१७ माघ, काठमाडौं । २०४६ सालको जनआन्दोलन उत्कर्षमा थियो । वर्गीय र पेशागत क्षेत्रका कर्मचारी पनि जोडतोडले बहुदलीय प्रजातन्त्रका निम्ति संघर्षमा उत्रिएका थिए । राष्ट्रिय वाणिज्य बैंकमा कार्यरत युवा शार्दूल भट्टराई पनि साहित्यकारको मोर्चाबाट आन्दोलनमा सक्रिय भए ।
साहित्यकारको टोली त्रिचन्द्र क्याम्पसमा चैत्र-३ गते कालोपट्टी बाँधेर विरोध गर्न बस्यो । केहीबेरमै प्रहरीले पारिजात, आनन्ददेव भट्ट, विमल निभालगायत साहित्यिकलाई पक्राउ गरी केही समय थुनामा राख्यो । अरुलाई दिउँसै छाड्दा पनि शार्दूल र गायक रामेशलाई भने रातिसम्म थुन्यो ।
प्रहरीको पुष्टि थियो, ‘दिनभरी पर्चा बाँडने शार्दूल र रामेश नै हुन् ।’
बैंकको कर्मचारी भई आन्दोलनमा पूर्णकालीन सक्रिय बन्दा शार्दूल आँखी बने । तर बहुदल आएपछि सबै सामान्य बन्यो । यद्यपि, अन्यायको विरोध गर्ने स्वभाव उनमा बसिसकेको थियो । त्यो विरोध कहिले नाटकबाट बाहिर आउँथ्यो त कहिले कविताबाट । कहिले लेखबाट आउँथ्यो त कहिले सम्पादकीयबाट ।
आज शार्दूल भट्टराई एक विशिष्ट नाटककार र कविको रुपमा परिचित छन् । त्यसबाहेक अनुवादक, सम्पादक र समीक्षकको जिम्मेवार–पदवी उनकै काँधमा छ । २०३५ सालदेखि सृजनामा सक्रिय शार्दूलका ‘बाँसुरी आतंक’ नाटकसंग्रह र ‘पुल खस्यो’ कविताकृति प्रकाशित छ । अहिले एकजोडी नयाँ कवितासंग्रह र नाटक प्रकाशनको अन्तिम चरणमा छन् उनी ।
पुस्तक संख्या थोरै भएपनि शार्दूलका फुटकर रचना सबैजसो साहित्यिक पत्रिकामा प्रकाशित छ । दैनिक अखबारमा आउने प्रभावशाली समीक्षा र विश्वप्रसिद्ध साहित्यकार माथिका गहकिला लेखले उनी पाठकमाझ लोकप्रिय छन् ।
****
पण्डित बोधराज भट्टराईको सिन्धुपाल्चोक सिन्धुकोट र काठमाडौंको चाबहिल दुवै ठाउँमा घर–जग्गा थियो । भट्टराई परिवार साँखुको बाटो हुँदै चाबहिल–सिन्धुकोट आउजाऊ गरिरहन्थ्यो । सिन्धुकोटको त्यही पुख्र्यौली घरमा २०१७ असोज १६ गते शार्दूल भट्टराईको जन्म भयो । पाँच वर्षको हुँदा पढ्नका लागि चाबहिल आएका उनी आजसम्म यही क्षेत्रमै बसोबास गर्छन् । अहिले दुई छोरा र परिवारसहित शार्दूल चाबहिल–मैंजुबहालमा बस्छन् ।
बालक शार्दूलले कहिले चाबहिल स्कुल त कहिले पद्मोदय पढ्न थाले । कक्षा आठदेखि भने जनकपुर पढ्न पुगे । काठमाडौंको काँठमा हुर्केखेलेका उनलाई जनकपुर अर्कै देशजस्तो लाग्यो । जनकपुर बसाइबारे शार्दूल भन्छन्, ‘घर छाडेपछि धेरै कुरा सिकिने रहेछ । जनकपुर बसाइमा मैले हिन्दी, मैथिली र भोजपुरी सिकें । सिनेमा हेर्न सिकें ।’
