Looking For Anything Specific?

Header Ads

नाएरमा नयाँ नेतृत्व चयन, अध्यक्षमा विज्ञान

१९ साउन, काठमाडौं । नेप्लिज एसोसियसन अफ अष्ट्रेलियन एजुकेसन रिप्रिजेन्टेटिभ्स (नाएर) ले आफ्नो अधिवेशन गर्दै नयाँ नेतृत्व चयन गरेको छ । शैक्षिक परामर्शदाता संस्थाहरुको संस्था नाएरको अध्यक्षमा विज्ञान श्रेष्ठ चुनिएका छन् ।

१२ औं अधिवेशनबाट उपाध्यक्षमा प्रेम पाण्डे, महासचिवमा उद्धव खड्का, कोषाध्यक्षमा अनन्त पौड्याल र कार्यकारी सदस्यमा विराज पाण्डे चुनिएका छन् । उनीहरुको कार्यकाल दुई वर्षको हुनेछ ।

सन् २००७ मा स्थापना भएपछि नाएरले नेपाली विद्यार्थीहरुलाई अष्ट्रेलिया पठाउने शैक्षिक परामर्शदाता कम्पनीहरुको विश्वसनीयता, गुणस्तरीयतामा ध्यान दिँदै आएको छ । स्थापना भएको १२ वर्षमा यसले अर्को संस्था एसोसियसन अफ नेपल्जि अल्मुनी फ्रम अष्ट्रेलिया (आना) र नेपाल अष्ट्रेलियन च्याम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज (नाक्की)सँग सहकार्य गर्दै विभिन्न कार्यक्रहरु पनि गर्दै आइरहेको छ ।

यसपटक पनि नाएर र आना मिलेर छिट्टै ‘कम ब्याक होम’ नामको क्याम्पेन सुरु हुने बताइएको छ । यो अभियानको उद्देश्य अष्ट्रेलिया वा विभिन्न मुलुकमा उच्च शिक्षाका लागि पुगेका नेपाली युवाहरुलाई नेपाल फर्किन प्रेरित गर्नु हो ।

‘देश समृद्ध बनाउन तथा देशको विकासका लागि यहाँबाट बाहिर पढ्न गएका विद्यार्थीहरु अब स्वदेश फर्किएर आफूले लिएको ज्ञानको उपयोग गर्नुपर्छ,’ नवनिर्वाचित महासचिव उद्धव खड्काले भने, ‘हामीले यो अभियान त्यसैले सुरु गर्न लागेका हौं ।’

नाएरको अधिवेशनमा नै नाक्कीसँग पनि थप सहकार्य गरेर दुई देशबीचको व्यापारमा थप टेवा पुर्याउन सहयोग गर्नेबारे छलफल गरिएको छ ।

नवनिर्वाचित अध्यक्ष विज्ञान श्रेष्ठले अधिवेशनमा यो क्षेत्रमा सकारात्मक परिवर्तनहरु ल्याउन आफूहरु लागिपर्ने बताए । ‘अष्ट्रेलिया र नेपालको सम्बन्धलाई थप बलियो बनाउन तथा यो क्षेत्रमा सकारात्मक विकासका लागि हामी काम गर्नेछौं,’ उनले भने ।



source https://www.onlinekhabar.com/2019/08/785406

Post a Comment

0 Comments