नवनिर्वाचित सांसदहरूले पद तथा गोपनीयताको शपथ लिने मौसम छ । कतिपयको मनमा होला- सांसद भइयो, अब नीतिनिर्माणमा हस्तक्षेपकारी भूमिका निर्वाह गरिन्छ । कतिपयको मनमा लघुताभाषजन्य मनोविज्ञान पनि होला । उनीहरू केही जानेको छैन भन्दै अल्मलिइरहेका होलान् ।
कतिपयलाई नयाँ क्षेत्र हो, सिक्नुपर्छ भन्ने लागेको होला । कतिलाई आफू योग्य भएरै जनताले जिताएका हुन्, चल्छ भन्ने होला । यो पृष्ठभूमिमा नयाँ संसदको कार्यभारबारे सांसद मात्र होइन, मतदाता पनि स्पष्ट हुनुपर्छ । यो आलेख यही विषयवस्तुमा केन्द्रित छ ।
विधायक कि विकासे एजेन्ट ?
हाम्रो संविधानले सुधारिएको संसदीय व्यवस्था अवलम्बन गरेको छ । यो प्रणालीमा विधायकका रूपमा सांसद चुनिन्छन्, कार्यकारी होइन । संसदमा बहुमतसिद्ध गर्न सक्ने सांसद कार्यकारी प्रमुख (प्रधानमन्त्री) हुन्छन्, उनैको तजबिजमा मन्त्रीहरू नियुक्त हुन्छन् । प्रधानमन्त्रीको नेतृत्वमा रहने मन्त्रीहरूको समूह -मन्त्रिपरिषद)ले संविधान र कानुन बमोजिम कार्यकारी अधिकार प्रयोग गर्छ ।
शक्तिपृथकीकरणको सिद्धान्तअनुसार मन्त्रिपरिषद (सरकार)को कामलाई नियन्त्रण गर्ने संसद (व्यवस्थापिका)को मुख्य भूमिका हुन्छ । संसदद्वारा नियन्त्रित सरकार लोकतान्त्रिक हुन्छ ।
शक्तिले मानिसलाई भ्रष्ट बनाउन सक्छ । राज्यशक्ति प्रयोग गर्ने कार्यकारीलाई भ्रष्ट हुनबाट रोक्ने र लोकतन्त्रलाई दिगो बनाउने भूमिका संसदले खेल्नुपर्छ ।
सांसद आफैं विकास आयोजना बाँड्ने वा विकासका आश्वासन दिने वा बजेट बाँड्ने पद हैन । त्यसैले संसदमा प्रवेश गर्नुअघि सांसदले मनन गर्नैपर्ने विषय हो- म विकासे एजेन्ट हैन, विधिनिर्माण गर्ने विधायक हुँ ।
यो पक्कै कठिन छ । सांसदहरू विकास दिने (कार्यकारीको भूमिका खेल्ने) नाराबाट चुनाव जितेर आएका छन् । मतदाताले पनि सांसद भइसकेपछि उसबाट असल विधि निर्माण हैन, विकास खोेजेका छन् । संवैधानिक व्यवस्था र वास्तविकता बीचको यो अन्तरविरोधमा विगतबाटै सांसदहरू फस्दै आएका छन् ।
यसको हल खोज्न सक्दा नवनिर्वाचित सांसदहरूको सफलता पुष्टि हुनेछ । कार्यकारी भूमिका र विकासे एजेन्टको अवस्थाबाट मुक्त गर्न सक्दा मात्र सांसदहरू विधायकीय भूमिकामा देखिनेछन् ।
सांसदको काम सरकारले संसदमा पेश गरेको बजेट अनुमोदन गर्ने, विधेयकमाथि छलफल गरी पास गर्ने, सरकारको काम-कारबाहीको अनुगमन र जनआवाज मुखरित गर्ने हो । नवनिर्वाचित सांसदहरू जम्माजम्मी यही चार भूमिकामा केन्द्रित हुन जरूरी छ ।
बजेट अनुमोदन
संसदमा सरकारले पेश गरेको नीति कार्यक्रमसहितको बजेटमाथिको छलफलमा आफ्नो राय-सुझाव राख्ने र अन्त्यमा पक्ष वा विपक्षमा मत हाल्ने काम सांसदको हुन्छ । बजेट निर्माणमा भने सांसदको कुनै भूमिका हुँदैन ।
