Looking For Anything Specific?

Header Ads

‘भारतीय सीमासम्म चाँदी कानूनी खोल ओढेरै पुग्छ’

नेपाल–भारत खुला सीमाको फाइदा उठाएर हुने तस्करीका धेरै रूप छन् । त्योमध्ये चाँदी पनि एक हुन सक्दछ । यहाँ तस्करी के भयो भन्दा पनि तस्करी कसले गर्दैछ भन्ने महत्वपूर्ण छ । किनभने, तस्कर त्यो हो जसले तस्करीको सामानलाई भन्दा पनि बढी नेपाल सरकार र यसको प्रणालीलाई राम्ररी चिनेको हुन्छ ।

यत्ति भएपछि तस्करी त जे–जे को गरे पनि भयो । कहिले रक्तचन्दन, कहिले सुन, कहिले चाँदी कहिले के– यो भइनै रहन्छ । नेपालबाट भारततर्फ चाँदीको तस्करी हामीले सुनेकै विषय हो । यस्तोमा संलग्नहरू पक्राउ परेका धेरै उदाहरण नेपाल प्रहरीभित्र छन् । त्यो हिजो पनि थियो, आज पनि छ र भोलि पनि हुन्छ । नेपाल–भारत सीमामा हुने तस्करी, यसका रूप, यसमा सरकारी निकायको भूमिका र अबको बाटोलाई म चार किसिमले चित्रण गर्न चाहन्छु ।

सीमासम्म कानूनी खोल ओढेर पुग्छ तस्करीको सामान

धेरै मान्छेलाई सुन्दा अचम्म लाग्न सक्छ तर हामीले भोगेको सत्य के हो भने तस्करी हुने बिन्दुसम्मै पुग्दा पनि प्रहरीलाई तस्करीको सामान र अभियुक्त समाउन कठिन हुन्छ । किनभने तस्कारी हुने सीमा क्षेत्रको केही मिटरसम्म नेपालबाट तस्करी हुने कुनै पनि वस्तु कानूनी खोल ओढेरै पुग्छ । यसलाई हाम्रो राज्य प्रणालीले पनि सहयोग गरिराखेको हुन्छ । जस्तै बैंकका कागज, खरीद–बिक्री बिल यस्ता कागजका भरमा ती वस्तुहरू सीमाको केही मिटर छेउसम्म पुग्छन् ।

तस्करीका लागि लगिएको केही सय किलो चाँदी काठमाडौंबाट खरीद भएर बारा, पर्साको सीमासम्म पुग्दा पनि त्यो गैरकानूनी हुँदैन । प्रहरीको आँखा छल्न तस्करहरूले गर्ने यो पुरानो र नियमित तरिका हो । यसलाई नियन्त्रण गर्न निकै कठिन छ ।

सीमा छेउमा पुगेको शंकास्पद बहुमूल्य वस्तु अरू उद्देश्यका लागि हुँदै हुँदैन भन्ने प्रहरीलाई वा कानून कार्यान्वयन गर्ने अर्को निकायलाई पनि थाहा हुन्छ । तर, सरकारी कागजका कारण त्यहाँ कारबाही गर्नै नसकिने अवस्था सृजना हुन्छ । त्यस्ता वस्तुहरू तस्करले केही मिनेटकै भरमा पनि तस्करी गर्न सक्छन् ।

मानौं तस्करीका लागि लगिएको केही सय किलो चाँदी काठमाडौंबाट खरीद भएर बारा, पर्साको सीमासम्म पुग्दा पनि त्यो गैरकानूनी हुँदैन । प्रहरीको आँखा छल्न तस्करहरूले गर्ने यो पुरानो र नियमित तरिका हो । यसलाई नियन्त्रण गर्न निकै कठिन छ ।

तस्करलाई नेपालको प्रणालीको कमजोरी थाहा छ

अहिले चाँदी तस्करीको बारेमा हामी कुरा गरिरहेका छौं तर यही भूगोलबाट सुपारी, सुन, रक्तचन्दन लगायत कैयौं वस्तु तस्करी भइरहेका छन् । यसो हुनुमा संगठित अपराधमा संलग्नहरू सहभागी छन् भन्ने बुझ्नुपर्छ । र तिनीहरूलाई नेपालको प्रणालीको कमजोरी थाहा हुनु सबैभन्दा महत्वपूर्ण कुरा हो । त्यसपछि उनीहरू चाँदी मात्रै होइन जे वस्तु पनि तस्करी गरिदिन्छन् ।

यसमा सीमा क्षेत्रका कतिपय गतिविधि पनि जिम्मेवार छन् । व्यापार, उद्योगको खोल ओढेर तस्करीमा सहभागी हुनेको संख्या धेरै छ । दशगजाको नजिकै ठूला गोदाम राखेका छन् । गोदाम वा पसलमा राख्न मिल्ने, नमिल्ने सबै सामान राखेका छन् । जहाँबाट वार कि पार गर्न केही मिनेट पनि लाग्दैन । चाँदी प्रकरणमा यस्ता घटनाहरू विगतमा पनि थिए र अहिले पनि होलान् ।

