Looking For Anything Specific?

Header Ads

‘चाँदीको गडबडीमा स्वतन्त्र अनुसन्धान हुनुपर्छ’

नेपालमा चाँदी गहनाका रूपमा भन्दा पनि सजावटको वस्तुको रूपमा बढी मात्रामा खपत हुने गरेको छ । नेपाली उपभोक्ताहरू बरु नक्कली नै भए पनि सुन लगाउने तर चाँदीको गहना नलगाउने प्रवृत्तिका छन् । त्यसैले यहाँ निकै थोरै मात्रामा गहना र त्यो बाहेक सजावटका वस्तु र हस्तकलामा चाँदीको खपत हुने गरेको छ ।

नेपाल हस्तकला महासंघ र सुन-चाँदी व्यवसायी महासंघको हिसाबलाई हेर्ने हो भने नेपालमा औसत दैनिक १०० देखि बढीमा ३०० किलोसम्म मात्रै चाँदीको खपत रहेको हाम्रो वर्षौंको अनुभवले भन्छ । तिहारको मुखैमा अलि धेरै मात्रामा चाँदीको खपत हुन्छ त्यो बाहेक चाँदीको खपत अत्यन्तै न्यून छ ।

अझ पछिल्लो तीन वर्षलाई हामीले हेर्ने हो भने कोभिडका कारण बजार ठप्प छ । यस्तो बेलामा चाँदीको खपत कति थियो भन्नलाई सामान्य अवस्थाको मागको अनुमान समेत गलत हुन सक्छ । यो भनेको महामारीको समयमा चाँदीको खपत निकै नै कम छ ।

तर, अचम्म बजारमा खपत कम आयात भने उच्च छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघमा आएको विवरण अनुसार नेपालमा अहिले दैनिक चारदेखि पाँच हजार किलोसम्म चाँदीको आयात छ । दैनिक खपत १०० देखि ३०० किलोसम्म हुने तर आयात चार-पाँच हजार किलो हुनुले यहाँ ठूलो ‘ग्याप’ देखिन्छ । यो खोजीको विषय हो । हिजो आजको मात्रै होइन केही वर्षदेखिका विवरण हेरेर सरकारले खोजी गर्नुपर्छ ।

नेपालमा २०५६ सालअघि सुन र चाँदीको कारोबार अवैध थियो । तत्कालीन अर्थ राज्यमन्त्री रूप ज्योतिको पालामा सुन र चाँदीको आयात जसले पनि गर्न पाउने कानून आयो । त्यसपछि पनि यो व्यवसाय सङ्लो भएन ।

२०६६ सालमा पनि सरकारले सुन र चाँदीमा कोटा प्रणाली लागू गर्‍यो । सुनको कोटामा खासै विरोध नभए पनि चाँदीमा लगाइएको कोटा प्रणालीबारे व्यवसायीले आन्दोलन गरेपछि सुनमा कोटा यथावत् राखियो भने चाँदी जसले पनि आयात गर्न सक्ने गरी खुला गरियो । त्यसपछि सुन-चाँदी व्यवसायी महासंघ आबद्ध व्यक्तिबाट चाँदी आयात भएन ।

चाँदीको अवैध कारोबार रोकेर, सुनमा लगाउन सकिए पनि हुन्थ्यो वा सरकारले अन्यत्रै त्यो पैसा जोहो गरेर पनि खर्च गर्न सक्ने थियो । सुन व्यवसायीले जसरी देशका लागि राजश्व, रोजगारी सिर्जना गर्न र आयकर मार्फत देशलाई योगदान गरेका छन् चाँदीको अदृश्य कारोबारमा यो पक्कै हुन्न नै

केही मात्रामा चाँदीको आयात हस्तकला महासंघबाट हुन्छ भने बाँकी ठूलो परिमाणको चाँदी आयातमा अन्य व्यवसायीहरू सामेल भए । हामी ठोकुवाका साथ भन्न सक्छौं यसमा सुन-चाँदी व्यवसायी महासंघ बाहिरका मानिसको संलग्नता छ ।

