Looking For Anything Specific?

Header Ads

विवाह पञ्चमीमा प्रधानमन्त्री देउवाको शुभकामना

२२ मंसिर, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विवाह पञ्चमीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्णमा शुभकामना व्यक्त गरेका छन् ।

शुभकामना सन्देशमा प्रधानमन्त्री देउवाले राम र सीताको प्रेरणाबाट सत्य, धर्म, आचरण, अनुशासन, कर्तव्य र सामाजिक न्यायको उत्कृष्ट नमूना प्राप्त गर्न सकिने उल्लेख गरेका छन् ।

प्रधानमन्त्री देउवाले नेपालकी छोरी देवी सीता हाम्रो गौरवकी प्रतिमूर्ति भएको र हामीले एउटा आदर्श नारीमा हुनुपर्ने गुणसमेत उनले प्रदर्शन गरेको व्यवहारबाट सिक्न सकिने बताएका छन् ।

कोभिड-१९ को महामारी निर्मूल नभइसकेको विद्यमान अवस्थामा स्वास्थ्य मापदण्डलाई ख्याल राख्दै सतर्कतापूर्वक यो राम-जानकी विवाह महोत्सव मनाउन प्रधानमन्त्री देउवाले आग्रह गरेका छन् ।

सांस्कृतिक महत्व बोकेको यस ऐतिहासिक महान् पर्वले सबैमा आपसी भाइचारा, सद्भाव र राष्ट्रिय एकताको भावना अभिवृद्धिमा प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ ।

त्रेतायुगमा अयोध्याबाट राम प्राचीन मिथिला राज्यको राजधानी जनकपुरधाम आएर वैदिक सनातन हिन्दू संस्कृतिअनुसार राजकुमारी सीतालाई विवाह गरेको मंसिर शुक्ल पञ्चमीको आजको ऐतिहासिक एवं सांस्कृतिक महत्वको विशेष दिनलाई विवाह पञ्चमी पर्वले चिनिन्छ ।

राम र सीताको विवाहको उत्सव मनाउन रामजानकी मन्दिरमा सीता र उनका श्रीमान् रामलाई विशेष श्रद्धाका साथ सम्झिने र उनीहरुको कीर्तिको गुणगान गर्दै साताव्यापी विविध धार्मिक कार्यक्रम गर्ने प्रचलन छ ।



source https://www.onlinekhabar.com/2021/12/1049378

Post a Comment

0 Comments