भर्खरै सम्पन्न आम निर्वाचनमा काठमाडौं, चितवन, ललितपुर, बुटबल, पोखरा, धरान, इटहरी, दाङ जस्ता शहरी क्षेत्रबाट नयाँ राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टीले उल्लेखनीय मत प्राप्त गरेपछि पुराना दलका नेता-कार्यकर्ता, त्यसमा पनि विशेषतः साम्यवादी दल र तिनका नेताहरूले यसको ‘दोष’ शहरिया मध्यम वर्गमाथि थोपर्ने प्रयास गरेका छन् । मानौं कि, लोकतन्त्रमा कुनै मन परेको दललाई भोट दिनु ‘मतदाताको अपराध’ हो ।
उनीहरूको तर्क छ- देशको सेवा, सुविधा र अवसरको ठूलो अंश शहरमा छ । गाउँको भन्दा शहरमा आय, रोजगार र जीवनस्तर उन्नत छ । शिक्षा, स्वास्थ्य, संचार र यातायात उपलब्ध छ । गाउँमा यस्ता सेवा, सुविधा र अवसर कम छन् । तर पनि गाउँको जनमत ‘पुराना दलहरू’ लाई भोट दिइरहेको छ । यो ‘शहरिया मध्यम वर्ग’ चाहिं किन यति धेरै उद्विग्न, असन्तुष्ट र विद्रोही भएको ? के नपुग्दो छ यसलाई र पुराना दलहरूलाई भोट नदिएको ? यो वर्ग राजनीतिक अस्थिरताको कारकतत्व हो ।
यो तर्क प्रणालीभित्र केही अस्वाभाविक, अवाञ्छित र आपत्तिजनक तर्कहरू छन्, जसको खण्डन र प्रतिवाद हुन आवश्यक छ । जुन वर्ग र समुदायलाई लक्षित गरेर ‘अस्थिरताको कारक’ करार गर्न खोजिएको छ, त्यो आफैंमा हास्यास्पद छ । ‘आफ्नो आङको भैंसी नदेख्ने, अर्काको आङको जुम्रो’ भन्ने उखान सायद यस्तै पाखण्डलाई लक्षित गरेर बनेको हो । चुनाव हारेको झोंकमा अकारण कुनै वर्गलाई जसरी लाञ्छित गर्ने प्रयत्न भएको छ, यसले पुराना पार्टीका नेता-कार्यकर्ताको अमर्यादित रिस, कुण्ठा, आवेग र संस्कारहीनता मात्र प्रकट भएको छ ।
आज देशमा जुन प्रकारको बेथिति, भ्रष्टाचार, कुशासन, संरचनात्मक विभेद, अल्पविकास र आर्थिक संकट छ, त्यसका लागि वास्तवमा जिम्मेवार को हो ? राष्ट्रिय स्वतन्त्र पार्टीलगायत नयाँ दल र उम्मेदवारहरूलाई भोट दिने मतदाता हुन् कि यिनै पुराना दलका नेता र तिनको कुशासन ? पाँच वर्षअघि कम्युनिष्ट गठबन्धनले झण्डै दुईतिहाइ बहुमत पाएकै थियो त ! के त्यो भोटमा शहरिया मध्यम वर्गको योगदान थिएन ? तिनै शहरी क्षेत्रहरू जसलाई लक्षित गरेर आज लाञ्छित गर्न खोजिंदैछ, अघिल्लो चुनावमा त्यहाँ कम्युनिष्ट गठबन्धनले उल्लेखनीय मत र सिट पाएको थिएन ?
