Looking For Anything Specific?

Header Ads

कस्तो नेतृत्व चाहन्छन् कांग्रेस प्रतिनिधि ?

१८ मंसिर, विराटनगर । धनकुटाकी करुणा कट्वालले नेपाली कांग्रेसको क्रियाशिल सदस्यता १४ औं महाधिवेशन अघि पाइन् । क्रियाशील सदस्यता पाए लगतै केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेद्वार बनेकी उनी दोस्रो सर्वाधिक मतसहित निर्वाचित भइन् ।

कान्छी महाधिवेशन प्रतिनिधि कटवालको चाहना वर्तमान नेतृत्व परिवर्तनको छ । ‘नेपाली कांग्रेसको नेतृत्वमा युवाहरु आउनु पर्छ,’ उनले भनिन्, ‘कांग्रेसको राजनीतिलाई सही दिशामा लैजान नेतृत्व परिवर्तनसँगै पुस्तान्तरण हुनुपर्छ ।’

देश र पार्टीको विकासमा केन्द्रित हुनुपर्ने अवस्थामा पार्टी भित्र गुट र उपगुट मौलाएको उनको गुनासो छ । व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्ने नेतृत्व आउनुपर्ने उनको भनाइ छ ।

झापाबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित कबिता घिमिरे बस्नेतको चाहना पनि युवा नेतृत्वको हो । ‘महाधिवेशनमा युवाहरुको सहभागिता बढी छ, युवाहरु परिवर्तनको पक्षमा छन्,’ उनले भनिन्, ‘बीपी कोइरालाले अघि सारेको नीति र सिद्धान्त अनुसार चल्ने युवा नेतृत्व आउनु पर्छ ।’ महाधिवेशनबाट नयाँ जोस र ऊर्जा भएका युवाहरुको सहभागिता बढी देखिएको बताउँदै उनले नेतृत्वमा युवालाई स्थान दिइनुपर्ने बताइन् ।

महाधिवेशन प्रतिनिधि लिलादेवी निरौला कांग्रेसलाई सफल रुपमा अघि बढाउन सक्ने नेतृत्व आवश्यक रहेको बताउँछिन् । पार्टीको संगठन कमजोर रहेको बताउँदै उनले पार्टीलाई सुदृढ गर्न युवाहरुलाई स्थान दिइनुपर्ने बताइन् । ‘संगठनलाई अझ दह्रो र देशलाई हाक्ने  खालको नेतृत्व आउनुपर्छ,’ उनले भनिन, ‘अहिले नेतृत्वले पार्टीलाई एक ढिक्का बनाएर अघि बढाउन सकिरहेको छैन ।’

महाधिवेशन प्रतिनिधि उत्तमबहादुर चौलागाईं बैचारिक क्षमता भएको नेतृत्व आवश्यक रहेको बताउँछन् । ‘अहिलेको नेतृत्वले काम गर्न सकेन,’ उनले भने, ‘म नेतृत्व परिवर्तनको पक्षमा छु ।’

प्रथम अधिवेशनमा भेटिएका मोरङका प्रदेश प्रतिनिधि वेदमणी घिमिरे पार्टीमा देखिएको दुई चिरालाई सामधान गर्न सक्ने नेतृत्व आवश्यक रहेको बताउँछन् । ‘महाधिवेशले गर्दा नेपाली कांग्रेसमा दुई पक्ष देखिएको छ,’ उनले भने, ‘अब दुवै पक्षलाई मिलाएर लैजाने खालको नेतृत्व आवश्यक छ ।’ वडा अधिवेशनदेखि बढेको तिक्तता मेट्ने नेतृत्व आवश्यक रहेको उनले बताए ।

प्रदेश प्रतिनिधि डिल्लीराम डाँगी नेपाली कांग्रेसको प्रदेश र केन्द्रमा युवा नेतृत्व आउनुपर्ने बताउँछन् । ‘परिवर्तन चाहने पार्टीप्रति इमान्दार नेतृत्व आउनुपर्छ,’ उनले भने, ‘अहिलेको नेतृत्वले काम गर्न सकेको छैन ।’



source https://www.onlinekhabar.com/2021/12/1047919

Post a Comment

0 Comments