Looking For Anything Specific?

Header Ads

चितवनको ठिमुराबाट देवघाट जोड्ने पक्की पुल भत्कियो

२४ चैत, चितवन । तनहुँको देवघाट र चितवनको ठिमुरा जोड्न त्रिशुली नदी माथि बनिरहेको पुल भत्किएको छ । सडक डिभिजन कार्यालय भरतपुरले दिएको जानकारी अनुसार पुलको ८० मिटर भाग भत्किएको हो । २२० मिटर लामो र ८.५ मिटर चौडाइको पुलको पिलरको काम सकिएको थियो ।

इलाइट, एड्भेन्चर र इन्द्रेणी जेभी गरी तीन कम्पनी मिलेर बनाउँदै गरेको पुल ढलान गरेको २१ दिनको दिनमा भत्किएको सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख कृष्ण अधिकारीले जानकारी दिए । उनका अनुसार साधारणतया २८ दिनमा पुलको ढलानका सपोर्ट निकाल्ने गरिन्छ । उनले प्रिस्टेसिङका क्रममा रहेको ४० मिटरको पुल भत्किदा अर्को बनिसकेको ४० मिटर भागसमेत भत्किएको छ ।

पुलको एक खण्डमा ट्रसको काम भैरहेको थियो । पुलको चारवटा स्पानमध्ये मुख्य भागमा ८० मिटर लामो स्टिलको ट्रस्ट संरचना बन्दै थियो । सो ट्रसलाई लिफ्ट गर्दा ढलान गरिएको पुलमा धक्का दिँदा भत्किएको हुनसक्ने उनको अनुमान छ । यस बारेमा थप अनुसन्धान भैरहेको अधिकारीले बताए ।

सोमवार पूर्वी नेपालमा गएको भूकम्पको साधारण धक्काले समेत असर गरेको हो कि भन्ने अनुमान गरिएको अधिकारीले बताए । भत्किएको पुलको भाग सफा गर्दा समय लाग्ने र वर्षा अघि पुलको यो खण्डको काम गर्न नसकिने उनले बताए । ‘एकातिर समय बर्वाद भयो, अर्कोतिर लागत बढ्यो, ठेकेदार त राम्रो नै हो,’कार्यालय प्रमुख अधिकारीले भने, ‘तर दुर्भाग्य यस्तो भयो ।’

कार्यालय प्रमुख अधिकारीले ठेकेदार कम्पनी राम्रो भएको बताए पनि स्थानीयले ठेकेदारले समयमा नै काम नसकेको भन्दै पटक–पटक विरोध गर्दै आएका छन् ।

सुरुमा १६ करोडको लागतमा ठेक्का सम्झौता भएको पुलको डिजाइन ‘रिभ्यू’ गरेर २१ करोड ६८ लाख पु¥याइएको छ । डिजाइन संशोधनमा १८ महिना, भूकम्पमा ६ महिना र नाकाबन्दीमा ३ महिना काम रोकिएको थियो । दुई पटकसम्म म्याद थप गरिएको पुलको सम्झौता अवधि पुस १३ गते सकिएको थियो । कोरोना भाइरसको संक्रमणलाई देखाउँदै फेरि म्याद थप गरिएको थियो ।

भरतपुर महानगरपालिका वडा नं. १ ठिमुरादेखि देवघाट गाउँपालिका वडा नं. ५ को घिनटार जोड्न त्रिशुली नदीमाथि बन्दै गरेको पुलको ६ वर्षअघि शिलान्यास गरिएको थियो ।

ठेकेदारले समयमा नै पुलको काम नगरेपछि महालेखा परीक्षकको कार्यालयसमेत सडक डिभिजन कार्यालयसँग जवाफ माग गरेको थियो । निर्धारित समयमा काम नसकेको, पटक–पटक डिजाइन फेरेको र काम ढिलो हुँदा लागत रकम बढेकोबारे महालेखाले चासो व्यक्त गरेको थियो । २०७१ कात्तिक २० गते ठेक्का सम्झौता भएको पुल २०७४ कात्तिक २० गते  भित्र बनाइसक्नुपर्ने थियो ।



source https://www.onlinekhabar.com/2021/04/943438

Post a Comment

0 Comments