७ माघ, काठमाडौं । डिएगो जोटाले दुई गोल गरेपछि आर्सनललाई २-० ले पराजित गर्दै लिभरपुल इंग्लिस लिग कप (काराबाओ) को फाइनलमा प्रवेश गरेको छ ।
घरेलु मैदानमा भएको पहिलो लेग गोलरहित बराबरीमा सकिएको थियो । बिहीबार राति आर्सनलको मैदानमा भएको खेल जितपछि समग्रमा २-० को जितसहित लिभरपुल फाइनल पुगेको हो । लिभरपुलले अब उपाधिका लागि फेब्रुअरी २७ मा चेल्सीसँग वेम्बलीमा फाइनल खेल्नेछ ।
लिभरपुलको जितमा जोटाले खेलको दुवै हाफमा गोल गरे । अफ्रिकन अफ नेसन्स खेल्न गएकाले मोहम्मद सालाह र साडियो माने टिममा नभए पनि पोर्चुगलका जोटाले उत्कृष्ट प्रदर्शन गरे । जोटाले १९औं र ७७औं मिनेटमा गोल गरे । दुवै गोलका लागि ट्रेन्ट अलेक्जान्डर आर्नोल्डले सहयोग गरे ।
खेलको ९० औं मिनेटमा आर्सनलका थोमस पार्टे रातो (दोहोरो पहेँलो)कार्ड पाउँदै मैदान बाहिरिएका थिए ।
source https://www.onlinekhabar.com/2022/01/1068317
0 Comments