नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसदीय दलको चुनावमा पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध दलको नेतामा उम्मेदवारी दिए । यसक्रममा उनले देउवाइतर समूहलाई एकजुट बनाउन सके । नेपाली कांग्रेस पुरानो र जाम भएर बसेको पार्टी हो, जहाँ एक से एक युवा नेता अड्किएर बसेका छन् । यस्तो पार्टीमा पार्टी सभापतिविरुद्ध चुनावमा उत्रन गगनलाई कहाँबाट आँट आयो ?
यो प्रश्नको जवाफ कुनै षड्यन्त्रको सिद्धान्तलाई पछ्याएर प्राप्त हुँदैन । यसका लागि त नेपाली समाजमा तीव्र विकास भइरहेको सामाजिक चेतना र परिवर्तनका लागि भइरहेका विद्रोहको चाप जिम्मेवार छ । समय र समाजको बहावसँगै आफूलाई रूपान्तरण गर्न सक्ने क्षमता भएका राजनीतिकर्मीले नै अबको पुस्ताको भावना र आवश्यकतासँग आफूलाई एकाकार गराएर अगाडि बढाउन र समाजको नेतृत्व गर्न सक्छ ।
राजनीतिको ट्रेण्ड पछ्याउँदा
नेपाली राजनीतिमा नेतृत्व परीक्षणको गति मन्द रहृयो । खासगरी मुख्य राजनीतिक दलहरूभित्र देखिएको अलोकतान्त्रिक एवं कम्पनी चरित्रका कारण विगत चार दशकसम्म दलहरूमा एउटै र केही सीमित नेतृत्वले कार्यकारी भूमिकामा रहने अवसर पायो । राजनीतिक दलहरूमा मात्र यस्तो भएको होइन, राज्य सत्ता सञ्चालनको सवालमा पनि उस्तै अवस्था रहेको छ । आजभन्दा ४० वर्ष अगाडि मुख्य राजनीतिक दलका मुख्य नेतृत्व जुन जुन थिए आज पनि लगभग उनीहरू नै छन् । त्यस्तै सरकार प्रमुख पनि उही र उस्तै पात्रहरू छन्, उनीहरूले पट्यारलाग्दो गरी सत्ता चलाइरहेका छन् ।
समय र समाज भने निकै अगाडि बढिसक्यो, समयको माग र समाजको सोचसँग चार दशकसम्म जाम भएर बसेको उही थोत्रो नेतृत्व मेल खान छाड्यो । फलस्वरुप पुराना राजनीतिक दलहरूप्रति नागरिकहरूको वितृष्णाको तह व्यापक रूपमा बढेर गएको छ । यसका संकेतहरू स्थानीय तहको निर्वाचन हुँदै प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका परिणामहरूले देखाउँदै गएका छन् ।
अब विभिन्न सिद्धान्त र वादहरू भन्दा पनि परिणाममुखी काम गर्न सक्ने, समाजको भावना र आवश्यकता बुझ्न सक्ने नेतृत्वको खोजीमा नेपाली समाज भौंतारिइरहेको म्यासेज यसपटकको निर्वाचनबाट प्रष्ट रूपमा राजनीतिक दलहरूलाई जनताले दिइसकेका छन् ।
नेपाली कांग्रेस पार्टीभित्र विश्वप्रकाश शर्मा, गगन थापाहरूले प्रष्ट रूपमा पार्टी र सत्ता सञ्चालनका लागी हस्तक्षेपकारी भूमिका निर्वाहका लागि खुल्ला चुनौती दिन थाल्नु पनि नेपाली समाजको आवश्यकताको उपज हो भन्न सकिन्छ ।
