४ फागुन, तनहुँ । १४० मेगावाट क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत आयोजनाको ड्याम, पावर हाउस र ट्रान्समिसन लाइन विस्तारको काम जारी छ । तनहुँको क्रषिङ्ग गाउँपालिका १ मा निर्माणाधीन आयोजनाको पावर हाउस र ट्रान्समिसन लाइन विस्तार निकै अगाडि बढे पनि ड्यामको काम भने केही सुस्त छ ।
२०८३ असार भित्र सकिसक्ने लक्ष्यसहित निर्माण भैरहेको आयोजनालाई तीनवटा प्याकेजमा बाँडेर निर्माण थालिएको हो । सेती नदीमा बनिरहेको आयोजनाको प्याकेज–१ अन्तर्गत पानी डाइभर्सन, ड्याम, प्याकेज–२ मा पावर हाउस र सुरूङ तथा तेस्रो प्याकेजमा ट्रान्समिसन लाइन निर्माणलाई राखिएको छ । प्याकेज–१ को सुरुको ठेक्का लिएको कम्पनीले काम नगरेर ठेक्का तोडेर पुनः टेण्डर गर्दा काममा ढिलाइ भएको आयोजनाले जनाएको छ ।
आयोजनाको कूल लागत अमेरिकी डलर ५० करोड ५० लाख छ । यसमध्ये एडिबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले १८ करोड ४० लाख, युरोपियन इन्भेस्टमेन्ट बैंकको आठ करोड ५० लाख र नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको झन्डै ८ करोड ६० लाख अमेरिकी डलर लगानी रहने छ ।
आयोजनाले करिब ३८७.५३ वर्ग किलोमिटर क्षेत्रफल ओगट्ने छ । जलाशय ७.२६ वर्ग किलोमिटर क्षेत्रमा फैलिने छ । सेतीको पानीमा सेतो चुनको मात्रा बढी भएको हुँदा आयोजनाको जलाशययुक्त दह चाँडो भरिने अवस्थाको ख्याल गरी वर्षमा ४५ दिन आयोजना बन्द गरी सफा गर्न मिल्ने गरी ड्याम बनाइने छ ।
आयोजनाका लागि स्थानियबासीन्दाहरूको भोगचलनमा रहेको करिब १२ सय ५० रोपनी जग्गा अधिग्रहण गरिएको छ । बाँकी जग्गा सरकारी हो । आयोजनाले तनहुँ जिल्लाभरी नै गुणस्तरीय विद्युत आपूर्ती गर्ने उद्देश्य राखेर घिरिङ्ग र बन्दिपुरको सराङ्गघाट क्षेत्र नजिकै ३३ केभीको सबस्टेशन बनाइसकेको छ । हालसम्म मुआब्जा वापत झण्डै २ अर्व रकम बाँडिएको छ । सामुदायिक विकास कार्यक्रमलाई पनि आयोजनाले सँगसँगै अगाडि बढाएको छ ।
प्याकेज १ : ड्याम निर्माण र सेतीको पानी बाइपास
तनहुँ जलविद्युत आयोजनाको मुख्य काम मानिएको ड्याम निर्माणका लागि आयोजनाका अन्य प्याकेजको भन्दा केही ढिला गतिमा अगाडि बढेको छ । सुरूमा ठेक्का पारेको सीएमसी भागेपछि दोस्रोपटक ठेक्का लगाएर ड्यामसहितका संरचना निर्माणको जिम्मा सोङ्ग दा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन प्रा.लिले पाएको छ । २१ अर्ब ६६ करोडको लागतमा बन्ने ड्यामसहितको संरचना निर्माणको काम सुरु २०७८ भदौ १४ गतेबाट भएको थियो ।
प्याकेज–१ को काम १२.६८ प्रतिशत मात्रै सकिएको छ । आयोजनाको ड्याम तनहुँको ब्यास नगरपालिका वडा नं. ५ र ऋषिङ्ग गाउँपालिका वडा नं. १ को बीचमा बन्ने छ । सेती नदीको पानीलाई यहाँ थुनेर सुरूङबाट ऋषिङ्ग गाउँपालिका–१ को झापुटार भन्ने ठाउँमा रहेको पावर हाउसमा खसालिनेछ ।
नदीको पानीलाई बाइपास गर्नका लागि दुई वटा सुरूङ बनाउने काम जारी छ । पानीलाई डाइभर्सन गरेर खोलाको सतह सुख्खा पारेर मात्रै ड्याम निर्माण थालिने आयोजनाका इन्जिनियर प्रकाश गुरूङ्गले बताए ।
