६ फागुन, काठमाडौं । गारिदा फारूकी अन्तर्वार्तामा बस्नुपूर्व नै आफ्नो तयारी गरिसक्छिन्। उनको पहिरन जति चिटिक्क हुन्छ प्रश्न पनि त्यतिकै चोटिला हुन्छन्।
उनलाई निगरानीमा राख्ने एउटा भीड छ, जसले उनको हाउभाउ र पहिरनको भद्दा मजाक उडाउँछ। उनीहरू फारूकीलाई अनलाइनमार्फत दुर्व्यवहार गर्छन्।
‘मेरा पुरूष सहकर्मीहरू पनि दुर्व्यवहारमा पर्छन् तर उनीहरूको राजनीतिक विचार फरक रहेमा मात्रै ती समूहले दुर्व्यवहार गर्नेहुन्। महिलाको सवालमा भने हाम्रो पहिरन, हाउभाउ र संवेदनशील अंगलाई लिएर उनीहरूले दुर्व्यवहार गर्छन्’, फारूकी भन्छिन्।
पाकिस्तानको राष्ट्रिय सञ्चारमाध्यमबाट राजनीति र राष्ट्रिय सवालका समाचार निर्माण तथा प्रस्तोताको काम गरिरहेकी फारूकीको यो अनुभव विश्वभर महिला पत्रकारहरूमाथि हुने दुर्व्यवहारको एउटा नमूना मात्रै हो। विश्वभर हजारौं महिला पत्रकारले यस्ता समस्या व्यहोरेका छन्। कतिपय अवस्थामा उनीहरू प्रेस छोड्न समेत बाध्य भएका छन्।
महिला पत्रकारहरूमाथि भएका यस्ता घटनाबारे समाचार नआएका होइनन्। तर त्यसले प्रभाव नै नपारेको झैं स्थिति छ। बढ्दै गएका यस्ता दुर्व्यवहार हेर्दा यस्तो लाग्छ, ती विषयमा समाचार नै बनेका वा बहस नै भएका छैनन्। पत्रकारिता जुन देश वा महादेशमा छ ती सबैमा महिला पत्रकारहरू असुरक्षित झैं छन्।
प्रविधिको दुरुपयोग गर्दै उनका अश्लील तस्बिरहरू पनि सार्वजनिक गरिए। केहीले पुरूषको यौनाङ्ग राखिदिएर फारूकीका तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरिदिए। यौनसम्पर्कका तस्बिर पोस्ट गरे। यस्ता दुर्व्यवहार भोगिरहेकी प्रतिनिधि पात्र मात्रै हुन्, फारूकी। विश्वभरका महिला पत्रकारहरूले कहीं न कहीं फारूकीको झैं समस्या व्यहोरिरहेका छन्।
राष्ट्रसंघीय निकाय युनेस्को र पत्रकारहरूको अन्तर्राष्ट्रिय संस्था आईसीएफजेले संयुक्त सर्वेक्षण गरेका थिए। सन् २०२१ मा २१५ मुलुकका ७१५ महिला पत्रकारहरूमाझ गरिएको थियो। उक्त सर्वेक्षणले प्रत्येक ४ जनामध्ये ३ जनाले कार्यस्थलमा दुर्व्यवहारका साथै अनलाइनबाट दुर्व्यवहार व्यहोरेको बताएका थिए। यता प्रत्येक १० मध्ये ४ जनाले दुर्व्यवहारकै कारण आफ्नो पेशागत जिम्मेवारी पालना गर्न नसकिएको बताएका थिए। उनीहरूले प्राइमटाइम प्रस्तोताको अवसर नपाएको देखि कतिपय मुख्य समाचारहरूमा क्षमताका बावजुद लेख्ने अवसर नदिएको बताएका थिए।
सर्वेक्षणको प्रतिवेदनले महिला पत्रकारहरूलाई लक्षित गर्दै हुने यस्ता दुर्व्यवहारले अन्तर्राष्ट्रिय तवरमै प्रेस स्वतन्त्रतालाई चुनौती दिएको उल्लेख गरेको छ। घटनामा संलग्नलाई कारबाही नहुँदा दण्डहीनताको प्रोत्साहन भएको लेखिएको छ। ‘यस्ता गतिविधि महिलाहरूको अपमानका लागि हुने गरेका छन्। यसले महिला पत्रकारहरूलाई मानसिक रूपमा समस्यामा मात्रै पारेको छैन पत्रकारितालाई आवाजविहीनहरूको आवाज बन्न चुनौती खडा गरिरहेको छ’, प्रतिवेदनमा उल्लेख छ।