राजनीतिमा आफ्नै अस्तित्वको रक्षा एवं समाजको आवश्यकतालाई सम्बोधन गर्ने गरी अगाडि बढेका युवा नेतृत्वहरूमा गगन थापाहरूले समाज र राजनीतिको लयलाई समात्न खोजेका छन् । मुख्य राजनीतिक दलहरू एमाले र माओवादीका युवा नेतृत्व भन्दा एक कदम अगाडि सरेर कांग्रेसका युवाहरूमा देखिएको सामाजिक मनोविज्ञान बुझेर अगाडि बढ्ने चेतले आगामी दिनमा नेपाली समाजमा कांग्रेसको आयुलाई लम्ब्याइदिनेछ ।
पुस्तान्तरणको मनोविज्ञान
राजनीतिक दलहरूभित्र पुस्तान्तरणको मनोविज्ञानका कारण कतिपय नेतृत्वहरू, परिवर्तन र रूपान्तरणको यात्रामा सशंकित एवं द्विविधाग्रस्त भएको पनि देखिन्छ । नयाँ पुस्तालाई खुलेआम स्वागत गर्न निकै सकस पनि देखिन्छ । नेपाली कांग्रेसभित्र संसदीय दलको नेताको रूपमा शेरबहादुर देउवालाई निर्वाचन अगाडिदेखि नै खुल्ला च्यालेन्ज गरेर चुनावमा होमिएका गगन आफ्नै समूहभित्र सर्वसम्मत हुन हम्मे-हम्मे पर्यो । यो शेखर कोइरालाको महत्वाकांक्षा र रूपान्तरणको यात्रामा द्विविधाग्रस्त मनोविज्ञानबाट चलिरहेका बीचका नेतृत्वहरूको मनोभावनाको उपज थियो ।
नेपाली कांग्रेसभित्र विद्रोह, चेतना र रूपान्तरणको जबरजस्त अभियान छेडिरहेका गगन अब दशकौंदेखि पार्टीलाई मुट्ठीमा कब्जा गरेर राखेका नेता शेरबहादुर देउवासँग आमनेसामनेको हैसियतमा परिवर्तन र रूपान्तरणको अनि नयाँ सोचको नेतृत्व गरेर संसदीय दलको नेतृत्वमा चुनौती दिने अवस्थामा पुगेका छन् ।
के गर्लान् कांग्रेसका सांसदहरू ?
नेपाली कांग्रेसभित्र, जनताबाट अनुमोदित भएका सांसदहरूको चेतना एवं जनताको परिवर्तनको भावनालाई प्रतिबिम्बित गर्न सक्ने हैसियतको परीक्षा हुँदैछ । अबको समाजले चाहेको नेतृत्व, जनताको भावना अनि आफ्नो विवेकको प्रयोग गर्ने कि राजनीतिक रूपमा कुनै एउटा लिगेसीको सधैं दास बनेर बस्ने भन्ने प्रश्नको जवाफ कांग्रेसको संसदीय दलको चुनावमार्फत देखाउनुपर्छ ।
कांग्रेस संसदीय दलको चुनावले पार्टीभित्र मात्र होइन, सिङ्गो राजनीतिक दलहरूलाई परिवर्तनको आभास गराउने गरी नयाँ नेतृत्व सक्छ सक्दैन ? यसको जवाफ छिट्टै आउँछ । तर यो प्रतिस्पर्धाले मात्रै पनि नेपाली राजनीतिमा केही सन्देश अवश्य प्रवाह गरेको छ ।
गोप्य मतदान भएका कारण पनि गगनलाई प्रगतिशील सोच भएका रूपान्तरण चाहने देउवा गुटभित्रका सांसदहरूले समेत सहयोग गर्ने अवस्था देखिएको छ । महाधिवेशनदेखि नै पदको ललिपपमा लोभिएर अनिणिर्त बनेका रामचन्द्र पौडेलको भूमिकालाई उनको समूहका केही नेताले पछ्याउलान् ? यो कौतूहल जीवितै छ । जेहोस्, कांग्रेसभित्र आन्तरिक लोकतन्त्रमार्फत रूपान्तरण र परिवर्तनको सन्देश प्रवाह हुने मौका सिर्जना भएको छ ।
source https://www.onlinekhabar.com/2022/12/1235374
0 Comments