर इत्यादि बन्छन्। यहाँ काम गर्ने मजदुरहरू पूर्ण सुरक्षा उपकरणका साथ कार्यरत छन्। कारखानामै चमेनागृह छ, मिठो र स्वस्थकर खानेकुरा पाउँछ, शिशु स्याहार केन्द्र छ। यी कारखानाका मजदुरका लागि औद्योगिक क्षेत्रभन्दा बाहिर उचित आवासको व्यवस्था गरिएको छ। यी कारखानाका मजदुरका सन्तान पढ्नका लागि स्कूल बनेको छ। यहाँ उत्पादित वस्तुहरू सरकारले खरिद गर्छ र सर्वप्रथम नेपाली बजारमा बेचिन्छ।

नेपालका सबै मुख्य नगर र उपनगर क्षेत्रहरूमा रेकर्डिङ र सम्पादन गर्नका लागि उच्च गुणस्तरका उपकरण छन्। कन्टेन्ट क्रिएटरका लागि क्यामेरा, ड्रोन इत्यादि उपकरण सापटी लिन सकिने प्राविधिक लाइब्रेरी छ। उनीहरूलाई बजारीकरण, अन्तर्राष्ट्रियकरण र मनिटाइजेसनमा सहयोग गर्नका लागि छुट्टै विभाग पनि छ।

तपाईंको टोल अहिले ज्येष्ठ नागरिक र बालबालिकाले मात्रै भरिएको छैन। युवा, विद्यार्थी सबै घरमै छन्। दशैं फेरि दशैंजस्तो हुन थालेको छ। लिङ्गे पीङ बनिन थालेका छन्। टीकाको दिन आमाले भिडियो कलमा छोराछोरीलाई हेरेर आँशु झार्नुपर्ने छैन। छोराछोरीले ‘कहिले आउने मामु?’ भन्दै पिलपिल गर्नुपर्ने छैन।

विद्यार्थीहरू अस्ट्रेलिया, क्यानडा गएका छैनन्। कलेज पढ्दा पढ्दै कुनै टेक कम्पनीमा इन्टर्नसिप गर्छन्, सिपालु बन्छन् र त्यसैमा व्यावसायिक पनि! टेक कम्पनीमा काम गर्न चार वर्ष लामो स्नातक सकाएको हुनुपर्दैन। बुटक्याम्पहरू भैरहन्छन् ६-९ महिनामा विशिष्टीकृत सीप सिकेर पढ्दै काम गर्दै बसेका छन् । लगानी पनि उति धेरै हुँदैन। थोरै लगानीमा सीप सिकेर ठूला टेक कम्पनीमा काम गरेर युरोप, अमेरिका, अस्ट्रेलिया जानेहरू जस्तै पैसा कमाउन र बचाउन थालिसके, घरकै मिठो दालभात खाँदै।

समाजशास्त्रीहरूले विखण्डनको सँघारमा रहेको भनिरहेको समाज पुनः बलियो भइसक्यो। विदेश गएका प्रायः मानिसहरू फर्किसके। केही फर्किंदैछन्। नेपाली समाजको जुन विशेषता थियो, त्यो पुनर्प्राप्ति हुँदैछ। ब्रेन ड्रेन रोकिंदैछ। यहाँको जनशक्ति यहीं उपयोग हुँदैछ।

अब जाग्नुस्, यो अवस्था कल्पनामा मात्र सीमित नराखेर यथार्थ बनाउन सम्भव र आवश्यक छ। नेपाललाई ‘टेक हब’का रूपमा स्थापना गर्न सकिन्छ। यो गन्तव्यसम्म पुग्नका लागि हामीसँग बाटो छ, माध्यम छ, स्रोत पनि जुटाउन सकिन्छ। हामीलाई अब चाहिएको इच्छाशक्ति मात्रै हो। यो नयाँ वर्ष हाम्रो इच्छाशक्ति बलियो होओस्। हामी सबैले समाजलाई यस्तो बाटोतर्फ डोर्‍याउने कल्पनालाई यथार्थमा बदल्ने उद्देश्यका साथ नयाँ वर्ष २०८० मा प्रवेश गरौं। राजनीतिक तथा नागरिक तहमा इमानदार बनौं।

टेक हबको आवश्यकता सम्भावना

राजनीतिक सङ्क्रमणकाल सकिएर नेपाल विस्तारै स्थिरतातिर अघि बढ्दैछ। व्यवस्था परिवर्तन गरेर अब अवस्था परिवर्तनको पालो भन्दै गर्दा अबको लक्ष्य विकास, समृद्धि, आर्थिक र सामाजिक रुपान्तरणकै हो भन्नेमा विमति छैन। यसका लागि उपयुक्त मार्गचित्र र प्राथमिकता निर्धारण गरेर अघि बढ्न जरुरी छ।