हामीले चाँदी किन्ने पनि अन्य व्यवसायीहरू सँगै नै हो । हामीलाई चाहिएको बेलामा चाँदी महँगोमा उनीहरूले बिक्री गर्छन् । चाँदी जसले आयात गर्ने भए पनि यो खरीद प्रक्रिया सरकारी निकायको प्रणालीमै आधारित छ । राष्ट्र बैंकले बैंकहरूलाई दिएको एलसी प्रक्रियाबाटै चाँदी खरीद शुरू हुने हो र चाँदी भन्सार भएरै आउने हो ।

त्यसैले कुन व्यापारीले कुन बैंक मार्फत एलसी खोलेर कति चाँदी आयात प्रक्रिया थालेको छ र चाँदी कहाँ बिक्री भइरहेको छ भन्ने कुरा भन्सार, अर्थ मन्त्रालय र राष्ट्र बैंकलाई राम्ररी जानकारी हुनुपर्छ । यो सूचना सरकारी प्रणालीमा छैन भने बैंकबाट एक मिनेटमै राष्ट्र बैंकले सबै विवरण लिन सक्छ ।

महासंघमा पनि नेपालको तराईका जिल्लाहरूमा पुगेको चाँदी बोर्डर तर्छन् भन्ने गुनासाहरू छन् । तर हामीले यसलाई पुष्टि गर्ने आधारहरू पाएका छैनौं । यहाँ चाँदी आउने, खपत नहुने तर मौज्दातमा पनि नहुने भनेको त चाँदी यत्तिकै नहराउनुपर्ने हो । हराएको हो भने सरकारले खोजी गर्नुपर्छ ।

नेपाल आइसकेपछि सुन वा चाँदी जस्ता बहुमूल्य धातु, कच्चा पदार्थ वा ढिक्का रूपमा अन्यत्र निर्यात गर्न पाइँदैन । सजावटका वस्तु वा गहनाको रूपमा केही मात्रामा हस्तकलाले चाँदी निर्यात गर्छ । निर्यातका लागि सरकारले छुट्टै अनुमति दिएको छ ।

नेपालको ढुकुटीको डलर सञ्चितिबाट ल्याइएको चाँदी अनौपचारिक क्षेत्रमा गयो भने त यसको सीधा असर अर्थतन्त्रमा पर्छ । नेपालको बजारमा सुन-चाँदी व्यवसाय गर्ने उपभोक्ता र व्यवसायीलाई सुन पुगेको छैन तर भारत तस्करी हुने चाँदीमा ठूलो रकम बाहिरिएको छ ।

चाँदीको अवैध कारोबार रोकेर, सुनमा लगाउन सकिए पनि हुन्थ्यो वा सरकारले अन्यत्रै त्यो पैसा जोहो गरेर पनि खर्च गर्न सक्ने थियो । सुन व्यवसायीले जसरी देशका लागि राजश्व, रोजगारी सिर्जना गर्न र आयकर मार्फत देशलाई योगदान गरेका छन् चाँदीको अदृश्य कारोबारमा यो पक्कै हुन्न नै ।

नेपालले आर्जन गरेको डलरबाट चाँदी ढिक्का किनिन्छ, ढिक्का नै बाहिर जान्छ । यसले अर्थतन्त्रमा क्षय गर्छ । चाँदीमा कडाइ गर्दा तीन अर्ब मात्रै जोगाउन सकियो भने त्यो रकम त जहाँ खर्च गरे पनि हुन्छ । यस्तो चाँदीको कारोबारलाई तत्काल बन्द गर्नुपर्छ ।

राष्ट्र बैंकले पनि चाँदीको खुल्ला आयातबारे सुन-चाँदी व्यवसायीलाई सोधपुछ गरेर चाहिने परिमाण मात्रै आयात गर्ने वातावरण बनाउनुपर्छ । अर्थ मन्त्रालय, राष्ट्र बैंक सचेत हुनुपर्छ । चाँदीको कारोबारमा स्वतन्त्र अनुसन्धान गरिनुपर्छ, अर्थ मन्त्रालय र राष्ट्र बैंक मौन बस्न मिल्दैन ।

(नेपाल सुन-चाँदी व्यवसायी महासंघका महासचिव बज्राचार्यसँग अनलाइनखबरकर्मी नवीन ढुंगानाले गरेको कुराकानीमा आधारित ।)



source https://www.onlinekhabar.com/2021/11/1032748

Post a Comment

0 Comments