जीवन एक रहस्यमय अन्दाज हो । यही अन्दाजलाई पनि कस्तो बनाउने रु कसरी चलाउने ? भन्ने कुरा व्यक्ति आफैंमा निर्भर हुने कुरा हो । तर समयको चलखेल भनौं कि परिस्थितिमा हलचल आउँदै जाँदा यसको लय बिग्रँदै जान्छ ।
दैनिकीमा पर्ने प्रभाव र त्यसका असरबारे हामी कति जानकार हुन्छौं त कति जानकार भएरै पनि बेवास्ता गरिरहने हाम्रो नराम्रो बानी छ ।
यसै प्रसंगमा हामीले धेरै नै बेवास्ता गर्दै आइरहेका कुरामध्ये मानसिक बिमारी पनि एक महत्त्वपूर्ण विषय हो । यसबारे डा। विश्वबन्धु शर्माले मान्छेको मनु पुस्तकमा सजिलो गरी विश्लेषण गर्दै आफ्ना अनुभवबारे प्रकाश पारेका छन् । आफ्ना विचारमा कसरी परिवर्तन गर्ने र जीवनमा आफ्ना मनका विचारको प्रभावबारे खप्तडबाबाले विचार विज्ञानमा प्रष्ट पारेका छन् । त्यसैले पढ्नैपर्ने पुस्तकमध्येमा यी दुई पुस्तकलाई पनि समावेश गर्न सकिन्छ ।
मान्छेको मन
पहिले हाम्रो समाजमा मानसिक बिमारी भन्ने बित्तिकै पागलको संज्ञा दिइने गरिन्थ्यो। अहिले त्यो कुरा परिमार्जित भएर पागल होइन डिप्रेसनको सिकार भएको छु भन्ने चलन छ । तर यस पुस्तकमा डिप्रेसन मात्र मानसिक रोग होइन । सिजोफ्रेनिया,साइकोसिस, ओसीडीलगायत अन्य मानसिक रोगको पनि जानकारी दिइएको छ ।
कोही बच्चा एकसुरे बनेर बस्ने, अरुसँग कुरा नगर्ने, घुलमिल नगर्ने, मानिसको संगत मन नपराउने, आफ्नो बाहेक अरु संसारको मतलब नराख्ने, खुसी भएरै पनि खुसी हुन नसक्ने, अरुको कुरा र आफ्नोपनमा पनि शंका लाग्ने बानी देखाउन थाल्यो, पढेको कुरा पनि याद नहुने भयो भने उसलाई गाली गर्ने दण्ड दिने कार्य गर्नुअघि अवश्य सोच्नुपर्ने हुन्छ ।
मानसिक रोगी भन्ने बित्तिकै मान्छे देख्दै निराश, रुने, एकसुरे हुन्छन् भन्ने हुँदैन कोही व्यक्ति बाहिर एकदम खुसी जस्तो देखिन्छन् तर भित्रभित्र मानसिक रोगको सिकार बनिरहेका हुन्छन् । यसको सही उपचार पाएमा निको हुन्छ । त्यसैले आफूलाई यस्तो अनुभव भइरहको छ भने एकपटक डाक्टरसँग परामर्श लिनु उचित हुने गर्छ ।
हामीले औषधि खाइरहेको बिरामी निको नभएपछि उसले आत्महत्याका प्रयास गरिरहँदा बिरामीलाई नै हुत्तिहारासँगै अनेक संज्ञा दिने गरेको पाइन्छ ।
मानसिक रोगका किसिम
डा. शर्माले लेखेका छन्, सिजोफ्रेनिया र डिप्रेसन लागेको व्यक्तिमा माया, रिस, इर्ष्या, उत्प्रेरणा, उद्देश्य जस्ता भावनात्मक कुरा कमजोर हुँदै जान्छन् । उपचार सुरु नहुँदै आत्महत्याका भावना आएका भए पनि उसलाई त्यसो गर्न अल्छी लगिरहेको हुन्छ । औषधिको सुरुवातसँगै शरीरमा एक भिन्नै जाँगर र सहस बढेर आउने हुँदा उसले पहिले नसकेको काम पनि सजिलै आट्ने गर्छ । म रोगी भएँ । घरपरिवारलाई बोझ भएँ भन्ने भाव उत्पन्न हुने गर्छन् । त्यसैले निको हुने सिलसिलामा परिवार चनाखो भइरहनु जरुरी हुन्छ । अब सन्चो भयो भनेर बीचैमा डाक्टरको परामर्श नलिई औषधि सेवन नगर्दा फेरि रोग बल्झिने प्रबल सम्भावना देखिन्छ ।
ओसीडीका बिरामीहरु सामान्यतया दैनिकी केही कार्य दोहोर्याइरहनुपर्ने, अरुले गरेको चित्त नबुझाउने खालका हुन्छन् । खासै असर गरिहाल्ने भन्ने त हुँदैन तर यदि तीव्र गति लियो भने डराउनुपर्ने स्थिति नै सिर्जना हुने गर्छ ।
साइकोसिसका बिरामीहरु शारीरिक व्यवहारमै पनि केही फरक देखिन्छन् । यस्ता बिरामीलाई ह्यलुसिनेसनको प्रभाव प्रबल रुपमा देखिने गर्छ । म जस्तो कोही छैन भन्ने भ्रमपूर्ण स्वमूल्यांकन गर्ने गर्छन् ।
मानसिक बिमारी कसरी हुन्छ ?
