बर्गर डटकम, छानो, ह्वाइट र्याबिट, सिलौटो सेकुवा घर, म्याडि्रक्स, बर्गर हाउस एन्ड क्रन्ची फ्रायड चिकेन, शानदार मःम, ससुराली, पेरुङ्गो ! सानोठिमीको मनोहरा खोला किनार एकफन्को लगाउनुपर्छ, क्रमैसँग यी नामहरू देखिन्छन् । नामबाटै थाहा हुन्छ- यी रेष्टुरेन्ट हुन् ।
यहाँ बाक्लो बस्ती छैन । व्यस्त सडक छैन । चोक-बजार छैन । घुमन्तेहरूलाई आकषिर्त गर्ने खास गन्तव्य छैन । त्यसो भए तँछाड-मछाड गर्दै यत्तिका रेष्टुरेन्टहरू किन खुल्दैछन् ?
‘यहाँको धरातल नगरकोट, धुलिखेल जस्तै छ । यहाँबाट देखिने दृश्यहरू पनि लोभलाग्दा छन्’ सिलौटो सेकुवा घरका संचालक विश्वराज रेग्मी सुनाउँछन्, ‘छर्लङ्ग हिमाल देखिन्छ, तल खोला देखिन्छ, पारि एअरपोर्ट ।’
एक वर्षअघि उनले रेष्टुरेन्ट खोल्ने सुरसार गरिरहँदा यो अहिले जस्तो गुल्जार थिएन । उनले आँट गरे, यही थलोमा रेष्टुरेन्ट चलाउने । चानचुन तीन करोड खर्च गरे । ‘त्यसपछि त अरू रेष्टुरेन्ट पनि खुल्न थाले’ रेग्मी भन्छन्, ‘अहिले त रेष्टुरेन्ट नै रेष्टुरेन्टको हब पो भयो ।’
यसरी बदलियो मनोहरा किनारको रूपरंग
धेरै भएको छैन, मनोहरा किनारको रूपरंग बदलिएको । केही वर्षअघिसम्म यहाँ अनकन्टार फाँट थियो । ठाउँ-ठाउँमा टौवा, परालको थुप्रो, चक्लाबन्दीमा सागसब्जी खेती, साँघुरो बाटो । जसै शहरी योजना अन्तर्गत संरचना बनाउन थालियो, यसको स्वरुप फेरिंदै गयो ।
धमाधम बाटो बनाउने, बिजुलीको पोल गाड्ने, ढल खन्ने काम हुँदै थियो । मजदूर स-साना पाल टाँगेर बसेका थिए । एकाध ठाउँमा चिया, चुरोट र पराग फिजाएर बेच्न थालियो । डालोमा बदाम बोक्नेहरू, पानीपुरी र चटपटे डुलाउनेहरू, मःम र ससेस पकाउनेहरू थपिंदै गए । ठेला र टहराको संख्या बढ्दै गयो ।
बाटो, ढल र पार्कहरू बने । फूलहरू ढकमक्क फुले, लस्करै रूख-बुट्यानहरू हुर्किए ।
शहरी भीडभाडबाट उम्किएर शीतल हावा खानेहरू त्यहाँ टहलिन पुगे । चौरमा खुट्टा तन्काएर बदाम खाँदै बस्नेहरू, चुरोटको सर्को लिंदै गफिनेहरू, साँझ-बिहान दौडिनेहरूको घनत्व बढ्दै गयो । नयाँ-नयाँ शैलीका चिरिच्याट्ट रेष्टुरेन्ट खुल्न थाले । खाना पारखीहरू जिब्रोको स्वाद फेर्न आउन थाले । चहलपहल बढ्दै गयो । मीठो-मसिनो व्यञ्जन, रंगी-विरंगी बिजुली बत्ती, थरीथरीका संगीतले यहाँको रौनक बढाइदियो ।
यसरी बन्दैछ रेष्टुरेन्ट हब
