९ माघ, सिमकोट । जिल्ला अस्पताल हुम्लामा सुत्केरी पछि आमा र नवजात शिशु दुवैको मृत्यु भएको छ । सिमकोट गाउँपालिका-५ की २१ वर्षीया टीका सार्कीको यही माघ ७ र नवजात शिशुको माघ ५ अकालमा मृत्यु भएको हो । अस्पतालका अनुसार उनीको शल्यक्रिया गरेर सुत्केरी गराइएको थियो ।
टीकाका ससुरा धनसिंह सार्की अनुसार सुत्केरी व्यथाले च्यापेपछि उनीलाई जिल्ला अस्पतालमा लगिएको थियो । यसपछि शल्याक्रिया गरेर बच्चा जन्माइएको थियो । शल्यक्रिया गरेको दुई दिनसम्म टीकाका स्वास्थ्यमा उल्लेखनीय सुधार भए पनि शुक्रबार साँझ अचानक स्वास्थ्यमा समस्या देखिएको थियो ।
जिल्ला अस्पतालले उद्धारका लागि तत्काल हेलिकोप्टरको व्यवस्था गरेको भए पनि उनको सोही राति नै मृत्यु भएको अस्पतालले जनाएको छ ।
जुम्लाको चन्दनाथ नगरपालिका-८ कोटीला माइत भएकी टीकाले एक वर्ष अगाडि हुम्लामा विवाह गरेकी थिइन् । माइती पक्षले टीकाको शव उठाउन नदिएपछि अहिले जिल्ला अस्पतालमै राखिएको छ ।
माइती पक्षले के-कति कारणले आफ्नो छोरीको मृत्यु भएको हो भनी जानकारी नहुँदासम्म शव उठाउन नदिने बताएपछि टीकाको परिवारले शव बुझ्न नमानेको जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम सिंहले जानकारी दिए ।
अस्पतालको प्रसूतिगृहमा शल्यक्रियाद्वारा बच्चा जन्माएका सुत्केरीको मृत्यु भएको भने यो पहिलोपटक हो । यहाँका महिलाले समयमै उपचार नपाउँदा अकालमै ज्यान गुमाउनुपरेको छ ।
जिल्लामा स्वास्थ्यकर्मी नियमित नबस्नु, औषधि उपकरणलगायतको अभावले ज्यान गुमाउने गरेका हो । हुम्ला राष्ट्रिय सडक सञ्जालसँग जोडिएको छैन । गत पुस ३० गतेमात्रै जिल्लाको दक्षिण भेगको अदानचुली गाउँपालिका वडा ६ का गौगरा छत्यालको सुत्केरी भएको पाँच मिनेटपछि मृत्यु भएको थियो ।
source https://www.onlinekhabar.com/2022/01/1068915
0 Comments