सुमना श्रेष्ठ

नेपालको विकासका लागि कृषि क्षेत्रमा लगानी अनिवार्य छ। करिब ६० प्रतिशत जनसङ्ख्या आबद्ध भएको यो क्षेत्रलाई सबलीकरण गरी उत्पादकत्व बढाउने अबको प्राथमिकता हुनुपर्छ। कृषिको व्यावसायीकरण धेरैभन्दा धेरै कृषकहरूलाई लक्षित गरेर, केवल सीमित घराना परिवार केन्द्रित नभइकन गरिनुपर्छ। कृषि तथा वन विज्ञान विश्वविद्यालयले कृषि यान्त्रीकरण र प्रविधिमा इन्टरनेट अफ थिङ्गसको प्रयोग गरेर उत्पादकत्व बढाउन अनुसन्धानमा लगानी गर्नुपर्छ।

यसैगरी नेपालको पर्यटन क्षेत्रमा अथाह सम्भावना छन्। यी सम्भावनाहरूलाई साकार बनाउन अत्याधुनिक पूर्वाधार तथा संचारमाध्यम जडान गरिनुपर्छ। बाह्य र नेपालभित्र कुनाकाप्चासम्म पुग्ने सरसुविधाको विकास गरे पर्यटन बाह्र मासै फस्टाउन सक्नेछ। तर यसका लागि पनि कृषिझैं निकै ठूलो लगानी आवश्यक छ।

नेपालमा कृषि, व्यवसायदेखि पर्यटन विकास गर्न चाहिने लगानी जुटाउन हामी वास्तवमा कुनै विदेशी छरछिमेक वा अन्तर्राष्ट्रिय सङ्घसंस्थाहरू गुहार्न पनि जानु नपर्ला। थोरै लगानीमा धेरै राजस्व सङ्कलन गर्ने कुनै उपाय छ भने त्यो प्रविधि नै हो। हाल हामीसँगै भएका प्राविधिक पूर्वाधारको अधिकतम प्रयोगलाई प्राथमिकतामा राखेर सरकारकै तहबाट व्यापक रुपमा प्रविधिमा रोजगार सिर्जना गर्ने वातावरण सिर्जना गर्ने हो भने हामी गन्तव्यसम्म पुग्न सक्छौं। प्रविधि विकासले नेपालको हरेक क्षेत्रमा चाहिने लगानीलाई डोर्‍याउने सामर्थ्य राख्छ।

कोभिड-१९ महामारीले प्रविधिको प्रयोगलाई बाध्यात्मक र अनिवार्य बनाइदियो। हाम्रा स्कूल र बजारहरू महिनौंसम्म बन्द भए। भौतिक उपस्थिति नै बन्द भो। हामीलाई त्यो मानवीय सङ्कटबाट उद्धार गर्ने महत्त्वपूर्ण साधन भनेका त्यतिबेला विकसित भएका प्रविधिका माध्यम थिए। जुम र टिम्स मार्फत स्कुलका कक्षाहरू फोन र ल्यापटपको स्क्रिनमा खुम्चिए। लकडाउन सहज हुने बित्तिकै अनलाइन मार्केटिङ र ई–कमर्सको प्रयोग बढ्यो। तर यो शहरी क्षेत्रमा मात्रै सीमित रहेको गुनासोहरू पनि छन्।

नेपालमा आईसीटी क्षेत्र एकदमै प्रारम्भिक चरणमा छ तर जे जति छ, त्यो आशाजनक छ। सन् २०१९/२० मा राष्ट्रिय गार्हस्थ्य उत्पादनमा सूचनाप्रविधि क्षेत्रको २.२ प्रतिशत पुग्यो र २०२०/२१ मा बढेर २.२२ प्रतिशत पुगेको थियो। यसरी सूचनाप्रविधिको क्रमिक वृद्धि भइरहेकै छ। तर यो  सरकारले सुनियोजित रुपमा काम गरेर हैन, निजी क्षेत्रका पहलका कारण मात्र सम्भव भएको हो। यदि सरकारले हातेमालो गर्ने हो भने यो क्षेत्र कहाँ पुग्थ्यो होला! यद्यपि, अरु क्षेत्रहरूमा जस्तो यो क्षेत्रमा पनि सहयोग र अनुदानहरू सीमित घरानामा नपरोस् भनी ध्यान दिनुपर्छ।

