११ पुस, काठमाडौं । चितवनको नारायणगढ बजारमा सडक विस्तारका लागि शुक्रबारदेखि सडक सीमाभित्रका घरहरुमा डोजर चल्दैछ । महानगरपालिका र स्थानीयवासीले वर्षौं दुःख गरेर हुर्काएका रुख-विरुवामा पनि डोजर चलिरहेको छ ।
सडक सीमाभित्रका घर नभत्काइ नहुने बताएको सडक विभागले त्यसभित्रै परेका रुख-बिरुवा पनि आँखा चिम्लेर मासिरहेको छ । हरियालीको महत्वप्रति सरकार संवेदनशील हुन्थ्यो भने वर्षौं लगाएर शहरभित्र हुर्काइएका रुख पक्कै काटिने थिएनन् ।
नहटाई नहुने भए उपलब्ध प्रविधि र सवारी साधनले यिनलाई शहरका अन्य भागका विस्तार भइसकेका र अब नहुने तय भएका सडकसहित पार्क, खुला क्षेत्रमा लगेर सार्न सकिन्थ्यो । तर, त्यसमा कसैको चासो छैन ।
अन्तर्राष्ट्रिय अभ्यास पछ्याउने हो भने यिनै रुख-विरुवालाई अस्थायी रुपमा कुनै ठाउँमा रोपिराखेर सडक विस्तारपछि बन्ने ‘गि्रनरी बेल्ट’ (मेडियन) मा पुनः ल्याएर रोप्न सकिन्थ्यो ।
वातावरणविद् भुषण तुलाधरका अनुसार नेपालका शहर र सडक किनारमा रुख-विरुवाको अति अभाव छ । शहरी वातावरणलाई मानवमैत्री बनाउन रुख-बिरुवाको ठूलो महत्व भएपनि त्यो कसैको प्राथमिकता नरपरेको उनको गुनासो छ ।
शहरी पूर्वाधार निर्माण गर्दा वातावरणीय अध्ययन गर्ने र रुख विरुवा जोगाउने गरी नीति-थिति बनाउने प्रचलन नै नबसेको उनी बताउँछन् । ‘चाहने हो भने सडक चौडा बनाउँदा या अन्य विकासका काम गर्दा रुखहरु अन्यत्र सार्न सकिन्छ,’ उनले भने, ‘२०-२२ वर्षअघि सडक विस्तार गर्दा काट्नुपर्ने भएपछि टुँडिखेलको एउटा ‘जिंको बाइलवा’को रुख गोदावरीमा सारिएको थियो ।’
सडक विभागसँग भने यसरी रुख लगेर अन्य ठाउँमा सार्ने न सोच छ न त जाँगर । जबकी, एक्स्काभेटरको सहायताबाटै यस्ता रुखरु अन्यत्र लगेर सार्न नसकिने हैन ।
भरतपुरका व्यवसायी राम सुवेदी पर्याप्त छलफल र गहृकार्य नगरी डोजर चलाइँदा क्षति व्यहोर्नु परेको बताउँछन् । ‘हामीले मलजल गरेर निकै कष्टका हुर्काएका रुख-विरुवा काटिने भयो,’ उनी भन्छन्, ‘डोजर चलाउनुअघि एकपटक स्थानीयबासी र व्यवसायी राखेर छलफल गरेको भए योभन्दा राम्ररी काम गर्न सकिन्थ्यो ।’
रुख समेत सार्ने गरी सडक विस्तारको काम गरे लागत बढ्ने सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता भीमार्जुन अधिकारी बताउँछन् । ‘एक त लागतको कुरा छ, फेरि हाम्रो देशमा हरियालीको खासै कमी पनि छैन’, उनी भन्छन्, ‘काठमाडौं जस्तो हरियाली कम भएको शहरमा हो भने विचार गर्न हुन्थ्यो, नारायणगढमा त्यसो गर्नुपर्ने अवस्थै छैन ।’
विकासको काम गर्दा ट्रि ट्रान्सप्लान्ट (मध्यम र ठूला रुखलाई जरासहित सार्ने) नगरी काट्ने प्रचलन नै बसेको छ । काठमाडौंको चक्रपथ विस्तारका लागि दुई चरणमा करिब ३२ सय रुख बिरुवा काटिसकिएको छ । कलंकी-सातदोबाटो-कोटेरश्वर खण्डमा १२ सयभन्दा बढी र कलंकी-महाराजगञ्ज-धोबीखोला खण्डमा २ हजारभन्दा बढी रुख ढालियो ।
तीमध्ये आधाभन्दा बढी हुर्किएका रुख ट्रान्सप्लान्ट गर्न सकिन्थे, तर, त्यो झमेला नगरी आरा चलाइयो । त्यसयता सडक विस्तारका क्रममा काठमाडौंभित्र हुर्काइएका धेरै रुख काटिए । ती रुखलाई अन्यत्र सारेर जोगाइएको भए अहिले वातावरणलाई स्वच्छ बनाउन योगदान दिइरहेका हुन्थे ।