कतिपय राष्ट्रमा महिला पत्रकारहरूले नै सरकारका अनियमितता, भ्रष्टाचार र धर्मगुरुहरूका कर्तुतमाथि अनुसन्धान गरेर समाचार तयार गरेका छन्। तिनै पात्रहरू अनलाइन दुर्व्यवहारको शिकार भइरहेका छन्। चरमपन्थी समूहले उनीहरूलाई कमजोर बनाएर आफू बलियो बन्ने मनसायले महिला पत्रकारहरूमाथि दुर्व्यवहार गरिरहेछन्।
फरबिडन स्टोरिज
फरबिडन स्टोरिज पेरिसमा रहेको खोज पत्रकारिता सम्बन्धी संस्था हो। यसले स्टोरी किलर नामक परियोजनामा काम गरिरहेको छ। विश्वभर हत्या गरिएका वा धम्की खेपेका सम्पादक वा संवाददाताका बारेमा यसले काम गर्छ।
सन् २०१७ मा भारतमा राजनीतिक उग्रवाद र दुष्प्रचारका विषयमा आवाज उठाउँदै आएकी सम्पादक गौरी लंकेशको गोली प्रहार गरी हत्या भएको थियो। त्यो घटना घटेदेखि यता फरबिडन स्टोरिजले स्टोरी किलर परियोजनाको सुरुवात गरेको हो। यो परियोजनामा विश्वभरका ३० प्रतिष्ठित मिडियाका १०० पत्रकार आवद्ध छन्।
सामाजिक सञ्जालबाट नै पत्रकारहरूमाथि दुर्व्यवहार बढ्दो छ। अनलाइनबाट यस्ता धन्दा गर्नेहरूले निश्चित पात्रलाई निशाना बनाउँछन्। त्यसपछि ती पात्रलाई मात्रै होइन तिनका परिवारलाई समेत धम्की दिन्छन्। चरमपन्थी समूहको निशानामा परेका पत्रकारहरूलाई समाचार संस्थाहरूले विभिन्न अवसरबाट वञ्चित गराएको अनुसन्धानले समेत देखाएको छ।
सन् २०१९ मा फारूकी अनलाइन आक्रमणको शिकार भएकी थिइन्। न्युजिल्याण्डको क्राइस्ट चर्चको आक्रमणकारी एक वर्षअघि पाकिस्तान आएको उनको ट्वीट थियो। आतंकवादी गतिविधिमा पाकिस्तानलाई मुछेको भन्दै उनलाई अपहरणदेखि बलात्कारसम्मको धम्की दिइयो। उनलाई आएको धम्कीको प्रतिवाद गर्दै आईसीएफजे एम्नेष्टी इन्टरनेशनलले विज्ञप्ति निकालेको थियो। फारूकीलाई लगातार चार महिनासम्म यस्ता धम्की आएका थिए। उनले अफिस जानका लागि मात्रै घर छाड्थिन्। कार चढ्दासमेत उनी सतर्क हुन्थिन्।
गत अक्टोबरमा पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले पनि फारूकीबारे अभिव्यक्ति दिए। ‘यदि उनले पुरूषप्रधान समाजलाई आक्रमण गर्न खोज्छिन् भने उनले त्यस्तो नियति भोग्नैपर्छ।’
भारतीय सम्पादकको हत्याले सुरू भएको अनुसन्धान
यो आलेख पनि स्टोरी किलर्सको एउटा अंश हो। पेरिसस्थित फरबिडन स्टोरिजको परियोजनाले मारिएका पत्रकारहरूका व्यावसायिक कामलाई पूरा गर्न खोज्छ। यही लक्ष्यलाई प्रोत्साहनका लागि वासिंटन पोस्टसहित अन्य दुई दर्जन समाचार संस्था यसमा आवद्ध छन्।