इन्टरनेट पहुँच ९० प्रतिशत पुगेको छ। स्थापित ब्रोडब्याण्ड सेवा २५ प्रतिशत जनसंख्यासम्म पुगिसकेको र बढ्ने क्रममा छ। हालैका वर्षहरूमा सबै ७७ जिल्लाहरूमा मोबाइल नेटवर्क कभरेज विस्तार गरिएको छ, जडान कमजोर छ तर सुरुवात राम्रै भएको छ।  टेक हबका लागि आधारभूत पूर्वाधार बिजुली, इन्टरनेट र अन्त बिन्दुहरू (कम्प्युटर, मोबाइल फोन आदि) हुन्। त्यसैगरी नेपालको ९८ प्रतिशत शहरमा बसोबास गर्ने जनसङ्ख्यासँग कम्तीमा एक मोबाइल फोन भएको र गाउँमा बसोबास गर्ने ९४ प्रतिशतसँग रहेको तथ्यांकले देखाउँछ। ९२.५२ प्रतिशत जनसंख्यासँग विद्युत पुगेको छ  र उपर्युक्त पूर्वाधार पुगेमा नेपालले ४० हजार मेगावाट विद्युत उत्पादन गर्न सक्छ। यो विद्युत उपयोग गर्न अहिलेको बजार र पूर्वाधारले सम्भव छैन। तसर्थ, यसका लागि समेत प्रविधिको तीव्र र ठूलोस्तरको विकास अपरिहार्य छ। आईटी आउटसोर्सिङ सेवाहरूको लागि नेपाललाई आकर्षक गन्तव्य बनाउँदै लैजान सकिन्छ। विश्व बैङ्कको तथ्याङ्क अनुसार हाल नेपालले गर्ने जम्मा सेवा निर्यातको १५.५६ प्रतिशत आईसीटी सेवा रहेको छ।

हामीले प्रविधिको विकास भन्दै गर्दा धेरै टाढा हेर्नुपर्दैन, हाम्रै छिमेकी मुलुक भारतको प्रविधिको विकासलाई हेरौं। सन् २०२०-२१ मा भारतको कुल निर्यातमा सेवा क्षेत्रको हिस्सा २०६.१ अर्ब डलर रह्यो, जसमा सफ्टवेयर सेवा निर्यातको हिस्सा ४८.५ प्रतिशत रहेको थियो जुन १०० अर्ब डलर बराबरको थियो। सन् २०१५/१६ को निर्यातसँग तुलना गर्दा ८८ अर्ब अमेरिकी डलरमा वार्षिक २.७३ प्रतिशतले वृद्धि भएको छ। रोजगारीको सन्दर्भमा, सूचनाप्रविधि र व्यवसाय प्रक्रिया व्यवस्थापन उद्योगले सन् २०२२ मा भारतमा प्रत्यक्ष रूपमा ४८ लाख मानिसलाई रोजगारी दिएको छ, र अप्रत्यक्ष रूपमा सम्बन्धित उद्योगहरूमा थप १ करोड २० लाख रोजगारीलाई सहयोग गर्ने प्रक्षेपण गरिएको थियो ।

त्यसकारण अब नेपालले प्रविधिको क्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्छ भन्ने मेरो बुझाइ हो। विज्ञान प्रविधिको लागि ८० को दशक भन्ने नारा नै लिएर अघि बढौं। सरकारी तहले गम्भीर भएर निजी क्षेत्रलाई विश्वासमा लिएर काम गरौं।

अबको बाटो

विश्व बैंकको प्रक्षेपण अनुसार डिजिटल अर्थतन्त्रको वृद्धिले सन् २०२५ सम्ममा विश्वव्यापी रूपमा ६ करोड ५० लाख नयाँ रोजगारी सृजना हुने, जसमा विकासोन्मुख देशहरूले नयाँ रोजगारीको ठूलो हिस्सा ओगट्ने देखाएको छ। माथिको पृष्ठभूमिमा नेपालले यस फैलिंदो डिजिटल अर्थतन्त्रबाट लाभ लिनको लागि गृहकार्य गर्नुपर्ने टड्कारो आवश्यकता छ।

