बाकस आयो, बाकस आयो
छ फुटे बाकस आयो !
पल्लाघरे काकाले भने
हिड़ जाउँ काठमाडौँ, तिम्रो बाबाको बाकस आयो
आमा त हिजै गैसकिछन्
काका- आमालाई भन्दिनू
म पुग्नुभन्दा पहिला नखोल्नु रे बाकस !
जादाखेरि बाले भनेर गा’थे
कोशेली पठाउँछु
तिम्रा लागि बाकसभरि
आमाका लागि झोलाभरि
आमा त रुँदै गइन् अरे !!!
आफ्ना लागि कम भो भनेर हो कि ?
नरुनु है आमा, नाना मात्र म लगाऊँछु
पापा त खाउँला नि बाँडीचुँडी !
काकाले मलाई सुमसुम्याउँदै
काखमै राखे बाटोभरि
सधैं सपनीमा बा आउँछन्
गाडीमा पनि निदाएँ, आउलान् कि भनी
आज सपनीमा पनि बाकस मात्र देखें
सोचें, कस्तो लोभी भएँ म पनि !
ट्याक्सीमा पहिलोचोटि चढ़दैछु
सिधै छिर्यो एयरपोर्टभित्र
आमा अझै रुँदै रहिछिन्
छाती पिटीपिटी !
अलि नजिक गएर हेरें
बा पो रहेछन् बाकसभित्र !
आमाको मुख थुनें दुईवटै हातले
निदाई रा’छन् बा भनी !
बासँगै सत्र बाकस बन्द थिए
खुशी भएँ ! बा पनि आएछन्
ल्याएछन् बाकस अरु पनि !
धुप अगरबत्ती, अबिर अनि खादा
आउँदा किन निदाएछन् बा
उठेरै गा’थे जाँदा !
बालाई पशुपति लग्नुपर्छ भन्दा
अचम्ममा परें ।
सुतिरहेको मान्छे कसरी गर्छ र दर्शन भनी !
मन्दिर पुग्दा त उठ्लान् बा
कस्ती लाटी म पनि !
source https://www.onlinekhabar.com/2021/01/927686
0 Comments