साथीभाइसँग घुम्दै आएका थिए, रविन कटुवाल । लामो समय दुबई बसेर फर्किएका उनलाई ‘अब यतै केही गरौं’ भन्ने लागिरहेको थियो । यहाँको माहोल देख्नासाथ उनलाई एउटा जुक्ति फुर्यो, ट्रक फूड चलाउने । दुबईमा उनलाई यस्तो व्यवसाय गज्जब लागेको थियो । गाडीमा खानेकुरा बनाउने, बेच्ने । जता गुडाए पनि हुने । जहाँ मान्छेको भीड लाग्छ, त्यहीं लगेर बेच्ने ।
‘तर, नेपालमा यस्तो व्यवसाय गर्नका लागि कानूनी अड्चन रहेछ’ उनले सुनाए, ‘त्यसपछि यहीं भाडामा जग्गा लिएर सानो क्याफे चलाएँ ।’
दुबईमा छँदा उनले रेष्टुरेन्टमा काम गरे । उनकै भनाइमा धेरै वर्ष भाँडा माझे । दुबईबाट र्फकंदा उनीसँग केही पैसा थियो, केही अनुभव र केही योजना पनि ।
‘मनोहराको यो ठाउँ देखेपछि मन अन्यत्र डुलाइनँ’ रविनले सुनाए, ‘कफी र बर्गर बेच्न थालें ।’ शुरूमा उनको क्याफे साँघुरो थियो । ग्राहकहरू बर्गर किन्थे र चौरमा गएर खान्थे । त्यसपछि उनले थप जग्गा भाडामा लिए र फराकिलो रेष्टुरेन्ट बनाए । नाम थियो, ‘बर्गर डटकम’ ।
विश्वराज रेग्मी घुम्दैफिर्दै पुगेका थिए, मनोहरा किनार । त्यसबेला त्यहाँ तरकारी खेती, सागबारी थियो । शहरी योजना अन्तर्गत प्लटिङ हुन थालेपछि भने उनलाई लाग्यो, यस्तो नयाँ ठाउँमा रेष्टुरेन्ट पनि चल्छ । उनले निर्धक्क पैसा लगानी गरे । फराकिलो भान्सा, डाइनिङ रुम बनाए । अघिल्तिर बगैंचा तयार गरे । त्यही एक छेउमा कालिज, लोकल कुखुरा पाले । रैथाने स्वादको परिकारको मेनु बनाए । आकर्षक साजसज्जा सहित रेष्टुरेन्टको नाम राखे, सिलौटो सेकुवा घर ।
‘रैथाने स्वादको कुखुराको मासु र भात, कालिजको मासु, सिलौटोमा पिसेको अचार, भट्टीमा पोलेको सेकुवा बेच्न थालें’ रेग्मी सुनाउँछन्, ‘अनि त खाना पारखीहरूको भीड लाग्न थाल्यो ।’
केही युवाहरू मिलेर केही उद्यम गर्ने योजना बनाए । उनीहरूले रोजे, रेष्टुरेन्ट व्यवसाय । र, यसका लागि ठाउँ रोजे, मनोहरा किनार । ‘मान्छेहरू यहाँ घुम्न आउन थालेका थिए’ सुमन रम्देल सुनाउँछन्, ‘अरू रेष्टुरेन्ट पनि शुरू हुँदैथियो । हामीले यहीं केही गर्न सकिन्छ कि भनेर रेष्टुरेन्ट शुरू गर्यौं ।’ उनीहरूले रेष्टुरेन्टको संरचना र साजसज्जामा बढी ध्यान दिए । सामान्य रेष्टुरेन्ट भन्दा भिन्न शैलीको संरचना बनाइयो । गोलाकार टावर जस्तै, जहाँ ग्राहकहरू घुमाउरो भर्याङ चढ्दै टावरमा आरामसाथ बसेर मीठो मसिनो खान सक्छन् ।