झण्डै दुईतिहाइको वामपन्थी सरकार कसले तुहाएको ? कम्युनिष्ट पार्टीकै नेताहरूको अहं, दम्भ, घमण्ड, गुटबन्दी, पदलोलुपता, स्वार्थ र भागबण्डाको मानसिकताले कि शहरिया मध्यम वर्गले ? तिनको पार्टी शहरिया मध्यम वर्गले फुटाएर चार टुक्रा पारिदिएको हो ? अनि गत चुनावमा अभिव्यक्त भएको जनादेशको सही उपयोग र सम्मान गर्न नसके बापत तिनलाई दण्डित गर्नु लोकतन्त्रमा मतदाताको कर्तव्य र अधिकार हैन ?
दुई-दुई पटकको असंवैधानिक संसद विघटन यिनकै नेताले गरेको हो कि शहरिया मध्यम वर्गले ? लोकतन्त्र र संविधानवादका सामान्य सिद्धान्त यिनले मान्नुपर्दैन ? मानौं कि, पहिलो पटकको संसद विघटन संवैधानिक अन्योल र अज्ञानताबाट उत्पन्न थियो, सर्वोच्च अदालतले पहिलो पटकमा निर्णय दिइसकेपछि दोस्रो पटक फेरि त्यही कुकर्म किन गरियो ? के यी नेता, यी दल र यिनका हैसियत लोकतन्त्रका विश्वव्यापी सिद्धान्त, संविधानवाद, विधिको शासन र शक्तिपृथकीकरणका मान्यता भन्दा माथि हुन् ? को हुन् यी र यिनका यतिका धेरै हर्कत, कुकर्म र अपराधपछि पनि शहरिया मध्यम वर्गले यिनलाई भोट दिनुपर्ने ?
स्वाभाविक हो, शहरिया मध्यम वर्ग यिनीहरूको ‘भोट बैंक’ वा ‘निरपेक्ष मतदाता’ हैन, हुनु पनि हुँदैन । जहाँसम्म ग्रामीण मतदाता चाहिं पुराना दल र पार्टीलाई नै किन अझै मत दिइरहेका छन् भन्ने प्रश्न छ, त्यो उनीहरूको स्वतन्त्रता हो । मतदानको प्रवृत्ति विश्लेषण हुन सक्दछ तर, कसले, कहाँ, किन मत दियो भन्ने कुराको र्याङ कि ठ्याङ उत्तर पाउन सम्भव हुँदैन । लोकतान्त्रिक खुल्ला समाजमा मतदान गर्ने कुनै एउटा मात्र मानक वा कारण हुँदैन । मतदातापिच्छे फरक कारण र मनोविज्ञान हुन सक्दछ तर, त्यसलाई बुझ्नै नसकिने भने हैन ।
जस्तो कि- कैलाली र बर्दियाका जनताले नागरिक उन्मुक्ति पार्टीलाई किन भोट दिए होला ? ती त शहरिया मध्यम वर्ग थिएनन् त ? ती ग्रामीण र अधिकांश थारू मतदाता थिए, जसले कांग्रेस-कम्युनिष्ट-राजावादी-मधेशकेन्दि्रत जस्ता सबै पुराना राजनीतिक शक्ति र दललाई छोडेर नयाँ दललाई भोट दिए । यसको पछाडि थारू जनविद्रोह, टीकापुर घटना र रेशम चौधरीलगायत टीकापुर जनविद्रोहका राजबन्दीमाथि राज्यले गरेको पूर्वाग्रही र अन्यायपूर्ण व्यवहार जिम्मेवार छ भन्ने बुझ्न कुनै गाह्रो छ ? बिल्कुल छैन ?
