उत्साह र ऊर्जाका पर्याय युवा शक्ति भविष्यका आशा र आधार हुन्। युवा अवस्था विभिन्न चुनौती र अवसरले भरिपूर्ण समय हो। व्यक्तिगत, पारिवारिक तथा राष्ट्रको अपेक्षा पूरा गर्ने जिम्मेवारी नयाँ पुस्तामा रहेको हुन्छ। नेपाल जस्तो सीमित स्रोतसाधन भएको देशमा त झन् थप आर्थिक सामाजिक कठिनाइको सामना गर्नुपर्ने हुन्छ। यस लेखमा नयाँ पुस्ताले झेल्नुपरेको र पर्न सक्ने चुनौतीलाई केलाउने प्रयास गरिएको छ।
सामाजिक चुनौती
भ्रष्टाचार, अशिक्षा, बेरोजगारी आदिको चङ्गुलले गाँजिएको समाजमा अगाडि बढ्न पक्कै पनि चुनौतीपूर्ण छ। राज्यको सीमित स्रोतसाधन र त्यसमा सीमित वर्गको पहुँचले देशमा अवसर साँघुरिएका छन्। फलतः युवाहरुको ताँती खाडीको बालुवामा भासिन बाध्य छ। देशमा नातावाद र कृपावादले गर्दा योग्य व्यक्ति सम्बन्धित ठाउँमा पुग्न सकेका छैनन्।
बेरोजगारी बढेर लागूऔषध दुर्व्यसनी, अन्य कुलत लगायत अरु विभिन्न सामाजिक समस्या सृजना भएको छ।
अहिलेका मिडिया, सामाजिक सञ्जाल दुवै किसिमको असर सम्पूर्ण उमेर समूहमा परेको छ। सामाजिक सञ्जाल उपभोक्ताका लागि दुईधारे तरबार बन्न सक्छ। युवा पुस्ताले सामाजिक सञ्जालमा हुने चरित्रहत्या, यौन दुर्व्यवहार र गलत समाचार आदिबाट जोगिंदै त्यसको उच्चतम सदुपयोग गर्न आवश्यक छ। समाजमा व्याप्त विभिन्न समस्या समाधानमा सामाजिक सञ्जालको प्रयोगले युवालाई सहज बनाएको छ।
अहिलेको अर्को चुनौती हो- सामाजिक विकृति। चलिआएका रीतिरिवाज र चाडपर्व माथि आधुनिकता र विकासको नाममा धावा बोलिएको छ। चाडपर्व मनाउने नाममा तडकभडक र अनावश्यक खर्च गरी सामाजिक सञ्जालमा प्रस्तुत गरिनुले हाम्रो परम्परामा मात्र होइन अर्थतन्त्रमा पनि असर पुर्याउँछ। त्यसैले यो विकृतिलाई नयाँ पुस्तामा फैलिनु अघि नै रोक्न आवश्यक छ।
राजनैतिक चुनौती
युवा सीमित उमेर समूह मात्र होइन, एक विचार पनि हो। यदि कोही ६० वर्षको छ तर नयाँ विचार र जोस छ भने ऊ युवा हो। कोही व्यक्ति २५ वर्षको छ तर चरम पुरातनवादी छ भने ऊ नामको मात्र युवा हो। यसरी हेर्दा अहिलेको युवा नेता भनिएकाहरुमा ढिलो जन्मिनु बाहेक अरु कुनै खासै योग्यता छैन।
राजनीतिमा नयाँ पुस्ताको आकर्षण घटिरहेको छ। राजनीतिलाई फोहोरी खेलको संज्ञा दिएर युवा पुस्तालाई त्यसबाट विकर्षण गराउन एउटा समूह सफल भएको छ। यसले सीमित व्यक्तिले राजनीतिमा दशकौंदेखि एकाधिकार जमाउन सफल भएका छन्। केही खेलाडी फोहोर भए भन्दैमा खेललाई नै फोहोर मान्न सकिन्न भनेर अहिलेको युवापिंढीले बुझ्न आवश्यक छ। युवाहरु परिवर्तनको संवाहक हुन्। यदि राजनीतिमा पनि सुधार सम्भावना छ भने त्यो युवा वर्गबाट मात्र सम्भव छ।