एकाधबाहेक यहाँ फ्रेन्चाइज रेष्टुरेन्ट छैन । अधिकांशले यही थलोमा आफ्नो पहिलो व्यवसाय शुरू गरेका हुन्- बर्गर डटकम, छानो, सिलौटो, ह्वाइट र्याबिट । बर्गर डटकमका रविन कटुवाल भन्छन्, ‘अरूको फ्रेन्चाइज लिने भन्दा पनि आफ्नै आइडियामा काम गर्नु ठीक लाग्यो ।’ बर्गर डटकमको नाम मात्र उनले जुराएका होइनन्, भित्री सजावट र रंग समेत उनले आफ्नो अवधारणा अनुरुप तयार गराएका हुन् । ‘बर्गर बनाउनका लागि चाहिने बन, कुखुराको मासु लगायत सबै कुरा हाम्रो आफ्नै उत्पादन हो’ उनी भन्छन्, ‘स्वस्थ र स्वादिलो खानेकुरा दिएर ग्राहकलाई सन्तुष्ट बनाउँदै जाने हो ।’ हालै मात्र उनले बर्गर डटकमको शाखा भक्तपुरको राधेराधेमा पनि शुरू गरेका छन् । ‘यो वर्षभर चार ठाउँमा शाखा चलाउने योजना छ’, उनी उत्साहित भावमा सुनाउँछन् ।
खाँदै टिकटक बनाउँदै
ग्राहकहरू खान मात्र आउँदैनन् । यहाँका अधिकांश रेष्टुरेन्ट घुमेपछि यस्तै लाग्छ । किनभने सबै रेष्टुरेन्टले ग्राहकका लागि यस्तो संरचना बनाइदिएका छन् कि, जहाँ टिकटक बनाउन सकियोस् । फोटो खिच्ने वा टिकटक बनाउनेकै लागि आन्तरिक सज्जामा विशेष ध्यान दिइएको छ ।
‘यहाँ त ग्राहकहरू टिकटक बनाउनका लागि पनि आउँछन्’ ह्वाइट र्याबिट रेष्टुरेन्टका सुमन रम्देल भन्छन् । उनका अनुसार धेरैजसो युवा खाँदै टिकटक बनाउँछन् । ‘म्याडि्रक्स’ रेष्टुरेन्टका सञ्चालक पनि ग्राहकहरू यहाँ आएपछि टिकटक बनाउन रुचाउने बताउँछन् । ‘त्यही भएर हामीले उनीहरूलाई फोटो खिच्न, टिकटक बनाउन मिल्ने संरचना बनाइदिएका छौं’, उनी भन्छन् ।
त्यसो त शुरू शुरूमा यहाँ टिकटक बनाउनकै लागि युवायुवती आउने गर्थे । प्लटिङका लागि व्यवस्थित बाटो र पार्क बनाइएपछि सनसिटी अपार्टमेन्ट अनि मनोहरा खोलालाई पृष्ठभूमिमा राखेर टिकटक बनाउनेको ओइरो लाग्यो ।
‘टिकटक बनाउनेहरूले यहाँको प्रचार गरिदिए’ सुमन भन्छन्, ‘यसले हामीलाई पनि फाइदै भएको छ ।’
खासमा आवासका लागि व्यवस्थित शहरी योजना अन्तर्गत यहाँ प्लटिङ गरिएको थियो । यसका लागि स्थानीयको ५४५ रोपनी जग्गा लिइएको थियो । काम थालिएको १५ वर्षपछि व्यवस्थित आवासका लागि संरचनाहरू तयार भयो । यसको बन्दोबस्ती दिव्येश्वरी जग्गा एकीकरण विकास आयोजनाले गरेको थियो । आयोजनाको कुल लागत रु.१ अर्ब ३५ करोड बढी भएको बताइन्छ।
source https://www.onlinekhabar.com/2021/12/1056974
0 Comments