संसदको नियमावलीको पूर्ण पालना भएको अवस्थामा संसदमा बजेट प्रस्तुत हुनुभन्दा अगाडि पनि छलफल होला, सरकारले बजेटका सिद्धान्त र प्राथमिकतामा संसदको राय माग्ला । सो सिद्धान्त र प्राथमिकतामा बजेट नआए सांसदले सोको प्रतिवाद गर्नुपर्छ । र पनि, बजेट पास भएरै छाड्छ । फेल भयो भने सरकार ढल्छ ।
संसदमा बहुमत सदस्य हुने सरकारको तर्फबाट अर्थमन्त्रीले पेश गर्ने नीति तथा कार्यक्रमसहितको बजेट पास भइछाड्छ । संसदमा प्रखर रूपमा आफ्ना धारणा राखेर जनताको मन जित्ने अनि बजेट कार्यान्वयनमा सरकारलाई सघाउने एक सांसदको भूमिका हुन्छ ।
कानुन पास गर्ने
कानुन पास गर्नु सांसदको मुख्य भूमिका हो । आर्थिक विधेयकका हकमा सरकारी र अरू विधेयक निजी रूपमा पनि संसदमा दर्ता हुनसक्छ । ती विधेयक विरोधको सूचनामार्फत संसद प्रवेश गर्नै नदिने वा दफावार छलफलमा सहभागी भएर संशोधनको माध्यमबाट परिमार्जनसहित पास गर्ने भूमिका सांसदको हुने गर्दछ ।
संसद नियमावलीको संशोधनका शर्तहरू पालना गर्दै विधेयकको मूल मर्मविरुद्ध नहुने गरी विधेयक उपर संशोधन प्रस्तुत गर्ने अवसर हरेक सांसदले पाउँछन् । संसदमा पेश भएको विधेयक जनताको प्रतिक्रियाका लागि पठाउने वा सदनमा दफावार छलफल गर्ने वा सम्बन्धित समितिमा छलफल गरी टुंगोमा पुर्याउनेबारे निर्णय गर्ने अधिकार संसदको हुन्छ ।
संसदको निर्णय बमोजिम प्रक्रिया निर्धारण हुन्छ । र, त्यो प्रक्रियामा सांसदको भूमिका रहन्छ । विधेयकका हरेक प्रावधानमा नियमावलीले निर्धारण गरेको शर्तका अधीनमा रही संशोधन दर्ता गर्ने, आफ्नो संशोधनमा अरू सांसदको समर्थन जुटाउने, अरूको संशोधनमा आफ्नो मत जाहेर गर्ने र विधेयकलाई परिमार्जन गर्दै समृद्ध पारेर पारित गर्ने काममा सांसदको महत्वपूर्ण भूमिका रहन्छ ।
छलफलको हरेक चरणमा सांसदले भूमिका निर्वाह गर्दागर्दै पनि सहमति हुन नसकेका विधेयकलाई मतदान प्रक्रियाबाट टुंगो लगाइन्छ । संविधान संशोधन र जनमत संग्रहको विषय दुईतिहाइ बहुमतबाट र अन्य विषय सामान्य बहुमतका आधारमा टुंग्याइन्छ । विधेयकमा छलफल र मतदानमा भाग लिने एक सांसदको भूमिका विधायकका रूपमा हुन्छ ।
सरकारलाई नियन्त्रण गर्ने
संसद र सांसदहरूको महत्वपूर्ण भूमिका भनेको सरकारलाई नियन्त्रण गर्नु हो । सरकारी कामकारबाहीको नियमित अनुगमन र नियन्त्रण गर्ने भूमिकामा खरो उत्रने सांसद ‘पार्लियामेन्टरियन’ कहलिन्छन् । राम्रो सांसदले खेल्नेमध्ये सर्वाधिक महत्वको भूमिका यही हो ।