भारतीय पत्रकार लंकेशको विषयमा फरबिडन स्टोरिजले अध्ययन गर्दा हत्या अघि उनले अनलाइन माध्यमबाट धेरै धम्की पाएको देखियो। लंकेश हिन्दुत्व विरोधी रहेको भन्दै अभियान नै सञ्चालन गरिएको भेटियो। लंकेशको मृत्युपछि छापिएको आलेख थियो, ‘इन द एज अफ फल्स न्युज’।
लंकेशका शक्तिशाली रिपोर्टिङलाई कमजोर बनाउन सकिन्छ भन्ने अभिप्रायले धम्की आएका थिए। प्राय: महिला पत्रकारहरूलाई भौतिक आक्रमण अघि नै कमजोर बनाउने मनस्थितिले चरमपन्थी समूहले योजनाबद्ध गतिविधि गर्ने गरेको पाइएको छ।
वासिंटन पोस्टले पत्रकारिताका विषयमा वकालत गर्ने पाँचवटा समूहसँग कुरा गरेको छ। ती संस्थाले महिला पत्रकाहरूमाथि हुने अनलाइन दुर्व्यवहार पनि ट्रयाक गरेका छन्। वासिंटन पोस्टले त्यस्ता घटनाको सामना गरेका १३ महिला पत्रकारहरूसँग पनि अन्तर्वार्ता लिएको छ।
पोस्टको कुराकानी र अनुसन्धानले के देखाएको छ भने गलत कृत्यमा संलग्न सरकारी उच्चपदस्थ कर्मचारी र शक्तिशाली समूहले महिला पत्रकारहरूलाई कमजोर बनाउने काममा संलग्न रहेको देखिएको ती संस्थानले बताएका छन्। यस्तै, सञ्चार उद्योगमा विविधता र समावेशिताको वकालत गर्दै आफूलाई नारीवादी धारमा उभ्याउने महिला पत्रकारहरूमाथि दुर्व्यवहार हुने गरेको देखिएको ती संस्थाको प्रतिवेदन छ।
हरेक मुलुकमा महिला पत्रकारहरूमाथि हुने दुर्व्यवहारमा एकरूपता रहेको ती संस्थाहरू बताउँछन्। महिला पत्रकारका प्राय: विवाद सिर्जना गर्ने गतिविधि देखिएको उनीहरूको भनाइ छ। महिलाहरू विवादित हुँदा समाचार संस्था तथा अन्य निकायले पनि उनीहरूलाई काममा राख्न हिच्किचाएको देखिन्छ। हरेक मुलुकमा देखिने अभ्यास भनेको महिलाको व्यक्तिगत जीवन र पारिवारिक सम्बन्धमा दक्खल पुर्याउने गरी विवाद सिर्जना गर्ने देखिन्छ। दुर्व्यवहारका यस्ता गतिविधिले महिला पत्रकारहरू जागिर नै छोड्न बाध्य छन्। धेरै कम महिलाले मात्रै यो चुनौतीलाई पार लगाएको अनुसन्धानले देखाएको छ।
आर्या डेभिस लाइबेरियाकी पत्रकार हुन्। एक सांसदले आफ्नो शैक्षिक योग्यता ढाँटेको उनको रिपोर्टिङ थियो। नाइजेरियाको विश्वविद्यालयबाट योग्यता हासिल गरेको भनिए पनि त्यस विश्वविद्यालयमा उनको नाममा कुनै रेकर्ड नरहेको रिपोर्टिङ थियो। समाचार संस्था तथा पत्रकारलाई धम्की आएपछि डेभिसलाई अनुसन्धानमूलक रिपोर्टिङमा योगदान गर्ने लेखकका रूपमा मात्रै राखियो।
‘मानिसहरूले मैले महिला भएर पनि पुरूष झैं व्यवहार गरेको महसुस गरे। मेरो नाममा प्रकाशित समाचारहरू पुरूषले लेखेको हुनुपर्ने उनीहरूको आशय थियो। लाइबेरिया पनि पितृसत्तात्मक समाज हो। यहाँ पुरूषको बराबरीमा आउने क्षमता भएका महिलाहरूलाई दुर्व्यवहार गरिन्छ। मानिसहरूको सोच कस्तो छ भने महिला पत्रकारहरूले सामान्य फिचर मात्रै लेख्नुपर्छ’, डेभिस भन्छिन्।