भरिया प्रयोग

सीमा क्षेत्रमा व्यापार गर्ने भनेर कहलिएकाहरू तस्करीमा संलग्न छैनन् भन्न सक्ने अवस्था छैन । म उनीहरूलाई व्यापारीको आडका तस्कर भन्न सक्छु । तर विडम्बना भन्नुपर्छ हामीले तस्करीको मुख्य जालो पहिल्याउनै सक्दैनौं । तस्कर थाहा छ तर सारै गरीब र सोझा मानिस छन् । कमजोर सूचनाका आधारमा भरिया बनाएर उसलाई तस्करीका लागि प्रयोग गरिएका कारण मुख्य अपराधी सधैं उम्किने गरेको छ ।

तस्कारी गर्नेलाई आफूले बोकेको सामान के हो, कसले दिएको भन्ने समेतको सूचना हुन्न । उनीहरू सानो मात्रामा पैसाको लोभका लागि यो काममा सहभागी हुन्छन् जसले गर्दा उनीहरू फस्छन् र मुख्य मान्छे उम्किन्छन् ।

सूचनामा बनाइएको विभिन्न तहको जालोका कारण प्रहरीको अनुसन्धान निकै कमजोर बन्न पुग्छ । यसमा नेपालको तराईका जिल्लाहरूको कमजोर संरचनाका बोर्डरका पोष्टहरू पनि जिम्मेवार छन् । सयौं किलोमिटर खुला सीमा, कमजोर सुरक्षा सीमा संरचना पनि तस्करीको कारण बन्न पुगेका छन् ।

भारततर्फ पाँच–पाँच किलोमिटरमा सुरक्षा निकाय छ तर हाम्रोमा त्यस्तो छैन । भएका सुरक्षा निकाय पनि भौतिक र पूर्वाधारको हिसाबले निकै कठिनसँग बसेका छन् । झट्ट हेर्दा तस्कर भन्दा राज्यको सुरक्षा निकाय निम्छरो देखिने अवस्था छ । विराटनगर, लाहान, काँकडभिट्टा, वीरगन्ज, भैरहवा जस्ता ठूला ठाउँ खोलेर अन्यत्र सीमामा कडाइ नगरी यो रोकिन सम्भव नै देखिन्न ।

कानून र प्रविधिमैत्री सुरक्षा निकाय

सीमा क्षेत्रमा नेपाल र भारतका सुरक्षाकर्मीहरूमा एकआपसमा राम्रो सहकार्य मैले देखेको छु । तर अपराध नियन्त्रणमा नेपाली अन्तर सरकारी निकाय बीचको अन्तरद्वन्द्व भने प्रशस्तै छ । क्षेत्राधिकार विवादका कारण पनि तस्करीलाई बल पुगिरहेको पाइन्छ ।

संगठित अपराध नियन्त्रण गर्न यस्ता समस्याले बल पुर्‍याउँदैन । विगतका अपराध अनुसन्धानमा भएको फितलो अनुसन्धान, मुद्दा र अदालती फैसलाका कारण संगठित अपराधमा अनुसन्धान गर्न सुरक्षा निकायको मनोबल राम्रो छैन ।

यसले संगठित अपराधलाई बढावा दिन्छ । अनुसन्धान गर्ने निकायले काम गर्नै पाउँदैनन् । सरकारी कागज र कानूनले व्यापारी भनेको छ तर व्यवहारमा हेर्‍यो भने तस्करीको काम गरिरहेको हुन्छ । यसमा अनुसन्धानकर्तालाई कानूनी, प्रविधि र अनुसन्धान क्षमताका लागि खरो रूपमा तयार गर्नुपर्छ ।

त्यसैगरी संगठित अपराध हेर्ने निकायको सशक्तिकरणमा सुरक्षा निकायलाई कानून र प्राक्टिस पनि पर्याप्त छैन । कानूनी भन्नाले नियमले जति अनुसन्धानकर्तालाई अधिकार दिनुपर्छ त्यो छैन । सूचना विश्लेषण गर्ने तरिकाहरू जस्तै कल डिटेल्स वा सामाजिक सञ्जाल अनुसन्धान गर्ने कार्यमा प्रहरीलाई कम अधिकार दिएको छ ।

जस्तो कि कल डिटेल्सकै लागि प्रहरीले पाउने हैरानी एउटा उदाहरण हो । यसमा अपराधी धेरै पर पुग्दासम्म पनि प्रहरी प्रक्रियामै अल्झिरहेको हुन्छ । यस्तो प्रवृत्ति तोडिनुपर्छ । प्रविधिमा प्रहरीको पहुँचका लागि सरकारले सघाउनुपर्छ । यस्तो विषय हेर्ने अधिकारीलाई स्वतन्त्र र जिम्मेवार बनाउनु जरूरी छ ।

(नेपाल प्रहरीका पूर्व डीआईजी अधिकारीसँग अनलाइनखबरकर्मी नवीन ढुंगानाले गरेको कुराकानीमा आधारित ।)



source https://www.onlinekhabar.com/2021/11/1032737

Post a Comment

0 Comments