गर्भावस्थामा रहेकी आमाको खानपिन, पारिवारिक माहोल, हेरिने भिडियो, सुन्ने संगीत आदिले पनि बच्चाको मानसिक विकासमा मद्दत पुर्याएको हुन्छ । यही अवस्थामा आमालाई प्रि र पोस्ट डेलिभरी (प्रि-न्याटल, पोस्ट-न्याटल) डिप्रेसनका केस पनि हुने गर्छन्। पारिवारिक माहोल, ब्रेकअप, पढाइ, बालापनमा सुनेका, देखेका र भोगेका कुराहरुको छाप, एक्लोपन, नजिकको मान्छेको मृत्यु, डर जस्ता कुरा धेरै मानसिक रोगका कारण देखिएको पाइन्छ ।
त्यससँगै यौन दुर्व्यवहार पनि मानसिक रोगमा सबैभन्दा बढी असर गरेको तर लुकिरहेको कुरामध्ये एक हो ।
रोग कसरी निको हुन्छ ?
मानसिक रोग लाग्दैमा जीवन सकिने होइन । केही उपाय अपनाएमा सक्रिय जीवनमा पुन : फर्किन ऊ सक्छ ।
–नियमित औषधि सेवन
– परिवारको माया(ममता, हौसला
– कुनै उपयोगी काममा व्यस्त रहनु
–समुदायमा घुलमिल भई सामाजिक सम्बन्ध विस्तार गर्नु
– लागुपदार्थबाट टाढा रहनु
अझ महत्त्वपूर्ण कुरा भनेको अरुलाई यस्तो गर्ने नगर्ने सन्दर्भमा जे भने पनि आफूले खुसी र निरोगी बनाउने हो भन्ने नसोचेसम्म कुनै पनि रोग सजिलै निको हुँदैन ।
रोगले कसैलाई छुट्याएर संक्रमण गर्दैन । जो कोहीलाई पनि हुने गर्छ । कारण अनेक होलान् तर शारीरिक जस्तै मानसिक रोग पनि रोग नै हो । रोग हुनु भनेको शारीरिक, मानसिक, सामाजिक, मनोवैज्ञानिक, नैतिक, आध्यात्मिक सम्पूर्ण आयाममा प्रभाव पर्नु हो भन्ने कुरा बुझ्नु आवश्यक हुन्छ ।
कुनै पनि मानिसले अन्तिम पलसम्म बाँच्ने आश राख्छ । त्यसैक्षण उसले आफूलाई कसैले बचाओस् भनेर कसैको साथको अपेक्षा गरेको हुन्छ । जब पाउँदैन ऊ पोइन्ट–अफ–नो–रिटर्नमा पुगिसकेको हुन्छ र आत्महत्याको प्रयास गर्छ । त्यसैले यदि त्यसता कोही व्यक्ति तपाईंको नजिक छन् भने सुझाव दिने होइन, उनीहरुको कुरा सुनिदिनुभयो भने मात्र पनि धेरै सहज महसुस गर्नेछन् ।
विचार विज्ञान
जीवन कति सरल छ र यसलाई अझ कति सरल बनाउन सकिन्छ भन्ने कुरा खप्तडबाबाको विचार विज्ञानु पुस्तकमा उल्लेख गरिएको छ । विचारहरु एकदम सूक्ष्म हुन्छन् । जुन वस्तु जति सूक्ष्म हुन्छ, त्यसको बल पनि उत्ति नै बढी हुन्छ । तपाईंले भोगिरहेका अनेक कार्य तपाईंकै विचारका परिणाम हुन् ।
