काठमाडौं । बागमतीको गल्छीबाट हरदम सुस्ताइरहने मन्द बतास, नागार्जुन डाँडामाथिबाट छरिएको घामको न्यानो, एकनासले गुञ्जिरहने सारंगीको पाश्र्व धुन, काँचको मझौला गिलासमा बाफ उड्दै गरेको तात्तातो चिया अनि आफ्नै आलोकमा मग्न दौंतरीहरु । आलोकनगरस्थित बागमती खोला–किनारको सन्ध्याकालीन कोलाज हो यो ।
ठ्याक्कै दुई बर्षअघि ।
बागमतीको सुसेली उदेगलाग्दो सुनिन्थ्यो । गाईबस्तुको गोठ, मलमूत्रको दुर्गन्ध र लुकीछिपी गाँजा तान्नेहरुको जक्सन थियो यो ठाउँ । एक्लै–दुक्लै हिँड्दा असुरक्षाको भय । गणेशदेव पाण्डेलाई के झोंक चल्यो, त्यही गोठलाई ‘चिया घर’ बनाउन तम्सिए ।
छरछिमेकले भने, ‘यस्तो ठाउँमा को आउँछ चिया खान ?’
घर–परिवारले भने, ‘बहुलाउन लागिस् कि क्या हो ?’
उनको मनले भन्यो, ‘गर्नुपर्छ, जहाँ पनि हुन्छ ।’
उनले आफ्नै मनको ध्वनी सुने । र, ‘स्वान्तः सुखाय’ रोजे ।
चिया दोकान चल्नु÷नचल्नु विधाताको कुरा भो, कम से कम आफ्नै मनले त उत्सव मनाउँछ । ‘आफ्नै खुसीका लागि भए पनि’ पाण्डेले सुनाए, ‘चिया घर खोल्ने अड्डी लिएँ ।’
उनको त्यही अड्डी, जसले जीर्ण गोठलाई सुकिलो चियाघरमा रुपान्तरण गरिदियो ।
जसै तपाईं तीनकुने र बानेश्वर जोड्ने पुललाई बायाँ पारेर खोला किनारै–किनार अगाडि बढ्नुहुन्छ, केतली क्याफेको सम्मुखमा पुग्नुहुन्छ । त्यसपछि मकैघर, त्यसपछि चियाघर, त्यसपछि ठेलाघर, त्यसपछि कुकर कफी । आज, गुल्जार छ यो ठाउँ ।
कतै तपाईंलाई सयथरी चिया टक्र्याइन्छ, कतै मकैको ‘फ्युजन’ परिकारले आमन्त्रण गर्छ । कतै परम्परागत केतली चियाले त कतै कुकर कफीले निम्तो गर्छ । यो ठाउँमा उभिएर हेर्दा तपाईंलाई लाग्न सक्छ– व्यञ्जन मात्र होइन, रेष्टुरेन्टको व्याकरण पनि बदलिएछ ।
रेष्टुरेन्ट भनेको त चल्ने ठाउँमा खोल्नुपर्छ । ठूलो लगानी गर्नुपर्छ । झट्ट हेर्दा चहकिलो र रंगीन हुनुपर्छ । कुर्सी–टेबल आरामदायक र आकर्षक हुनुपर्छ । ग्राहकको स्वाद अनुसारको व्यञ्जन पस्कनुपर्छ । नेपाली, इन्डियन, चाइनिज, कन्टिनेन्टल मेनु तयार गर्नुपर्छ । तर, बागमती किनारका यी रेष्टुरेन्टहरु चाहारेपछि तपाईंको धारणा ९० डिग्रीमा बदलिने छ । अनि तपाईं निष्कर्षमा भन्नुहुनेछ, खासमा त जुक्ति चाहिने रहेछ ।
बागमती किनारका रेष्टुरेन्टहरुमा केही साझा विशेषता छन् । अधिकांश रेष्टुरेन्टले आ–आफ्नै विशिष्ठ मेनु तयार गरेका छन् । ‘चाउमिन–मःम’ को सदाबहार मेनुलाई खारेज गरेर उनीहरुले आफ्नो मौलिक स्वाद पस्केका छन् । जस्तो– तपाईं चियाघरमा पुग्नुभयो भने त्यहाँ थरीथरी चियाको चुस्की लिन सक्नुहुन्छ ।
दूध, चिनी र चियाको मिश्रणबाट बन्ने औसत चियासँगै अनेक स्वाद, रंग र सुगन्धको चिया तपाईंलाई टक्र्याइन्छ । इलामकै तलतल मेट्ने अर्थोडक्स चिया । ४० रुपैयाँदेखि ८०० रुपैयाँसम्मको चिया । यतिविघ्न स्वाद तपाईंले सायदै अन्यत्र भेट्नुहुने छ ।
अब मकै घरमा पस्नुहोस् ।
प्युठानको गाउँघरमा उत्पादित मकैका तिख्खर खान्कीले तपाईं स्वाद फेर्न सक्नुहुन्छ । त्यहाँको मेनुमा भुटेको मकैदेखि ढिँडोसम्म समेटिएका छन् । केही परिकार कन्टिनेन्टलसँग फ्युजन गरिएको छ । जस्तो– चिकेनयुक्त क्रन्ची मकै, मकैको पिज्जा ।