उनका अनुसार पानी डाइर्भसन गर्न दुईवटा टनेल बनाइएका छन् । डाइभर्सन टनेल–१, ५४२.४५ मिटर लामो छ भने डाइभर्सन टनेल–२, ६२८.९२ मिटर लामो छ । डाइभर्सन टनेल–१ को ब्रेक थ्रु भैसकेको छ भने टनेल २ को ८८ मिटर मात्रै छेड्न बाँकी छ ।
वर्षा याममा नदी ठूलो हुने भएकाले दुईवटा सुरूङबाट पानी पठाउनुपर्छ । नदी फर्काउने मुख्य सुरूङ भने डाइभर्सन टनेल–२ हो । थोरै पानी हुँदा नदी यहीँबाट बग्ने छ । वर्षायाममा टनेल–१ बाट पनि पानी छाडिने छ । ड्याम निर्माणको काम सकिएपछि यी दुबै टनेललाई बन्द गरिने आयोजनाका अर्का इन्जिनियर दीपक ठगुन्नाले बताए ।
पानीलाई सुरूङबाट पठाएपछि सुख्खा भएको सेती नदीको सतहभन्दा २० मिटर तलबाट ड्यामको फाउण्डेशनको काम उठाइने छ । १४० मिटर अग्लो ड्यामको माथिल्लो भागको चौडाइ डबल लेनको सडक बराबरको हुनेछ भने तल्लो भाग क्रमशः फराकिलो हुँदै जानेछ । आयोजनाको ड्यामको लम्बाइ (क्रस लेन्थ) औसत २१५ मिटरको हुनेछ । ड्याम बनेपछि त्यसले ७.२६ वर्ग किलोमिटर क्षेत्रफलको जलासय तयार हुने इन्जिनियर गुरूङ्गले जानकारी दिए । जलाशयको झण्डै २५ किलोमिटर भिमादको तल्लो भागसम्म रहनेछ ।
ड्यामको घाँच बनाउन लागि दायाँतर्फ (ब्यास नगरपालिका–५)५४२ मिटर अग्लो उचाइलाई काटेर ४२० मिटरसम्म लगेर छाडिनेछ । बायाँतर्फ ४९५ मिटर अग्लो डाँडालाई (ऋषिङ्ग गाउँपालिकातर्फ) लाई काटेर ४२० मिटरसम्म पुर्याउन काम जारी छ । दायाँतर्फको भागमा ड्याम निर्माण गर्न जान ४१९ मिटरको टनेल बनाइएको छ, त्यसको ब्रेक थ्रु माघको दोस्रो हप्ता गरिएको हो ।
अहिले प्याकेज–१ मा ४२ जना भियतनामीसहित ७०० कामदारले दैनिक काम गरिरहेका छन् । ‘मुख्य जलासय निर्माणका लागि आवश्यक पूर्वाधारका कामहरू अन्तिम चरणतिर पुगेका छन्, मूलतः सुरूङ (डाइभर्सन टनेल) को काम सकेर पानी पठाएपछि ड्यामको काम सुरु हुन्छ’ आयोजनाका इन्जिनियर ठगुन्नाले भने, ‘ड्यामको काम धमाधम हुन थालेपछि भौतिक प्रगति पनि देखिन थाल्छ ।’ नदीको पानी वाइपास गरेपछि बर्खामा समेत खोलामा बसेर काम गन सकिने इन्जिनियर ठगुन्नाले बताए ।
प्याकेज २ : पावर हाउस र सुरूङ
आयोजनाको दोस्रो महत्वपूर्ण कामका रुपमा रहेको विद्युत पावर हाउस र पावर हाउससम्म जानका लािग सुरूङ मार्ग बनाउने काम चलिरहेको छ । चिनियाँ कम्पनी सिनो हाइड्रोले सुरूङ र पावर हाउसको काम गरिरहेको छ । अहिलेसम्म पावर हाउस र सुरूङको गरेर ४२.८१ प्रतिशत काम सकिएको छ । प्याकेज–२ को लागत १५ अर्ब ६७ करोडको छ ।
आयोजनाको ड्याम क्षेत्रबाट १४१८ मिटर लामो सुरूङ बनाएर भन्ने ठाउँमा बनाइएको पावर हाउससम्म पानी लगेर खसालिने छ । बनिरहेको पावर हाउस काहुँ शिवपुरको डाँडो भित्र छ । पावर हाउसम्म जानका लागि २८१ मिटरको मुख्य सुरूङ मार्ग तयार गरिएको छ । त्यहीँबाट आवश्यक सामग्रीहरू भित्र लगेर पावर हाउसको काम भैरहेको छ । आयोजनाका इन्जिनियर गुरूङ्गका अनुसार अहिले पेनस्टक जडानको कार्य जारी छ ।
मुख्य सुरूङको नजिकै १८५ मिटरको केबल टनेल तयार भएको छ । विद्युत उत्पादन पछि यही टनेलबाट विद्युतसहितका केबलहरू बाहिर निकालेर ट्रान्समिसन लाइनमा जोडिने आयोजनाका इन्जिनियर प्रकाश गुरूङ्गले जानकारी दिए ।