डेभिसले सांसदबारे समाचार लेखेपछि त्यसको असर उनको परिवारलाई समेत पर्यो। सुरक्षाको कारणले हप्तौंसम्म उनले आफ्ना सन्तानलाई विद्यालय पठाइनन्। विश्वभर दुर्व्यवहारमा परेका महिला पत्रकारहरूले त्यसका विरूद्ध आवाज उठाउँदा समाचार संस्थाहरूले उल्टै उनीहरूलाई दुरुत्साहन गरेको पनि पाइएको छ। त्यस्तो परिस्थिति सामना गरेका महिला पत्रकारहरूलाई सामाजिक सञ्जालमा पोस्ट नगर्न भनिएको र भिडिओ अन्तर्वार्ता लिन वञ्चित गरिएको पाइएको छ।
नोबल शान्ति पुरस्कार पाएकी फिलिपिन्सकी मारिया रेसा र्याप्लर नामक अनलाइन न्युज चलाउँछिन्। उनले समेत धम्की व्यहोरेको अनुभव सुनाइन्। ‘यदि चरमपन्थी समूहका झुटो प्रचारलाई प्रतिवाद नगर्ने हो भने त्यो कुरा सत्य रहेको भान हुनेछ। त्यसलाई प्रतिवाद गर्दा उल्टै समस्याको स्थिति पनि छ’, उनी भन्छिन्।
सन् २०२१ मा युनेस्को र आईसीएफजेले गरेको सर्वेक्षणले अनलाइन आक्रमणको शिकारमा परेका धेरै महिला पत्रकारहरूको जागिर गएको देखाएको छ। आफ्ना छोराछोरी तथा परिवारको सुरक्षाका लागि उनीहरूले जागिर नै छोडेका छन्। ‘दुर्व्यवहारमा परेका पत्रकारहरू उल्टै सजायको भागीदार हुने स्थिति निकै चिन्ताजनक विषय हो। तर यो प्रवृत्ति विश्वभर नै झागिंदो छ’ आईसीएफजेकी विश्व अनुसन्धान निर्देशक जुली पोजेटी भन्छिन्, ‘दुष्प्रचार विरुद्ध लडिरहेका पत्रकारहरूले उल्टै जागिर गुमाएका छन्।’
यस्ता गतिविधिले महिला सशक्तीकरणलाई समेत असर पुगेको उनी बताउँछिन्। ‘पत्रकारले आफ्ना पीडाबारे आवाज उठाउँदा वा दुर्व्यवहारविरुद्ध प्रतिकार गर्दा कर्पोरेट जनसम्पर्कका माध्यमबाट त्यसलाई निरुत्साहित गरिन्छ। यसले पेशागत स्वायत्तता र महिला सशक्तीकरणमा असर पुर्याएको छ’, पोजेटीको भनाइ छ।
टर्की, नाइजेरिया र ब्राजिलमा भएका आक्रमण
टर्कीकी पत्रकार एम्बरिन जामन एआई मनिटरकी वरिष्ठ संवाददाता हुन्। उनले ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की व्यहोरिन्। उनलाई धम्की दिनेहरू अधिकांश सामाजिक सञ्जालमा देखिन्छन्। जामनले टर्की र सिरिया सरकारको सवालमा रिपोर्टिङ गरेकी थिइन्। ‘दुर्व्यवहार तथा धम्कीका लागि सामाजिक सञ्जाल नै माध्यम बनिरहेका छन्’, उनी भन्छिन्।
जामनले सामाजिक सञ्जालमा गरेका पोस्टहरू कसैले निगरानी गर्छ र उनीविरुद्ध दुष्प्रचार गर्छ। यस्ता गतिविधिले आफ्नो अभिव्यक्ति स्वतन्त्रता र सुरक्षामा असर पुगेको उनी बताउँछिन्। जामनले सिरियामा अमेरिकी समर्थन प्राप्त कुर्दिस समूहलाई टर्कीले आतंकवादी भनेको विषयमा रिपोर्टिङ गरेकी थिइन्। ‘मैले कुर्दिसको प्रमुखसँग गरेको अन्तर्वार्ता ट्वीट गरें भनें मेरा विरुद्ध दुष्प्रचार गरेर अदालतमा मुद्दा दर्ताका लागि उक्साउने काम हुन्छ’, उनले भनिन्।