हामीले आगामी दिनमा मुख्यतः चार क्षेत्रमा काम गर्नुपर्नेछ। पहिलो- कानून निर्माण, दोश्रो- तथ्याङ्क सङ्कलन र अभिलेखीकरण, तेश्रो- जनशक्ति निर्माणका लागि बुट क्याम्प र चौथो- कूटनीतिक पहल र विश्व बजारमा आफ्नो जनशक्ति अनलाइनमा रोजगारको अवसर र प्लेसमेन्ट। सूचनाप्रविधिको विकासलाई प्रोत्साहन गर्ने सूचनाप्रविधि ऐन र वैदेशिक सहयोग आदानप्रदानलाई पनि स्वागत गर्ने खालको सूचनाप्रविधिमा प्रत्यक्ष वैदेशिक लगानीलाई प्राथमिकता दिने ऐन निर्माण गर्ने वा नियमावलीमा परिवर्तन गर्नुपर्दछ।

अघिल्लो संसदमा छलफलमा मात्रै सीमित भएको त्यस सम्बन्धी विधेयक अब छिटोभन्दा छिटो तयारी गरेर पेश गर्नुपर्छ। यसै विधेयकको मस्यौदालाई सहजीकरण गर्ने उद्देश्यले हाम्रो सचिवालयले गत मार्च १८ मा सूचनाप्रविधि विधेयक मन्थन समेत सञ्चालन गरेको थियो। सूचनाप्रविधिका क्षेत्रमा कार्यरत विज्ञ तथा अन्य सरोकारवालाहरूलाई आमन्त्रण गरिएको यस कार्यक्रममा कानुनी कठिनाइका विषयमा छलफल गरियो। सरकारले नियन्त्रकको मात्र हैन सहजकर्ताको रूपमा काम गर्नुपर्छ। कानुनले प्रविधिलाई औद्योगिक रूपमा अघि बढाउनका लागि अग्रदृष्टि भएको र सबै क्षेत्र समेट्ने हुनुपर्छ।

कानुन निर्माण सँगै तथ्याङ्क सङ्कलन र भण्डारणको उपयुक्त पूर्वाधार तयार गरेर अनौपचारिक शिक्षा र बुट क्याम्प मार्फत प्राविधिक जनशक्ति उत्पादन गर्न हामी केन्द्रित हुनुपर्छ। बुट क्याम्पका लागि हामीलाई खासै धेरै पूर्वाधार पनि चाहिंदैन। सर्वप्रथम आवश्यक पूर्वाधार भनेको शिक्षक र कक्षाहरू नै हुन्, चाहे ती भौतिक हुन् वा भर्चुअल। हाम्रो प्रारम्भिक अवधारणा अनुरूप ६ महिना वा ९ महिनाका बुट क्याम्पहरू सञ्चालन गर्न सकिन्छ जसमा हामी माध्यमिक तह उत्तीर्ण गरेका विद्यार्थीलाई प्रविधिमा सिपालु बनाउन तालिम दिऔं। अहिलेको टेक कम्पनी र विज्ञहरूको संलग्नतामा यो क्याम्पका लागि पाठ्यक्रम पनि निर्माण गर्नुपर्छ जसको महत्वपूर्ण पाटो भनेको राम्रो इन्टर्नसिपको अनुभव पनि हो।

यही क्याम्पमा सफ्ट स्किल्स तालिम पनि दिऔं। आफ्नो सिभी कसरी लेख्ने? अन्तर्वार्ता कसरी दिने? विभिन्न जागिरका लागि कसरी आवेदन दिने? टिममा कसरी काम गर्ने? आफ्नो विचार र विमतिहरु कसरी राख्ने? समयसीमाभित्र कार्यहरू कसरी सकाउने? कार्य योजना कसरी बनाउने? यी लगायतका एकदमै आधारभूत सीपमा हाम्रो देशमा स्नातक गरिसकेका विद्यार्थी समेत कमजोर देखिन्छन्। यी बुट क्याम्पमा तालिमप्राप्त विद्यार्थीलाई नेपाली व्यवसायीले सञ्चालन गरेका टेक कम्पनीहरूमा इन्टर्नसिपको अवसर दिनुपर्छ। अरु क्षेत्रमा भन्दा पनि टेक क्षेत्रमा काम सिक्नको लागि इन्टर्नसिप चाहिन्छ। यसमा विद्यार्थीको पारिश्रमिकले गर्दा व्यवसायीलाई बढी भार नपरोस् भन्नका लागि सरकारका तर्फबाट अनुदानको व्यवस्था समेत गर्नुपर्ने हुनसक्छ। कालान्तरमा यसबाट सिर्जना हुने रोजगारी र त्यसबाट उठ्ने आयकर हेर्ने हो भने यो अनुदान धेरै सस्तो पर्न जान्छ होला।  यसको प्रकार, प्रभाव र  प्रतिफलको विश्लेषण गर्न जरुरी छ।