मकै घरका सञ्चालक थमनकुमार भण्डारी भन्छन्, ‘प्युठानको गाउँबाट ल्याइएको शुद्ध मकैबाट हामीले नयाँ–नयाँ परिकार बनाइरहेका छौं ।’
केतली क्याफेको अभ्यास पनि भिन्न छ । सम्भव भएसम्म केतलीबाटै चिया सर्भ गर्ने । मुखमै रसाउने दूध एवं मसला चियालाई गाउँघरमा जसरी पकाउने र सर्भ गर्ने । अब उनीहरु आगोमा पकाएको चिया बेच्ने सुरसारमा छन् ।
बुटवलका युवाले चलाएको कुकर क्याफेको विशेषता नै कुकरमा तयार गरिएको कफी हो । नेपाली माटोमा उत्पादन भएको कफीलाई उनीहरुले परम्परागत ढंगले पकाउने गर्छन् ।
गणेशदेव पाण्डेले चियाघर खोल्दै गर्दा कवाडी सामान पनि उठाउँदै थिए । कवाडीमा मिल्काएका श्वामश्वेत टेलिभिजन, टाइपराइटर, क्यामेरा, साइकल ल्याए र कलात्मक ढंगले सजाइदिए । महंगा कुर्सी–टेबल किन्ने पैसा थिएन, त्यसैले कतै टेलिभिजनकै स्क्रिन त कतै थोत्रो टायरलाई टेबुलको रुप दिए ।
केतली क्याफेको रुपरंग पनि उस्तै छ । सतहमा गिटी बिच्छ्याइएको छ । त्यहाँ महंगा फर्निचर छैन । स–सना थोत्रो टायर जम्मा गरिएको छ र त्यसैमाथि काँचको टेबल बनाइएको छ । बस्नका लागि सामान्य मुडा राखिएको छ ।
कुकर क्याफेको संरचना नै त्यस्ता सामाग्रीबाट बनाइएको छ, जुन अन्य अन्यत्र प्रयोग भइसकेका छन् । जस्तो तार रोल गर्ने गोलाकार काठ एवं फलेक । त्यहाँ स–सना काठको टुक्रालाई समेत पुनः प्रयोग गरिएको छ । भान्सामा प्रयोग गरेर मिल्काइएका सामाग्रीलाई अनेक रुपमा काम लगाइएको छ ।
थमनकुमार भण्डारीले भने आफ्नै गाउँघरको पुराना चिजबिज जोरजाम गरेर रेष्टुरेन्ट सजाएका छन् । गाउँघरको परम्परागत प्रविधि जाँतो, ढिकी, ओखल आदि सजाएका छन् । त्यहाँ गुन्द्री वा मकैको खोसेलाले बुनिएका पिर्कामा बस्ने व्यवस्था मिलाइएको छ । यसैगरी गाउँघरकै झल्को दिनेगरी चुल्हो र आवश्यक सरसामान राखिएको छ ।
थमनकुमार भण्डारीले ‘मकै घर’लाई त्यस्तै रुप दिन खोजेका छन्, जुन प्युठानमा उनको पुख्र्यौली घर छ । गाउँघरमा बनाइने ढुंगा र माटोको घरजस्तै आवरणमा उनले संरचना तयार गरेका छन् । घरमा बार्दली बनाएका छन् । कमेरो र रातो माटोको झै रंग संयोजन गरेका छन् ।
पूर्खाहरुले प्रयोग गरेका प्राचिन सामाग्रीहरुले उनको रेष्टुरेन्टको शोभा बढाएको छ । मकैका झुत्तालाई ठाउँ–ठाउँमा सजाएका छन् । आँगनमा बाटुलो चौतारो पनि छ, जहाँ मकैका खोस्टाबाट बुनेका पिर्कामा आरामसाथ पलेटी कसेर बस्न सकिन्छ । सम्मुखमा चुल्हो छ । उनको रेष्टुरेन्टमा गन्र्धवले सारंगीमा गीत प्रस्तुत गर्छन् । गुन्द्रीमा पलेटी कसेर, सारंगीको धुन सुन्दै, प्युठाने मकैको तिख्खर स्वाद लिन सकिन्छ ।
चियाघरका सञ्चालक गणेशदेव पाण्डे फिल्मकर्मी हुन् । मञ्जरी, गाँजाबाजा जस्ता सिनेमा निर्देशन गरेका उनले आफ्नो कलात्मक अभिव्यक्ति रेष्टुरेन्टमा पनि पोखेका छन् । त्यहाँका कला–कौशलले चियाको हरेक चुस्कीमा स्वाद लिँदै वर्तमानमा रमाउनका लागि आग्रह गर्छन् ।