ठीक त्यसैगरी पूर्वी तराई वा मधेश प्रदेशमा जनमत पार्टी किन उदायो ? यसको पनि प्रष्ट बुझिने कारण छ । यहाँ पुराना मधेशकेन्दि्रत दलहरू विशेषतः जसपा-लोसपाका नेताहरूले गत पाँच वर्षबीच जुन प्रकारको अवसरवादी चरित्र देखाए, भ्रष्ट र कमजोर कार्यसम्पादन क्षमता भएको मधेश सरकार चलाए, त्यसको प्रतिक्रियास्वरुप जनमत पार्टीको उदय भएको हो ।
यसैगरी, देशका ठूला शहरका मतदाताले कांग्रेस-कम्युनिष्ट जस्ता शास्त्रीय र पुराना दलहरूलाई किन छोड्दैछन् भन्ने कुरा पनि नबुझिने खालको कुनै ठूलो, अनौठो रहस्य हैन । यसका मुख्य दुई कारण छन्- एक पुराना दलहरूको अक्षमताप्रतिको वितृष्णा र दुई- नयाँ विकल्पको खोजी । यी दुई कारण पनि एकअर्कासँग अन्तरसम्बन्धित नै हुन् । शास्त्रीय पुराना दलहरूले नै देशको विकास, सुशासन, समृद्धि र सामाजिक न्यायको आकांक्षालाई सम्बोधन गर्ने क्षमता राख्थे त नयाँ विकल्पको खोजी नहुन सक्दथ्यो ।
दोस्रो- नयाँको खोजी पुरानाप्रतिको वितृष्णा र घृणाभावबाट मात्र चाहिं उत्पन्न हुँदैन । नयाँ विकल्पको खोजी मानवीय स्वभावको एक पाटो हो । सृष्टिको गति अनन्त भए जस्तै नयाँ सोच, विचार, अवधारणा, प्रणाली, ज्ञान, विज्ञान र प्रविधिको खोज पनि अनन्त नै हुन्छ । राजनीतिमा पनि नयाँ विकल्पको खोज सृष्टिचक्रकै एक स्वाभाविक प्रवृत्ति हो । यदि यो सत्यलाई आत्मसात् गर्ने हो भने कसैले अचम्मित वा आक्रोशित हुनुपर्ने कुनै कारण छैन ।
साम्यवादी सिद्धान्त र अवधारणाको ‘वैचारिक डीएनए’ नै मध्यम वर्गप्रति असहिष्णु र पूर्वाग्रही हुन्छ भन्ने कुरा सबैलाई थाहा छ । किनकि यो साम्यवादी सिद्धान्तको विश्वव्यापी चरित्र हो । साम्यवाद मूलतः दुई वर्गीय सिद्धान्त अर्थात् ‘वाइनरी डिभिजन’ विश्वास गर्ने अवधारणा हो । यसले मुख्य दुई वर्गलाई चिन्दछ- सर्वहारा र बुर्जुवा वर्ग । साम्यवादले सर्वहारा वर्गको पक्षपोषण गर्छ भनिन्छ, व्यवहारमा गरेको छ कि छैन, त्यसबारे भिन्नै बहस हुनुपर्दछ । बुर्जुवा वर्गलाई भने त्यसले दुश्मन वर्ग भन्दछ । कथित दुश्मन वर्गसँग आज त्यस आन्दोलनको के-कति मित्रता र गोप्य साँठगाँठ छ त्यसको पनि भिन्नै व्यावहारिक विश्लेषण हुनुपर्दछ ।
अपितु, त्यो दुई वर्गीय सिद्धान्त हो । बुर्जुवा वर्गका विरुद्ध सर्वहारा क्रान्ति गरी सर्वहारा राज्य र सर्वहारा अधिनायकत्व स्थापना गर्नु त्यो सिद्धान्त र आन्दोलनको मौलिक चरित्र र सारतत्व हो, जो आज स्वयं कम्युनिष्टहरू भन्न डराउँछन् । ती जो- आफ्नो सिद्धान्तको सार नै बुझ्दैनन् वा बुझेर पनि भन्न डराउँछन्, तिनको निष्ठा, प्रतिबद्धता र आत्मविश्वास कति कमजोर छ भन्ने स्वतः प्रमाणित छ । तिनले शहरिया मध्यम वर्गप्रति बेतुकको टिप्पणी गर्नुको के अर्थ रहन्छ ?