जामन विरूद्ध धेरै मुद्दा चलेका छन्। एउटा विषयमा उनीमाथि गिरफ्तार आदेश नै जारी भएको थियो। उनी ६ वर्षदेखि टर्की जान सकेकी छैनन्। उनी हाल लण्डनमा छिन्। गिरफ्तारको डरले सन् २०२० मा आमाको अन्तिम संस्कारका लागि पनि उनी जान सकिनन्। ‘यसको मनोवैज्ञानिक असर म व्याख्या नै गर्न सक्दिनँ। आफ्ना विरुद्ध हुने त्यस्ता दुर्व्यवहार र हिंसा निकै भयानक छ’, उनी भन्छिन्। लण्डन आए पनि उनलाई सुख छैन किनभने इन्टरनेटको कुनै भूगोल छैन।
नाइजेरियाकी पत्रकार किकी मोर्दीले घर छोडिन्। सन् २०१९ मा उनले विश्वविद्यालयमा हुने यौनहिंसाबारे बीबीसीका लागि डकुमेन्ट्री बनाएकी थिइन्। त्यसपछि उनले आक्रमणको शृंखला व्यहोर्नुपर्यो। यसपछि उनलाई आफ्नो कर्म गर्न नै अप्ठ्यारो पर्यो। सामाजिक सञ्जालमा गरिने पोस्टहरूले उनलाई मनोवैज्ञानिक असर पुर्यायो। सोसल मिडियादेखि नाइजेरियाका मूलधारका सञ्चारमाध्यममा उनीविरुद्ध दुष्प्रचार गरियो। त्यसपछि उनले ठेगाना र सम्पर्क नम्बर सबै परिवर्तन गरिन्।
सामाजिक सञ्जालमा महिला पत्रकारहरूमाथिको दुर्व्यवहार बढिरहेको जानकारहरू बताउँछन्। नाम चलेका महिला पत्रकारहरूमाथि समाजिक सञ्जालमार्फत आक्रमणका लागि दक्ष कामदाहरू नै राखिएको उनीहरूको मत छ। सन् २०२१ मा यल विश्वविद्यालयको अनुसन्धानले भनेको छ, ‘दुर्व्यवहारका लागि प्रयोग हुने सामग्रीमा बढी लाइक र सेयर हुने भएपछि मानिसहरूले त्यस्ता गतिविधिका लागि थप प्रोत्साहित भएको देखिन्छ।’
ब्राजिलकी ३६ वर्षीया पत्रकार जुलियना पिभाले जैर ब्राजिलमा भइरहेको अनियमितता तथा भ्रष्टाचारसँगै उग्रपन्थी नेता जैर बोल्सोनारो बारे रिपोर्टिङ गरिन्। त्यसपछि उनी विरुद्ध आक्रमण सुरू भयो। सन् २०१५ मा उनीमाथि अनलाइन दुर्व्यवहार सुरू भएपछि उनले केही समय सामाजिक सञ्जाल प्रयोग गर्न छोडिन्। केही महिनापछि त्यस्ता गतिविधि साम्य पनि भयो। तर जब बोल्सोनारो सन् २०१९ मा सत्तामा आए उनीविरुद्धका गतिविधि चर्कियो। बोल्सोनारोका समर्थकले उनको लैङ्गिताका विषयमा प्रश्न उठाउन थाले। ‘मसँग जोडिएका समाचार स्रोत, मेरा परिवार, साथीभाइ सबै निशानामा पर्न जाँदा म पनि असुरक्षित महसुस गर्थेँ। तर उनीहरूको धम्की भन्दा मलाई मेरो कर्म ठूलो लाग्थ्यो’, उनले भनिन्।
बोल्सोनारोका समर्थकहरूको आक्रमणपछि केही मिनेटमै गर्ने काम पनि घण्टौं लागेको उनको अनुभव छ। ‘म आफ्नो काममा ध्यान नै दिन सक्दिनथें’, उनी भन्छिन्।
३६ वर्षीया पत्रकार जुलियना पिभा सार्वजनिक स्थलहरूमा जाँदा कसैले नचिनोस् भन्नका लागि उनी मास्क लगाउँथिन् । भीडलाई निषेध गर्थिन्। आफ्नो सुरक्षाका कारण उनले गत वर्षको कुनै पनि निर्वाचन अभियानबारे समाचार लेखिनन्। बोल्सोनारोको विषयमा किताब लेखे पनि उनले भव्य समारोह गरेर विमोचन गर्न सकिनन्।
अनलाइन दुर्व्यवहारका ९ वर्ष