जनकपुर जानु पछाडिको कारण भने शार्दूलका एकमात्र दाइ गणेश भट्टराई रहेछन् । दाइका जेठान जनकपुरमा बस्दा रहेछन् । त्यही मेसोमा दाइको पछि लागेर जनकपुर पुगेका थिए शार्दूल ।
जनकपुरको परिवेशले जीवनको अर्को क्षितिज देखायो उनलाई । त्यहाँ हिन्दी फिल्म हेर्ने लत लागेको सुनाउँदे उनी भन्छन्, ‘जुन फिल्म हलमा लाग्थ्यो, पहिलो सो नै हेर्न पुग्थेँ ।’
फिल्म तीव्र लतले उनको हिन्दी भाषामा पकड बनायो । अन्ततः विद्यालय शिक्षा र जनकपुरको सरसंगतमा उनले संस्कृत, अंग्रेजी, हिन्दी, मैथिली मज्जाले बुझ्न सक्ने भए । औपचारिक अध्ययनमा भने एमए नेपालीसम्म पढे ।
कीर्तिपुरमा एमए पढ्दाका दिन कहिल्यै बिर्सिंदैनन् शार्दूल । भन्छन्, ‘वासुदेव त्रिपाठी, कृष्णप्रसाद पराजुली, मोहनराज शर्मा जस्ता मूर्धन्य व्यक्तिले हामीलाई पढाउनुहुन्थ्यो । विश्वविद्यालय र प्राध्यापकप्रति आदरभाव थियो त्यतिबेला ।’
विश्वविद्यालयपछि स्वाध्ययन नै जीवनको ध्येय बन्यो उनको । जागिर खाने र साथीभाइ भेट्ने समयबाहेक उनको एकमात्र काम लेख–पढ नै बन्यो । तीव्र अध्ययन मोहबारे शार्दूल खुलाउँछन्, ‘अरुलाई उछिनौं भनेर पढ्न थालेको होइन । फुर्सदको समय पाउँदा पढ्ने बानी गरेको लत नै भइसकेछ ।’
बैंक भर्सेस साहित्य
जनकपुरबाट एसएलसी दिएर (२०३४) फर्केपछि रत्नराज्य क्याम्पसमा आइए पढ्दै थिए शार्दूल । जनकपुर–काठमाडौं गर्दा बीचमा एक वर्ष ग्याप पनि भयो उनको । तर त्यतिबेलासम्म शार्दूलका दाइ गणेशले सरकारी जागिर सुरु गरिसकेका थिए । दाइकै आदेशमा शार्दूलले राष्ट्रिय वाणिज्य बैंकमा मुखिया पदको लागि लोकसेवामा आवेदन दिए । पहिलोपटक नै नाम निस्कियो ।
शार्दूल भन्छन्, ‘यसो परीक्षा दिऊँ न भनेर वाणिज्य बैंक गएको मेरो लागि जागिरको पहिलो र अन्तिम गन्तव्य बन्न नै रावा बैंक बन्यो ।’
यसो त बैंकमा नाम निस्केको एक महिनामा उनले प्रशासनतर्फ मुखिया पदमा पनि नाम निकालेका थिए । त्यहाँ अन्तरवार्तामा पहिलो नम्बरमा नाम निस्केपछि उनलाई ‘राम्रै ठाउँ’मा नियुक्ति दिने भनिएछ । भर्खरै आइए पढ्दै गरेका शार्दूलले ‘राम्रो ठाउँ’को अर्थ बुझ्न सकेनन् ।
‘राम्रो ठाउँ भनेको त भन्सार, मालपोतजस्ता कार्यालय पो रहेछ’ आफ्नो अबोधपन सम्झँदै शार्दूल भन्छन्, ‘मलाई त यस्ता कुराको छेउटुप्पो थाहा थिएन !’