साम्यवादी सिद्धान्तका प्रणेता कार्ल माक्र्सले मध्यम वर्गका लागि ‘पेटी बुर्जुवा’ शब्द प्रयोग गरेका थिए । उनको विचारमा यो अवसरवादी र ढुलमुले वर्ग हो । यो वर्गको आफ्नो भिन्नै मौलिक स्वभाव, अस्तित्व, अवधारणा र सोच हुँदैन । यो वर्ग कि सर्वहारा वर्गसँग मिल्छ कि बुर्जुवा वर्गसँग । तसर्थ साम्यवादी सिद्धान्त अनुसार सर्वहारा महान् वर्ग हो, बुर्जुवा शोषक वर्ग हो, पेटी बुर्जुवा अवसरवादी र निम्नकोटिको चरित्र भएको वर्ग हो । कम्युनिष्ट सिद्धान्तको यो ‘वैचारिक जिन’लाई स्मरण गर्ने हो भने शहरिया मध्यम वर्गप्रतिको उनीहरूको निन्दा, घृणा, वितृष्णा, रिस, कुण्ठा र आक्रोशलाई सजिलै बुझ्न सकिन्छ ।
तर, यो विश्लेषण समकालीन विश्व प्रणालीमा विल्कुल असान्दर्भिक भइसकेको छ । दार्शनिक तहमा द्वन्द्वात्मकता अर्थात् ‘वाइनरी डिभिजन’ को दृष्टिकोणबाट यस्तो सोचको उदय हुन्छ । त्यसले सृष्टि, अस्तित्व र प्रणालीको बहुआयामिकता वा सर्वाङ्गकितालाई बुझ्न सक्दैनन् । आजको दर्शन वा समाजशास्त्र भनेको ‘डायलेक्टिकल’ हैन, ‘डायलजिकल’ हो । ‘वाइनरी’ हैन, ‘मल्टी लिनियर’ हो ।
बहुआयामिकता, सर्वाङ्गकिता र ‘ननलिनियर डाइनामिक्स’ को सिद्धान्तबाट हेर्दा समाज र अर्थतन्त्रमा मध्यम वर्गको भूमिका र स्थानलाई कसैले अस्वीकार गर्न सक्दैन । त्यो वर्गलाई ‘पेटी बुुर्जुवा’, ‘ढुलमुले’, ‘अवसरवादी’ वा ‘अस्थिरताको कारक’ भनेर गाली गरिरहनुपर्ने कुनै आधार छैन । त्यसको न कुनै वस्तुगत आधार छ, न नैतिक, राजनीतिक र वैचारिक ।
मध्यम वर्ग न सर्वहारा न बुर्जुवा वर्गमा विलयन हुने वर्ग हो । यसको आफ्नै चरित्र र विशेषता छ । व्यक्ति वा परिवार कुनै खास आर्थिक कारण र उत्पादन सम्बन्धले वर्ग रूपान्तरणको अवस्थामा हुन सक्दछन् मध्यम वर्गीयहरू सर्वहारा वर्गमा र्झन वा बुर्जुवा वर्गमा विकास गर्न सक्लान्, तर एक वर्गका रूपमा मध्यम वर्गकै अन्त्य वा संविलयनको परिकल्पना भनेको बिल्कुलै असम्भव, असंगत र अवस्तुवादी हो ।
किन र कसरी ? यसको अन्तर्य र कारण बुझ्न जरूरी छ । सामान्यतः सर्वहारा वर्ग त्यसलाई भनिन्छ- जसको उत्पादन सम्बन्ध, वर्गीय आधार र सामाजिक स्थानको मुख्य तत्व श्रम हो । यो परिभाषा अबको संसारमा के-कति काम लाग्छ वा लाग्दैन, त्यसबारे भिन्नै बहस गर्नुपर्ने हुन्छ । माक्र्सले सर्वहारा वर्ग भनेर युरोपेली औद्योगिक क्रान्तिको पहिलो चरणको मजदुर वर्गलाई भनेका थिए । आज विश्व चौथो औद्योगिक क्रान्तिको युगमा छ ।