२०७४ मा इटहरीमा पार्किङ व्यवस्थापनका लागि धेरै रुख काटिए । विराटनगर-इटहरी-धरानको ६ लेन सडक विस्तारका क्रममा पनि त्यही भयो । नारायणगढ-बुटवल सडक खण्ड विस्तार गर्दा पनि सडक किनारमा हुर्किएका हजारौं रुख ढालिए ।
शहरहरु स्थानीय समुदायले जतन गरेर हुर्काएका रुख काटिनु सामान्य विषय भइसकेको छ । विकासे निकायहरुले महत्वपूर्ण नठाने पनि सडक किनारका रुख काटिंदा स्थानीयबासीले खिन्नता प्रकट गर्ने गरेका छन् ।
देशमा छैन एउटा ‘ट्रि ट्रान्सप्लान्टर’
विकासका नाममा दैनिक सयौं रुख-विरुवा सखाप पार्ने सडक विभागसँग हालसम्म एउटा पनि ‘ट्रि ट्रान्सप्लान्टर’ मेसिन छैन । सडक विस्तार गर्दा धेरैजसो रुख जंगल क्षेत्रकै काटिने भएकाले विभागले यसको आवश्यकता बोध नै गरेको छैन ।
रुख काट्ने अनुमतिका लागि दौडधुपमा रहने सरकारका रेल, विद्युत्, खानेपानी, शहरी विकास लगायत विभागहरुले पनि यस्तो प्रविधि भित्र्याउन आवश्यक ठानेका छैनन् । एउटा रुख हुर्काउन हजारौं रुपैयाँ लगानी गरिरहेको काठमाडौं महानगरपालिकाले समेत यसमा चासो दिएको छैन ।
धेरै नै महँगो हुने भएका कारण कसैले यस्तो प्रविधिमा रहेर काम गर्न चासो नदिएका भने हैनन् । यस्ता ट्रान्सप्लान्टर मेसिन महानगरका जनप्रतिनिधि वा विकासे अड्डाका हाकिमहरु चढ्ने गाडीकै भाउमा आउँछ ।
अन्तर्राष्ट्रिय बजारमा ठूला ट्रान्सप्लान्टरको मूल्य करिब १ करोड रुपैयाँबाटै सुरु हुन्छ । यस्ता मेसिनले हुर्किएका रुखहरु जरैसहित सर्लक्क उखेलेर अन्यत्र रोप्छन् । संसारमा सामान्य भइसकेको ट्रि-ट्रान्सप्लान्टर मेसिन नेपालमा भने एउटा पनि छैन ।
ट्रान्सप्लान्टरले १० देखि २० फिटसम्मका रुख सजिलै सार्छन् । विरुवा नै रोप्नुपर्ने बाध्यता यसले हटाइदिन्छ । बिरुवा हुर्काउन समय लाग्ने वा समस्या हुने भएकाले यो प्रविधि प्रभावकारी प्रमाणित भएको छ ।
विज्ञहरुका अनुसार विकसित देशमा शहरभित्र विकास निर्माणका कामका लागि ट्रक, टिपर, डोजर, लोडरजस्तै न्यनतम् आवश्यक उपकरणभित्र ट्रि-ट्रान्सप्लान्टर पनि एक मानिन्छ ।
विकास-निर्माणमा रुख ट्रान्सप्लान्टको नीति-विधि बसाले यस्तो मेसिन निर्माण व्यवसायीहरुले नै किन्न सक्छन् । यस्तको काम गर्न विदशेमा कम्पनीहरु नै खडा भएका छन् । जसले शहरहरुमा अर्बौंको परियोजना चलाएका छन् । यसरी रुख जोगाउन सकिए शहरभित्र हरियाली बढाउँदै कार्बन घटाउने सरकारी नीतिले पनि सार्थकता पाउँछ ।
आफ्नो क्षेत्रको आवश्यकता हेरेर महानगर, उपमहानगर र नरपालिकाहरुले नै ट्रि-ट्रान्सप्लान्टर मेसिन ल्याउनु उपयुक्त हुने सडक विभागको तर्क छ । स्थानीय तहहरुले यस्तो मेसिन ल्याए विकासका अन्य काम गर्दा पनि सार्न सकिने रुख बचाउन सकिने सकड विभागका प्रवक्ता अधिकारी बताउँछन् ।
काठमाडौं महानगरले ५ वर्षअघि यस्तो मेसिन ल्याउने हल्ला नचलाएको हैन तर, महानगर अन्तमा विभिन्न विकासका काम गर्ने क्रममा रुख काट्दा साक्षी मात्रै बसेन, सहयोगी समेतको भूमिका देखियो । महानगरको हालै निर्वाचित नयाँ नेतृत्व पनि यसमा जागरुक देखिएको छैन ।
किन महत्वपूर्ण छन् शहरमा रुख ?