यता साहित्यका अम्मली भइसकेका शार्दूलका लागि अतिरिक्त आर्जन हुने भन्सार, मालपोतभन्दा साहित्य लेख्न–पढ्न पाउने बैंक नै प्यारो बन्यो । ३० वर्षे सेवा अवधिमा पटक–पटक गरी दश वर्ष बैंककै साहित्यिक पत्रिका ‘उपहार’को सम्पादक बने । काठमाडौंकै कार्यालयहरूमा मात्र नियुक्ति हुनाले सबै साहित्यिक गतिविधिमा सक्रिय हुन पाए उनी ।
कहिलेकाहीँ जागिरमात्र खाने मनसायका सहकर्मीको आँखाको तारो पनि बने उनी । तर, शान्त स्वभाव शार्दूलले सबै कुरा हाँसीहाँसी टारिदिए । बैंकले साहित्यिक पत्रिका निकाल्न दिएको पैसाले नेपालका नामी साहित्यिक पत्रिकाहरूकै दाँजोमा स्तरिय पत्रिका निकालिदिए ।
दिउँसो बैंकमा काम गर्दै साँझ–बिहान अखबारप्रधान पत्रिकाको काम गरे उनले । एक्काइसौं शताब्दी, मातृभूमि, उत्साह, लहर, प्रतिपक्ष आदि पत्रिकासँग जोडिए । ‘दृष्टी’मा चर्का राजनीतिक लेख पनि लेखे ।
मुखिया पदमा प्रवेश गरेका शार्दूल परीक्षा दिएरै बैंकको सातौं तहसम्म पुगे । २०३६ वैशाख २ गते रावा बैंक प्रवेश गरेका उनी २०६६ चैत्रमा बिदा भए । यसबीचमा देशमा जनमतसंग्रह, बहुदल, जनयुद्ध र गणतन्त्रका फेरबदल भइसकेका थिए । युवा जोशका शार्दूलले पनि सारा उर्जाशील समय बैंककै सेरोफेरोमा बिताए ।
साहित्यका अम्मली
जनकपुरमै छँदा एकदिन फिल्म हेर्न नपाएको रन्कोमा हिन्दी पत्रिका पढेका थिए शार्दूलले । त्यस पत्रिकामा थियो, भीष्म साहनीको कथा अनि खलिल जिब्रानको लघुकथा । अन्ततः त्यो दिनको फिल्म हर्ने पैसाले त्यही पत्रिका किने । २०३० को त्यही दिनदेखि बिस्तारै शार्दूलको मन साहित्यतर्फ मोडियो ।
काठमाडौं आएपछि उनले लेखेको कविता पहिलोपटक राष्ट्रिय वाणिज्य बैंककै पत्रिकामा छापियो । कविता लेखिसकेपछि साथी भीमानन्द ढुंगानाले उनको नाम जुराइदिए, शार्दूल । अन्ततः विद्यायलय, छर–छिमेकको केटो कुमार भट्टराई शार्दूल बन्यो ।
शार्दूलको अर्थ हुन्छ बाघ । ‘बाघ बन्नुपर्ने नाम राखें तर स्वभाव गौप्राणीजस्तो पो बन्दै गयो’, आफ्नै स्वभावबारे बताउँदा उनी यही भनिरहेका हुन्छन् । कारण रहेछ, साहित्यको अध्ययनले बदलिएको उनको जीवन । साहित्यकै पठनले लोभ, मोह त्यागेर असल मानिस बन्न प्रेरित गरेको उनी स्वीकार्छन् । शार्दूल भन्छन्, ‘सबैभन्दा प्रमुख कुरा नै असल मानिस बन्नु रहेछ । त्यो पनि आफू !’
एकदिन छिमेकी सम्पादक उत्तम कुँवरले त्यतिबेलाको बहुचर्चित पत्रिका ‘रुपरेखा’मा कविता छापिदिएपछि शार्दूलको परिचय झनै फराकिलो बन्यो । बिस्तारै उनी रमेश विकलले चलाउने उत्साह गोष्ठीमा पनि जान थाले । ‘साहित्य–सन्ध्या’ नियमित कविता सुनाउने ठाउँ बन्यो ।
शार्दूलका अनुसार ४० को दशकको चाबहिलको सेरोफेरो पूर्ण साहित्यिक थियो । खगेन्द्र संग्रौला, अग्नीशिखा, गोविन्द वर्तमान, कणाद महर्षि, राजव, भैरवनाथ रिमाल ‘कदम’ सबैजना भेट्थे । चिया खाने, गफिने साहित्यकारको टोलीले एक–अर्काबीच उत्साह सञ्चार गराउँथ्यो ।