पहिलो औद्योगिक क्रान्तिको सार सरल यान्त्रिकी, ठूला श्रमप्रधान उद्योग, सीमित मालिक र ठूलो जनसंख्या आकारको अदक्ष श्रमिक थियो । वर्गीय ध्रुवीकरणको क्रममा सर्वहारा वर्ग फैलिंदै जाने माक्र्सको कल्पना थियो । माक्र्सले नदेखेका, कल्पना नगरेका केही प्रवृत्ति र प्रविधि त्यसपछि विकसित भए, जसले ‘सर्वहारा वर्ग’ को हैन, ‘मध्यम वर्ग’ को आकार विस्तार हुँदैगयो ।
ती कारण थिए- एक-परिवार नियोजन शिक्षा र प्रविधिको विकास, जसले जनसंख्या र परिवारको आकार संकुचन गर्यो । त्यसअघि दुई अभिभावकले आधा दर्जन बढी बच्चा हुर्काउँदा जुन अभाव र गरिबी भोग्नुपथ्र्यो, बच्चाहरू बाल मजदुर बन्न बाध्य हुन्थे, धेरै बच्चालाई पौष्टिक आहारा, शिक्षा र स्वास्थ्य उपलब्ध गराउन अभिभावक अक्षम हुन्थे, यी प्रक्रियाले अदक्ष श्रमिकको उत्पादन र सर्वहारा वर्गको विस्तार हुन्थ्यो, त्यो क्रम रोकियो ।
दुई- ज्ञान, विज्ञान, प्रविधिको विकास र शिक्षा प्रणालीले अदक्षको साटो अर्ध-दक्ष र दक्ष श्रमिकको विकास गर्न थाल्यो । अब मान्छेको उत्पादन सम्बन्धमा श्रम सम्बन्ध मात्र निर्णायक रहेन । दक्ष श्रमिकसँग ज्ञान, सीप र उद्यमशीलता पनि जोडिएर आउँछ । त्यसले मान्छेलाई सर्वहारा रहन दिंदैन ।
तेस्रो- प्रोफेशनालिज्म र उद्यमशीलताको विकास । आधुनिक शिक्षा प्रणालीले गर्ने गहिरो श्रम विभाजनले समाजमा विभिन्न पेशागत क्षेत्रहरू विकास हुन्छन् । साथै, मजदुर वर्गमा पनि उद्यमशीलता अभिवृद्धिको अवसर विस्तार हुन्छ । जस्तो कि- कुनै एउटा गरिब परिवारको युवा सुरुवातमा खलासी भयो, केही वर्षपछि चालक अनि बस मालिक भयो भने यी तीन अवस्थामा उसको एउटै वर्ग रहँदैन । वेेटरबाट काम थालेका थुप्रै नेपाली आज होटल, लज र रेस्टुराँका मालिक बनेका छन् । यस्ता थुप्रै उदाहरण जुटाउन सकिन्छ ।
चौथो- राजनीतिक आन्दोलन र संघर्षले सृजना गर्ने अवसरको क्रममा, लोकतन्त्रीकरण र भूमण्डलीकरणको क्रममा, अर्थतन्त्रको गत्यात्मकता र गतिशीलताको क्रममा कैयौं प्रकारले सम्पत्तिको उत्पादन, पुनरुत्पादन, वितरण र पुनर्वितरण भइरहेको हुन्छ । आर्थिक चक्रले समेत वर्ग रूपान्तरण गरिरहेको हुन्छ ।