मानिसहरूले जीवनभरि दुष्ट विचार गरेको भए पनि श्रद्धापूर्वक राम्रा विचार गर्न थाल्यो भने थोरै समयमा उनीहरुको कल्याण हुनेगर्छ । शुद्ध विचार अविनाशी हुन्छन् । यसबाट नराम्रा विचारहरु आफैं नष्ट हुने गर्छन् । तपाईंका विचार जब उत्तम र उचित मार्गमा चल्न थाल्नेछन् तब तपाईंमा तेज, आरोग्य र ऐश्वर्य आफैं बढ्न थाल्नेछ ।
मजाकमै भए पनि आफूलाई कहिल्यै कमजोर, लोभी, रोगी नसोच्नु किनकि तपाईंलाई सच्चाई र मजाकको अन्तर थाहा होला तर मनले यो चिन्न सक्दैन । एउटा विचारको असर मानिसको अंग-प्रत्यांगमा हुन्छ । शुद्ध विचारले तपाईंको रोग पनि निको हुनेगर्छ । अशुद्ध विचारले हामीलाई कहिल्यै अगाडि बढ्न दिंदैन ।
यदि तपाईंलाई धनको इच्छा छ भने सदैव धनले भरिएको हेर्ने र प्रेम चाहिन्छ भने प्रेमको विचार गर्नुपर्छ । जुन वस्तुको इच्छा छ त्यसैमा आफ्नो ध्यान केन्द्रित गर्नुपर्छ ।
संसारको कुनै पनि वस्तु त्यति धेरै दुखदायी छैन । म सिद्दिका लागि सिद्दि हुँ । मैले सिद्दि प्राप्त गर्ने नै छु । म समर्थ छु । यो सदैव कल्पना गरिरह्नुपर्छ ।
आफ्ना विचारबाट नै आफू सुखी बन्न सकिन्छ । तपाईंको एक शुद्ध विचारले तपाईंको मात्र होइन पूरै वातावरणलाई नै प्रभाव पारिरहेको हुन्छ । मान्छेको शरीर मरे पनि विचारहरु कहिल्यै मर्दैनन् ।
यदि मानिसले सही ढंगमा विचार गर्न सिक्यो भने भाग्य उसको कठ्पुतली बन्नेछ । मानसिक शक्ति असिम छ । त्यसैबाट आफ्नो इच्छित-फल प्राप्त गर्न सकिन्छ । योग, ध्यान र प्राणायामलाई आफ्नो दैनिकीमा समावेश गर्नुपर्छ । त्यसैले तपाईं विचारको वशमा नपर्नु विचार तपाईंको वशमा हुनुपर्छ ।
अन्त्यमा,
मान्छेको मनु पुस्तक पढिरहँदा कति ठाउँ ओठमा मुस्कान भरियो भने कति ठाउँमा शरीर नै सिरिङ्ग हुन पुग्यो । मैले सोचेको भन्दा पनि धेरै कष्टसँग त मानिसहरु लडेर पनि बाँचिरहेका रहेछन् भन्ने भान भयो । मानसिक रोगबारे सामाजिक भ्रमलाई तोड्न यो पुस्तक निकै उपयोगी छ ।
त्यससँगै विचार विज्ञानुलाई समीक्षा गरेर कहिले पुग्दैन । जति पढे पनि पढिरहुँ लाग्ने र जति पटक पढ्दा पनि केही नौलो कुरा सिकेको अनुभव हुन्छ । त्यसैले विचार विज्ञानुलाई मैले मेरो दैनिक पढ्ने पुस्तकमा नै समावेश गरिसकें ।
source https://www.onlinekhabar.com/2022/12/1237097
0 Comments