त्यहीबेला शार्दूलले रुसी र चिनियाँ साहित्य खुब पढे । हिन्दी त उनको पकड भाषा बनिसकेको थियो । अनि विश्वप्रसिद्ध साहित्यकारमाथि त्यहीबेलादेखि लेख लेख्न थाले । जुन अद्यापि जारी छ ।
साथीहरूकै संगतमा सुराको पनि बानी बस्यो उनलाई । नामुद सुरापान गर्ने साहित्यकारहरूसँग शार्दूलको दोस्ती भयो । बाहुनको छोरा भएर पनि रक्सी खाने बानीबारे उनी सुनाउँछन्, ‘खासमा मैले बैंक गएपछि नै रक्सी खान सिकेको हुँ । असार मसान्तको क्लोजिङमा बैंकमै खसी ढालेर भोज चल्थ्यो । पछि कवि–लेखकसँग बसेपछि पिउन अभ्यस्त भइयो ।’
साहित्यले नै शार्दूल र गोविन्द वर्तमानको सम्बन्ध प्रगाढ बन्यो । दुवैजनाको घर सँगै थियो चाबहिलमा । घुम्ने सँगै, जम्ने सँगै, साहित्य लेख्ने सँगै । जता गोविन्द त्यता शार्दूल बन्न पुगे उनीहरू । नजिकै बस्ने कथाकार राजवसँग पनि निकै घनिष्ट सम्बन्ध भयो उनको ।
तर २०६९ कार्तिकमा आफ्ना अभिन्न मित्र गोविन्द वर्तमान असामयिक निधनले शार्दूललाई मर्माहत बनायो । आज पनि वर्तमानको कुरा गर्दा भावुक हुँदै सुनाउँछन्, ‘एकदिन अगाडि भटेको साथीको अर्को दिन सास गयो । सम्झँदा पनि सपनाजस्तो लाग्छ ।’
वर्तमानमात्र होइन छिमेकी साहित्यकार अग्नीशिखालाई पनि २०६५ मा उनले असमयमै गुमाइसकेका थिए । अर्का साथी राजव अमेरिका हान्निएपछि शार्दूल चाबहिलमा एक्ले परे । यसपछि न्युरोडमा भेटिने विमल निभा, नारायण ढकाल, पुर्षोत्तम सुवेदी, अविनाश श्रेष्ठको मित्रमण्डलीसँग बढी देखिन थाले ।
२०६६ मा जागिरबाट अवकाश पाएपछि उनी स्वतन्त्र लेखनमा आबद्ध छन् । भृकुटी प्रकाशनले निकाल्ने अनुसन्धानमुलक पत्रिका ‘भृकुटी’ को सम्पादक बनेका छन् शार्दूल ।
साहित्यको केन्द्रमा रहिरहँदा पनि आफ्नो धिमा गतिले नै चर्चाबाहिर बनाइदियो उनलाई । शार्दूल खुलाउँछन्, ‘भीष्म साहनीको कथा पढेपछि मलाई कथा लेख्ने आँट नै आएन । आफूले पढिआएका विश्व साहित्यका उत्कृष्ट रचनाको ह्याङले छाडेको छैन ।’
यही ह्याङओभरमा बसेका शार्दूलका निकै कम रचनामात्र बाहिर आएका छन् । करिब सात दर्जन कविता, तीन दर्जन नाटक र अखबारी समीक्षाहरूकै भरमा उनी पाठकसामू चिनिएका छन् । पछिल्लो समय विमल निभाको कवितासंग्रह ‘आगोनेर उभिएको मानिस’को दोस्रो संस्करणमा उनले लेखेको लामो भूमिका चर्चाको विषय बन्यो । त्यहाँ उनले नेपाली कविताको मिहिन विश्लेष्ण गर्दै आफ्नो गहिरो साहित्यिक अध्ययनको परिचय दिएका छन् ।
कवि विमल निभा शार्दूलको भूमिकामा आफ्नो पूर्ण समर्थन रहेको बताउँछन् । निभाका अनुसार नाटक, कविता र समीक्षामा शार्दूलको योगदान छ । यस्तै आख्यानकार नारायण ढकाल पनि शार्दूललाई सरल र विनयी साहित्यकार मान्छन् । ढकाल भन्छन्, ‘मेरा मित्र शार्दूल अत्यन्त शान्त स्वभावका मानिस हो । तर, सृजनाको सवाल उसको निष्ठा अडिग छ ।’
शार्दूल साथीहरूको सद्भावलाई सम्मान गर्छन् । अनि आफूसँग कम समय रहेको महसुस गरी नयाँ सृजनाका लागि अग्रसर हुन्छन् ।
(तस्वीरहरू : शंकर गिरी/अनलाइनखबर)
source https://www.onlinekhabar.com/2021/01/927665
0 Comments