पाँचौं- आधुनिक राष्ट्रिय-राज्यहरूले जुन प्रकारले लोकतान्त्रिक प्रणाली, लोककल्याणकारी चरित्र हासिल गर्दै र सामाजिक न्यायको सिद्धान्तलाई स्वीकार गर्दै गए, आम उत्पादनले स्थिर लागतको चरित्रमाथि धावा बोल्यो र परिवर्तनीय लागतको भूमिका बढायोÙ वस्तु, सेवा र सुविधाको प्रवाह घढ्यो, सरकारहरूले गरिबी निवारण, साना मझौला उद्यमशीलताको प्रयत्न गरे, कृषि अर्थतन्त्रको आधुनिकीकरण, यान्त्रिकीकरण हुँदैगयो, यी सबै कारणले सर्वहारा वर्गको संख्या घट्दै र मध्यम वर्गको आकार वृद्धि हुँदैगयो ।
जसरी सर्वहारा वर्गको मुख्य सार ‘श्रम’ हो र बुर्जुवा वर्गको ‘स्वामित्व’ हो, त्यसैगरी मध्यम वर्गको मुख्य चरित्र र अस्तित्वको आधार ‘श्रम र स्वामित्व’ को भेट हो । जो श्रम पनि गर्छ र जोसँग केही न केही सम्पत्ति, पूँजी, ज्ञान, सीप, शिक्षा र उद्यमशीलताको आधार पनि छ, त्यो नै मध्यम वर्ग हो ।
सर्वहारा वर्गले श्रम गर्दछ तर स्वामित्वको बोध र उपभोग गर्न पाउँदैन । बुर्जुवा वर्गसँग ठूलो आकारको स्वामित्व हुन्छ, तर मानवीय श्रम कतिपय पक्षको संवेदनशीलता बुझ्न पाउँदैन । मध्यम वर्गसँग यी दुवै अवसर हुन्छन् । मध्यम वर्गले श्रमको पनि महत्व बुझ्छ र स्वामित्वको पनि अवसर पाउँछ । तसर्थ, सर्वहारा र बुर्जुवा भन्दा मध्यम वर्ग आफैंमा बढी गतिशील, प्रभावी र महत्वपूर्ण छ ।
अबको राज्य र समाजको गन्तव्य मध्यम वर्ग हो, सर्वहारा वा बुर्जुवा हैन । जुन देशमा मध्यम वर्ग बढी हुन्छ, त्यहीं समानता, सामाजिक न्याय, स्वतन्त्रता र लोकतन्त्र फस्टाउन सक्दछ । मध्यम वर्ग लोकतन्त्रको आधारभूत शर्त हो । जुन समाजमा सर्वहारा वा बुुर्जुवाको जनसंख्या अनुपात धेरै हुन्छ, त्यहाँ कुनै न कुनै प्रकारको अधिनायकवाद जन्मिने जोखिम हुन्छ । चाहे त्यो अधिनायकवाद सर्वहारा अधिनायकत्व होस् वा बुर्जुवा अधिनायकत्व ।
यसका प्रष्ट दृष्टान्त स्क्यान्डेभियन मुलुक हुन् । जहाँ सबैभन्दा ठूलो मध्यम वर्गको अनुपात छ । अधिकांश नोर्डिक मुलुकमा मध्यम वर्गको जनसंख्या अनुपात ८०-९० प्रतिशतसम्म छ । त्यहाँ तुलनात्मक रूपमा सामाजिक न्याय र लोकतन्त्र पनि बढी सुरक्षित छ ।
लोकतन्त्रमा दलीयकरण नभएको स्वतन्त्र र स्विङ मतदाताको एउटा ठूलो संख्या हुनुपर्दछ । अन्यथा दल र नेताहरूले समाज, राज्य र अर्थतन्त्रमा यसरी कब्जा जमाउँछन् कि उनीहरूलाई चुनौती दिने, उनीहरूको दलतन्त्र र लुटतन्त्रलाई सामना गर्ने कुनै आधार नै हुँदैन । र त्यस्तो मतदाता शहरिया मध्यम वर्ग नै हुन सक्दछ । किनकि शहरिया मतदाता कुनै दल, नेता र यिनका संयन्त्र र संरचनाको ‘प्याट्रोनेज-लिंकेज’ बाट बाहिर पनि बाँच्न सक्दछ ।
