Looking For Anything Specific?

Header Ads

बाल्यकालमा हारेको एउटा बाजी

एउटा राजनीतिक दलका नेताले आफू असल देखिनका लागि अर्को दलका नेतालाई आरोप-प्रत्यारोप तथा गालीगलौज गरेको सुनिन्छ । यस्ता आरोप-प्रत्यारोप सुन्दा मलाई मेरा बालसखा जीवन पोख्रेल सम्झन्छु । उनले ३-४ कक्षातिर पढ्दा हुनुपर्छ, आफ्नो कापीमा पेन्सिलले एउटा धर्को तानेर देखाएको थियो । उनले भनेका थिए, ‘रमेश यो धर्कोलाई नछोइकन याने कुनै प्रकारले केरमेट नगरिकन छोटो बनाएर देखाउन सक्छौ ?’

मलाई सम्झना छ, प्रश्न सुनेर मैले तुरुन्तै उनलाई भनेको थिएँ, ‘यो लाइनलाई नछोइकन त कसरी छोटो पार्न सक्नु र ? यस्तो काम मैले मात्र हैन, राजाले पनि गरेर देखाउन सक्दैनन् ।’

केटाकेटीमा साथीहरूले अलिक असम्भव लाग्ने काम गर्न भन्दा हाम्रो प्रचलित भनाइ हुने गथ्र्यो- ‘यस्तो त राजाले पनि गरेर देखाउन सक्दैन ।’ यस्तो कुरा सम्झंदा अहिले पनि हाँसो लाग्छ, सायद यहाँहरूलाई पनि लाग्दो हो ।

तर, यसले एउटा कुरा चाहिं स्पष्ट बनाउँछ त्यो के भने त्यतिखेर हाम्रा देशका राजालाई त्यो रूपमा हेरिन्थ्यो जसका लागि असम्भव केही पनि हुँदैन भन्ने बुझाइ थियो । राजाले जे पनि गर्न सक्छन् । राजाका लागि असम्भव केही पनि हुँदैन । हरकोहीले गर्न नसकेको काम राजाले चाहिं गरेर देखाउन सक्छन् भन्ने एउटा आम बुझाइ थियो ।

हुन पनि त्यतिखेरका राजा देशको नियम कानुन भन्दा पनि माथि हुने गर्थे । उनीहरूलाई देशको कुनै कानुनले छुँदैनथ्यो । उनीहरू आˆनो इच्छा अनुसार जे पनि गर्न सक्थे ।

अब अहिले राजा रहेनन् । देश गणतान्त्रिक व्यवस्थामा प्रवेश गरेको छ । अहिलेको संविधानले देशको कानुन भन्दा माथि रहने छुट कसैलाई पनि दिएको छैन । भलै यो कुरा राजनीतिक दलका नेताहरूमा भने खासै लागु हुँदैन । हुन त संविधानमा देशका हरेक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने अधिकार छ भनेर पनि उल्लेख गरिएको छ । तर, यो अधिकार तल्लो वर्गका अधिकांश निमुखा नागरिकहरूले अझैसम्म महसुस गर्न पाएका छैनन् । यो कुरा एउटा अलग्गै बहसको विषय बन्न सक्छ ।

खैर, अब हामी सुरुकै प्रसङ्गतिर फर्कियौं । अतः साथीले मेरो कुरा सुनेपछि भने- ‘तिमी साँच्चै यो धर्कोलाई नछोइकन छोटो पार्न सक्दैनौं त ? लु त्यसो हो भने बाजी ठोक ।’

उनले भने, ‘म यो धर्कोलाई तिम्रो आँखा अगाडि नै नछोइकन छोटो पारेर देखाइ दिन सक्छु ।’

यो सूत्रले तपाईं हामीलाई आफूलाई लायक सावित गर्न अर्कोलाई नालायक सिद्ध गर्नुपर्दैन, बस आफू लायक बनिदिए पुग्छ भन्ने कुराको शिक्षा दिने रहेछ ।

अब त्यतिखेरको बेलामा बाजी लगाउनका लागि हामीसँग के नै पो हुन्थ्यो र ! उनले कापीको दुइटा चोखो पन्ना, मागे । मैले भने, ‘लु यो धर्कोलाई नछोइकन छोटो पारेर देखायौ भने म तिमीलाई दुइटा होइन, कापीको एउटा चोखो पन्ना चाहिं पक्का दिन्छु, तर पहिला यो धर्कोलाई छोटो पारेर देखाऊ ।’ त्यो बेला यसरी हामी दुईबीचमा एउटा डिल तय भयो ।

उनले तुरुन्तै त्यही लाइनको सामुन्ने अर्को अलिक लामो लाइन तानेर भने, ‘लु हेर त, अब यो पहिलाको लाइन छोटो भयो ।’ नभन्दै उनले, साँच्चै नै पहिला कोरेको लाइनलाई नछोइकन नै उक्त लाइनलाई छोटो पारेर देखाइ दिए । म हेरेको हेर्‍यै भएँ र आˆनो हार स्वीकार गर्दै उनलाई आˆनो कापीबाट एउटा चोखो पन्ना छुट्याएर दिएँ ।

मेरो बाल चेतनाले पेन्सिलले कोरेको एउटा धर्कोको सामुन्ने अर्को अलिक लामो धर्को तानेर पहिला कोरिएको धर्कोलाई नछोइकन छोटो बनाउन सकिन्छ भनेर सोच्न सकेन । त्यो घटनालाई त्यतिखेर एकछिनको एउटा रोचक खेल जस्तो मात्र मानेर बिर्सिएको थिएँ । त्यतिखेरको बाल चेतनाले यस्तो विषयको गहनतालाई बुझेर विश्लेषण गर्ने सम्भावना हुने कुरा पनि भएन ।

तर अहिले आएर ज्ञात भयो, धर्को छोटो बनाउने त्यो तरिका बाल्यकालमा मैले बुझे जस्तो एउटा रोचक खेल मात्र होइन रहेछ । यो त हामी मनुष्यको सिङ्गो जीवनलाई मार्गदर्शन गर्ने एउटा सूत्र रहेछ । यो सूत्रले तपाईं हामीलाई आफूलाई लायक सावित गर्न अर्कोलाई नालायक सिद्ध गर्नुपर्दैन, बस आफू लायक बनिदिए पुग्छ भन्ने कुराको शिक्षा दिने रहेछ ।

तर दुःख लाग्दो कुरा, यति सामान्य कुरालाई हाम्रा राजनीतिक दलका ठूला ठूला नेता तथा तिनका कार्यकर्ताहरूले बुझ्न सकेका छैनन् वा बुझपचाइरहेका छन् । आफूलाई उत्कृष्ट सावित गर्नकै लागि अत्यन्तै निकृष्ट गालीगलौजमा उत्रिएको देख्दा भने अचम्म र दया एकैचोटि लागेर आउँछ ।

आफूलाई उत्कृष्ट सावित गर्न उत्कृष्ट काम गरेर देखाउन सक्नुपर्छ । अरूलाई निकृष्ट देखाउन आवश्यक छैन । यो कुराको चेत हाम्रो देशका नेता तथा तिनका कार्यकर्ताहरूमा चाँडै पलाउन सकोस् ।

भद्रपुर-झापा (हाल दोहा-कतार)



source https://www.onlinekhabar.com/2022/03/1093763

Post a Comment

0 Comments