फारूकी सन् २०१४ देखि समस्यामा परेकी हुन्। पाकिस्तानी राजनीतिज्ञ इमरान खान र उनको पार्टीबारे रिपोर्टिङपछि उनले समस्या व्यहोर्नुपरेको हो। पाकिस्तान यस्तो मुलुक हो जहाँ पत्रकारहरूमध्ये जम्मा पाँच प्रतिशत मात्रै महिला छन्। यस्तै प्रेस स्वतन्त्रताको सवालमा दोस्रो असुरक्षित मुलुक हो।
खानले प्रधानमन्त्रीका लागि अभियान चलाउँदै गर्दा फारूकी आफ्नो कर्मले चर्चामा आइसकेकी थिइन्। खानको अभियानलाई समेट्दै उनले रिपोर्टिङ गरिन्। नेताहरूसँग अन्तर्वार्ता गरिन् भने मतदातासँग कुराकानी गरिन्। ‘त्यो र्यालीबारे समाचार बनाउने म एकमात्रै महिला पत्रकार थिएँ’, उनले भनिन्।
फारूकीले गरेका कभरेजले राष्ट्रको नै ध्यान खिच्यो। त्यसपछि खानका समर्थक तथा विरोधीहरूले समेत उनीविरुद्ध सामाजिक सञ्जालमा अभियान चलाए। उनले लिएका अन्तर्वार्ताका दृश्यमा अश्लील दृश्य जोडेर पोस्ट बनाउन थालियो। उनको कामबारे दुष्प्रचार गरियो। उनका कामले बालबालिका तथा राष्ट्रलाई नकारात्मक असर पुगेको भन्दै दुष्प्रचार हुन थाल्यो। ‘महिला पत्रकार भएकै कारणले मात्रै फारूकीले दुर्व्यवहारको सामना गर्नुपर्यो। यो निकै भर्त्सनालायक कार्य हो’, पाकिस्तानमा न्यायिक कार्यमा सक्रिय निगद दादले भने।
फारूकीले पनि त्यसलाई नजरअन्दाज गर्ने कोसिस गरिन् तर सकिनन्। सन् २०१६ मा फारूकीको पाकिस्तानका शीर्ष नेतासँग अफेयर रहेको भिडियो सन्देश सार्वजनिक भएको थियो। भिडियोमा सन्देश दिने नेता इमरान खानको पार्टीकी नेता जारताज गुल वाजिर थिइन्। सामाजिक सञ्जालमा त्यो भिडियो भाइरल भयो। त्यसपछि फारूकीले मुद्दा दर्ताको प्रक्रिया अघि बढाइन्।
सन् २०१८ मा खान प्रधानमन्त्री भएपछि त्यो मुद्दा अघि बढ्न सकेन उल्टै उनीमाथि दुर्व्यवहार गर्नेहरू शक्तिशाली भए। उनले प्रधानमन्त्री समेत रहेका खान र संसदलाई समेत चिट्ठी लेखिन् तर कुनै सुनुवाइ भएन। उनले अल्लाहको नाममा पशु बलि दिन नहुने भन्दै आवाज उठाएपछि फारूकीविरुद्ध उल्टै मुद्दा दर्ता भयो। यो मुद्दाको अनुसन्धान जारी छ र यही मुद्दाकै कारण फारूकीलाई जागिर दिन पाकिस्तानका दुई ठूला मिडियाले अस्वीकार गरे।
अनलाइन दुर्व्यवहारका कारण फारूकीको व्यक्तिगन जीवनमा समेत असर पुग्यो। ‘बिहे नगरेकी महिला पत्रकारलाई धेरै व्यक्तिहरूसँग जोडेर उनीहरूलाई निरुत्साहित गरिन्छ’, फारूकी भन्छिन्।
आफू विरुद्धको हिंसाबारे उनले अन्तर्राष्ट्रिय क्षेत्रमा समेत आवाज उठाइन्। ‘मैले अमेरिका, बेलायत, टर्की र चीनमा समेत ममाथि भएको घटना अवगत गराएँ। तर सबै मुलुकमा महिला पत्रकारहरूले उस्तै समस्या खेपेको पाएँ’, फारूकीले भनिन्।
सशक्त महिला पत्रकारहरूलाई कमजोर बनाउन विश्वभर नै यो नयाँ हतियार रहेको अनुभव आफूले गरेको फारूकीले बताइन्।
-वासिङटन पोष्टबाट
source https://www.onlinekhabar.com/2023/02/1264998
0 Comments