५ माघ, डोटी । सुदूरपश्चिममा कोरोना संक्रमण दर फेरि बढ्न थालेको छ । गएको चार दिनमा एक हजार तीन सय जनामा कोरोना संक्रमण देखिएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालय राजपुर डोटीले सार्वजनिक गरेको विवरण अनुसार माघ १ गतेदेखि मंगलवारसम्म परीक्षण गराउने कुल पाँच हजार सात सय १७ मध्ये एक हजार तीन सय जनामा संक्रमण देखिएको हो ।
सो अवधीमा पीसीआर बिधिबाट परीक्षण गरिएका आठ सय ११ मध्ये चार सय ९३जना अर्थात् झण्डै ६१ प्रतिशतमा संक्रमण देखिएको हो । यस्तै सो अवधीमा एन्टिजेन बिधिबाट परीक्षण गरिएका चार हजार नौ सय ६ जनामध्ये एक हजार आठ सय सात अर्थात् १६.४४ प्रतिशतमा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकले देखाउँछ ।
निर्देशनालयले सार्वजनिक गरेको तथ्यांक अनुसार मंगलवारमात्रै चार सय ८८ जनामा संक्रमण देखिएको छ । पीसीआर बिधिबाट परीक्षण गरिएका तीन सय ९५ जनामध्ये दुई सय ५७ जनामा संक्रमण देखिएको हो । यस्तै मंगलवार एन्टिजेन गरिएका एक हजार एक सय ४१ मध्ये तीन सय ४१ जनामा संक्रमण देखिएको छ ।
सोमबार भएको परीक्षणमा तीन सय ४५ जनामा संक्रमण देखिएको छ । पीसीआर विधिबाट परीक्षण गरिएका एक सय ८५ मध्ये एक सय तीन जनामा संक्रमण देखिएको हो । यस्तै एन्टिजेन विधिबाट परीक्षण गरिएका एक हजार ९० जनामध्ये दुई सय ४२ जनामा संक्रमण देखिएको हो ।
आइतबार पीसीआर विधिबाट परीक्षण गरिएका २० जनामध्ये सात जनामा संक्रमण देखिएको छ । एन्टिजेन परीक्षणबाट परीक्षण गरिएका एक हजार चार सय ४७ मध्ये एक सय ७७ मा संक्रमण देखिएको थियो ।
शनिबार गरिएको पीसीआर परीक्षणमा दुई सय २१ मध्ये एक सय २६ जनामा संक्रमण देखिएको छ । यस्तै एन्टिजेन विधिबाट परीक्षण गरिएका एक हजार दुई सय आठमध्ये एक सय ५७ जनामा संक्रमण देखिएको थियो ।
चार दिनमा दुई जनाको मृत्यु
माघ महिनाको पहिलो चार दिनमा सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणका कारण दुई जनाले ज्यान गुमाएका छन् ।
आइतबार खप्तड छेडेदह गाउँपालिका-२ बाजुराका ५२ वषर्ीय एक पुरुषको होम आइसोलेसनमा रहेका बेला मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
यस्तै शनिबार कैलालीको कैलारी गाउँपालिका-५ की एक महिलाको सेती प्रादेशिक अस्पतालमा उपचार गराउने क्रममा मृत्यु भएको छ ।
चार लाख ५५ हजारमा परीक्षण
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पहिलो चरणको संक्रमण सुरु भएदेखि हालसम्म चार लाख ५५ हजार ६९ जनामा कोरोना परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये ५१ हजार दुई सय २१ जनामा संक्रमण पुष्टि भएको छ ।
हालसम्म पीसीआर विधिबाट परीक्षण गरिएका दुई लाख १३ हजार आठ सय १२ मध्ये ३९ हजार दुई सय दुई जनामा संक्रमण देखिएको छ । यस्तै एन्टिजेन विधिबाट परीक्षण गरिएका दुई लाख ४१ हजार दुई सय ५६ मध्ये १२ हजार तीन सय १९ जनामा संक्रमण पुष्टि भएको छ ।
सुदूरपश्चिममा हालसम्म ६ सय १६ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएका दुई सय ४६ र पीसीआर विधिबाट संक्रमण पुष्टि भएका तीन सय ७० जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकमा उल्लेख छ ।
source https://www.onlinekhabar.com/2022/01/1067428
0 Comments