बुर्जुवा वर्ग एकप्रकारको ‘शक्ति पिपासु’ हुन्छ । ठूला व्यापार व्यवसाय, लगानी र पूँजी निर्माणको क्रममा उसले कुनै न कुनै प्रकारले राज्यलाई छलेको वा राज्यका नीतिबाट संरक्षण पाएको हुन्छ । राजनीतिक रूपमा शक्तिशालीहरूसँग मिलेर ‘शक्ति सम्भ्रान्तको घेरा’ बनाएको हुन्छ । बुर्जुवा वर्ग डराउने भनेकै राज्यसँग मात्रै हो । किनकि ‘आर्थिक अपराध’ का घटनामा चाहेमा राज्यले उनीहरूमाथि कारबाही गर्न सक्दछ । सर्वहारा वर्ग विभिन्न कारणले ‘प्याट्रोनेज-लिंकेज’ मा हुन्छ र आर्थिक दुरवस्थाको कारणले उसले साहसिक राजनीतिक अभियान चाहेर पनि गर्न सक्दैन ।
तसर्थ लोकतन्त्रको जीवन्तता र गतिशीलताको सार मध्यम वर्ग नै हो । किनकि मध्यम वर्ग माथिका दुवै समस्या र सीमाबाट मुक्त हुन्छ । यसको अर्थ सबै मध्यम वर्गीयहरू उत्तिकै चोखा, स्वतन्त्र, उद्यमशील र न्यायप्रेमी हुन्छन् भन्ने हैन । तर, यो गुण मध्यम वर्गमा तुलनात्मक रूपमा बढी हुन्छ । शहरिया मध्यम वर्गले नै हो, लुटतन्त्र, दलतन्त्र, सिन्डिकेटतन्त्र र सेटिङ राज्य विरुद्ध विद्रोह गर्न सक्ने । ‘शक्ति सम्भ्रान्तहरूको दुश्चक्र’ लाई तोड्न र शक्तिको पुनर्वितरण गर्न शहरिया मध्यम वर्गले शास्त्रीय दल, तिनका संयन्त्र र संरचना विरुद्ध बेलाबेला विद्रोह गर्नै पर्दछ । सामाजिक सन्तुलन र न्याय कायम गर्न यो मध्यम वर्गको प्राकृतिक तथा नैसर्गिक कर्तव्य हो ।
नेपालमा मध्यम वर्ग अझै कम छ । यसको अझै विकास र विस्तार हुनुपर्दछ । शहरीकरण, भूमण्डलीकरण, उद्यमशीलता, प्रविधि हस्तान्तरण, दक्ष श्रमशक्ति र कृषिको आधुनिकीकरणसँगै मध्यम वर्ग अझै बढ्दै जान्छ । मध्यम वर्गको विस्तार गरिबी निवारण हुँदै गएको एक सुखद मानक पनि हो ।
साम्यवादी भ्रमले जेसुकै भनोस्, त्यो मतलबको कुरा भएन ! त्यस्तो सिद्धान्त त मध्यम वर्गप्रति पूर्वाग्रह राखेर जन्मिएको सोच हो । लोकतान्त्रिक मूल्य-प्रणालीका आधारमा हेर्दा मध्यम वर्गको विस्तार र विद्रोही स्वभाव अत्यावश्यक र अपरिहार्य छ । यसपटक शहरिया मध्यम वर्गले शास्त्रीय र पुराना पार्टीलाई मत नदिएर कुनै दोष वा अपराध गरेका छैनन्, बरु एक स्तुत्य काम गरेका छन् । यसको निन्दा हैन, प्रशंसा हुनुपर्दछ ।
source https://www.onlinekhabar.com/2022/12/1237289
0 Comments