तत्पश्चात, अनलाइन नेटवर्किङ र जब प्लेसमेन्ट वेबसाइट अन्तर्गत हामीले उत्पादन गरेका जनशक्ति आफ्नो क्षमता अनुसारको रोजगारीमा अनुबन्धित गराउने जिम्मेवारी समेत हाम्रै रहन्छ।

नेपालमा पर्याप्त पूर्वाधार र योजना निर्माण गरेर यो उद्योगलाई निश्चित स्तरसम्म लगिसकेपछि हामीले यसको अन्तर्राष्ट्रियकरणमा समेत ध्यान दिनुपर्छ। द्विपक्षीय अन्तर्राष्ट्रिय सम्झौताहरू मार्फत वस्तु र सेवाको बजारीकरण, विदेशमा नेपाली व्यवसायीको कम्पनी र कार्यालयको स्थापना, सर्भर स्पेस खरिद प्रक्रिया, सफ्टवेयर लाइसेन्स खरिद प्रक्रिया आदिमा सहज वातावरण बनाउनुपर्छ। विदेशी टेक कम्पनीहरूमा लगानी गर्नका लागि राखिएको सीमालाई परिमार्जन गर्नुपर्छ। कूटनीतिक पहलमा टेकमा काम गर्नेहरुलाई प्रोत्साहन गर्न उचित श्रम सम्झौता पनि गर्नुपर्छ।  अब जनप्रतिनिधि तथा सरकारले राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रविधि क्षेत्रको प्रचारप्रसार गरी विश्वस्त बनाउन जरुरी छ कि– ‘नेपाल स्थिर छ। प्रविधि नेपालको प्राथमिकतामा पर्दछ र यसमा कुनै किसिमका राजनैतिक जोखिम छैनन् र हस्तक्षेप हुनेछैन। छ त केवल बजारको जोखिम जुन व्यवसायीहरूले लिनुपर्ने जोखिम हो।’

नेपाललाई टेक हबका रूपमा स्थापना गरिसकेपछि हामीले तत्कालै यसको सकारात्मक प्रभाव र असर अन्य आर्थिक क्षेत्रमा समेत देख्नेछौं। सूचनाप्रविधिको क्षेत्रले आर्जित आयले व्यक्तिगत क्रयशक्ति वृद्धि भई देशमै खर्च हुने अवस्था आउँदा अन्य क्षेत्रलाई टेवा पुर्‍याउँछ। त्यसले आन्तरिक पर्यटन, मनोरञ्जन लगायत जीवनस्तर सुधार क्षेत्र जस्तै बाल हेरचाह, घर हेरचाह सेवा आदि क्षेत्र पनि चलायमान बनाउनेछ। युवाहरूसँग यथेष्ट पैसा हुन थालेपछि हामीले भेन्चर क्यापिटल लगायत अन्य लगानीमा समेत उनीहरूलाई प्रोत्साहन गर्न सक्छौं।

अन्ततोगत्वा हामी एउटा यस्तो देशमा बसिरहेका हुनेछौं जसको आधार बलियो र दिगो हुनेछ; देशमै प्रगति, समृद्धि र उद्यमको वातावरण हुनेछ। यसका साथै, हामीले यस लेखको सुरुवातमा देखेको सपना वास्तविकतामा परिणत हुनेछन्। हाम्रा आमाहरू बिहानै टेली-मेडिसिनका माध्यमबाट आफ्नो नियमित स्वास्थ्य परीक्षण घरै बसी–बसी गरिरहनुभएको हुनेछ। अत्याधुनिक प्रविधिले एक बटन थिचेर नै दिउँसो पानी पर्ने दिन बिहानै खेत गोड्ने मेसिन संचालन गर्न भ्याउनुहुनेछ। साइकल चढेर हुर्किनुभएका हाम्रा बुबाहरु फेरि इलेक्ट्रिक साइकल कुदाउँदै, साँझ तरकारी लिएर घर फर्किँदै गर्नुहुनेछ।

जुन उत्साह यो कल्पनाको शहरले दिन्छ, त्यही उत्साहलाई उर्जामा परिवर्तन गर्न हामी सबै एकजुट हुन जरुरी छ। अब त विकासको बाटो र गन्तव्य पनि देखिन थालेको छ।

(लेखक प्रतिनिधि सभा सदस्य हुन् ।)



source https://www.onlinekhabar.com/2023/04/1292222

Post a Comment

0 Comments