१५ वैशाख, काठमाडौं । रोमाञ्चक खेलमा दिल्ली क्यापिटल्सलाई १ रनले हराउँदै रोयल च्यालेन्जर्स बैंगलोर इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।
मंगलबार भएको खेलमा बैंगलोरले दिएको १७२ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १७० रन मात्र बनाउन सक्यो । कप्तान ऋषभ पन्त र शिमरोन हेतमायरले अर्धशतक बनाए पनि जित दिलाउन सकेनन् ।
अन्तिम ओभरमा दिल्लीलाई जितका लागि १४ रन चाहिएको अवस्थामा यी दुई खेलाडीले १२ रन मात्र जोडे । अन्तिम ओभरको सुरुवाती चार बलमा चार रन मात्र जोडेको दिल्लीका लागि अन्तिम दुई बलमा खेल जित्न १० रन चाहिएको थियो । ऋषभले लगातार दुई चौका प्रहार गरे पनि पर्याप्त भएन ।
४८ बल खेलेका कप्तान पन्तले ढिला ब्याटिङ गर्दै ६ चौका मद्दतमा अविजित ५८ रन बनाए । अर्कोतर्फ आक्रामक ब्याटिङ गरेका हेतमायरले २५ बल खेल्दै २ चौका र ४ छक्का मद्दतमा अविजित ५३ रन जोडे । यस्तै मार्कुस स्टोनिसले २२ र पृथ्वी शले २१ रन बनाए ।
बैंगलोरका हर्सल पटेलले २ विकेट लिए भने मोहमद सिराज र केल जेमिसनले समान १ विकेट लिए ।
त्यसअघि अहमेदावादमा टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७१ रन बनाएको थियो ।
एबी डे भिलियर्सले कागिसो रबाडाले बलिङ गरेको अन्तिम ओभरमा ३ छक्कासहित २२ रन जोडेपछि बैंगलोरले राम्रो स्कोर बनाएको थियो । उनले ४२ बल खेल्दै ३ चौका र ५ छक्का मद्दतमा अविजित ७५ रन बनाए । यस्तै रजत पाटीदरले ३१ र ग्लेन म्याक्स्वेलले २५ रन जोडे ।
दिल्लीका इशान्त शर्मा, कागिसो राबडा, अभेस खान, अमित मिश्रा र अक्षर पटेलले १–१ विकेट लिए ।
जितपछि ६ खेलबाट १० अंक जोडेको बैंगलोर शीर्ष स्थानमा उक्लेको छ । ६ खेल खेल्दा दोस्रो हार व्यहोरेको दिल्ली ८ अंकसहित तेस्रो स्थानमा छ । दिल्लीसँग समान अंक भए पनि चेन्नाई सुपर किंग्स रनरेटमा अगाडि रहँदै दोस्रो स्थानमा छ ।
source https://www.onlinekhabar.com/2021/04/949197
0 Comments