पहिलो चरणको लकडाउनपछि १५ सय भन्दा बढी म्युजिक भिडियोमा काम गरेका नेपाली म्युजिक भिडियोका सफल मोडल पल शाह चलचित्रमा पनि व्यस्त मानिन्छन् । लकडाउन अगाडि पलको तुलना अन्य २ स्टार नायकद्धय अनमोल केसी र प्रदीप खड्कासँग हुने गर्दथ्यो ।
नेपाली चलचित्र क्षेत्रमा अब अनमोल, प्रदीप र पलले नै केही समय राज गर्छन् भन्ने खालका बहस हुने गर्दथ्यो । तर, लकडाउनपछि दैनिकजसो नै म्युजिक भिडियोमा देखिएका पल शाह सस्तो बनेको आरोप लाग्ने गरेको छ । पल र प्रदीपले लकडाउनमा पनि स्टारडम मेन्टेन गर्दा पल भने हरेक दिन कि त भिडियो, कि सार्वजनिक कार्यक्रम या कुनै न कुनै युट्युबको अन्तरवार्तामा देखिए । यसैले, हिजोआज उनलाई लिएर दर्शकको चासो नै घटेको छ ।
यसको प्रत्यक्ष उदाहरण पल शाहले अभिनय गरेका म्युजिक भिडियोको भ्युजमा लागेको खडेरी नै हो । कुनै समय घन्टामै पलका भिडियोले ५० हजार भ्युज सहजै पाउने गर्दथ्य । तर, अहिले उनलाई एक घन्टामा ५ हजार भ्युज पाउन पनि धौ–धौ पर्ने गरेको छ ।
तर, पल भने स्टारडमको दौडमा पछि परेको कुरा स्विकार गर्न तयार छैनन् । उनले भने–‘कुनै पनि चलचित्र आएर सुपरफ्लप भयो भने म यसको जवाफ दिनेछु ।’
अनमोल, प्रदीप भन्दा आफ्नो स्टारडम डाउन भएको भन्ने प्रश्नमा उनले भने–‘यहाँ स्टारडम जोख्ने यन्त्र के छ । हल्लाको पछि लाग्ने होइन । म प्रत्येक दर्शकको घर–घरमा पुग्न चाहन्छु । मलाई हरेक वर्गका दर्शकको मनमा बस्न मन छ । अरुको बिषयमा मलाई केही थाहा छैन ।’
पलले आफ्नो भिडियोको भ्यूज कम नभएको, दर्शकले गाली पनि नगरेको भन्दै दर्शकबाट नकारात्मक प्रतिक्रिया आएको दिनमा यो प्रश्न सुहाउने तर्क गरे ।
source https://www.onlinekhabar.com/2022/01/1064279
0 Comments