नेपालका अधिकांश शहरहरु कंक्रिटको चपेटमा छन् । विकासका नाममा रुख-विरुवा पनि काटेर वस्ती र सडक बढाइँदै छ । यसले शहरहरु बस्न अयोग्य बन्दै गएका छन् । सहरहरुमा नयाँ रुख-विरुवा रोपेर वातावरण जोगाउने चासो भने कसैले देखाएका छैनन् ।
यसैपनि नेपालमा शहरी सडकका किनार र सार्वजनिक खुला स्थानका लागि कस्ता रुख-विरुवा धुँवाधुलो प्रतिरोधी हुन् र तीनको संरक्षण कसरी गर्ने भन्ने नीति-विधि छैन । रुख-विरुवा रोप्दा पनि नर्सरीहरुमा जे पाइन्छ त्यही किनेर रोप्ने गरिन्छ ।
प्रायजसो शहर र सडक किनारमा नयाँ विरुवा रोपेर हुर्काउन सहज छैन । सडकको हण्डर खेप्न नसक्ने प्रजातिका विरुवा त हुर्किन नै पाउँदैन । त्यसमाथि सडक किनारमा रोपिएका बिरुवाको संरक्षण गर्न चासो दिने व्यक्ति र निकाय ज्यादै कम छन् ।
यस्ता बिरुवा अनेकन अतिक्रमणको चपेटामा पर्छन् । काठमाडौंका थुप्रै सडक किनारमा रोपिएका विरुवा त्यसका उदाहरण हुन् । स्याहार नपाएर कतिपय बिरुवा सुकेका छन्, कति सुक्ने तरखरमा छन् भने कतिपय अनेक बाधा छिचोल्दै हुर्किंदै छन् ।
शहरभित्र थप विरुवा रोप्न पर्याप्त खुला स्थान पनि छैनन् । अझ सडक डिजाइन गर्दा नै बिरुवा रोप्नेबारे सोचिएको हुँदैन । खाली ठाउँ जहाँ भेटिन्छ, त्यहीँ रोपिदिने चलनका कारण सडक किनारका रुखले संरक्षण पाउँदैनन् ।
ट्रि-गार्ड राख्ने चलन त छ, तर धेरै बटुवाहरुले बिरुवाप्रति माया नदेखाउने कारण पनि सडक किनारमा हुर्किरहेका बिरुवाहरु सधैं जोखिममा हुन्छन् ।
संरक्षणका लागि तारजाली लगाएपनि बोट बिरुवाको मुन्टो निमोठ्ने, हाँगा नै भाँचिदिने, बिरुवा उखेलिदिने, मौका परे बोकेर हिँड्ने लगायतका नाजायज काम हुने गरेको छ ।
छाडा पशुवस्तुले पनि यस्ता बिरुवा चपाउने गरेका छन् । विरुवालाई घेरिएका तारजालीमा काँक्रो, फर्सी, घिरौंला लहरा लगाइदिँदा बिरुवाहरु बढ्न नपाउने समस्या पनि देखिन्छ । विस्तारित चक्रपथमा देखिने दृश्यहरु त्यसका उदाहारण हुन् ।
रातदिन सवारीको तातो-कालो धुँवामा पर्ने सडक किनारका बिरुवाले हत्तपत्त गोडमेल र मलपानी पाउँदैनन् । यी कारणहरुले शहरभित्र विरुवा हुर्काउनु कम्ता चुनौतीपूर्ण हुँदैन । बल्ल-बल्ल हुर्किएका विरुवा पनि विकास निर्माणका बदलिंदा मापदण्ड र योजनाहरुको चपेटामा पर्छन् र काटिन्छन् ।
विज्ञहरुका अनुसार शहरी आवागमनमा ८० प्रतिशत पैदलयात्रु नै हुन्छन् । शहरमा उनीहरुलाई शीतल छाहारी दिने रुख-बिरुवा चाहिन्छ भन्ने सोचले विकासका काम गरेको पाइँदैन । यो सबै गाडी केन्द्रित सोचको परिणाम पनि हो ।
‘गाडीलाई फराकिलो सडक चाहिन्छ भनेपछि सम्पदा, रुख-विरुवा, फुटपाथ केही चाहिँदैन भन्ने सोच-शैली छ,’ वातावरणविद् तुलाधर भन्छन्, ‘सहर वा सडक बनाउँदा मानवभन्दा सवारीसाधन केन्द्रित हुने प्रचलनले यो अवस्था आएको हो ।’
source https://www.onlinekhabar.com/2022/12/1237883
0 Comments