युवा वर्गले ठूला भनिएका नेताको निर्णयमाथि के यो सबैको दूरगामी हितमा छ त भनेर प्रश्न सक्नुपर्छ। अब चाप्लुसी र चाकडीबाट माथि उठ्ने बेला आएको छ। नत्र यो मानसिकता नयाँ पुस्तासम्म सर्न सक्छ। असल राजनैतिक अभ्यासको लागि सबैले रचनात्मक दवाब सृजना गर्नु आवश्यक छ।
युवाहरुले अहिले अपनाइएको विरोधको शैलीलाई परिवर्तन गर्न आवश्यक छ। नेताहरुलाई जनावरसँग तुलना गरेर होस् वा व्यक्तिगत कमजोरीको खिल्ली उडाएर गरिने निकृष्ट शैलीले कहिल्यै राम्रो प्रतिफल दिंदैन। कुनै समय राजदरबार हल्लाउने ल्याकत राख्ने युवा वर्गले अहिले स-साना निर्णयमा आफ्नो प्रभाव राख्न सकेको छैन। त्यसैले रचनात्मक विरोध गर्दै आफ्नो स्थान खोज्ने बेला आएको छ। आफ्नो लागि गरिने निर्णयमा युवाले आफ्नो स्थान खोज्नुपर्छ।
आर्थिक चुनौती
कोभिड महामारीले देशको सारा अर्थ व्यवस्था थिलथिलिएको छ। कलकारखाना तथा अन्य आर्थिक गतिविधि समेत ठप्प छन्। बेरोजगारी, गरीबी जस्ता पुराना समस्या झन् फैलिएका छन्। त्यसैले अबका दिन धेरैलाई आर्थिक रुपले चुनौतीपूर्ण छन्।
कोरोनाले गर्दा वैदेशिक रोजगारी कठिन बनेको अवस्थामा युवाहरु परिवार कसरी पाल्ने भन्ने अवस्थामा पुगेका छन्। समयसँगै बढेको आवश्यकता पूरा गर्ने आधार साँघुरिएको छ। यसबाट निम्न वर्ग थप पिल्सिने निश्चित छ। यो अवस्थामा अर्थतन्त्र धान्ने जिम्मेवारी सम्पूर्ण युवाको काँधमा छ। यसमा सरकारको उचित साथ आवश्यक छ। देशभित्रै रोजगारी सृजनामा ध्यान दिनुपर्छ ताकि देशमै केही गर्छु भन्नेलाई अवसर मिलोस्। नयाँ पुस्तालाई सकेसम्म स्वदेशी वस्तु प्रयोग गर्न प्रोत्साहन गर्नु पनि आवश्यक छ। यसले स्वदेशी वस्तु प्रवर्धनमा सहयोग पुग्छ र व्यापार घाटा कम गर्न सकिन्छ।
अहिले नेपालमा नयाँ व्यवसाय शुरु गर्न निकै कठिन छ। युवाहरूले शुरु गरेको धेरै अवसर बोकेका क्षेत्रहरु त्यसै मूर्झाएका छन्। यसको समाधानको लागि युवाहरुलाई आर्थिक तथा प्राविधिक सहयोगको खाँचो छ। नयाँ नयाँ व्यापारिक योजनाहरुलाई सबैले समर्थन गर्नुपर्छ।
युवा पुस्ताको अर्को चुनौती हो- शैक्षिक बेरोजगारी उपयोगिता विमुख शिक्षाले नेपालमा झन् बेरोजगारी बढाएको छ। पढेको ज्ञान उपयोग गरेर जीविकोपार्जन गर्नै मुश्किल छ। यसले नयाँ पुस्ता धेरै उमेरको हुन्जेल समेत बुवाआमामा आश्रित हुन पुगेका छन्। त्यसैले सीप उन्मुख शिक्षा अत्यावश्यक भइसकेको छ।
प्रत्येक चुनौती अवसर बोकेर आउँछन्। चुनौतीको समाधानमा विभिन्न अवसर लुकेको हुन्छ। त्यसैले यो युवापुस्ता माझ अवसर पनि प्रशस्त छन्। युवाहरु माझ सामाजिक, आर्थिक र राजनैतिक समस्या समाधान गर्ने उपायहरुको अभाव छैन। अभाव छ त केवल उचित वातावरणको, उचित स्रोतसाधन र उचित पथ प्रदर्शनको। यसको व्यवस्थापन गर्ने जिम्मेवारी सम्पूर्ण पक्ष र क्षेत्रको हो। तब मात्र हामीले परिकल्पना गरेको समुन्नत समाजको निर्माण गर्न सकिन्छ।
source https://www.onlinekhabar.com/2022/01/1069345
0 Comments