८ चैत, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत युएईमा भइरहेको त्रिकोणात्मक श्रृंखलाको अन्तिम खेलमा नेपालले आज पपुवा न्युगिनी (पीएनजी) विरुद्ध खेल्दैछ ।
तीन राष्ट्र सम्मिलित श्रृंखलामा यो अन्तिम खेल हो । खेल दुबई क्रिकेट रंगशालामा नेपाली समय अनुसार बिहान ११:१५ बजे सुरु हुनेछ ।
यसै शृङखलाको पहिलो खेलमा नेपालले पीएनजीलाई २ विकेटले पराजित गरेको थियो । त्यसपछि नेपालले यूएईसँग लगातार दुई खेलमा हार बेहोर्यो । पीएनजीले भने यूएईलाई हराएर लिग टू मा १४ खेलको हारको शृङखला तोड्दै पहिलो जित हात पारेको छ ।
यस शृङखलामा नेपालको ब्याटिङ चिन्ताको विषय बनेको छ । पछिल्ला दुई खेलमा नेपाल यूएईविरुद्ध १२० र १०३ रनमा अलआउट भएको थियो । नेपालले पूरा ५० ओभर ब्याटिङ गर्न संघर्ष गरिरहेको छ ।
पीएनजीविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रियमा खेलेका तीन खेलमा अपराजित रहनु नै नेपालको लागि फाइदाको विषय छ ।
पीएनजीले आफ्नो प्रदर्शन सुधार गर्दा नेपाल भने ब्याटिङमा लगातार असफल भइरहेको छ ।
शृङखलामा नेपालले पहिलो खेलमा पीएनजीलाई हराएको थियो भने त्यसपछि यूएईसँग ४८ रन र ९९ रनले पराजित भएको थियो ।
उता पीएनजी भने पहिलो खेलमा यूएईविरुद्ध ७ विकेटले र दोस्रो खेलमा नेपासँग २ विकेटले पराजित भएको थियो । तेस्रो खेलमा पीएनजीले यूएईलाई ६ विकेटले पराजित गरेको थियो ।
७ टिम सहभागी लिग टुमा नेपाल ११ खेल खेल्दा ५ जितसहित १० अंक जोडेर छैटौं स्थानमा छ । १४ खेलबाट २ अंक जोडेको पीएनजी अन्तिम स्थानमा छ ।
source https://www.onlinekhabar.com/2022/03/1097165
0 Comments