सानो लगानी, मनग्ये आम्दानी
गणेशदेव पाण्डेसँग छेलोखेलो पैसा हुँदो हो त उनी बागमतीको एकलासे किनारमा शायदै पुग्ने थिए । थमनकुमार भण्डारीसँग केही अभाव नहुँदो हो त उनका गोडा अन्यत्रै भौंतारिन्थे होला । ‘थोरै लगानीमा केही गर्न सकिएला कि’ भन्ने अभिलाषाले डो¥याउँदै उनीहरुलाई त्यहाँ पु¥यायो, जहाँ आज उनीहरुले रजगज चलाएका छन् ।
‘गाजाबाजा फिल्मलाई प्रदर्शनमा रोक लगाइएपछि म आर्थिक समस्यामा थिएँ’ पाण्डे सुनाउँछन्, ‘त्यसैले केही आयआर्जन गर्नका लागि सस्तो र खुला ठाउँ खोजी गरे ।’ सस्तो ठाउँको खोजी गर्दै उनी बागमतीको किनारमा पुगें, जहाँ गाईबस्तुको गोठ थियो । सहुलियतमा ठाउँ पाएपछि उनले त्यहीँ चिया घर बनाए ।
ठूलो संरचना बनाउने, फर्निचर राख्ने खर्च थिएन । कवाडीमा मिल्काइएका सामाग्री उठाएर र कुर्सी–टेवल बनाए । ‘खासमा पैसा नभएकाले मैले कवाडीमा पु¥याइएका सरसामान उठाएर रेष्टुरेन्टमा प्रयोग गरेको थिएँ’ पाण्डे भन्छन्, ‘तर, अहिले त्यसले बेग्लै शोभा दिएको छ ।’
अहिले चियाघरमा ५० बर्ष पुरानो एस्ट्रेदेखि पुराना मोडलका श्यामश्वेत टेलिभिजन, टाइपराइटर आदि सजाइएको छ । सयथरी चिया बेच्ने चियाघरले घनश्याम चिया, मनरुपा चिया, आमा समूहले इलाममा उत्पादन गरेको मदर टि अफ लभ, इलाममै किशोरीहरुले तयार गरेको कान्छी ग्रीन टि पस्किरहेको छ । ‘घनश्याम मेरा बुवाका नाममा, मनरुपमा हजुरआमाका नाममा तयार गरेको मेनु हो’ पाण्डे थप्छन्, ‘म सानो छँदा मलाई मेरा बुवाआमाले चिया बेचेर नै हुर्काएकाले चियाप्रति मेरो लगाव बढेको हो ।’ बाल्यकालमा आफूलाई चिया बेचेर नै आमाबुवाले पालनपोषण गरेकाले यसैलाई आफ्नो जीवन र भविष्यसँग जोडेको पाण्डेको भनाइ छ ।
केतली क्याफे चलाइरहेका निश्चल उपाध्यायको अनुभव पनि उस्तै छ ।
कलेज पढ्दाताका साथीभाइसँग भेटेर चिया पिउँदै आनन्दसाथ बस्ने ठाउँ हुँदैनथ्यो । सामान्य क्याफेमा धेरै समय बस्न नदिने, महंगा ठाउँमा बस्न खर्च नहुने । आफूजस्तै साथीसंगीहरुलाई बेपर्वाह बसेर गफ गर्दै चिया खाने ठाउँको खोजीमा उनीहरुले केतली क्याफे चलाउने निधो गरे । अन्ततः तीनजना साथी मिलेर केतली क्याफे खोले । झट्ट हेर्दा निर्माणाधीनजस्तै देखिने ठाउँमा उनीहरुले आफ्नो विवेकले भ्याएसम्मका सरसामान जुटाएर रेष्टुरेन्टको रुप दिए ।
थमनकुमार भण्डारी खासमा चलचित्र निर्माता हुन् । ‘पण्डित बाजेको लौरी’ लगायत चलचित्रले व्यवसायिकरुपमा सफलता हासिल नगरेको अवस्थामा उनी केही उद्यम–व्यवसाय गर्ने मनस्थितिमा थिए । संयोगले उनी चियाघरमा पुगे । त्यहाँको माहौल देखेपछि त्यसैको आसपासमा एउटा रेष्टुरेन्ट चलाउने जुक्ति फु¥यो ।
तर, कस्तो रेष्टुरेन्ट ?
‘मैले प्युठानको आफ्नै घर सम्झिएँ’ थमनकुमार सुनाउँछन्, ‘पुरानो शैलीको त्यस्तै घर बनाउने र गाउँघरकै खानेकुरा बनाएर बेच्ने आइडिया आयो ।’ अन्ततः उनले प्युठानकै शैलीको संरचना बनाए, त्यहीँको मकै ल्याए र शहरियाहरुको स्वाद फेरिदिए ।
source https://www.onlinekhabar.com/2021/01/927757
0 Comments