डाँडो भित्र ८९ मिटर लम्बाइ २२ मिटर चौडाइ र ५१ मिटर उचाइ भएको पावर हाउसको काम धमाधम भैरहेको छ । ड्यामबाट १४१८ मिटर लामो सुरूङ हुँदै आएको पानी यहाँ रहेका दुईवटा टरवाइनमा खासालिनेछ । यहाँ झरेको पानीलाई २१३ मिटरको टनेल बनाएर नदीमा निकालिने छ ।
पावर हाउसको लागि आवश्यक फाउण्डेशन खन्ने काम सकेर अहिले हाइड्रोमेकानिकलको काम जारी छ । सँगसँगै इलेक्ट्रोमेकानिकलको काम पनि हुनेछ । डाँडा भित्र रहेको पावर हाउसको माथिल्लो भागमा कन्ट्रोल अफिस रहनेछ । त्यहाँ मुख्य काहुँ सुरूङ भएर जान सकिनेछ । ड्यामबाट पावरहाउससम्म पानी ल्याउन १४१८ मिटर लम्बाइको सुरूङ बनाउने काम पनि जारी छ । सुरूङको अधिकांश भाग खनिसकिए पनि ६८५.८ मिटर मात्रै खन्न बाँकी छ । यो खनेर सकेपछि ड्यामसम्म सुरूङ निस्किने छ ।
दैनिक २/३ मिटरसम्म सुरूङ खन्न सकिने आयोजनाका इन्जिनियर गरूङ्गले बताए । यो प्याकेज २ मा दैनिक ४५० जना कामदारले काम गरिरहेका छन् । जसमा ४२ जना चिनियाँ कामदार छन् । आयोजनाका सुरक्षा अधिकृत प्रधुम्न अर्यालले टनेल तथा पावर हाउस बनाउँदा सुरक्षा व्यवस्थालाई प्राथमिकतामा राखेर काम गरिएको बताए ।
प्याकेज ३ : तनहुँ–भरतपुर ट्रान्समिसन लाइन
त्यहाँ उत्पादित जलविद्युतलाई तनहुँबाट भरतपुरसम्म ल्याएर जोड्न २२० केभीको डबल सर्किट ट्रान्समिसन लाइन निर्माणको काम चलिरहेको छ । पावर हाउसबाट भरतपुरको आँपटारीसम्म ३६ किलोमिटर लामो ट्रान्समिसन लाइनमा ९४ वटा टावरहरु हुनेछन् । तीमध्ये ५१ वटाको फाउण्डेशनको काम सकिएको छ भने ३१ वटा टावर ठड्याउने काम सकिएको छ । ४ वटामा स्पानमा तार तान्ने काम पनि गरिएको छ । ट्रान्समिसन लाइनको झण्डै ६५ प्रतिशत काम सकिएको छ ।
झण्डै १ अर्बको लागतमा भारतीय कम्पनी केईसी इन्टरनेशनल लिमिटेडलाई ट्रान्समिसन लाइन बनाउने जिम्मा सन् २०१९ को डिसेम्बरमा दिइएको थियो । ठेक्का सम्झौता भएको तीन वर्ष भित्र बनाइसक्ने उल्लेख भए पनि रुख कटानको अनुमति र कोरोना महामारीका कारण समयमा नै काम अगाडि बढाउन नसकिएको आयोजनाका इलेक्ट्रिकल महाशाखा प्रमुख गुञ्जन आत्रेयले बताउँछन् ।
ट्रान्समिसन लाइन प्रभावित ९२.७३ हेक्टर जग्गाको शोध भर्ना गर्न भनिएको छ । त्यति धेरै परिमाणको जग्गा एकै ठाउँमा नपाउँदा आयोजनाले वन विभागलाई सो बराबरको रकम दिने भएको छ । केही रकम विभागले लिइसकेको छ ।
मन्त्रिपरिषदले ९ हजार १ सय २७ रुख काट्ने सहमती दिएको छ । ट्रान्समिसनको दायाँबायाँ १५/१५ मिटर क्षेत्रसम्मको रुख कटान गरिने छ । ‘निजी क्षेत्रमा पर्ने रुखहरु काट्दा बरु समस्या भएन, सरकारी क्षेत्रमा पर्ने रूखहरू काट्न महाभारत भयो,’ आत्रेयले भने ‘पाँच वर्षसम्म लगातार यसमा लाग्दा पनि काम बल्लतल्ल अगाडि बढेको छ ।’
उनले तोकिएको सम्झौता अवधि भित्र काम सक्न केही समस्या भए पनि थपिने समयमा काम सकिने बताए । ‘अहिलेको प्रगति ठिकै गएको छ । यही अनुपातमा काम भए खासै समस्या हुँदैन जस्तो लाग्छ,’ आत्रेयले भने, ‘धमाधम तार तान्ने र टावर ठड्याउने काम भइरहेको छ ।’ भरतपुरको आँपटारीमा पनि सबस्टेशन बनाउने काम जारी छ ।
source https://www.onlinekhabar.com/2023/02/1263843
0 Comments