सरकारका नीति, कार्यक्रम, बजेट र विधेयकमाथि सदनमा बोल्ने, सरकारका हरेक कामकारबाहीबारे जानकारी माग्ने र गलत नीतिहरूको आलोचना गर्ने काम सांसदको हो । एक असल सांसदले यसरी सरकारलाई जनताको कठघरामा उभ्याउँछन् ।
हिंसासहितको राज्यशक्ति प्रयोग गर्ने वैधानिक अंग हो, सरकार । राज्य यस्तो वैधानिक संस्था हो, जसलाई बन्दुक चलाउन कुनै लाइसेन्स चाहिंदैन । राज्य हुनु नै बन्दुक चलाउने लाइसेन्स हो । अरूले चन्दा असुले त्यो गैर-कानुनी हुन्छ, तर राज्यले करका नाममा जनताबाट नियमित पैसा उठाउने अख्तियारी राख्छ । निर्वाध रूपमा हतियार र पैसा व्यवस्थापन गर्न पाउने एकमात्र औपचारिक संस्था राज्य हो ।
राज्यको यो काम सरकारले गर्छ । बन्दुक र पैसाले मैमत्त सरकारलाई निगरानी, खबरदारी र नियन्त्रण संसदले गर्छ । हरेक सांसद सरकारलाई संवैधानिक र कानुनी दायरा नाघ्न नदिने भूमिकामा हुन्छन् । नीतिनिर्माण र नीतिको सही कार्यान्वयनमा कार्यकारीलाई बाध्य बनाउने हदसम्मको भूमिका हो, यो ।
जनताको आवाज बोल्नु
सांसद सार्वभौम जनताको प्रतिनिधि हो । सांसदले संसदमा जनताको वारिसको रूपमा बोल्ने ठानिन्छ । संसदमा सांसद बोल्दा जनताको आवाज आउनु सर्वाधिक महत्वको विषय हो । संसदमा बोलेका कुराको अभिलेख रहने कुराको हेक्का सांसदहरूले राख्न जरूरी छ ।
संसदमा सांसदले उठाएको प्रश्नको जवाफ दिन सरकार बाध्य हुन्छ । कुनै एक सांसदको एउटा प्रश्न सरकारको कुनै नीति परिमार्जनको लागि काफी हुनसक्छ । सांसदको बोली त्यो स्तरको भयो/भएन भनेर दुनियाँले निगरानी गरिरहेकै हुन्छ ।
ख्याल गर्ने कुरा के हो भने संसदमा बोल्ने खास समय, तरिका र विषय हुन्छ । सभामुखको नियन्त्रण रहने संसदमा संसदीय भाषा बोल्नुपर्छ । असंसदीय भाषामा बोल्दा रेकर्डबाट हट्नेदेखि सांसद स्वयं निलम्बन वा निष्कासन खेप्न बाध्य हुनेसम्मको अवस्था आउन सक्छ ।
संसदमा उठ्ने आवाजको विशेष महत्व हुने भएकाले सांसदलाई अनेक पक्षबाट प्रभावित पार्ने प्रयास हुनसक्छ । यसमा हरेक सांसद चनाखो हुन जरूरी छ ।
संसदमा जनताको असल प्रतिनिधिले आफ्नो भूमिका पहिचान र आफैंले निर्धारण गरेको नियमको अधीनमा रही जनआवाज मुखरित गर्नु नै ऊबाट अपेक्षित भूमिका हो । कानुनहरू पारित गर्दा एक सांसदको भूमिका जनहित कि अन्य स्वार्थमा केन्द्रित छ भन्ने कुरा दुनियाँले हेरिरहेको हुन्छ ।
सांसदको बोलीमा निरन्तरता, तादात्म्यता र विश्वसनीयता छ/छैन भन्ने कुरा पनि त्यत्तिकै महत्वपूर्ण हुन्छ । कुनै एउटा विषयमा फरक समयमा फरक धारणा आयो, सत्तामा रहँदा एक बोली, विपक्षमा रहँदा अर्को बोली भयो भने तादात्म्यता र विश्वसनीयता रहँदैन ।
source https://www.onlinekhabar.com/2022/12/1238518
0 Comments